कोरोना भाइरस नेपाल: नेपालगन्जमा एकै पटक धेरै सङ्क्रमित भेटिनुको कारण

- Author, विमला चौधरी
- Role, बीबीसी न्यूज नेपाली
प्रदेश नं ५ को बाँके जिल्लाको नेपालगन्जमा एकै दिन कोरोनाभाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने जिज्ञासा धेरैलाई भएको छ।
स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितहरू थाहा पाएर वा नपाएर लुकेर बसेको र हालसम्म लक्षण पनि नदेखिएकाले पहिचान गर्न मुस्किल भएको अनुभव सुनाएका छन्।
भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा अहिले सङ्क्रमित फेला परेको जानकारी दिए।
उनका अनुसार बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासि धेरै सङ्क्रमित देखिएका हुन्।
नेपालगन्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न सजिलो भएको थापाको भनाइ छ।
उनले भने, "पुराना सङ्क्रमितको समयमै पहिचान हुन नसक्दा नेपालगन्जमा सङ्क्रमितहरू ह्वात्तै बढेको देखिएको हो, परीक्षणको दायरा बढाउँदै जाँदा अझै धेरै पत्ता लाग्न सक्छन्।"
लकडाउनको पालना
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै उनले नआत्तिन आग्रह गरे।
वैशाख २२, सोमवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
७५ कुल सङ्क्रमण
० अघिल्लो दिनबाट वृद्धि
पीसीआर विधिबाट परीक्षण >१३,६००
चिकित्सकीय निगरानीमा अलग्गै१०६
देशभरि क्वारन्टीनमा> २१,५००
अहिलेसम्म कोरोनाभाइरसमुक्त भएका सङ्क्रमित१६
प्रशासनले लकडाउनको पालना गराउन अनेक प्रयास गरे पनि स्थानीय बासिन्दाले नटेरेका कारण नेपालगन्जमा मानिसको चहलपहल बढी देखिएको नेपालगन्ज उमहानगरपालिकाकी उपप्रमुख उमा थापाको भनाइ छ।
उनले भनिन्, "सबैले लकडाउनको पालना गरेको भए सङ्क्रमित व्यक्ति घरघरमा पढाउन जाने थिएनन् र अहिले यो स्थिति आउने थिएन।"
वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो।
एक दिनमा बिहान ८ बजेदेखि राति १२ बजेसम्म १०० वटा नमुना परीक्षण गर्न सकिने भए पनि जनशक्तिको अभावमा पूर्ण क्षमताअनुसार परिक्षण गर्न नसकिएको डा. थापाले बताए।
दिल्ली-नाताको खोजी
भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए।
त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको थियो।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

"लकडाउनअघि नै नेपालगन्जका सबै धर्मका अगुवाहरू एकजुट भएर धार्मिक स्थलहरूमा भिडभाड कम गरेका छौँ," मौलाना मञ्जरीले भने, "यति गर्दागर्दै पनि नेपालगन्जमा एक्कासि सङ्क्रमण फैलिएकाले अब झन् सचेत हुनुपर्छ।"

रमजान पर्व चलिरहँदा नेपालगन्जका मुस्लिम समुदाय आआफ्नै घरमा नमाज पढिरहेको भए पनि शुक्रवार अर्थात् जुमाको दिन उक्त धर्मको नियमानुसार सामूहिक नमाज पढ्नुपर्ने भएकाले बढीमा चार जना जम्मा भएर नमाज पढ्दै आएको उनले बताए।
कोरोनाभाइरस प्रभावित देशबाट आएका व्यक्तिहरू आफै स्वास्थ्यसंस्थाको सम्पर्कमा नआउँदा प्रशासनले खोज्नुपर्ने अवस्था रहेको अधिकारीहरूको गुनासो छ।
"यो समस्या देशभरि नै छ," बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, "जबसम्म त्यस्ता व्यक्तिहरू आफैँ सम्पर्कमा आउँदैनन् तबसम्म सङ्क्रमित पत्ता लगाउन समस्या हुन्छ।"
नयाँ सङ्क्रमित को हुन्?
नयाँ सङ्क्रमित १५ जनालाई आइतवार राति कोरोना विशेष अस्पताल खजुरामा उपचारको लागि भर्ना गरिएको बताइएको छ।
सात महिला रहेको जनाउँदै जिल्ला स्वास्थ्य कार्यालयले एक सात वर्षीया बालिका पनि सङ्क्रमित रहेको बताएको छ।
सबै नयाँ सङ्क्रमित पहिलो पटक पुष्टि भएका ६० वर्षीय सङ्क्रमितसँग सम्पर्कमा रहेका छन्।
उनीहरू नेपालगन्ज उपमहानगर वडा नम्बर ८ स्थित मदरसाआसपासका बासिन्दा भएको अधिकारीहरूले जनाएका छन्।
ती व्यक्ति दैनिक नमाजको अजान गर्न नेपालगन्जको महेन्द्रपार्कस्थित धार्मिक स्थलमा पुग्ने गरेको बताइएको छ।
उनी भारतबाट नेपाल फर्किएको स्थानीय बासिन्दाले बताएका छन्।
डा. प्रकाश थापाले शनिवार नमुना सङ्कलन गरिएका ६० जनाको मात्र आइतवार साँझसम्म नतिजा आएको र ३० जनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए।
उनले आइतवार थप १५ जनाको स्वाब सङ्कलन गरिएको बताए।








