भारत: परीक्षामा सोधेको एउटा प्रश्नका कारण हात काटिएका भारतीय प्राध्यापक

प्राध्यापक जोसेफ
    • Author, सौतिक विश्वास
    • Role, भारत संवाददाता

सन् २०१० मा अतिवादीहरूले एकजना प्राध्यापकले प्रश्नपत्र बनाउँदा इस्लामको अपमान गरेको भन्दै उनको हात काटिदिएका थिए।

त्यो विवादास्पद मुस्लिम समूह पपुलर फ्रन्ट अफ इन्डियालाई गत महिना भारत सरकारले प्रतिबन्ध लगायो।

बीबीसी त्यो घटना र त्यसपछि के भयो भनेर बुझ्न केरला पुगेको थियो।

चेतावनी: यो सामग्रीका केही विवरणले पाठकलाई विचलित तुल्याउन सक्छन्।

घटना

टीजे जोसेफ १२ वर्ष अघिको त्यो आक्रमण अझै झलझली सम्झन्छन्।

जुलाईको महिना थियो र पानी परिरहेको थियो।

स्थानीय कलेजमा मलयालम भाषाका प्राध्यापक त्यसबेला ५२ वर्षका थिए।

उनी आइतवारको प्रार्थनापछि आमा र बहिनीसँग मोटरमा घर फर्कँदै थिए।

उनको गाउँ मुभातुपुजा हो जुन सोही नामको नदी किनारमा अवस्थित छ।

उनी घर नजिकै पुग्नै लाग्दा एउटा सुजुकी मिनिभ्यान आएर उनीभन्दा अगाडि मोडियो र उनको कार अगाडि आएर घ्याच्च रोकियो।

मिनिभ्यानको ढोका खुल्यो र ६ जना मान्छे हतारिएर बाहिर निस्के।

प्राध्यापक जोसेफ

तीमध्ये एकजना प्राध्यापक जोसेफको कारतिर दौड्यो। त्यो मान्छेको हातमा बन्चरो थियो।

त्यसपछि उनको कारको झ्याल बन्चरो हानेर चकनाचुर पारियो।

त्यसपछि प्राध्यापक जोसेफले आफू सङ्कटमा परेको महसुस गरे।

बन्चरो लिएको मान्छेले उनलाई बाहिर निकालेर हात खुट्टा फट्याउन थाल्यो।

"मलाई नमार, मलाई नमार…" जोसेफले अनुनय गरे।

तर बन्चरो बोकेको मानिसले उनका हात खुट्टामा बन्चरोले दाउरा चिर्दाजस्तो प्रहार गरिरह्यो।

उनको बायाँ हातको हत्केला टुक्रिइसकेको थियो। दायाँ पाखुरा मुस्किलले शरीरमा झुन्डिइरहेको थियो।

जोसेफका छोरा र श्रीमती त्यहाँको चित्कार सुनेर बाहिर दौडँदै आए।

प्राध्यापक जोसेफ

उनका छोरा आफ्ना बाबुलाई आक्रमण गर्ने मानिसमाथि जाइलागे।

ती मानिसले एउटा बम विस्फोट पनि गराए अनि रगताम्मे पीडितलाई अलपत्र छोडेर भागिहाले।

घटनापछि...

त्यो घटना सम्झँदै प्राध्यापक जोसेफले भने "मैले यो साँच्चिकै भइरहेको छ भन्ने सोचिरहेँ।"

छिमेकीहरूले उनलाई दौडाउँदै अस्पताल पुर्‍याए।

एकजना छिमेकीको बगैँचामा त्यतिकै लडिरहेको पाखुरालाई पनि एउटा झोलामा राखेर अस्पताल पुर्‍याइयो।

होसमा आउँदै, बेहोस हुँदै गरेका जोसेफलाई करिब ५० किलोमिटर टाढा रहेको अस्पताल पुर्‍याइयो र उनको आकस्मिक शल्यक्रिया गरियो।

छ जना शल्य चिकित्सकले १६ घण्टा लगाएर तथा १६ बोतल रगत दिएर शल्यक्रिया गरे।

उनीहरूले टुक्रिएको हात जोडिदिए र अरू घाउ सिलाए।

प्राध्यापक जोसेफ शल्यक्रिया गरेको १८ घण्टापछि होसमा आए।

त्यसबेला अस्पतालमा समाचारदाताहरूको भीड लागेको थियो।

बाहिर एकजना शिक्षकमाथिको आक्रमणले आक्रोश जन्माएको थियो।

एघार दिन त उनलाई सघन उपचार कक्षमा राखिएको थियो। ३५ दिनपछि चिकित्सकले उनलाई घर जान दिए।

