भारत: निसानामा पारेर हत्या गर्न थालिएपछि कश्मीरी हिन्दू त्रासमा

गत मे ३१ तारिख बिहान ४१ वर्षीया रजनी बालाको हत्या भएको थियो
तस्बिरको क्याप्शन, गत मे ३१ तारिख बिहान ४१ वर्षीया रजनी बालाको हत्या भएको थियो
    • Author, योगिता लिमये
    • Role, बीबीसी न्यूज, श्रीनगर

भारत प्रशासित कश्मीरको दक्षिणी क्षेत्रस्थित गोपालपुराको सरकारी विद्यालय जाने बाटोको एउटा गाउँमा त्यस क्षेत्रकै सबैभन्दा मन पराइएकी विद्यालय शिक्षिकालाई हतारमा श्रद्धाञ्जली दिइयो।

गत मे ३१ तारिख बिहान ४१ वर्षीया रजनी बालाको हत्या भएको थियो।

पटाका पड्किएको जस्तो आवाज सुन्दा विद्यालय बाहिर विद्यार्थी र कर्मचारीहरू प्रार्थनाका लागि भेला भएका थिए।

तर दैनिक जीवनमा हिंसाको सामना भइरहने उक्त क्षेत्रमा केही नराम्रो कुरा भयो भन्ने उनीहरूले तत्कालै थाहा पाइहाले।

प्रहरीका अनुसार रजनी बालालाई टाउकोमा गोली हानिएको थियो।

उनी हिन्दू भएकाले नै निसानामा परिन् भन्ने व्यापक रूपमा ठानिएको छ।

हिन्दूमाथि निसाना

भारतको एक मात्र मुस्लिमबहुल क्षेत्र कश्मीरमा हिन्दूहरू अल्पसङ्ख्यक रूपमा रहेका छन्।

गत वर्षदेखि त्यस क्षेत्रमा लगातार हिन्दूहरूको हत्या भइरहेको छ र त्यस्तो पछिल्लो हत्या गत साता भएको थियो।

गत साता दक्षिणी कश्मीरस्थित शोपियानमा सुनिलकुमार भटलाई स्याउ बगैँचामा नै गोली हानेर हत्या गरिएको थियो।

रजनी बालाको विद्यालय
तस्बिरको क्याप्शन, रजनी बालाको विद्यालय

रजनीको परिवारले बताए अनुसार उनीहरू रजनीमाथि आक्रमण हुनुअघि नै कश्मीर छाडेर अन्यत्र जान चाहन्थे।

"डेढ महिना अघि एक जना हिन्दू ड्राइभरको स्कूलबाट दुई किलोमिटर पर हत्या भएको थियो। कश्मीरका विभिन्न भागमा हिन्दूमाथि अरु आक्रमण पनि भएका थिए। त्यसबेलादेखि हामी डराएका थियौँ र हामीले रजनीको स्थानान्तरणका लागि दुई पटक आवेदन पनि दिएका थियौँ,' उनका श्रीमान् राजकुमार अत्रीले भने।

रजनी बालाले इतिहास अध्यापन गर्थिन्। उनले उक्त विद्यालयमा पाँच वर्षदेखि काम गरिहरेकी थिइन्।

उनले आफ्ना सहकर्मीहरूलाई यदि धम्की नआएको भए आफू कहिल्यै त्यहाँबाट जान नचाहेको बताएकी थिइन्।

विज्ञानकी शिक्षीका साइमा अख्तरले भनिन्, "उहाँ सभ्य, ज्ञानले भरिपूर्ण र मिलनसार हुनुहुन्थ्यो। उहाँलाई हाम्रो विद्यालयमा मात्र होइन, गाउँभरि नै मन पराइएको थियो।"

"हामी अहिले टुटेका छौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कश्मीर विवाद

डरको अवस्था

उक्त हत्यापछि आधा जति मात्र विद्यार्थीहरू विद्यालयमा आइरहेका छन्।

जो विद्यालय आइरहेका छन् उनीहरूको मुहारमा पनि गहिरो आघात स्पष्टै देखिन्छ।

उनका श्रीमान् चाहिँ आफ्ना किशोरी छोरीका साथमा त्यस क्षेत्रबाट अन्यत्र गएका छन्।

पछिल्ला हत्याहरूले ३० वर्षअघिको अवस्थाको पुन: एकपटक स्मरण गराएको छ।

धर्नामा कश्मीरी हिन्दू
तस्बिरको क्याप्शन, धर्नामा कश्मीरी हिन्दू

त्यसबेला सयौँ हिन्दूहरूलाई हतियारधारी विद्रोहीहरूले हत्या गरेका थिए।

त्यसले गर्दा उक्त क्षेत्रबाट हिन्दू समुदायका मानिसहरू ठूलो सङ्ख्यामा पलायन हुन बाध्य भएका थिए।

