कोरोना भाइरस नेपाल: उदयपुरमा फेला परेका ६ जना सङ्क्रमणमुक्त भएर अस्पतालबाट बिदा

- Author, विक्रम निरौला
- Role, बीबीसी न्यूज नेपाली, विराटनगर
नेपालमा अहिलेसम्म सर्वाधिक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको प्रदेश नं १ मा छजना कोभिड-१९ मुक्त भएर अस्पतालबाट घर फिर्ता भएको अधिकारीहरूले जनाएका छन्।
उक्त प्रदेशमा ३१ जना सङ्क्रमित फेला परेका थिए। सबैलाई विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो।
पीसीआर विधिबाट तीन चोटि परीक्षण गर्दा तीमध्ये छ जनाबाट सङ्कलित नमुनामा कोरोनाभाइरस नभेटिएपछि उनीहरू सङ्क्रमणमुक्त भएको निष्कर्ष निकालिएको थियो।
त्यसैले बुधवार बिहान उनीहरूलाई अस्पतालबाट बिदा गरिएको प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बीबीसीलाई बताए।
अब नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ९९ पुगेको छ। बुधवार अपराह्ण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ।
को हुन् सङ्क्रमणमुक्त हुने व्यक्ति?
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित एक मस्जिदमा बसेका बेला सङ्क्रमण पुष्टि भएका १६ मध्ये छजना कोरोनाभाइरसमुक्त भएका हुन्।
उनीहरू सबै भारतीय नागरिक हुन्।
उनीहरूमा गत वैशाख ५ र ६ गते सङ्क्रमण पुष्टि भएको थियो।

कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा १९ दिनदेखि उनीहरूको उपचार भइरहेको थियो।
मन्त्रालयका अनुसार यसअघि सङ्क्रमणमुक्त भएका भनिएका तीन जनामा फेरि कोरोनाभाइरस देखिएको छ।
त्यसैले उपचारपछि निको हुनेको सङ्ख्या २२ बाट १९ मा ओर्लिएको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

अब कहाँ जान्छन्?
अस्पतालबाट बिदा भएपछि पनि उनीहरूले क्वारन्टीनमा बस्नुपर्ने भएको छ।
लकडाउनका कारण सीमानाका बन्द रहेका कारण उनीहरूलाई भारत पठाउन समस्या भएपछि विराटननगरकै एउटा मस्जिदमा क्वारन्टीनमा बस्ने व्यवस्था मिलाइएको प्रदेश सरकारका अधिकारीहरूले जनाएका छन्।
अस्पतालबाट एम्बुलेन्समा राखेर उनीहरूलाई क्वारन्टीनतर्फ लगिएको थियो।
प्रदेश नं १ मा हालसम्म पुष्टि भएका ३१ सङ्क्रमितमध्ये अब दुई महिलासहित २५ जनाको उपचार भइहेको छ। सबैको स्वास्थ्यस्थिति राम्रो रहेको बताइएको छ।
तीमध्ये उदयपुरमा सङ्क्रमण पुष्टि भएका २२ जना, झापाका दुईजना र भोजपुरका एकजना छन्।
यो पनि हेर्नुहोस्