घटनाको कारण

प्राध्यापक जोसेफले भने , "मेरो अपराध भनेको जाँचका बेला एउटा प्रश्न बनाउनु थियो। त्यसमा रहेको एउटा प्रसङ्गलाई केही मानिसले मैले इस्लामको अपमान गरेको रूपमा लिए।"

आक्रमणको चार महिना पहिले प्राध्यापक जोसेफलाई एकाबिहानै एउटा फोन कलले उठाएको थियो।

उक्त फोन कल न्यूम्यान कलेजका प्राचार्यले गरेका थिए।

त्यो कलेज स्थानीय रोमन क्याथलिक चर्चले सञ्चालन गरेको थियो।

प्राध्यापक जोसेफ आफ्नो २५ वर्षे लामो अध्यापन करिअरमा दुई वर्षदेखि त्यहाँ कार्यरत थिए।

जोसेफलाई प्राचार्यले कलेज परिसर प्रहरीले भरिएको र उनी कलेज नआउनु नै उचित हुने बताएका थिए।

प्राचार्यले जोसेफलाई सचेत बनाउँदै भने, "तपाईँ कलेज आए कुरा झन् बिग्रन सक्छ।"

प्राध्यापक जोसेफले भने, "किन? मैले त केही गलत गरेको छैन।"

प्राध्यापक जोसेफ

प्राचार्यले मानिसहरूले पैगम्बर मोहम्मदको अपमान भएको भन्दै कलेजका भित्ताहरूमा पोस्टर टाँसेको कुरा बताए।

त्यो समस्यामा पारेको प्रश्न हिज्जे सच्याउने बारेको एउटा अभ्यास थियो।

विद्यार्थीलाई उनले राम्रो र नराम्रो मान्छेबीचको संवाद दिएका थिए जुन फिल्म निर्माता पीची कुन्जु मोहम्मदले लेखेका थिए।

त्यहाँ 'म्याड म्यान'लाई प्राध्यापकले मोहम्मद बनाइदिएका थिए किनभने निर्देशकको दोस्रो नाम नै मोहम्मद थियो।

"मोहम्मद मुस्लिमहरूका लागि साझा नाम हो। मेरो दिमागमा कसैले त्यसलाई पैगम्बर मोहम्मद ठान्ला भन्ने लाग्दै लागेन।"

चारजना मुस्लिमसहित ३२ जना विद्यार्थीले परीक्षा दिएका थिए।

कसैले पनि प्रश्नबारे गुनासो गरेनन्। एकजना छात्रा भने "त्यसबारे केही हिचकिचाएकी" थिइन्।

तनाव बढ्दै जाँदा प्रहरीले प्रदर्शनकारीहरूलाई कलेज गेटमा रोकेका थिए।

भिडले सहरका पसलहरू बन्द गराएका थिए। कलेजले तत्काल शिक्षक निलम्बनमा परेको घोषणा गर्‍यो।

निलम्बनपछि...

प्राध्यापक जोसेफ भन्छन्, "मलाई त कुनै चेतावनी नदिईकनै कसैलाई नङ्ग्याएको जस्तो लाग्यो।"

जोसेफले श्रीमती सलोमिलाई केही लुगाको पोको बनाइदिन भने र सहर बाहिर यात्रामा निस्किए।

केही दिनसम्म उनी एक सहरबाट अर्को गरिरहे।

सस्ता होटेलमा बसे र त्यो घटनामा के भइरहेको छ भन्ने समाचार टीभीमा हेरेर थाहा पाइरहे।

प्राध्यापक जोसेफ

तस्बिर स्रोत, PTI

तस्बिरको क्याप्शन, घटनापछि कैयौँ मानिसहरू पक्राउ परेका थिए

प्रहरीले उनी कहाँ छन् भन्ने पत्ता लगाउन चारवटा समूह बनायो।

उनका २२ वर्षे छोरालाई हिरासतमा लिएर उनका बाबु कहाँ छन् भन्ने पत्ता लगाउन खोज्यो।

उनका छोरालाई हत्यारा र अवैध रक्सी बिक्रीको आरोप लगाइएका लगायतका १५ जना अरू राखेको कोठामा कोचियो।

