कोरोना भाइरस नेपालः उदयपुरमा जमातीले सङ्क्रमण सारेको भन्ने आरोपको वास्तविकता

कोरोनाभाइरस

तस्बिर स्रोत, SPL

उदयपुरको भुल्केमा भारतीय जमातीसहित स्थानीयवासीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि त्यसबारे विस्तृत बुझ्न सङ्घीय सरकारले वैशाख दोस्रो हप्तातिर काठमाण्डूबाट स्वास्थ्यविज्ञहरूको एउटा टोली त्यसतर्फ पठायो।

भुल्केमा कुल २८ जना सङ्क्रमित पाइएकोमा ११ जना भारतीय र बाँकी नेपाली थिए।

पहिलो परीक्षणपछि वैशाख ४ गते नतिजा आयो र ११ भारतीय जमाती एवम् एक नेपालीमा सङ्क्रमण भएको पुष्टि भयो।

त्यसपछि वैशाख ७ गते ६९ जनाको परीक्षण गर्दा थप १२ जनामा सङ्क्रमण देखियो। वैशाख १० गते परीक्षण गर्दा अर्का तीन जनामा पोजिटिभ देखियो।

त्यसपछि वैशाख ११ गते थप एक व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भयो।

जमातीहरूले कोरोनाभाइरस सङ्क्रमण सारेको र मस्जिदभित्र लुकेर बसेको भन्दै कतिपय सञ्चारमाध्यममा समाचारहरू आइरहँदा सरकारले विज्ञहरूको टोली त्यहाँ पठायो।

तीन सदस्यीय उक्त टोलीले स्थानीय स्वास्थ्यकर्मी, मुस्लिम तथा अन्य समुदायका व्यक्ति र विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका स्थानीय प्रतिनिधिलाई भेटेर वस्तुस्थिति बुझ्ने काम गर्‍यो।

नाम उल्लेख नगर्ने शर्तमा टोलीका एक सदस्यले बीबीसीलाई बताए अनुसार उनीहरूले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेका छन्।

जमातीहरूबाट कोरोनाभाइरस सरेको थियो र जमातीहरू लुकेर बसेका थिए भन्ने आरोप गलत भएको टोलीको निष्कर्ष छ।

प्रस्तुत छ विज्ञ टोलीका एक सदस्यले बीबीसीका गनी अन्सारीलाई बताएका तथ्य विवरण:

कोशी अस्पताल
तस्बिरको क्याप्शन, उदयपुरमा फेला परेका ६ जना सङ्क्रमणमुक्त भएर केही दिनअघि कोशी अस्पतालबाट बिदा भएका थिए

"हामीले कन्ट्याक्ट ट्रेसिङबाट के पायौँ भने भुल्केका तीनजना बासिन्दा लकडाउन हुनुभन्दा तीन दिनअघि विदेशबाट आएका रहेछन्।

दुईजना भारतको सूरत र लखनउबाट तथा एकजना दुबईबाट फर्केका रहेछन्। उनीहरू तीनैजना सङ्क्रमित भएको पाइएपछि अस्पताल भर्ना गरिएका थिए।

तीन जनामध्ये एकजना सूरतमा कपडा सिलाउने टेलर मास्टर रहेछन् भने अर्को लखनउमा पढ्ने विद्यार्थी र तेस्रो व्यक्ति दुबईमा काम गर्ने पुरुष रहेछन्।

हामीले ती तीनजना र भारतीय जमातीहरूको विगतका यात्रा विवरणबारे बुझेर त्यसको 'इपिडिमियोलोजिकल रिलेशन' हेर्‍यौँ।

यात्रा विवरण

जोगबनी नाकाबाट आएर जमातीहरू भुल्केको मस्जिदमा बसेको त्यतिबेला २२ दिन पुगेको रहेछ। उनीहरू चार महिनाअघि नै नेपाल आएको पाइयो।

सङ्क्रमितहरूमध्ये लखनउ पढ्ने नेपाली युवक सबैभन्दा पछि नेपाल फर्केका रहेछन्। उनी आएको र भुल्केमा मानिसहरू सङ्क्रमित भएको मितिमा एक महिनाको मात्रै अन्तर रहेछ।

उनी र उनको परिवारका चार जनासहित एकै घरका पाँचजना सङ्क्रमित भएको देखियो।

उदयपुरस्थित मस्जिदमा बसेकामध्ये कतिपयमा सङ्क्रमण पाइएको छ
तस्बिरको क्याप्शन, उदयपुरस्थित मस्जिदमा बसेकामध्ये कतिपयमा सङ्क्रमण पाइएको थियो

उनीसँग घटनाको अर्को सम्बन्ध के देखियो भने उर्दू भाषा जान्ने भएकोले भारतीय जमातीहरूसँग बिहानीदेखि बेलुकासम्म उनले समय बिताउँदा रहेछन्।

उनले जमाती समूहको किनमेलमा सघाउनेदेखि उनीहरूसँगै खाना खाने रहेछन्।

'जमातीबाट सङ्क्रमण होइन'

त्यसबाट हामीले के स्थापित गर्‍यौँ भने ती नेपाली विद्यार्थीबाट जमातीहरूलाई सङ्क्रमण सरेको हो, जमातीले सङ्क्रमण सारेका होइनन्।

