कश्मीर विवाद: घरबाट ७०० किलोमिटर टाढा थुनामा राखिएको छ कश्मीरीहरूलाई

कश्मीर

तस्बिर स्रोत, Getty Images

गत अगस्ट ५ मा जम्मू-कश्मीर राज्यको स्वायत्तता खारेज गरेपछि भारत सरकारले अभियानकर्ता, स्थानीय नेता र व्यापारीसहित हजारौँ मानिसलाई गिरफ्तार गरेको विश्वास गरिन्छ। तीमध्ये धैरै जनालाई कश्मीरबाहिर अन्यत्र स्थानान्तरण गरिएको छ।

बीबीसी हिन्दीका विनीत खरे उत्तर प्रदेशको एउटा बन्दीगृहमा पुगेका थिए। उनी आगरा पुग्दा बिहान गर्मी र आर्द्रता थियो तर बेलाबेला चल्ने हावाले केही राहत दिएको थियो। उनले त्यहाँ देखेको विवरण -

उत्तर प्रदेशको यो भिडभाडपूर्ण र धुलाम्मे सहर ताजमहलका कारण प्रसिद्ध छ। तर अहिले आगराको बन्दीगृहमा रहेका कश्मीर उपत्यकाका दर्जनौँ पुरुष र महिलाका लागि यो मौसम निक्कै कष्टकर छ।

सेप्टेम्बर महिनामा कश्मीरको औसत तापक्रम करिब १८ सेल्सिअस हुन्छ तर आगरामा तापक्रम ३५ सेल्सिअस पुगेको छ।

केही कश्मीरीहरू आगरा सेन्ट्रल जेलको गेटबाहिर एउटा ठूलो हलमा बसेर जेलमा रहेका आफ्ना परिवारका सदस्यसँग छोटो समय भेट्न प्रतीक्षा गरिरहेका थिए।

भारतीय जनता पार्टी नेतृत्वको सरकारले कश्मीरको विशेष संवैधानिक मान्यता खारेज गर्ने निर्णय लिनुअघि उसले उक्त क्षेत्रलाई पूर्ण रूपमा बन्द जस्तै गराइदिएको थियो।

मोबाइल फोन सञ्जाल, ल्यालाइन फोन र इन्टरनेट बन्द गरिएको थियो भने उक्त क्षेत्रका नेताहरूलाई घरमा नै नजरबन्दमा राखिएको थियो।

मुसलमानबहुल उक्त उपत्यकामा प्रदर्शनहरू भएका छन् र सुरक्षाकर्मी र प्रदर्शनकारीबीच नियमित रूपमा झडप हुँदै आएको छ।

भारतको उक्त कदमपछि हजारौँको सङ्ख्यामा अभियानकर्ता र अन्य व्यक्तिहरूलाई आफ्नो घरबाट नियन्त्रणमा लिइएको विश्वास गरिन्छ।

आगरा

सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार भारतीय सुरक्षा निकायले सयौँ बन्दीहरूलाई कश्मीरबाट भारतका अन्य जेलमा सारेको छ।

अधिकारीहरूले बीबीसीलाई ८० भन्दा बढी कश्मीरी आगरामा थुनामा रहेको बताएका छन्।

पर्खाइसँगै पीडा

आगरा सेन्ट्रल जेलमा कडा सुरक्षा कायम गरिएको थियो। त्यहाँ गर्मी थियो अनि दुर्गन्ध आइरहेको थियो। हलसँगै जोडिएको शौचालयबाट आएको दुर्गन्धले आफन्त भेट्न पर्खिरहेका मानिसलाई कष्ट थपिदिएको थियो।

"यहाँ एकदमै गर्मी छ। म त यहीँ मर्छु होला," परिवारका सदस्यलाई भेट्न कुरिरहेका एक व्यक्तिले आफ्नो कमिजले अनुहारको पसिना पुछ्दै भने। "मेरो नाम नसोध्नुहोला। हामी समस्यामा पर्न सक्छौँ।"

उनी कश्मीरको राजधानी श्रीनगरबाट ३० किलोमिटर टाढा रहेको सहर पुलावामाका बासिन्दा हुन्। उनी अगस्ट ४ को राति सुरक्षाकर्मीले पक्राउ गरेका आफ्ना भाइलाई भेट्न प्रतीक्षा गरिरहेका छन्।

"हामीलाई उसलाई कहाँ लगियो भनेर भनिएन," उनले भने। "मलाई उनलाई किन पक्राउ गरियो भन्ने थाहा छैन। ढुङ्गा हान्ने गतिविधिसँग उसको कुनै सम्बन्ध थिएन। ऊ गाडी चलाउथ्यो।"