प्रहरीले उनको घर छापा मारेर उनको राहदानी, ब्याङ्कका कागजात र अरू सरकारी कागजात लगिदिए।

अनि, सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरूले ईशनिन्दा गरेको र ईश्वरको अपमान गरेको आरोप लगाए।

प्राध्यापक जोसेफको कलेजले सार्वजनिक माफी माग्यो र प्रहरीले उनलाई "प्रश्नपत्र आरोपी" नाम दियो।

कलेजले उनलाई विभिन्न आरोपहरू रहेको पत्र पठायो जसमा "सबै धर्म खासगरी इस्लामको मर्ममा चोट पुर्‍याएको" उल्लेख थियो।

करिब एक सातापछि प्राध्यापक जोसेफ धरौटीमा रिहा हुन पाए र आफ्ना ससुरालीतर्फका नातेदारसँग बस्न थाले। उनी घर बाहिर निस्कँदै निस्केनन्।

आक्रमणको प्रयास

"मलाई लाग्थ्यो यी कट्टरपन्थीहरूले मलाई मारिदिनेछन्" उनले भने।

मानिसहरू जोसेफलाई खोज्दै तीन पटक आए। एक पटक त झन्डै उनलाई भेटे।

विद्यार्थी हौँ र प्राध्यापकबाट हामी संस्मरण लेखाउन चाहन्छौँ भन्ने दाबी गर्दै ६ जना व्यक्ति आउँदा उनी घरमा थिएनन्।

दोस्रो पटक आउँदा उनीहरूले प्राध्यापक जोसेफबाट कसैकी मिर्गौला बिग्रिएकी छोरीको उपचारका लागि पैसा मागिएको थियो।

त्यहाँ प्रोफेसरलाई चिन्ने कसैको चिठी भन्दै एक खाम थमाइयो।

जोसेफले त्यो खाम लिए तर उनले त्यो लेटर बम हुन सक्छ भन्ने सोचेर फिर्ता गरिदिए र ढोका ढ्याम्म लगाए।

ती मानिसहरू बाइक चढेर भागे।

"तिनीहरू ममाथि आक्रमण गर्न आएका हुन् भन्नेमा म निश्चित थिएँ। मैले मेरा छिमेकीहरूलाई बोलाएँ। उनीहरूले मलाई अन्तै सर्न भने। तर मेरी वृद्ध आमा र परिवार छोड्न सक्दिनथेँ। म आत्तिन थालेँ।"

प्राध्यापक जोसेफले प्रहरीलाई खबर गरे। प्रहरीहरू राति उनको घरको गस्ती गर्न राजी भएर गए।

ती मानिसहरू फेरि मे महिनाको अन्तिम साता आए।

दुई जनाले आएर घण्टी बजाए।

उनीहरूले आफूहरू ब्याङ्कबाट आएको बताएका थिए।

एक जनाले आफू सामान्य लुगामा आएको प्रहरी भएको बताए।

उनीहरूले जोसेफलाई हरेक कोठामा खोजे। त्यसबेला पनि उनी बच्न सफल भए।

त्यसपछि घरको सुरक्षा व्यवस्था कडा बनाइयो।

गेटमा साँचो लगाइयो। ढोकाहरूमा साँचो लगाइयो।

एक जनाले निरन्तर घर बाहिर कोही आउँछ कि भनेर पहरा दिन थालियो।

उनले एउटा आरनवालाको सहयोगमा हतियार बनाएर बैठक कोठाको पर्दापछाडि लुकाएर राखे। उनी विरलै बाहिर निस्के।

तर एकदिन उनीमाथि आक्रमण भएरै छाड्यो।

प्राध्यापक जोसेफ

आक्रमणकारीको खोजी

प्रहरीले तत्काल उक्त आक्रमणसँग सम्बन्धित ३१ जनालाई गिरफ्तार गर्‍यो।

ती सबै पपुलर फ्रन्ट अफ इन्डिया पीएफआई सम्बद्ध थिए।

त्यो सन् २००६ मा बनाइएको विवादास्पद मुस्लिम संस्थालाई गत महिना पाँच वर्षका लागि प्रतिबन्ध लगाइएको छ।

उसलाई एउटा आतङ्कवादी समूहसँग सम्बन्ध रहेको भनिएको छ, जुन उसले अस्वीकार गर्दै आएको छ।

