दुई हजार दरका भारतीय नोट चलनचल्तीबाट हटाइँदा नेपालमा के प्रभाव पर्छ?

तस्बिर स्रोत, Getty Images
भारतको रिजर्भ ब्याङ्कले गत साता भारतीय रुपैयाँ दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेसँगै खुला सीमा रहेको नेपालमा त्यसको सम्भावित प्रभाव पर्ने चर्चा परिचर्चा भइरहेको छ।
शुक्रवार जारी गरिएको विज्ञप्तिमा आरबीआईले दुई हजारका नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने जनाएको छ।
यसअघि सन् २०१६को नोभेम्बर महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अचानक भारतीय रुपैयाँ पाँच सय र एक हजारको नोट चलनचल्तीबाट हटाउने निर्णय गरेको थियो।
उक्त कदम चालिएको ६ वर्ष भइसकेको छ तर नेपालमा रहेका प्रतिबन्धित नोटहरू फिर्ता लिने विषयबारे दुई देश टुङ्गोमा पुग्न सेकका छैनन्।
यस्तो अवस्थामा भारतको पछिल्लो कदमले नेपाललाई के फरक पार्छ भन्ने कुरा चासोको विषय बनेको छ।
पछिल्लो प्रतिबन्धले कस्तो प्रभाव पर्छ?

तस्बिर स्रोत, Getty Images
सन् २०१६मा भारतले भारु पाँच सय र एक हजारको नोट चलनचल्तीबाट हटाउने निर्णय अचानक गर्दा नेपालका ब्याङ्कहरूमा ८ करोड १० लाख बराबरका त्यस्ता नोट थिए।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार देशका विभिन्न ब्याङ्कहरूमा पाँच सय दरका ६८,१४७ थान नोट र एक हजार दरका १६,५५२ थान नोट अहिले पनि यथावत् छन्।
त्यसको अतिरिक्त सर्वसाधारणहरूसँग पनि चलनचल्तीबाट हटाइएको भारु भएको बताइने गरे पनि परिमाण भने यकिन हुन सकेको छैन।
सन् २०१६को नोटबन्दीपछि नेपालले भारु एक सय भन्दा बढीको नोट चलनचल्तीमा ल्याएको छैन। केन्द्रीय ब्याङ्कले यस विषयमा सार्वजनिक सूचना जारी गरेको थियो।
‘‘एक सय भन्दा माथिका दरका नोटहरू गैर कानुनी मानिने भनेर सार्वजनिक सूचना जारी गरिएको थियो,’’ नेपाल राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले भने।
त्यसको अर्थ हाल नेपालको ब्याङ्कीङ प्रणालीमा भारु एक सयभन्दा बढी दरका नोटहरू छैनन्।
आम सर्वसाधारणले एक सय भारुभन्दा बढीको नोट कारोबार गर्नु वा साथमा राख्नुलाई समेत केन्द्रीय ब्याङ्कले गैर कानुनीको संज्ञा दिएको छ।
‘‘त्यसकारण यसको असर जिरो (कुनै असर पर्दैन) नै पर्ला भन्नु पर्यो, देखिने रूपमा,’’ पोखरेलले भने।
‘‘तर नदेखिँदो रूपमा त पक्कै पनि भारतीय सीमा क्षेत्रका मानिसहरूले ठूलो दरको नोट सहजताका कारण बोक्ने भएको हुनाले उनीहरूलाई चाहिँ अप्ठ्यारो पर्छ।’’


नोट राखेका नेपालीको हकमा अब के हुन्छ?

नेपाल र भारतबीच लामो खुला सीमा छ। जस कारण दुवै देशका सर्वसाधारण सहजै एक देशबाट अर्कोमा पुग्न र त्यहाँका बजारमा किनमेल गर्न सक्छन्।
सीमावर्ती जिल्लाहरूमा भारतमा नेपाली रुपैयाँ र नेपालमा भारतीय रुपैयाँमै कारोबार समेत हुने गरेका छन्।
आधिकारिक रूपमा नेपालका वित्तीय संस्थाहरूसँग भारु दुई हजारको नोट नभए पनि सर्वसाधारणहरूसँग उक्त दरको रकम रहेको सहजै अनुमान गर्न सकिने अवस्था छ।
आरबीआईले मे २३, २०२३ देखि नोटहरू सर्वसाधारणको ब्याङ्क खाता वा कुनै पनि ब्याङ्कबाट साट्न सकिने जनाएको छ।
पोखरेल पनि भारु दुई हजार दरका नोट भएका व्यक्तिहरूले आफै ती नोट साट्न पहल लिनुपर्ने बताउँछन्।
‘‘उहाँहरू के कुरामा सुसूचित हुनुपर्यो भने त्यो इन्डिभिजुअल इफोर्टबाटै (व्यक्तिगत पहल) सटही गर्नुपर्दो रैछ, ब्याङ्किङ च्यानलबाट सटही हुन नसक्दो रहेछ। त्यसको कारण यो (दुई हजारको नोट) गैरकानुनी भनिएको रहेछ। त्यसले गर्दा यो प्रहरी प्रशासनले भेट्नुभन्दा अगाडि वहाँहरूले व्यक्तिगत तवरबाट साट्न सक्नु पर्यो, समय सीमाभित्र। सक्नुभएन भने त्यो कागजको खोस्टो बराबर हुन्छ,’’ पोखरेलले भने।
अधिकारीहरूका अनुसार विगतमा नेपालले ठूला दरका भारतीय नोट चलाउने गरेको थिएन।
सन् २०१६को नोटबन्दी अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुई देशका सरकारबीच भएको समझदारीमा आधारित रहेर भारु पाँच सय र एक हजारका नोट चलाउन थालिएको थियो।
प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्ला त कुरो?

