किन भारतीय चलचित्रलाई महामारीको दशाले छोडेको छैन

तस्बिर स्रोत, YASH RAJ FILMS
- Author, निखिल इनाम्दार
- Role, बीबीसी व्यापार संवाददाता, मुम्बई
महामारीको दुई वर्षले असर पारेको प्रतिवर्ष चलचित्र निर्माणको हिसाबले विश्वको सबैभन्दा ठूलो उद्योग बलिवूड पुनः आफ्नो स्थानमा फर्कन सङ्घर्षरत छ।
महामारीपछि चलचित्र प्रेमीहरूले चलचित्र घरहरू भरेर चलचित्रको मागलाई ह्वात्तै बढाउँछन् भन्ने अपेक्षाहरू लाखौँ डलरको घाटामा परिणत भएका छन्।
दर्शकहरू कुन चलचित्रमा पैसा खर्च गर्ने भन्ने कुरामा थप विवेक प्रयोग गर्न थालेका छन्।
सन् २०२२ को पहिलो छ महिनाभित्र रिलिज भएका ठूला २० जति चलचित्रमध्ये १५ वटा व्यावसायिक हिसाबले असफल भएको तथ्याङ्कले देखाउँछ।
असफल चलचित्रमध्ये रनवीर कपूरको ८३ र जयेशभाइ जोर्दार, अक्षय कुमारको सम्राट् पृथ्वीराज र बच्चन पाण्डे अनि कङ्गना रनौतको धाकडजस्ता अपेक्षा गरिएका ठूला चलचित्र रहेका छन्।
"यी चलचित्रहरूले नौदेखि १० करोड डलर गुमाएका छन्," विज्ञ जोगिन्दर टुटेजा भन्छन्। "स्याटलाइट र डिजिटल अधिकारको आम्दानी नभएको भए झन् गाह्रो हुने थियो।"
उनका अनुसार सन् २०२२ मा कुल चलचित्र घरबाट हुने आम्दानी ४५ करोड डलरभन्दा धेरै हुने छैन जुन सन् २०१९ को भन्दा झन्डै १० करोड डलर कम हो।
समस्या के-के?
यो खराब प्रदर्शनको कारण कमजोर विषयवस्तु पनि हुन सक्छ।
"ऐतिहासिक रूपमा बलिवूडका चलचित्रहरू विषयवस्तु कमजोर भए पनि कलाकारप्रतिको जनसमर्थनका सङ्ग्रहयोग्य मानिन्थे। त्यो अहिले समयसँगै परिवर्तन भएको जस्तो देखिन्छ र विषयवस्तु नै प्रमुख बनेको देखिन्छ," इम्के ग्लोबल फाइनान्सियल सर्भिसेजको एउटा प्रतिवेदनमा भनिएको छ।
तर निर्माताहरूका लागि अनौठो चाहिँ कम खर्चमा बनेका तर विषयवस्तु राम्रा मानिएका चलचित्रहरूले पनि राम्रो व्यापार गरेका छैनन्।
"दर्शकहरूले अहिले दुवै कुरा मागिरहेका छन्: विषयवस्तु र गजबको प्रस्तुति," टी-सीरीजका भूषण कुमार भन्छन्।
टी-सीरीजले निर्माण गरेको भुलभुलैया-२ सन् २०२२ को सफल चलचित्रमध्ये एक बनेको छ।

तस्बिर स्रोत, T-SERIES
तर पनि उनी निर्माताहरूबीच कस्तो चलचित्रले काम गर्छ र कस्तोले गर्दैन भन्ने विषयमा अन्योल रहेको बताउँछन्।
चलचित्र घर र अमजन वा नेटफ्लीक्सजस्ता सेवाहरूबीच दर्शक बाँडिएको अवस्थामा चलचित्रको व्यापार अनुमान गर्न झन् कठिन भएको छ।
कुमारका अनुसार त्यसमाथि अहिले कोभिडका कारण हुने ढिलाइले सबै चलचित्रको बजेट १० देखि १५ प्रतिशतले बढेको छ।
चलचित्रको खर्च बढेसँगै चलचित्र घरको टिकट मूल्य बढेको छ र महामारीका बेला थुप्रै चलचित्र घर बन्द भएका कारण दर्शक सिटहरू घटेका छन्।
इम्के ग्लोबलले नातावाददेखि धार्मिक आस्थामा प्रहार भएका भन्दै भएका विरोध र बलिवूडविरोधी सोसल मिडिया अभियानले पनि चलचित्र उद्योगलाई मारमा पारेका छन्।
दक्षिण भारतीय चलचित्र भने सफल
भारतीय चलचित्र बजारको यो सङ्कटका बीच आरआरआर, केजीएफ र पुष्पा जस्ता दक्षिण भारतीय चलचित्रहरू भने अत्यधिक सफल भएका छन्।
यसअघि दक्षिण भारतीय चलचित्रहरू आफ्नो भाषा क्षेत्रमा राम्रो व्यापार गर्थे। तर हिजोआज तिनका हिन्दी भाषाका रूपान्तरहरू पनि भारतको प्रमुख चलचित्र बजारमा बलिवूड चलचित्रलाई छायामा पार्दै राम्रो गर्न थालेका छन्।
दक्षिण भारतीय चलचित्रका सफलतामा सूत्र मानिएका ठूला सेटहरू, मुखमा झुन्डिने गीतहरू र स्लोमोसन सिक्वेन्सहरू मुम्बईमा बन्ने चलचित्रहरूमा नहुने विज्ञहरू बताउँछन्।
"म अहिले चलचित्र घर जाने हो भने म सामान्य जीवनमा नहुने विशाल अनुभव चाहन्छु," चलचित्र समीक्षक सुचरीता त्यागी भन्छिन्।