उक्त आक्रमणसँग सम्बन्धित १३ जना मानिसलाई दोषी ठहर गरियो।

तीमध्ये दश जनालाई आठ वर्षका लागि जेल हालियो।

सङ्घीय अनुसन्धानकर्ताहरूले आरोपीहरूका लागि कम सजाय भएको भन्दै अपिल गरे।

थप ११ जना मानिस पनि गिरफ्तार भए र उनीहरूको मुद्दा चलिरहेको छ।

चार सय प्रत्यक्षदर्शीले आफ्नो प्रमाण दिनेछन् र मुद्दा दश वर्षभन्दा बढी समयसम्म चलिरहँदा प्राध्यापक जोसेफले अहिलेसम्म अदालतले आदेश दिएको ८ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति पाउन बाँकी छ।

त्यो दोषी ठहर भएकाहरूले तिर्नु पर्नेछ।

सङ्गठिन आक्रमण

ज्याकोप पुनोज घटना भएका बेला केरलाका प्रहरी प्रमुख थिए।

उनले आफ्नो करिअरमा अनुसन्धान गरेको घटनामध्ये त्यो आक्रमण असाध्यै सङ्गठित थियो भनेका छन्।

"धेरै योजना बनाइयो। पीडितको पहिचान गरियो, आक्रमण गर्ने ठाउँ छनोट गरियो, सबै सावधानी अपनाइएको थियो। भगाउनका लागि दुईवटा कारसहित तीनवटा गाडी प्रयोग गरियो," ती सेवानिवृत्त अधिकारीले मसँग भने।

ती व्यक्तिहरूले कम्तीमा चारपटक विभिन्न ठाउँमा भेटेर आक्रमणका लागि षड्यन्त्रको विस्तृत खाका कोरेका थिए।

प्राध्यापक जोसेफलाई घरमा आक्रमण गर्ने उनीहरूको प्रयास असफल भएपछि उनीहरूले मिनिभ्यान किने र नक्कली नम्बरप्लेट बनाए।

घरमा आक्रमण गर्ने प्रयासका क्रममा दुईपटक जोसेफ घरबाहिर थिए भने एकपटक उनले ढोका बन्द गरे।

उनीहरूले मोटरसाइकलमा एकजना व्यक्तिलाई ती प्राध्यापकको गाडीलाई पछ्याएर उनी चर्च जाने बाटो निरिक्षण गर्न लगाएका थिए।

"उनीहरू यति चलाख थिए कि आक्रमणमा प्रयोग गरिएका सबै मोबाइल फोन र सिमकार्ड नयाँ थिए। आक्रमणकारीमध्ये एकजनाले सानो गल्ती गरे। उसले विच्छेद गरेको नियमित प्रयोग नगर्ने नम्बरमा कल गरेर आफ्नो नयाँ फोनमा नयाँ सिम कार्ड भए/नभएको परीक्षण गर्ने प्रयास गरे। त्यो नम्बरबाट आएको फोन हामीले उठाएका थियौँ,' पुनोजले भने।

"यो माफिया शैलीको आक्रमण थियो। मुद्दा चाँडै टुङ्ग्याउन पाउने कुरामा हामी भाग्यमानी बन्यौँ।"

तर वास्तविक परीक्षा त प्राध्यापक जोसेफका लागि त्यसपछि सुरु भएको थियो।

प्राध्यापकको जागिर गयो

अस्पतालबाट फर्केको एक महिनापछि प्राध्यापक जोसेफलाई अगस्ट २०१० मा उनको कलेजले बर्खास्त गर्‍यो।

केरलामा विरोधको ज्वाला सल्कियो।

पपुलर फ्रन्ट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पपुलर फ्रन्टलाई हालै भारत सरकारले प्रतिबन्ध लगाइदिएको छ

शिक्षकहरूले उनको उपचारका लागि पैसा उठाए, समर्थन र सहानुभूतिका पत्रहरू बढे, प्रमुख साहित्यिक र सांस्कृतिक व्यक्तित्वले उनको बर्खास्तीको निन्दा गरे र दुईजना प्रदर्शनकारीले उनको कलेज बाहिर भोक हड्ताल गरे।

एउटा स्थानीय अखबारले सम्पादकीयमा लेखेको थियो, "केवल असंवेदनशील निकायले मात्र त्यस्तो कठिन परिस्थितिलाई बेवास्ता गर्न र श्रीमती र दुई छोराछोरी आश्रित भएको व्यक्तिलाई सेवाबाट बर्खास्त गर्न सक्छ।"

