आमिर खानको 'लाल सिंह चड्ढा' र अक्षय कुमारको 'रक्षाबन्धन' किन निशानामा

आमिर खान लाल सिंह चड्ढा

तस्बिर स्रोत, Aamir Khan Productions

तस्बिरको क्याप्शन, लाल सिंह चड्ढाको भूमिकामा बलिवूडका बरिष्ठ कलाकार आमिर खान छन्
    • Author, मेरल सबास्टियन
    • Role, बीबीसी न्यूज, कोची

भारतका दुईजना चर्चित बलिवूड कलाकारहरूले यतिखेर सामाजिक सञ्जालमा आफूहरूलाई गरिएका बहिष्कारका आह्वान खेपिरहेका छन्। के त्यस्ता अभियानहरूले साँच्चिकै केही प्रभाव पार्लान्?

लाल सिंह चड्ढा चलचित्रमा आमिर खान र रक्षाबन्धनमा अक्षय कुमार मुख्य पात्रको अभिनय गरेका छन्।

यी चलचित्रहरू यो साता सामाजिक सञ्जालमा ट्रेन्डिङ अर्थात् धेरैको चर्चाको विषय बनेका छन्।

प्रयोगकर्ताहरूको एउटा पङ्क्तिले भने ती चलचित्रहरू, अभिनेता र बलिवूड सबैलाई बहिष्कार गर्न आह्वान गरेको थियो।

ती दुवै चलचित्रहरू ११ अगस्टमा रिलिज हुँदैछन्।

बदलिँदो सम्बन्ध

सोसल मिडियाका ट्रेन्डहरूमा बलिवूड र उसका दर्शकहरूबीचको बदलिँदो सम्बन्धको प्रतिविम्ब देख्न पाइन थालेको छ।

तर त्यस्ता आह्वानहरूले पुर्‍याउने क्षतिको मापन गर्ने काम कठिन हुने बताइन्छ।

कोभिड-१९ लकडाउनबाट महिनौँ सिनेमाघरहरू बन्द हुँदा पुगेको ठूलो क्षतिबाट बलिवूड अझै तङ्ग्रिन सकेको छैन।

सिनेमाघरहरू खुले तापनि धेरै रकम खर्च गरेर बनाइएका कैयौँ चलचित्रहरू बक्स-अफिसमा असफल भएका छन् जसलाई केही विश्लेषकहरूले बलिवूड एउटा ठूलो सङ्कटोन्मुख रहेको ठान्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बलिवूडबारे घृणा फैलाएर यूट्यूबमा फलिफाप हुनेहरू

यसबीच केही दक्षिण भारतीय राज्यहरूमा बनेका चलचित्रले भने ठूलो सफलता पाइरहेका छन् जसलाई हिन्दी भाषी दर्शकले समेत रुचाएका छन्।

त्यसैले लाल सिंह चड्ढाबाट धेरै आशा गरिँदै त्यसैगरी पैसा खर्चिएको थियो।

उक्त चलचित्र टम ह्यान्स्क अभिनित फरेस्ट गम्पको औपचारिक हिन्दी रूप हो।

र रक्षाबन्धनमा अक्षय कुमारले चार बहिनीहरूको एक प्रतिबद्ध दाजुको भूमिका निर्वाह गरेका छन्।

कस्ता आरोप?

द काश्मिर फाइल्स बक्स अफिसमा हिट भएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, द काश्मिर फाइल्स बक्स अफिसमा हिट भएको थियो

तर अनलाइनमा दक्षिणपन्थीहरूले अभिनेताहरू वा चलचित्रसँग जोडिएका अन्य व्यक्तिहरूका पुराना कुराहरू उठाउँदै उनीहरूलाई "भारतविरोधी" वा हिन्दूविरोधी भएको आरोप लगाउँछन्।

सन् २०१५ मा उनले दिएको अभिव्यक्तिलाई जोडेर केही मानिसहरूले धार्मिक असहिष्णुताको कुरा उठाएपछि खानले सार्वजनिक रूपमै आफ्नो बचाउ गर्दै आफूले भारतलाई माया गर्ने कुरामा जोड दिए।

