नूपुर शर्मा विवादः भारतमा अहिले बुल्डोजर किन डर फैलाउने साधन बन्न पुगेको छ

तस्बिर स्रोत, Getty Images
- Author, गीता पाण्डे
- Role, बीबीसी न्यूज, दिल्ली
एक सय वर्षअघि आविष्कार भएको बुल्डोजरको प्रयोग घर, कार्यालय, सडक तथा अन्य पूर्वाधारको निर्माणमा हुँदै आएको छ।
तर कतिपय मानिसका अनुसार केही वर्षयता हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सरकारको हातमा यो साधन एउटा अस्त्र बन्न पुगेको छ। बुल्डोजर अहिले अल्पसङ्ख्यक मुस्लिमका घर तथा उनीहरूका जीविकोपार्जनका माध्यमलाई नष्ट गर्न प्रयोग भइरहेको छ।
बुल्डोजरको प्रयोग खासगरी राजनीतिक रूपमा महत्त्वपूर्ण ठानिने उत्तर प्रदेशमा बढी देखिएको छ।
यसको पछिल्लो प्रयोग गत आइतवार उत्तर प्रदेशको प्रयागराज (पहिलाको इलाहाबाद) मा देखियो। स्थानीय प्रशासनले बुल्डोजर चलाएर त्यहाँ एक राजनीतिक अभियानकर्मी जावेद मोहम्मदको घर भत्काइदियो।
सरकारले उनको घर अवैध रूपमा बनाइएको आरोप लगाएको छ। तर उनको परिवारले त्यसको खण्डन गरेको छ।
आलोचकहरूका अनुसार त्यो घर भत्काउनु र तथाकथित रूपमा अवैध हुनुसँग कुनै सम्बन्ध नभई जावेदको परिवार सरकारको प्रखर आलोचक हुनु कारण रहेको छ।
बुल्डोजरले जावेदको घर भत्काइनुभन्दा एक दिनअघि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो र पैगम्बर मोहम्मदको अपमान गरिएको विरोधमा भएको प्रदर्शनको "मुख्य योजनाकार" रहेको आरोप उनीमाथि लगाएको थियो।
'कानुनको मूल भावना बुल्डोजरले ध्वस्त'
भारतमा सत्ताले गरिरहेको बुल्डोजरको प्रयोगको तुलना भारी साधनले प्यालेस्टिनीहरूका घर भत्काउने घटनाहरूसँग गरिन थालेको छ।
आलोचकहरू भन्छन्, "यी आधिकारिक कारबाहीलाई वैधताको एकदमै पातलो खोल ओढाइएको छ" र "कानुनको मूल भावनालाई नै बुल्डोजरले ध्वस्त पारिँदै छ।"
एउटा विरल कदमअन्तर्गत कैयौँ चर्चित न्यायाधीश तथा वकिलहरूले सर्वोच्च अदालतलाई पत्र लेख्दै भनेका छन्: "बुल्डोजर कानुनी शासनको अस्वीकार्य दमन हो। "
उनीहरूले "मुस्लिमविरुद्ध दमन र हिंसा रोक्न" पत्रमा आग्रह गरेका छन्।
द इन्डियन एक्सप्रेसमा एउटा लेख लेख्दै पूर्वमन्त्री कपिल सिब्बलले भनेका छन्: "अवैध संरचनासँग बुल्डोजरको कुनै सम्बन्ध नै छैन। त्यसको सम्बन्ध त म को हुँ र कसको पक्षमा उभिएको छु भन्नेसँग मात्र छ।"
के भन्छ अदालत
बुल्डोजरको प्रयोगलाई लिएर भारतको सर्वोच्च अदालतमा पनि कानुनी चुनौती दिइएको छ।
अदालतले भनेको छः "यसको प्रयोग कानुनी दायरमा रही प्रयोग हुनुपर्छ र प्रतिशोधका लागि प्रयोग हुनु हुँदैन।"
बुल्डोजरले जुन खतरा उत्पन्न गराएको छ त्यो अहिले स्पष्ट भइसकेको छैन।

यसै वर्ष म उत्तर प्रदेशमा विधानसभा चुनावको रिपोर्टिङ गर्न जाँदा एउटा रोचक दृश्य देखियो।
योगी आदित्यनाथका समर्थकहरूद्वारा आयोजित शक्तिप्रदर्शन गर्ने एउटा कार्यक्रममा उनका केही समर्थकहरू ससाना प्लास्टिकका खेलौना बुल्डोजर लिएर उपस्थित भएका थिए।
आलोचना दबाउन प्रयोग
वरिष्ठ पत्रकार आलोक जोशीका अनुसार योगी आदित्यनाथले बुल्डोजरको प्रयोग सबैभन्दा पहिला एकजना कुख्यात अपराधी विकास दुबेविरुद्ध गर्न लगाएका थिए।
उनीमाथि आठजना प्रहरीको हत्या गरेको आरोप थियो। त्यसपछि गुन्डानाइके मुख्तार अन्सारीविरुद्ध प्रयोग गरियो।
बुल्डोजर प्रयोग गरी तिनको स्वामित्वमा भएका निजी संरचना भत्काइएको भिडिओ राष्ट्रिय टेलिभिजन च्यानलहरूमा प्रसारण गरिएको थियो।
त्यतिबेला अपराधीहरूविरुद्ध "सशक्त रूपमा प्रस्तुत भएको" भन्दै सरकारले जनताको समर्थन र प्रशंसा पनि बटुल्यो।
जोशी भन्छन्, "तर यसको प्रयोग विपक्षी र सरकारका आलोचकहरूलाई दबाउने रणनीतिको रूपमा बढिरहेको छ, खासगरी मुस्लिमहरूविरुद्ध।"

तस्बिर स्रोत, Getty Images
बुल्डोजरको अनुचित प्रयोगका कारण सर्वत्र भारतको आलोचना भइरहेको छ।
तर पत्रकार जोशीका अनुसार योगी आदित्यनाथलाई त्यसबाट व्यापक राजनीतिक लाभ पनि भइरहेको छ र त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन हुन सक्छ।
गत वर्षको डिसेम्बरमा उत्तर प्रदेश भ्रमणका क्रममा मोदीले भनेका थिएः "जब कोही माफियामाथि बुल्डोजर चल्छ तब त्यसले कुनै अवैध संरचनालाई भत्काउँछ अनि त्यसो हुँदा अवैध कुरालाई मलजल गर्नेहरूलाई पीडा हुन्छ।"
मोदीको त्यो टिप्पणीपछि बुल्डोजरको प्रयोग साम्प्रदायिक हिंसाका आरोपितहरूविरुद्ध हुन थाल्यो।
जोशी भन्छन्, "कुनै अपराधमा दोषी ठहर भएका व्यक्तिका घर पनि भत्काउन भनेर अदालतले आदेश दिएको देखिँदैन। तर कसैको घर भत्काउन बुल्डोजर पठाइँदा एउटा राजनीतिक सन्देश पनि दिइएको हुन्छः हामीविरुद्ध उठ्नेलाई धूतिसात् पारिनेछ।"