अधिकारीहरूलाई सोधेपछि उसलाई उसका भाइलाई श्रीनगर लगिएको जानकारी दिइएको थियो। "एकदमै धेरै प्रयास गरेपछि उसलाई यहाँ ल्याइएको थाहा पाएका हौँ।"

उनले आफू भाइलाई खोज्दै अगस्ट २८ मा आगरा आएको बताए।

तर कश्मीरको स्थानीय प्रहरीबाट आफ्नो घटना विवरण साँचो रहेको प्रमाणित गर्ने पत्र ल्याउन भनिएपछि उनी फेरि उनी पुलावामा फर्किए र त्यसपछि पत्र लिएर आगरा आए।

उनी भन्छन्, "मेरो भाइ २८ वर्षको छ। ऊ शिक्षित छ, स्नातकोत्तर पूरा गरेको छ। तर अहिले यसको अर्थ छैन किनभने ऊ जेलमा छ।"

अब्दुल गनीको पीडा पनि उस्तै छ। दैनिक ज्यालादारीमा काम गर्ने उनी कश्मीरको कुलगामबाट बस र रेल चढेर आफ्ना छोरा र भतिजालाई भेट्न आगरा आएका हुन्।

कश्मीर
तस्बिरको क्याप्शन, गनी आफ्ना छोरा र भतिजालाई भेट्न आएका हुन्

उनलाई उनीहरू दुवै जनालाई यहाँ थुनामा राखिएको बताइएको थियो।

"सुतिरहेको बेला बिहान २ बजे उनीहरूलाई पक्राउ गरिएको थियो," उनले भने। "कसैले पनि हामीलाई उनीहरूलाई किन नियन्त्रणमा लिइयो भनेर भनेनन्। उनीहरूले सुरक्षाकर्मीलाई कहिल्यै पनि ढुङ्गा हानेका थिएनन्।"

प्रमाणीकरण गरिएको पत्र नल्याएकाले गनी चिन्तामा छन्।

"पत्र ल्याउनुपर्छ भन्ने मलाई थाहा थिएन, " उनले भने। अगरासम्म आउन १० हजार रुपैयाँ खर्च गरिसकेको भन्दै उनले अर्को पटक यात्रा गर्न आफूसँग खर्च नभएको बताए।

पारिवारिक बिछोड

केही घण्टा बिताएपछि सबैको द्वारतर्फ जाने समय आयो। प्राय: सबैले कश्मीरबाट ताजा स्याउको कोसेली लिएर आएका थिए।

गनीको आग्रह सुनियो र उनलाई भित्र जान दिइयो। एक घण्टापछि उनी मुस्कुराउँदै बाहिर निस्किए।

"मेरो छोरो चिन्तित थियो। मैले घरमा सबै राम्रो रहेको बताएँ," उनले भने, "अल्लाहलाई धन्यवाद दिन्छु कि मैले उसलाई यहाँ भेट्न सकेँ। म १५ दिनपछि फेरि आउँछु।"

कश्मीर
तस्बिरको क्याप्शन, डारका भाइ पनि आगराको जेलमा थुनिएका छन्

उक्त प्रतीक्षाकक्ष साँझसम्ममा रित्तिसकेको थियो। तर मैले एक महिला र एक पुरुष हतारहतार जेलको ढोकातिर गइरहेको देखेँ।

उनीहरू विमानबाट श्रीनगरबाट दिल्लीसम्म आएका थिए र दिल्लीबाट ट्याक्सी भाडामा लिएर आगरा आइपुगेका थिए।

जेल प्रशासनलाई अनुरोध गरेपछि उनीहरूलाई २० मिनेट आफ्ना भाइलाई भेट्न दिइएको थियो।

"यदि चाँडै आएको भए हामीले ४० मिनेट भेट्न पाउने उनीहरूले बताए," भाइलाई भेट्न आएका तारिक अहमद डारले भने।

मङ्गलवार र शुक्रवार मात्रै यस्तो भेटघाटका लागि अनुमति दिने गरिएको छ। यदि डारले यो भेट छुटाएका भए उनले चार दिन कुर्नुपर्थ्यो।

"मैले उससँग कुरा गरेँ। उसकी श्रीमती, तीन सन्तान र हाम्रा बुवाआमा दुवैले उसलाई सम्झिरहनुभएको छ। अब मैले उसलाई देखेँ, म उनीहरू सबैलाई ऊ ठिक छ भनिदिन्छु।"