उनका अभिव्यक्तिहरू सन् २०१४ यता हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएसँगै अल्पसङ्ख्यकहरूमाथि बढेको हमलालाई जोडेर आएझैँ देखिन्थ्यो।

जसलाई विवादमा तानिएपछि खानले आफ्ना शब्दलाई सन्दर्भ मोडेर प्रयोग गरिएको बताउँदै आएका छन्।

यसै साता ती कलाकारले आफूले भारतलाई मन नपराउने भन्ने कुरा दर्शकहरूले साँच्चिकै विश्वास गरेजस्तो देख्दा आफू "दुःखी" भएको बताए।

उनले सञ्चारमाध्यमसँग भने, "कुरा त्यस्तो होइन भनेर म सबैलाई आश्वस्त पार्न चाहन्छु। त्यसैले कृपया मेरा चलचित्रहरूलाई बहिष्कार नगर्नुहोस्।"

रक्षाबन्धनका हकमा ठ्याक्कै के कुराले विरोध जन्माइरहेको छ भनेर बुझ्न कठिन छ।

अक्षय कुमार आम्दानीका हिसाबले भारतका सबैभन्दा भरपर्दा मध्येका कलाकार हुन्।

उनले हिन्दू राष्ट्रवादीहरूलाई आकर्षित गर्ने एकपछि अर्को चलचित्रहरू बनाएका छन्।

तर धेरै सामाजिक सञ्जाल पोष्टहरूमा फिल्मका पटकथा लेखकको 'गाईरक्षकहरू'ले आलोचना गरेका छन् भने अन्यले अक्षय कुमारको मन्दिरमा हुने पूजाहरूमा गाईको दूध खेर गइरहेको भन्ने ट्वीटलाई कारण बनाएका छन्।

अक्षयकुमारले (बीचमा) रक्षा बन्धनमा समर्पित भाइको भूमिका खेलेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अक्षयकुमारले (बीचमा) रक्षा बन्धनमा समर्पित भाइको भूमिका खेलेका छन्

सन् २०१२ मा धर्मको नक्कल गर्नेहरूको आलोचना गरिएको चलचित्रलाई समेत निशानाको कारण बनाइएको छ।

कसरी आउँछन् यस्ता ट्रोल?

"अनलाइनमा 'कालोसूची'मा राख्ने आह्वानहरू उल्लेख्य रूपमा वृद्धि भएका छन्," चलचित्र समीक्षक उदय भाटिया भन्छन्।

"यी लगभग कहिल्यै स्वतस्फूर्त: होइनन्, र धेरैजसो दक्षिणपन्थी मुद्दालाई उचाल्छन्।"

भाटियाले इङ्गित गरेजसरी यस्ता अभियानहरू "प्राय:जसो चलचित्र वा कलाकारले आम धारणामा पार्ने असरको कल्पनामा घुम्ने गर्छन्।"

उनका भनाइमा यो अचम्मलाग्दो किन छ भने हिन्दी फिल्महरू "आफ्नो सहजताभन्दा बाहिर गएर दर्शकलाई खुसी पार्छन्।"

यो वर्षको सफलमध्येको एउटा चलचित्र कम खर्चमा बनेको द काश्मीर फाइल्स हो जसले सन् १९९० को दशकमा काश्मीरबाट विस्थापित बनेका दर्शकहरूलाई गरिएको व्यवहारलाई देखाएर ध्रुवीकृत गर्‍यो।

समीक्षक सोम्या राजेन्द्रले हालै लेखेकी थिइन्, "राष्ट्रवाद, हिन्दू सम्मान, ऐतिहासिक हिन्दू धरोहर, विगतका हिन्दू पीडा र समकालीन सैनिक क्षमता बलिवूडका निर्माताका लागि लोकप्रिय विषय बनेका छन्।"