त्यसपछि प्राध्यापकको जीवन द्रुत गतिमा ओरालो लाग्न थाल्यो।

उनले २०१० र २०११ मा आफ्नो चोट लागेको खुट्टा, हात र औँला निको पार्न शृङ्खलाबद्ध शल्यक्रियाहरू गराएका थिए।

दाहिने हातले संवेदना गुमाएपछि उनले देब्रे हातले लेख्ने र खाने अभ्यास गर्न थालेका थिए।

परिवारले पनि जीवन चलाउन सङ्घर्ष गर्नुपर्‍यो।

गहनाहरू पसलमा बन्दकी राखिए, बालबालिकाको पढाइका लागि ऋण लिनुपर्‍यो।

प्राध्यापक जोसेफकी श्रीमती सलोमीले सरकारी रोजगार योजना अन्तर्गत पसलमा काम गर्ने वा अन्य काम गर्ने सोच बनाइन्।

नोभेम्बर २०१३ मा अदालतले ईशनिन्दाको आरोपलाई खारेज गरिदिएपछि चाहिँ केही आशाको किरण देखापर्‍यो।

उक्त अदालतले यो विवाद "केही मुस्लिम जसले प्रश्नलाई गलत बुझेका कारण" सिर्जना भएको बतायो।

सलोमी जोसेफ
तस्बिरको क्याप्शन, सलोमी दायँतिर

करिब चार वर्षदेखि बेरोजगार भएका प्राध्यापक जोसेफका लागि त्यो "आनन्दको क्षण" बन्यो।

श्रीमतीको निधन

प्राध्यापकको घरमा ४८ वर्षीया श्रीमती सलोमी डिप्रेसनमा थिइन्।

जोसेफले भने, "उनीले आफूले मर्न चाहेको बताइन्।"

परिवारले घरमा राखिएका कीटनाशक औषधिहरू र सबै चक्कुहरू लुकाए, उनको औषधिहरूलाई ताला लगाएर थुनिदिए र ती औषधिमा प्राध्यापक जोसेफको मात्र पहुँच थियो।

ती सबैले पनि मद्दत गरेनन्। मार्च २०१४ मा एकदिन दिउँसोको खाजा खाएपछि सलोमीले आफ्नो ज्यान लिइन्।

उनको मृत्युले ठूलो आक्रोश पैदा गरायो र कलेजलाई उक्त परिवारको कष्टका लागि दोषी ठहर्‍याइयो।

उनकी पत्नीको मृत्युको तीन दिनपछि प्राध्यापक जोसेफलाई कलेजले अन्ततः पुनर्स्थापित गर्‍यो। त्यसबेला उनी सेवानिवृत्त हुन तीन दिन मात्र बाँकी थियो।

यद्यपि स्थानीय रोमन क्याथोलिक धर्मगुरु चाहिँ आफ्नै विचारमा अडिग रहे।

उनले धार्मिक मण्डलीहरूमा पढेर सुनाएको एउटा पत्रमा के भनिएको छ भने प्राध्यापक जोसेफको प्रश्नमा "निन्दा र धार्मिक अपमानको मिश्रण" थियो र "एउटा विशेष समुदायका विद्यार्थीलाई दु:खी बनायो।"

पत्रमा "मानवीय हिसाबले" "उनीप्रति दया देखाइएको र उनलाई सेवामा पुनर्स्थापित गरिएको" भनिएको थियो।

अन्तिम समयमा प्राध्यापक जोसेफको पुनर्स्थापनाको अर्थ उनी आफ्नो तलबको बक्यौता र अवकाशपछि पाउने सुविधाहरूका लागि योग्य थिए।

उनले अर्का धर्मगुरुबाट चाहिँ साथ पाएका थिए।

उनले बुलेटिन जारी गरेका थिए र त्यसमा उक्त घटनाका कारण ती प्राध्यापकको पारिवारिक जीवन "जिउँदै नरक"मा परिणत भएको भनिएको थियो।

प्राध्यापक जोसेफले भने, "मैले लडाइँको भावनामा आक्रमणलाई स्वीकार गरेको छु र त्यसलाई मसँगै राखेको छु।"

"तर सलोमीको मृत्युले मलाई अहिलेसम्म सताएको छ।"

जोसेफहरूको जीवन अब पूर्ण लयमा फर्किएको छ।

प्राध्यापक जोसेफ आफ्नो लेखकका रूपमा 'पुनर्जन्म' भएको बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतः साँघुरो इनारमा खसेका १८ महिने शिशुको यसरी गरियो उद्धार

