शाहरुख खानः यी अभिनेताको आकर्षण समयको कसीमा कसरी खरो साबित भएको छ

तस्बिर स्रोत, Getty Images
गत महिना हिन्दी सिनेमामा भारतीय अभिनेता शाहरुख खानको ३० वर्ष पूरा भएको छ।
बलिवूडका यी अभिनेताको स्थायी लोकप्रियताबारे किताब लेखेकी श्रायना भट्टाचार्यले उनी किन अझै विश्वका ठूला चलचित्र व्यक्तित्वमा गनिन्छन् भन्नेबारे यहाँ चर्चा गरेकी छन्।
चलचित्र उद्योगमा अभिनेता खानको लामो आयुबारे बताउनका लागि बौद्धिक कारणहरू प्रस्तुत गर्न सम्भवतः सजिलो छ।
लाखौँ मानिसले स्पष्ट रूपमा यी अभिनेतालाई यो हदसम्म माया गर्छन् कि उनको सार्वजनिक प्रशंसालाई प्रायः गम्भीर सेलिब्रिटीको पूजाको रूपमा हेरिन्छ।
आखिर अभिनेता खानलाई किन यति धेरै सम्मान र माया गरिन्छ त?
उनका फिल्महरू जस्तै यसको उत्तर पनि रोमान्टिक र भावुक छः खानले भारतीय र दक्षिण एशियाली उपमहाद्वीपलाई सधैँ सबैभन्दा राम्रोसँग प्रस्तुत र प्रतिनिधित्व गरेका छन्।
उनी हामीसामु एउटा समृद्ध, बहुल र मानवीय पक्षको झल्को दिन्छन्- जो विना आक्रोश हाँस्न सक्छ।
लाखौँ भारतीय नागरिकका लागि उनी देशको आर्थिक विकासको गाथा पछाडिको उदाहरणका रूपमा पनि रहेका छन्।
सन् १९९० को दशकमा भारत विश्व आर्थिक परिदृश्यमा देखिएकै समयमा अभिनेता खान चलचित्र क्षेत्रमा प्रवेश गरे। र, भारतको बढ्दो अर्थतन्त्रसँगै उनको कद पनि बढ्दै गयो।
बजार सुधारसम्बन्धी शृङ्खलाबद्ध कदमको एउटा हिस्साको रूपमा भारत सरकारले दूरसञ्चार क्षेत्रमा विदेशीलाई लगानी गर्न दिने नीति लियो जसले नयाँ मिडिया सञ्जाललाई भारतमा प्रसारण गर्ने अनुमति दिलायो।
ती च्यानलहरूले खानका फिल्म, गीत तथा अन्तर्वार्ताहरू अरू सेलिब्रिटीहरूको तुलनामा धेरै घरमा पुग्ने सुनिश्चित गरिदिए।
भारतले आफ्नो अर्थव्यवस्था थप उदार बनाएसँगै अचानक नयाँ सोडा र कारहरू बजारमा प्रवेश गरे अनि अभिनेता खानले 'ब्रान्ड एम्बेसडर'का रूपमा तिनीहरूसँग काम गरे।

तस्बिर स्रोत, Getty Images
यस अर्थमा दिल्लीको एउटा सामान्य परिवारबाट विश्व सेलिब्रिटीका रूपमा अभिनेता खानको उदय भारतमा सलफताको पारम्परिक नवउदारवादी परीकथा हो।
चलचित्रसँग जोडिएको कुनै कुलखानदान वा सम्बन्धविना पनि कोही कसरी माथि पुग्न सक्छ भन्ने कुराको यो एउटा उदाहरण पनि हो।
धेरै भारतीयले रुचाउने अभिनेता खानको प्रगतिशील बहुलवादी विगत दक्षिणपन्थी धार्मिक समूहको उदयसँगै एउटा नमुना बन्न पुगेको छ।
आलोचकहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रवादी सरकारको समयमा असहिष्णुता बढ्दो छ जसले भारतीय मुस्लिमहरूलाई पाखा लगाइरहेको आरोप छ।
अभिनेता खानका छोरा आर्यन खानलाई गत वर्ष लागुऔषधसम्बन्धी एउटा घटनामा गिरफ्तार गरिएको थियो र पछि उनलाई रिहा गरियो।
धेरैले त्यसलाई एक सफल मुस्लिम 'आइकन'लाई निशाना बनाउने लक्षित कदमको रूपमा महसुस गरेका थिए।
उनले सधैँ भारतीय बहुलवादबारे सुझबुझपूर्ण टिप्पणी गर्ने गरेका छन् र आफ्ना समकालीनहरूले भन्दा बढी मुस्लिम पात्रको भूमिका निर्वाह गरेका छन्।
तर पनि खानका प्रशंसकहरू उनलाई उनको धार्मिक पहिचानमा मात्रै सीमित राख्न रुचाउनन्नन्।
बरु उनीहरू अभिनेता खानलाई बौद्धिक, वाक्पटु, सफल र निकै आकर्षक व्यक्तिका रूपमा लिन्छन्।
अभिनेता खानको अन्तरधार्मिक परिवारविरुद्ध दक्षिणपन्थीहरूले गलत नियत राखी गर्ने आक्रमणबारे चर्चा गर्दै एक युवा प्रशंसकले मसँगको अन्तर्वार्तामा भनेः "उनी [खान] धर्मनिरपेक्ष हुन्, तर धेरै सेक्सी पनि हुन्।"