सरसर्ती हेर्दा स्थानीय सङ्क्रमण हो भन्ने हामीले एउटा 'हाइपोथेसिस' बनायौँ। र, हामीले माथि त्यही कुरा जानकारी गरायौँ।

त्यसपछि हामीले त्यहाँका मेयर तथा उपमेयरलाई के भन्यौँ भने सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका र 'ट्राभल हिस्ट्री' जति लिन सक्यौँ हामीलाई सङ्क्रमित को-को हुन् भन्ने पत्ता लगाउन उति नै सजिलो हुन्छ।

अनि पीसीआर कसलाई गर्ने र आरडीटी कसलाई गर्ने भन्ने कुरा त्यसले बाटो देखाउँछ भनेर भन्यौँ।

त्योभन्दा अगाडि त भुल्केमा सबैको परीक्षण भइसकेको थियो। भुल्के अन्यत्र उहाँहरूले 'स्याम्पलिङ'का आधारमा परीक्षण गर्दै आएकोमा हामीले भनिसकेपछि अलि व्यवस्थित रूपमा उहाँहरूले परीक्षण शुरू गर्नुभयो।

हामी पुग्दा त्यो गाउँ सील गरिएको थियो। त्यहाँका स्थानीय बासिन्दाहरूको मनोबल अनि मनोविज्ञान के कस्तो छ भन्ने हिसाबले बुझ्न पनि हामी त्यहाँ गएका थियौँ।

बाहिर हामीले सुन्दा उनीहरू एकदमै असहयोगी छन्, केही भन्दैनन्, लुक्छन् भन्ने कुरा थिए तर हामीले त्यस्तो पाएनौँ।

हामीहरू गएपछि बाहिर आएर ठ्याक्क हामीले सोधेका कुराहरू उहाँहरूले राम्रोसँग बताउनुभयो।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

त्रसित तर सहयोगी गाउँले

मनोवैज्ञानिक हिसाबले डर र त्रास थियो किनकि त्यही गाउँको एउटै टोलका कसैका आफन्त, कसैका को र कसैका को अस्पतालमा भर्ना भएका थिए।

उहाँहरूमा अलिकति भय र त्रास थियो नै। तर हामीले गण्यमान्य १०-१२ जनासँग यथार्थ कुरा गर्‍यौँ।

यो यस्तो हो, तपाईँलाई पनि लाग्न सक्छ, मलाई पनि लाग्न सक्छ, अरूलाई पनि लाग्न सक्छ।

यसमा धर्मसँग कुनै कुरा पनि छैन। तपाईँहरूले यसमा सहयोग गर्नुपर्छ। तपाईँहरूलाई कुनै पनि बेला केही भयो भने भन्नुहोला, हाम्रो स्वास्थ्य टोली यहाँ छ भनेर भन्यौँ।

त्यसपछि उहाँहरू आश्वस्त भएर हामीले उहाँहरूमा फरक पायौँ। स्वास्थ्य शिविरमा जाँच सकेपछि साँझ हामी फेरि त्यहाँ गएका थियौँ।

परीक्षणपछि खुशी

परीक्षणपछि उहाँहरू खुशी देखिनुभयो। हाम्रो कुरापछि उहाँहरूमा सकारात्मक प्रभाव देखिएको थियो।

उनीहरूले लुकाएको त्यस्तो केही पाएनौँ। उनीहरूमा एक खालको त्रास थियो र अर्को कुरा उनीहरूमा यो रोगबारे त्यति सचेतना नभएको पाइयो।

मलाई लागेको छ र भन्ने खालको मनोविज्ञान देखियो। बिरामी भएपछि झन् लुकाउने भन्ने हिसाबले देखिएन।

बरू रोगको बारेमा त्यति गम्भीरता उहाँहरूमा देखिएन। रोग लुकाउने वा परीक्षणमा नजाने कुरा देखिएन।

विश्वव्यापी मान्छेहरू सङ्क्रमित भएर त्यत्रो सङ्ख्यामा मृत्यु भइरहेका खबर सुनेर उहाँहरूमा पनि त डर थियो नि त।

त्यही भएर उदयपुर र झापाको बाह्रदशी गाउँपालिकामा जमातीले सारेको वा सङ्क्रमित भएर मस्जिदभित्र लुकिरहेको कुरा जसरी आयो त्यो तथ्यलाई तोडमोड गरेर आएको मलाई लाग्छ।"

कोरोनामुक्त

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, शुक्रवार कोरोनाभाइरसमुक्त उदयपुरका आठजना अस्पतालबाट निस्किएका छन्

चौधजना निको

यसैबीच, उदयपुरका भुल्केमा सङ्क्रमण पुष्टि भएका १४ जना भने निको भएका छन्।

शुक्रवार कोरोनामुक्त भएर एक महिलासहित आठजना कोशी अस्पतालबाट निस्किएको बीबीसीका विराटनगर संवाददाता विक्रम निरौलाले बताएका छन्।

तीन दिनअगाडि छजना भारतीयहरू निको भएका थिए। उनीहरू सबैलाइ क्वारन्टीनमा बस्ने व्यवस्था मिलाइएको छ।

पुरुषहरूलाई विराटनगरकै एक मस्जिदमा र महिलालाई क्वारन्टीनमा बस्ने गरी उदयपुर पठाइएको अधिकारीहरुले जनाएका छन्।