देब्रे हातले धेरै समय लगाएर ७०० पृष्ठहरू लेख्दै उनले आफ्नो संस्मरण पूरा गरेका छन्।

उनको संस्मरण "अ थाउजेन्ड कट्स" गतवर्ष बजारमा आएको र त्यसले आलोचनात्मक प्रशंसा पाएको एवम् हालसम्म ३० हजारभन्दा बढी प्रति ब्रिकी भइसकेको उनले बताए।

उनले व्यङ्ग्य पुस्तकको सिक्वेल पनि प्रकाशित गरेको छन्। अहिले उनी कथाको पुस्तक ल्याउने योजनामा छन्।

विस्तारित परिवार

अहिले उनको परिवार पनि विस्तारित भइरहेको छ र त्यसलाई उनको निवृत्तिभरण बापत आउने रकमले व्यवस्थापन गर्नु परिरहेको छ।

उनी अहिले आफ्नी ९५ वर्षीया आमा, ३५ वर्षका छोरा र बुहारी तथा तीन वर्षे नातिसँग बस्छन्।

उनका छोरा स्टक ब्रोकरका रूपमा काम गर्छन् भने बुहारी इन्जिनियर छिन्।

उनी आयरल्यान्डमा बसोबास र नर्सका रूपमा कार्यरत आफ्नी ३२ वर्षीया छोरीलाई भेट्न पनि गए।

उनकी छोरीले एकजना भारतीय नर्ससँगै विवाह गरेकी छन्। उनीहरूका पनि १८ महिनाका एक छोरा छन्।

उनकी दिदी एक नन हुन् र उनीमाथि आक्रमण हुँदा ती पनि कारमा सँगै थिइन्।

प्राय: घरायसी जमघटहरूमा उनी पनि आउने गर्छिन्।

सफा सर्ट, डेनिम र रिमलेस चश्मामा सजिएका प्राध्यापक जोसेफ ६४ वर्षीय हजुरबा जस्तो देखिँदैनन्।

उनी एक दशकअघि अपाङ्ग र बर्बाद भएका थिए।

किसान र गृहिणी आमाका छोरा उनी तेज स्वभावका छन् र स्तब्ध भएपछिको शान्त अवस्थाको जस्तो भावना व्यक्त गर्छन्।

प्राध्यापक जोसेफले आफ्ना आक्रमणकारीहरूलाई उनीहरू "धेरै ठूलो खेलका प्यादा मात्र" भएकोकाले उनीहरूलाई माफी दिएको मलाई बताए।

तर उनले आफूमाथि आक्रमण गर्ने कट्टरपन्थी समूहमाथि लगाइएको प्रतिबन्धलाई स्वागत गरेको सुनाए।

जोसेफ आफ्नी दिदी र बुहारीका साथमा
तस्बिरको क्याप्शन, जोसेफ आफ्नी दिदी र बुहारीका साथमा

तर सुस्त गतिमा चल्ने न्यायिक प्रणालीले उनलाई थकित बनाएको छ।

"उक्त मुद्दासँग सम्बन्धित कसैलाई पनि पक्राउ गर्दा मैले उसको पहिचान गर्न जेलमा जानुपर्छ र अदालतको चक्कर लगाउनु पर्छ। म एक वर्षअघि अदालत गएको थिएँ। त्यहाँ आक्रमणको सबै विवरण फेरि स्मरण गर्नुपर्‍यो।"

मैले प्राध्यापक जोसेफलाई उनको परिवारले सामना गरेको सामूहिक दुःस्वप्नपछि कसरी त्यसबाट छुटकारा पाए भन्नेबारे सोधे।

उनले मलाई उनकै सामान्य शैलीमा एउटा किस्सा सुनाए।

उनले केही वर्षअघि केरलामा आफ्नो परिवारसँग दर्शनीय यात्रामा रहेका बेला उनले एकजना विद्यार्थीलाई उनकी आठ वर्षीया छोरीसँगै भेटेका थिए।

ती विद्यार्थीले आफ्नी छोरीलाई भनिन्, "उहाँ जोसेफ सर हो उहाँको दुर्भाग्यपूर्ण दुर्घटना भएको थियो।"

"के उहाँ त्यही व्यक्ति हो, जसको हात काटिएको खबर सुनेपछि तपाईँ ठूलो स्वरले रुनु भएको थियो," ती सानी केटीले उनकी आमालाई भनिन्।