‘माहौल ठिक नभएको’ भन्दै भारतमा बिजेपी नेताद्वारा मुसलमान केटासँग छोरीको विवाह स्थगित

तस्बिर स्रोत, RAJESH DOBRIYAL
- Author, राजेश डोबरियाल
- Role, देहेरादुन
भारतमा चर्चाको विषय बनेको एउटा विवाह औपचारिक समारोह अघि नै स्थगित गरिएको छ।
पौडीका नगरपालिका अध्यक्ष एवं पूर्व विधायक यशपाल बेनामकी छोरीको विवाहको कार्ड वितरण भएपछि त्यो भाइरल बनेको थियो। उक्त विवाह ठूलो मुद्दा बनेपछि शनिवार बेनामले विवाह कार्यक्रम रद्द भएको जनाएका हुन्।
खासमा यशपाल बेनामकी छोरीको विवाह अमेठीका एक जना मुसलमान युवकसँग हुन लागेको थियो।
दुवै पक्षका परिवार विवाहलाई लिएर सहमत थिए र पौडीमा मे २५, २६ र २७ मा विवाह कार्यक्रम राखिएको थियो।
बेनामले ‘अहिले विवाहको माहौल छैन’ भन्दै उक्त कार्यक्रमलाई रद्द गरिदिएका हुन्।
‘२१ औँ शताब्दीका बच्चाहरू आफ्नोबारे आफैँ निर्णय लिनसक्छन्’
तीन दिनअघि सामाजिक सञ्जालमा एउटा कार्ड भाइरल हुन शुरू भएको थियो। त्यो पौडीका नगरपालिका अध्यक्ष यशपाल बेनामकी छोरीको विवाहको निमन्त्रणा पत्र थियो।
उक्त कार्डको माध्यमबाट मोनिका र अमेठीका मोनिस खानको विवाह समारोहपछिको भोजमा सहभागी हुन दुलहीकी आमा उषा रावत र पिता यशपाल बेनामकातर्फबाट निम्तो दिइएको थियो।
कार्ड भाइरल भएपछि आफ्नी छोरीको विवाह एक जना मुस्लिम युवकसँग गराएको भन्दै यशपाल बेनाममाथि ट्रोल गरिएको थियो।
सामाजिक सञ्जालमा गरिएको ठट्टालाई जवाफ दिँदै यशपाल बेनामले अहिले २१ औँ शताब्दी भएको र छोराछोरीहरू आफ्नो भविष्यबारे आफैँ निर्णय लिनसक्ने भएको जवाफ दिएका थिए।
उनले आफ्नो छोरीको खुसी देखेर पनि परिवारले यो विवाह अघि बढाउने निर्णय लिएको बताएका थिए।
दुवै परिवारको सहमतिपछि विवाहको कार्यक्रम तय गरिएको थियो।
तर उनलाई ट्रोलसँगै धम्की पनि आउन थाल्यो र विरोध प्रदर्शनहरू पनि हुन थाले।
यसैबीच एउटा हिन्दुवादी सङ्गठनका कुनै पदाधिकारीले बेनामसँग फोनमा गरेको कुराकानी पनि भाइरल बन्न पुग्यो।
त्यसमा हिन्दुवादी सङ्गठनका पदाधिकारीले बेनामलाई विवाह रोक्नका लागि धम्की दिएका थिए।

तस्बिर स्रोत, Yespal Benam/Facebook
बद्रीनाथको यात्रामा निक्लिएका हरियाणाको बजरङ्ग दलका केही कार्यकर्ताहरू पनि शनिवार पौडी पुगेका थिए र उनीहरूले जिल्लाका प्रमुख अधिकारीलाई ज्ञापनपत्र दिएर विरोध जनाएका थिए।
कोटद्वारमा बजरङ्ग दलले यो विवाहको विरोधमा प्रदर्शन नै गरेको थियो।
भारतको सत्तारूढ दल बीजेपीका प्रदेश अध्यक्ष महेन्द्र भट्टले उक्त मामिलाबारे आफूलाई जानकारी नभएको र त्यो बेनामको व्यक्तिगत मामिला भएको प्रतिक्रिया दिएका थिए।
तर आफ्नी छोरीको रोजाइलाई सम्मान गर्ने २१ औँ शताब्दीको पिताका रूपमा आफूलाई प्रस्तुत गरेका बेनाम शनिवारसाँझ सम्म पछि हटिसकेका थिए।


