आमिर खान: हिन्दू विरोधी विज्ञापन नखेल्न भारतीय मन्त्रीको 'अनुरोध'

तस्बिर स्रोत, Getty Images
भारतका एक प्रान्तीय मन्त्रीले बलिवुड नायक आमिर खानलाई "धार्मिक भावनामा आघात पुग्ने" किसिमका विज्ञापन नखेल्न "अनुरोध" गरेका छन्।
विज्ञापनमा खानको भूमिकामाथि हिन्दू दक्षिणपन्थीहरूले आक्रोश व्यक्त गरिरहेका बेला मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको यो भनाइ आएको हो।
एउटा ब्याङ्कका लागि गरिएको विज्ञापनमा खान र नायिका कियारा अडवानी एक नव विवाहित जोडीका रूपमा एक हिन्दू संस्कार अनुरूपको समारोहमा सहभागी भएका छन्।
तर आलोचकहरूले उक्त विज्ञापनले हिन्दू परम्परा र संस्कृतिमाथि आक्रमण गरेको आरोप लगाएका छन्।
वित्तीय कम्पनीको लागि गरिएको उक्त विज्ञापनमा खानले उनकी श्रीमती बनेकी नायिकाको घरमा बिहेपछि गृह प्रवेश गर्दा गर्नुपर्ने संस्कार देखाइएको छ। जुन परम्परागत रूपमा श्रीमतीले श्रीमानको घरमा पहिलो पाइला टेक्दा गर्ने गरिन्छ।
केहीले भने विज्ञापनले जेन्डर वा लैङ्गिक विषयलाई "असाध्यै राम्रो" तरिकाले उठाएको भन्दै प्रशंसा गरेका छन्।
एकजना ट्विटर प्रयोगकर्ताले "विज्ञापनले हाम्रा छोरा सरह छोरीहरूलाई सम्मान र माया दिने कुरा हो भन्ने दर्शाएको छ" भनेका छन्।
तर अरूले विज्ञापनले हिन्दू संस्कारको खिल्ली उडाएको र अपमान गरेको बताएका छन्।

तस्बिर स्रोत, A still from the ad
मन्त्री मिश्राले आफूले विज्ञापनबारे एक गुनासो प्राप्त गरेपछि उक्त विज्ञापन हेरेको जनाएका छन्।
"म खानलाई भारतीय परम्परा संस्कारलाई ध्यानमा राख्दै यस्ता विज्ञापन नगर्न आग्रह गर्छु," उनले सञ्चारकर्मीहरूलाई भने।
खानले हिन्दू भावनामा चोट पुर्याएको भन्ने आरोप भोगेको यो पहिलोपटक भने होइन।
उनको पछिल्लो फिल्म लाल सिंह चड्ढाले पनि अनलाइनमा बहिस्कार अभियान भोग्नुपरेको थियो।
हिन्दू दक्षिणपन्थीहरूले उक्त फिल्मको चर्को विरोध गरेका थिए।
त्यसमा सयौँ प्रतिक्रिया आएपछि खानले मुलुकमा बढ्दो धार्मिक असहिष्णुताबारे औँल्याएका थिए।
त्यसपछि इ कमर्स प्ल्याटफर्म स्न्यापडीलले खानलाई उसको ब्र्यान्ड एम्ब्यासडरबाट निष्कासित गरेको थियो।
त्यसयता खानले आफ्नो उक्त भनाइमाथि स्पष्टीकरण दिँदै आएका छन् र आफूले भारतलाई माया गर्ने बताउँदै आएका छन्।

तस्बिर स्रोत, Getty Images
सन् २०२१ मा पनि यी नायकले एउटा टायरको विज्ञापनमा हिन्दू चाड दीपावलीमा पटखा नपड्काउन भनेपछि आलोचना खेपेका थिए।
मन्त्री मिश्राले बलिवुडका चरित्रहरूलाई विभिन्न समयमा सुझाव र चेतावनी दिँदै आएका छन्।
यो महिनाको सुरुमा यी मन्त्रीले बन्न लागेको पौराणिक कथामा आधारित सिनेमा आदिपुरुष बनाउनेहरू विरुद्ध यदि उनीहरूले हिन्दू भगवान् हनुमानले छालाको लुगा लगाएको देखाए भने कानुनी उपचार खोज्ने बताएका थिए।
उनले भने "यस्ता दृश्यले हिन्दू भावनामा चोट पुग्छ।"
खानको पछिल्लो विज्ञापन दक्षिणपन्थी हिन्दूहरूबाट आलोचना बेहोर्ने पछिल्लो मुद्दा बनेको छ।
सन् २०२१ मा नायिका आलिया भट्टले पनि कन्यादान परम्परामा प्रश्न उठाइएको विज्ञापनमा खेलेपछि आलोचना भोगेकी थिइन्।
एक वर्ष अगाडि तनिस्क भनिने गहना ब्र्यान्डले दुई धर्म मान्नेहरूको जोडी बनाएर विज्ञापन बनाउँदा अनलाइनमा आलोचना बेहोरेको थियो।








