सोनाली फोगाट: भाजपा नेत्री तथा टिकटक स्टारको बलात्कारपछि हत्या भएको दाबी, दुई सन्दिग्ध पक्राउ

सोनाली फोगाट

तस्बिर स्रोत, ANI

भारतीय जनता पार्टीकी नेत्र सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फोगाट भूतपूर्व टिकटक स्टार थिइन्।

ती सन्दिग्ध व्यक्तिहरू बिहीवार साँझ पक्राउ परेका हुन्।

फोगाटको पोस्टमोर्टमका क्रममा उनको शरीरमा "कैयौँ चोट" पाइएपछि ती व्यक्तिहरू पक्राउ परेका हुन्।

फोगाट ४२ वर्षकी थिइन् र उनको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो।

सुरुमा उनको हृदयाघातका कारण उनको निधन भएको बताइएको थियो।

तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन्।

उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरेका छन्।

धम्कीको आरोप

समाचार च्यानल एनडीटीभीलाई उनले बताएअनुसार ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए।

त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन्।

परिवारले पत्रकारहरूलाई फोगाटले उनको मृत्यु हुनुभन्दा केही समयअघि उनीहरूसँग कुरा गरेको बताएको छ।

त्यस बेला उनको बोली "निकै डराएको र विचलित भए जस्तो" सुनिएको थियो।

समाचारहरूमा जनाइएअनुसार फोगाटले आफ्ना सहयोगीहरूसँग रेस्टुराँमा भएको बेला असहज महसुस गरेकी थिइन्।

उनलाई अस्पताल लगियो त्यहाँ फोगाटलाई "मृत" घोषणा गरिएको थियो।

द टाइम्स अफ इन्डिया अखबारले उद्धृत गरेका विधिविज्ञान विज्ञले उनको शरीरमा "आलो घाउ" रहेको र त्यसको कारण "मुक्का प्रहार वा उनी लड्दा भएको हुनसक्ने" बताएका छन्।

पोस्टमोर्टम प्रतिवेदन सार्वजनिक भएको घण्टौँपछि गोआ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको जनाएको हो।

को हुन् फोगाट?

फोगाट उत्तर भारतीय राज्य हरियाणाकी हुन्।

उनी सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाकी सदस्य हुन्।

उनी भाजपाका तर्फबाट सन् २०१९ मा राज्य विधानसभाको निर्वाचनमा उठेकी थिइन् तर उनी पराजित भएकी थिइन्।

राजनीतिक जीवनका साथसाथै उनले भारतको मनोरञ्जन उद्योगमा पनि आफ्ना पाइला राखेकी थिइन्।

उनी टेलिभिजन रीयालिटी शो बिग बोसकी चर्चित प्रतिस्पर्धी थिइन्।

बिग बोस अमेरिकी टीभी रीयालिटी शो बिग ब्रदरको भारतीय संस्करण हो।

त्यसका अतिरिक्त फोगाट भूतपूर्व टिकटक स्टार पनि हुन्।

उनले क्षेत्रीय चलचित्रहरू, टेलिचलचित्रहरू र वेब सिरीजहरूमा अभिनय पनि गरेकी थिइन्।

एकजना सरकारी कर्मचारीलाई आफ्नो चप्पलले कुटेको आरोपमा सन् २०२० मा उनी पक्राउ परेर पछि धरौटीमा छुटेकी थिइन्।

उनले त्यसबेला उक्त व्यक्तिलाई आफूमाथि "अभद्र र अपमानजनक" शब्दका साथ गाली गरेको आरोप लगाएकी थिइन्।