तस्बिर स्रोत, RSS
६ वर्षअघि भारतले नोटबन्दी गरेपछि नेपाल र भारतका अधिकारीहरूबीच नेपालको ब्याङ्किङ प्रणालीमा रहेको प्रतिबन्धित भारतीय नोट फिर्ता गर्ने कुराबारे पटक पटक छलफल भएका छन्।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला नेपालले ८ करोड १० लाख रुपैयाँ सटही गर्नका लागि भारतसँग प्रस्ताव राखेको थियो।
त्यसपछि पनि दुई देशका केन्द्रीय ब्याङ्कका गभर्नरहरूबीच छलफल भएको थियो। तर भारतको केन्द्रीय ब्याङ्कले सरकारी तहबाट मात्र समस्या सल्टाउन सकिने सङ्केत गरेको थियो।
पछिल्लो पटक गत एप्रिल २८ तारिखमा भएको दुई देशका केन्द्रीय ब्याङ्कका प्राविधिक समितिको पाँचौँ बैठकमा उक्त विषय एजेन्डामै परेन।
पटक पटक भारतीय पक्षसँग भएका छलफलबाट कुनै प्रतिफल नआएपछि नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू नै यो विषय सल्टिने विषयमा आशावादी देखिँदैनन्।
‘‘एक किसिमले हार खाएजस्तै भयो। सुनुवाइ कतैबाट नहुने भो,’’ पोखरेलले भने।
त्यसै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा पनि नेपालले भारतीय नोटबन्दीका कारण नेपालमा परेको समस्याको कुरा उठाउने सम्भावना हालसम्म नदेखिएको अधिकारीहरू बताउँछन्।


के नेपालमा पनि हुँदै छ 'नोटबन्दी'?

पछिल्ला केही महिनाहरूमा यदाकदा नेपालमा पनि निश्चित दरका नोटहरू चलनचल्तीबाट हटाउन लागिएको भन्ने हल्ला चल्ने गरेको छ।
तर अधिकारीहरू भने हाल त्यस्तो कुनै सम्भावना नरहेको बताउँछन्।
नेपालमा नोट छपाइ नहुने हुँदा ८ देखि १० वर्षसम्मका लागि नोट छापिने गर्छ। 'नोटबन्दी' गर्दा त्यो खर्च खेर जान्छ।
‘‘… भनौँ न एक हजारको नोट डिमोनिटाइज गर्ने भन्दा हामी शून्यमा पुग्छौँ। हामीसँग केही पनि बाँकी रहँदैन। त्यसपछि अन्तर्राष्ट्रिय टेन्डर गर्नुपर्यो, छपाइ गर्नुपर्यो, ढुवानी गर्नुपर्यो अनि वितरण गर्नुपर्यो। यसमा समय लाग्छ। त्यसकारण निकै धेरै पूर्व योजना बनाउनुपर्ने हुन्छ। यो एउटा सम्भावना भयो,’’ पोखरेलले भने।
अर्को सम्भावना भनेको नेपालमा नोट मुद्रण रातारात गरेर बजारमा प्रवाह गर्न सक्दा रहन्छ।
त्यसकारण बलियो सरकार भएका बेला मात्रै निश्चित दरका नोटहरूको प्रचलन रोक्ने कार्य सम्भव हुन सक्ने अधिकारीहरू बताउँछन्।
भारतमा के छन् आरबीआईका नयाँ नियम?
- मे २३, २०२३ देखि दुई हजार दरका नोटहरू ब्याङ्क खाता वा कुनै पनि ब्याङ्कमा साट्न सकिन्छ
- कुनै पनि ब्याङ्क शाखामा एक पटकमा २०,००० सम्म जम्मा गर्न सकिन्छ
- यी सबै प्रक्रिया तोकिएको समयभित्र सम्पन्न गर्न र जनतालाई पर्याप्त समय दिनका लागि सबै ब्याङ्कहरूमा सेप्टेम्बर ३०, २०२३ सम्म रकम जम्मा गर्ने सुविधा उपलब्ध हुनेछ
- आरबीआईले ब्याङ्कहरूलाई तत्काल दुई हजारका नयाँ नोट प्रवाह नगर्न निर्देशन दिएको छ
- आरबीआईले यसअघि पाँच सय र एक हजार दरका नोटको प्रचलन बन्द गरेपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरिएको बताएको छ
- आरबीआईका अनुसार साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८-१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो
- आरबीआईका अनुसार दुई हजारको ८९ प्रतिशत नोट मार्च २०१७ अघि जारी गरिएको थियो