त्यो भारत प्रशासित कश्मीरमा जटिल द्वन्द्वको सुरुवात ताकाको कुरा हो।

उक्त क्षेत्रमा दशकौँदेखि त्यस्तो द्वन्द्व जारी छ।

सन् १९८० को अन्त्य ताकाबाट कश्मीर उपत्यकामा सशस्त्र द्वन्द्व सुरु भएको थियो।

त्यस्तो हिंसा र अशान्तिका लागि भारतले पाकिस्तान जिम्मेवार रहेको आरोप लगाउने गरेको छ।

तर इस्लामावादले त्यस्ता आरोपलाई खारेज गर्दै आएको छ।

कश्मीर क्षेत्र दुई देशबीच विभाजित छ र एक अर्काले दुवै देशमा विभाजित क्षेत्रलाई पनि आफ्नो भू-भाग रहेको दाबी गर्दै आएका छन्।

लामो लडाइँ

द्वन्द्व सुरु भएको दशकौँ हुँदा त्यहाँ हज्जारौँ भारतीय सुरक्षाकर्मी, सशस्त्र विद्रोही र सर्वसाधारणको ज्यान गइसकेको छ।

तर सन् २००३ पछि उक्त क्षेत्रमा हिन्दू समुदायलाई लक्षित गर्दै यस्ता खालका आक्रमण भएका थिएनन्।

सन् २०१० देखि कश्मीर छाडेका कैयौँ हिन्दूहरूलाई सरकारी जागिर र फ्ल्याट दिएर फिर्ता गराउन थालिएको थियो।

कश्मीर

भारतीय अधिकारीको भनाइ

भारत सरकारले नियुक्त गरेका उक्त क्षेत्रका उच्च अधिकारी उप-राज्यपाल मनोज सिन्हाले बीबीसी हिन्दीलाई सर्वसाधारण लक्षित हमलालाई लामो समयमा भएका त्यस्ता घटनाहरूसँग तुलना गरेर हेर्नुपर्ने बताएका छन्।

उनले भने, "यी धेरै दुखद् घटना हुन्। तर यदि तपाईँले विगत १० देखि १५ वर्षका निसाना बनाएर गरिएका हत्याहरू हेर्नुभयो भने ती हिन्दूहरू मात्र होइन सबैखाले सर्वसाधारणसँग सम्बन्धित छन् र त्यस्ता हत्याहरू अहिले कम भइरहेका छन्।"

"त्रासको वातावरण पहिलेको जस्तो छैन।"

तर गएको दशकमा कश्मीर फर्किएका त्यहाँका हिन्दूहरू आफ्नो जीवन रक्षाका लागि उक्त क्षेत्र छाड्न चाहेको बताउँछन्।

कश्मीर फर्किएका हिन्दूहरूको बसोबासका लागि बनाइएको दक्षिणी कश्मीरस्थित कोलोनीका हिन्दूहरू अहिले धर्नामा बसेका छन्।

उनीहरूको माग उक्त कोलोनीलाई अन्यत्र सार्नुपर्छ भन्ने रहेको छ।

"हामी यहाँ फर्केदेखि हामीले धेरैखाले समस्याको सामान गर्नुपर्‍यो जस्तो कि घरको अवस्था। तर हामीलाई निसानामा पारिएको थिएन। अहिले चाहिँ हाम्रो जीवन नै जाने खतरा छ," सरकारी सेवामा काम गर्ने एकजना इन्जिनियर सन्दीप रैनाले भने।

"मेरो परिवारले सन् १९९० मा यो क्षेत्र छाड्दा म १० वर्षको थिएँ। अहिले मेरो छोरो त्यस्तै उमेरको छ र हामी फेरि यो क्षेत्र छाड्न चाहन्छौँ।"

उनले आफूलाई अहिले निकै डर लाग्न थालेको बताए।

"यदि मसँगैको कसैले आफ्नो गोजीबाट हात बाहिर निकाल्यो भने मलाई उसले गोली हान्न पो त्यस्तो गरेको हो कि जस्तो लाग्छ," एउटा सरकारी विद्यालयका शिक्षक सञ्जय कौलले भने।

"हामीले हाम्रा बालबालिकालाई विद्यालय पठाउन छाड्यौँ र हामी विरलै आफ्नो कम्पाउन्डभन्दा बाहिर जान्छौँ।"

उक्त क्षेत्रमा कश्मीरी हिन्दूरहरूको पुनर्वास गराउने योजना सत्ताधारी भारतीय जनता पार्टी भाजपाको एउटा अभियानमध्येको हो।

उक्त कोलनीका अधिकांश हिन्दूहरू सरकारबाट त्यो स्थान नछाड्न दबाब आएको बताउँछन् किनकि त्यसले सरकारी प्रतिबद्धतालाई भङ्ग गर्नसक्छ।