तस्बिर स्रोत, Reuters
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हामीले मानवका रूपमा साझा गर्ने कुरालाई यी अभिनेताले सदैव संवेदनशीलताका साथ चित्रण गर्ने गरेका छन्।
अभिनेता खानले प्रायः संवेदनशील पात्रको भूमिका निर्वाह गरेका छन्- संवेदनशील प्रेमी, संवेदनशील नायक, संवेदनशील श्रीमान्, संवेदनशील मुस्लिम र संवेदनशील खलनायक पनि।
उनले चरित्र निर्वाह गर्ने व्यक्तिहरूले आफू अथवा आफ्ना वरपरका मानिसहरूसँग विरलै सहज महसुस गर्छन्।
चलचित्रमा उनका चरित्रहरूलाई असुरक्षित महसुस गराउने भाव उनको तीन दशक लामो करिअरबाट परिष्कृत हुँदै गएको हो।
ती पात्रहरू भावनात्मक रूपमा कमजोर, पूर्ण रूपमा माया पाएको महसुस गर्न असमर्थ र माया पाउने आफ्नो आवश्यकतालाई छोड्न तयार नहुने खालका हुन्छन्।
खान दक्षिण एशियाका 'रोमान्टिक हिरो' पनि हुन्- उनका चलचित्रहरू मानक हुन् जोसँग सबै रोमान्टिक चलचित्रहरूले मेल खान प्रयास गर्छन्।
बलिवूडका अरू अभिनेताले भन्दा खानले निर्वाह गर्ने भूमिका महिलासँग बढी जोडिने गरेको तथ्याङ्कले देखाउँछ।
तर उनका चरित्रहरूले महिलाको मात्र पारम्परिक मायाको खोजी नगरी बुवा, साथी तथा देशवासीको पनि माया र अनुमोदन खोजेका हुन्छन्।
उनले चरित्र निर्वाह गर्ने पुरुषले गहिराइका साथ महसुस गर्छन्, उनीहरू प्रायः अरूको नजरमा परिरहने खालका हुन्छन् र धेरै नै रुन्छन्।
संसारका अरू अभिनेताभन्दा शाहरुख खान चलचित्रमा त्यति राम्रोसँग कसरी रुन सक्छन् भनेर चलचित्र लेखकहरू प्रायः टिप्पणी गर्ने गर्छन्।
मानवताको अश्रुपूर्ण उनको प्रदर्शनले अनगिन्ती प्रशंसकहरू बनाउन सफलता पाएको छ।
चलचित्रबाहेक उनका टेलिभिजन अन्तर्वार्ताहरू र सार्वजनिक भाषणहरूले उनको हास्य एवं विनम्रतालाई ठूलो जनसङ्ख्यामाझ पुर्याएका छन्।
अभिनेता खानका चलचित्रलाई भन्दा उनका टेलिभिजन अन्तर्वार्ताहरूलाई अझ बढी मन पराउने कैयौँ शहरी सम्भ्रान्तलाई मैले चिनेकी छु।
सञ्चारमाध्यमसँग खानले गर्ने यी कुराकानीहरूले आजको मितिसम्म उनका उत्कृष्ट प्रदर्शनहरूलाई सङ्केत गर्छन्- उनको संस्करणको मध्यमवर्गीय सुपरस्टार।
अभिनेता खानको सार्वजनिक व्यक्तित्वमा चाखलाग्दो अहंकार अनि स्थिरपनाको सम्मिश्रण छ जसले हामीलाई आफैँप्रति खुलस्त भएका क्षण एवं विनम्रता र तीता व्यङ्ग्यप्रति सधैँ आकर्षित गरिरहन्छ।
चेन स्मोकिङ्ग, निर्लज्ज, आत्मजागरुक र प्रफुल्लित बनाउने अभिनेता खान कहिल्यै दिक्कलाग्दो लाग्दैनन्।
आर्थिक असुरक्षा र समस्याग्रस्त मित्रतासँग कसरी जुझ्ने विषयमा उपयुक्त सल्लाह दिनेदेखि चलचित्र उद्योगमा बूढो हुँदै गएको र आफ्नै कामुकताका बारेमा रमाइला चुटकिला सुनाउनेसम्मका कुरा उनीसँग जोडिएर आउँछन्।
आफू अनि संसारका बारेमा उनका सबै अभिव्यक्ति एवं चुटकिलामा सधैँ एउटा यस्तो व्यक्तिको सङ्केत मिल्छ जो कठिन परिश्रम गर्छ आफ्नो कौशलबारे गहिराइका साथ ख्याल गर्छ र आफैँमाथि हाँसेर आनन्द लिन्छ।
अनिश्चित र कठोर वास्तविकता के हो भने दुनियाँमा खानका काल्पनिक छवि विस्मय पलायन र मनोरञ्जनका स्रोतका रूपमा रहेका छन्।
एउटा अन्तरालपछि सन् २०२३ मा यी अभिनेताका तीनवटा चलचित्र प्रदर्शन हुँदैछन्।
उनका प्रशंसकहरू उत्साहका साथ गदगद छन्। तर मुस्लिम आइकन र बलिवूड चलचित्रको प्रदर्शनलाई बहिष्कार गर्नुपर्ने पक्षमा वकालत गर्ने दक्षिणपन्थी सामाजिक सञ्जाल अभियानहरूलाई लिएर उनीहरू चिन्तित पनि छन्।
हाम्रो राजनीतिक गहिरो ढङ्गले विभाजित भइरहँदा अभिनेताको शक्ति हामीमध्ये धेरैलाई मुस्कान र कथाहरूमा कसरी एकढिक्का पार्न सक्छन् भन्ने कुरामा निर्भर गर्छ।
म यो छविका लागि अर्को ३० वर्ष कुर्न सक्दिनँ- हाम्रो विभाजित संस्कृतिलाई उनका चुटकिला र खुला पाखुराको एकदमै आवश्यकता छ।