तस्बिर स्रोत, DVV ENTERTAINMENT
"महामारीको समयमा धेरैले दक्षिण भारतीय चलचित्र भेट्टाए किनभने धेरैजना घरमै बसेर टीभीमा चलचित्र खोजिरहेका थिए र एउटा बेला आयो जब हिन्दी चलचित्र सकिए।"
तर विज्ञहरू दक्षिण भारतीय चलचित्रको बाटोमा हिँडेर बलिवूडको भाग्य परिवर्तन हुनेमा शङ्का व्यक्त गर्छन्।
"क्षेत्रीय चलचित्रहरूको आफ्नो बजारबाहिरको सफलता कहिलेकाहीँ हुने गर्छ," इम्के ग्लोबलको प्रतिवेदनले भन्छ।
सन् २०२२ मा अब कुनै ठूला दक्षिण भारतीय चलचित्र प्रदर्शनमा नआउने भएकोले बलिवूडका चलचित्रले आफ्नै बलबुतामा भारतीय चलचित्र उद्योग धान्नुपर्ने अवस्था छ।
अब के त?
बलिवूडको अबको आशा फरेस्ट गम्पप्रेरित हिन्दी चलचित्र लालसिंह चड्डा र रनवीर कपूरको शामशेरामा केन्द्रित छ।
सन् २०२२ को पहिलो छ महिनामा भन्दा पछिल्लो छ महिनामा बलिवूडका धेरै चलचित्र प्रदर्शनमा आउने क्रममा भएका कारण कुल आम्दानी बढ्ने अपेक्षा गरिएको छ।
अहिलेसम्म कसैले पनि चलचित्र घरको व्यापारलाई कम आकेका छैनन्। तर विज्ञहरू बिस्तारै दर्शकहरूको चलचित्र हेर्ने बानी परिवर्तन भइरहेको मान्छन्।
"दर्शकहरू कमजोर विषयवस्तुका चलचित्र हेर्न चलचित्र घरसम्मको यात्रालाई थाती राखेर टीभीमा चलचित्र कुर्न सक्छन्," इम्के ग्लोबलको प्रतिवेदन भन्छ।

तस्बिर स्रोत, VIACOM 18 STUDIOS
अहिले जति दर्शक ओटीटी प्लाटफर्ममा बढिरहेका छन् त्यसको अनुपातमा त्यसमा भएको कुल आधा अर्ब डलरको लगानी धेरै भएको विज्ञहरू बताउँछन्। तर भारतजस्तो बजारमा डिजिटल बजारतर्फको यात्रा कायम रहने बताइन्छ।
आम्दानीको थप क्षेत्र जोडिँदा उद्योगका लागि राम्रो खबर हो वा होइन भन्ने स्पष्ट छैन किनभने यसले निर्माताहरूलाई दर्शकहरू चलचित्र घरसम्म तान्न सक्ने विषयवस्तु र प्रस्तुति पस्कन थप दबाव हुनेछ।
"जब दर्शकले प्रत्येक चलचित्र हेर्ने यात्राका लागि २०-३० डलर खर्च गर्छन् भने त्यसको फाइदा पनि खोज्छन् किनभने त्यही पैसा खर्च गरेर उनीहरूले एक वर्षका लागि नयाँ-नयाँ चलचित्र हेर्ने सुविधा टीभीमा पाउन सक्छन्," त्यागीले भनिन्।
"त्यता किन नजाने? यो धेरै भइरहेको म देखिरहेकी छु।"