सरकारले ती आरोपहरूबारै सोधिएको जवाफको कुनै उत्तर दिएको छैन।

विद्रोहीको दाबी

विद्रोही समूहले आफूहरूले अल्पसङ्ख्यक र बाहिरियाहरूमाथि आक्रमण गरिरहेको बताउँछन्। भारतको हिन्दू राष्ट्रवादी सरकारले मुस्लिमबहुल कश्मीरको जनसाङ्ख्यिक तथ्याङ्क परिवर्तन गर्न खोजेको विश्वास आफूहरूलाई रहेको उनीहरू बताउँछन्।

त्यो आरोपलाई भारतीय प्रशासनले अस्वीकार गर्दै आएको छ। तर उसको कारबाहीले अविश्वास बढाएको छ।

सन् २०१९ मा सङ्घीय सरकारले कश्मीरको स्वायत्तता आफ्नो नियन्त्रणमा लिँदै त्यसलाई केन्द्र शासित बनाएको छ।

त्यहाँ उसले कश्मीर बाहिरका मानिसहरूले पनि जमिन खरिद गर्न पाउने व्यवस्था गरेको छ।

कश्मीरमा अहिले निर्वाचित क्षेत्रीय सरकार छैन र प्रहरी र प्रशासनमा भारतका अन्य प्रदेशका मानिसको बाहुल्यता छ।

कश्मीरका लामो समयदेखि रहँदै आएको भारतीय राज्यप्रतिको आक्रोश सन् २०१९ पछि झन् बढेको छ।

तुर्कवङ्गाम गाउँमा एकजना २० वर्षका मुस्लिम सर्वसाधारण शोएब मोहम्मद गनाईको गत मे १५ मा हत्या भयो।

उनको परिवारका सदस्यहरूका अनुसार उनी केही महिनाअघि मात्र सुरु गरिएको कारका स्पेयरपार्टस्‌को पसल बाहिर उनलाई गोली हानिएको थियो।

उनलाई एकजना अर्ध सैनिकले बन्दुक ताक्दै हात माथि उठाउन भनेका थिए।

उनले उक्त आदेशलाई मान्दामान्दै ती सैनिकले उनको छातीमा गोली हानेको शोएबका नातेदारहरूले बताए।

शोएबका पिता
तस्बिरको क्याप्शन, शोएबका पिता

शोएबका पिता ५० वर्षका गुलाम मोहम्मद गनाई उनको छोराको चिहान हेरेर पुरै दिन बिताउँछन्।

भावुक हुँदै उनले भने, "शोएब सामान्य व्यक्ति थियो एउटा विद्यार्थी र एकजना पसले मात्र थियो। उसको अपराध के थियो?"

"हामीमाथि थोपरिएको यो क्रुरताको न्याय पाउनुपर्‍यो। हाम्रो मुटुको टुक्रालाई हामीबाट खोसियो।"

उनी आफ्नो क्रिकेट खेल्न मन पराउने छोराको जर्सी लगाएर एउटा ठूलो ट्रफी लिएको तस्बिर देखाउँछन्।

प्रहरी र अर्ध सैनिक बलले बीबीसीसँग कुराकानी गर्दै शोएब दोहोरो भिडन्तका क्रममा मारिएको बताएका छन्।

तर एकभन्दा बढी प्रत्यक्षदर्शीहरूले उनलाई पक्रनका लागि कुनै गोली हानाहान नभएको बताए।

छानबिन

उक्त घटनालाई लिएर एउटा छानबिनको आदेश दिइएको छ।

शोएबका पिता उनका छोराको शव चाँडै दिएकोमा अनुगृहित बनेको बताउँछन्। तर उनलाई आफ्नो छोराको हत्याको यथार्थ कहिल्यै बाहिर आउँला भन्ने लाग्दैन।

उनी भन्छन्, "यदि हाम्रो आफ्नै सरकार भएको भए कम्तीमा हामीले जवाफदेही बनाउन पाउने कोही त हुन्थ्यो। अहिले त कसैले पनि हाम्रो कुरा सुन्दैनन् अनि कसैले पनि प्रश्न गर्दैनन्। उनीहरूलाई हाम्रो भोट चाहिँदैन अनि किन उनीहरूले हाम्रो मतलब गरुन्?"

पछिल्ला महिनाहरूमा त्यस्ता धेरै सर्वसाधारणको हत्या भएका आरोपहरू सुरक्षा फौजमाथि लागेका छन्।

तर ती आरोपबारे सोधिएका प्रश्नको जवाफ भारत सरकारले बीबीसीलाई दिएन।

उप-राज्यपाल सिन्हाले चाहिँ "उपयुक्त समयमा" निर्वाचित सरकार त्यहाँ स्थापित हुने बताए।

त्यो भनेको के हो भन्ने चाहिँ उनले विस्तृत रूपमा भनेनन्।

"कश्मीरमा कोही पनि सुरक्षित छैनन्। यदि तपाईँले घर छाड्नुभयो भने साँझमा घर फर्कनु हुन्छ हुन्न भन्ने थाहा हुन्न," शोएबमा पिता भन्छन्।