कोरोना भाइरस नेपाल: पर्सामा दुईमहिने शिशुसहित थप १७ जनामा कोभिड-१९ पुष्टि, देशभरि सङ्क्रमितको कुल सङ्ख्या ९९

स्वाब सङ्कलन गर्ने बूथ

तस्बिर स्रोत, RSS

नेपालमा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित कुल सङ्ख्या ९९ पुगेको छ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका हुन्।

यो अहिलेसम्म दैनिक पुष्टि भएको सर्वाधिक सङ्ख्या हो।

अहिले सङ्क्रमण पुष्टि भएका सबै जना प्रदेश नं २ मा पर्ने पर्सा जिल्लाका हुन्।

यसअघि गत आइतवार एकै दिन १६ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको थियो। तीमध्ये एक जना पर्सा र १५ जना बाँके जिल्लाका थिए।

नेपाल कोरोानाभाइरस

को हुन् नयाँसङ्क्रमित?

पर्साको वीरगन्जबाट सङ्कलित नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थियो।

तीमध्ये १७ वटामा कोरोनाभाइरस देखिएको हो।

अहिले सङ्क्रमण पुष्टि हुनेमा दुईमहिने शिशुदेखि ६६ वर्षसम्मका व्यक्ति रहेको जानकारी डा. देवकोटाले दिए।

तीमध्ये सात महिला र १० पुरुष छन्।

Coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस

वैशाख २४ बुधवार अपराह्ण ४:३० बजेसम्म प्राप्त तथ्याङ्क

  • ९९कुल सङ्क्रमित

  • ‌‌+१७अघिल्लो दिनबाट वृद्धि

  • जना निको भएका व्यक्तिमा फेरि भाइरस देखियो

  • १४,०९६वटा परीक्षण - पीसीआर विधिबाट

  • १९,७३४जना देशभरि क्वारन्टीनमा

  • १३६जना चिकित्सकीय निगरानीमा अलग्गै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

फेरि कोरोनाभाइरस देखिने को हुन्?

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यसअघि कोभिड-१९ निको भएर अस्पतालबाट बिदा पाएका तीन जनामा पुन: कोरोनाभाइरस देखिएको बताए। उनीहरू काठमान्डू, रौतहट र पर्साका हुन्।

उनीहरूमा सङ्क्रमण देखिनुका कारणबारे थप अध्ययन भइरहेको डा. देवकोटाले बताए।

वैशाख ११ गते सङ्क्रमणमुक्त भएर घर फर्किएका व्यक्ति नियमित जाँचका लागि आउँदा उनको शरीरमा कोरोनाभाइरस पाइएपछि पाटन अस्पतालमा भर्ना भएको बताइन्छ।

त्यसैगरी वैशाख १४ गते सङ्क्रमणमुक्त भएका भनिएका पर्साका ४४ वर्षीय र रौतहटका १९ वर्षीय किशोरमा पनि पुन: परीक्षण गर्दा कोरोनाभाइरस देखिएपछि वीरगन्जमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कुन प्रदेशमा कति सङ्क्रमित?

नेपालका सातमध्ये छवटा प्रदेशमा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छैन।

अहिलेसम्म प्रदेश नं १ मा सर्वाधिक ३१ जना, प्रदेश नं २ मा ३० जना र प्रदेश नं ५ मा २४ जनामा सङ्क्रमण देखिएको छ।

वाग्मती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।

कर्णाली प्रदेशमा स्वास्थ्य उपकरणहरूको अभावका कारण नगण्य सङ्ख्यामा परीक्षण भएका छन्। पीसीआर विधिबाट सुर्खेत प्रादेशिक अस्पतालमा ३५३ वटा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जम्मा आठवटा नमुना मङ्गलवारसम्म परीक्षण भएका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा झन्डै एक हजार थप परीक्षण गरिएको थियो। हालसम्मको आरडीटी तथा पीसीआर विधिबाट ६७,००० वाटभन्दा बढी परीक्षण गरिएको छ।

सरकारसँग थप परीक्षण गर्न अत्यावश्यक सामग्री र आरडीटी किट अभाव भएको विवरण आएको छ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता देवकोटाले ती सामग्रीहरू व्यवस्थापन गरिएसँगै परीक्षण बढ्ने जानकारी दिए।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस: मानिसमा कीटनाशक छर्ने कार्यको आलोचना