एउटा स्थानीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने, “जे माहौल बनेको छ त्यसलाई हेरेर मेरो परिवार र शुभचिन्तकहरूले यो फैसला गरेका छौँ कि २५, २६, २७ का जुन वैवाहिक कार्यक्रम थिए, त्यो हामीले नगर्ने भएका छौँ।”
उनले त्यहाँ आउँदा ‘दुलहा पक्षको मनमा पनि केही भय हुनसक्ने’ भन्दै प्रहरीको छायामा विवाह गराउनु उपयुक्त नहुने आफूहरूले ठानेको बताए।
उनले भने, “त्यही भएर सौहार्दपूर्ण माहौल बन्न नसकेको कारण हाम्रो परिवारले यो वैवाहिक कार्यक्रम नगर्ने भनेका हौँ।”
उनले आफूले कसै प्रति कुनै गुनासो नगर्ने भन्दै विवाहको कार्यक्रम अघि बढाउने माहौल नबनेको जनाए।
“जस्तो खालको धम्कीहरू दिइएको दिइएको छ, जे पायो त्यही कुराहरू गरिएको छ, कयौँ सङ्गठनका मानिसहरूले विरोध प्रदर्शनहरूको कुरा गरिरहेका छन्… म चाहन्न कि मेरा पाहुनाहरू र मेरो ठाउँका मानिसहरूबीच गलत सन्देश जाओस्।”
उनले भने, “अब के हुन्छ, कसरी हुन्छ त्यो बैठक बसेर तय गर्छौँ। परिवारका मानिसहरू जसले यसबारे निर्णय गरे, सबै बसेर अब अगाडि के गर्ने भन्ने निर्णय लिन्छौँ।”
राजनीतिमाथि असर
पौडीको राजनीतिमा यशपाल बेनामको राम्रो पकड रहेको मानिन्छ। उनी सन् २०१८ मा पौडी नगरपालिकाको अध्यक्ष तेस्रो पटक चुनिएका थिए। उनलाई चौथो पटक पनि उक्त पदमा पुग्ने इच्छा थियो। उनी एक पटक पौडीका विधायक पनि निर्वाचित भएका थिए।
तर जानकारहरूका अनुसार पछिल्लो विवादले उनको राजनीतिमाथि गम्भीर धक्का लाग्नसक्छ।
स्थानीय पत्रकार डाक्टर वीपी बलोदी भन्छन्, “बेनामको यो कदमले करिब साढे तीन हजार मुस्लिम भोट एकमुष्ट उनको हातमा आउनसक्छ। तर हिन्दु भोटरहरू असन्तुष्ट छन्। तर उनलाई बीजेपीको टिकट मिल्यो भने उनलाई बीजेपीको नामका कारणले हिन्दु भोट पनि मिल्छ र उनको जीत पक्कापक्की हुन्छ।”
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको जस्तो अवस्था पौडीमा नरहेको भन्दै बलोदीले त्यहाँ कुनै तनाव नरहेको बताए।
अर्का पत्रकार अजय रावतले यो मामिला यति उचालिन्छ भनेर यशपाल बेनामले आकलन गर्न नसकेको बताए। उनले यो विवादका कारण बेनामको राजनीतिमा असर गर्ने बताए।
उनले भने, “यशपाल बेनामको बारेमा उनी मुसलमान भोट ब्याङ्क पनि साथै लिएर हिँड्छन् भन्ने ठानिन्छ। तर जब उनी बीजेपीमा आए तब देखी मुसलमान भोट ब्याङ्क उनीबाट अलग हुन लागेको थियो। त्यही भएर यो विवाहलाई भव्य बनाएर आफ्नो पकड मजबुत बनाउने सोच उनमा रहेको ठानिएको थियो।”
बेनामको यो कदम उनको राजनीतिका लागि आत्मघाती हुनसक्ने भन्दै रावतले थपे, “उता ध्रुवीकरण भयो भने यता पनि हुन्छ।”
तर सामाजिक सञ्जालमा यो पनि चर्चा भइरहेको छ कि बेनामले राजनीतिक नभएर पारिवारिक कारणले यो कदम चालेका हुन्।