पछिल्ला केही वर्षमा भारतको मनोरञ्जन उद्योगसमेत भाजपाको हिन्दू दक्षिणपन्थी विचारका भरमा त्यसका समर्थक र आलोचकबीचमा विभाजित देखिन्छ।

विवाद निम्तने डरले धेरै ठूला बलिवूड कलाकारहरूले राजनीतिक धारणमा व्यक्तिगत राख्न चाहन्छन्।

विवादित विषयमा काम गर्ने निर्माताहरूले प्राय: इन्टरनेटमा खेदो खनिने अभियान (ट्रोल) सामना गरिरहेका हुन्छन् भने कहिलेकाहीँ प्रहरी उजुरी समेत खेप्छन्।

त्यसबाहेक सन् २०२० मा कलाकार सुशान्त सिंह राजपुतको मृत्युसँगै एउटा अर्को अभियान पनि चल्यो। जसले सबै बलिवूडलाई परिवारवाद ग्रसित उद्योगको रूपमा देखाउँदै उनीहरूले बाहिरियालाई दण्ड दिने कुरा देखाउन खोज्यो।

यसमा केही हदसम्म सत्यता भए तापनि समर्थकहरूले त्यो चलचित्र उद्योगमा मात्र नभई सबैतिर हुने धारणा राखे।

असर पर्ला?

यस्ता चर्चा चर्चित टक सो 'कफी विथ करन'को पछिल्लो संस्करणमा चर्चाको विषय बनेको छ।

आफ्नो एउटा पछिल्लो अङ्कमा त्यसका होस्ट रहेका निर्माता-निर्देशक करण जोहर भन्छन्, "एउटा उद्योगका रूपमा हामी आलोचित छौँ। हामी दुई वर्ष जेलमा बसेझैँ भयौँ।"

आफ्नो सार्वजनिक परिचयबारे यस उद्योगका मानिसहरू बढीभन्दा बढी सजग भइरहँदा बहिष्कारका आह्वानले बक्स अफिसलाई ठूलो असर नपर्न सक्ने जानकारहरू ठान्छन्।

फिल्म निर्देशक करन जोहरले अनलाइनमा भीषण ट्रोल खेप्नु परेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फिल्म निर्देशक करन जोहरले अनलाइनमा भीषण ट्रोल खेप्नु परेको छ

"यस उद्योगका मानिसहरूको सार्वजनिक विषयमा वास्तविक धारणा विरलै देखिन्छन्। अहिले अक्षय कुमार हिन्दी फिल्मका सबैभन्दा चर्चित कलाकार हुन् र पनि उनको फिल्म रक्षा बन्धन बहिष्कार गर्न गरिएको आह्वान हालसालै ट्रेन्डिङ हुँदैछ," भाटिया भन्छन्।

व्यापार समीक्षक तरन आदर्शले आमिर खानद्वारा निर्मित र उनी अभिनीत दङ्गल र दक्षिणपन्थी समूहको विरोध खेपेको पद्मावतको सफलतालाई हेर्नुपर्ने बताउँछन्।

उनी भन्छन्, "सबै निकै सजग बनेका छन्। [सामाजिक सञ्जाल अभियानले] असर गर्छ-गर्दैन भनेर हेर्न रिलिज कुर्नुपर्छ। दर्शकको प्रतिक्रियाले बताउनेछ।

नकारात्मक अभियानहरूले फिल्म हेर्नु अगाडि नै त्यसलाई चर्चाको विषय बनाउने भावनाको विकास गर्ने गर्छ।

"तर अन्त्यमा यदि दर्शकले फिल्म मन पराए भने त्यसलाई केही कुराले रोक्दैन," उनी भन्छन्।

भाटियाको दृष्टिकोणमा बलिवूड सफलताको श्रेय "राम्रो सामग्री"लाई दिन नसकिने भए तापनि अहिलेलाई 'ट्रोल नभईकन' दर्शकहरू नै प्रधान हुन्।

तर यस्तो अवस्थाबीच बलिवूडको सोसल मिडियासँगको समस्याग्रस्त सम्बन्ध छिट्टै सहज हुने भने देखिँदैन।