माओवादी मन्त्रीले 'समर्थन गरेको' पशुपति हिन्दु विश्वविद्यालयको अवधारणा के, स्थापना गर्न कतिको सम्भव

तस्बिर स्रोत, EPA
हिन्दु धर्मको अनुसन्धान एवं सांस्कृतिक कूटनीतिलाई बढावा दिने उद्देश्य राखेर श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सरकारले अघि बढाइरहँदा विज्ञहरूले पर्याप्त पूर्वतयारी बिना त्यस्तो विश्वविद्यालय स्थापना गर्न नहुने बताएका छन्।
धर्म निरपेक्षताको पैरवी गरिरहेको नेकपा माओवादी केन्द्रका नेता एवं पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीले मन्त्रिस्तरीय निर्णय गरेर उक्त विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि समिति गठन गरेका थिए।
माओवादी पार्टीमा विगतमा कठोर विचारधाराको प्रतिनिधित्व गर्ने समूहमा रहेका किराती पहिलो पटक मन्त्री बनेका हुन्।
उक्त समितिले काम अघि बढाइरहँदा कतिपय विज्ञहरूले नेपाल संस्कृत विश्वविद्यालय मातहत नै हिन्दु धर्म र वैदिक संस्कृतिको अध्ययन अनुसन्धान अघि बढाइन सक्ने धारणा राखेका छन्।
विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन
नेपालमा ८० प्रतिशतभन्दा धेरै जनसङ्ख्या हिन्दु धर्मावलम्बीहरू रहेका छन्। २०६२-२०६३ सालको जनआन्दोलनपछि हिन्दु अधिराज्यबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको थियो।
दोस्रो जनआन्दोलनपछि राजतन्त्रात्मक झल्को दिने कतिपय विश्वविद्यालय र कलेजका नाम फेरिएका थिए।
अहिले माओवादी अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएका बेला उनको सरकारका पर्यटन मन्त्रीले पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको पूर्व सम्भाव्यता अध्ययनको जिम्मेवारी प्राज्ञ डाक्टर जगमान गुरुङ नेतृत्वमा एउटा समितिलाई दिएको हो।
पर्यटन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले भने, “हामीले अहिलेसम्म यति काम गर्यौँ भनेर दुई साताअघि उहाँहरूले जानकारी गराउनुभएको थियो। पशुपति हिन्दु विश्वविद्यालयको अवधारणा के हो, कसरी अघि जाने, के के विषयवस्तु त्यसमा पढाउने जस्ता समग्र विषयमा पूर्ण प्रतिवेदन दिन बाँकी छ।”
केसीका अनुसार सम्भाव्यता अध्ययन प्रतिवेदन आइसकेपछि मन्त्रालयले ‘यथोचित’ निर्णय लिनेछ।
“विदेशी चीज खोज्यौँ, स्वदेशी चिनेनौँ”

तस्बिर स्रोत, RSS
केही दिन पहिले एउटा कार्यक्रममा मन्त्री किरातीले पशुपति हिन्दु विश्वविद्यालयले शिक्षा र पर्यटन जस्ता क्षेत्रलाई बढावा दिने विश्वास आफूले लिएको बताएका थिए।
उनले भने, “सबै धर्महरूको सम्मान एउटा धर्म निरपेक्ष राष्ट्रमा हुन्छ। आजसम्म हामीले विदेशी चीजहरू खोजेर हिँड्यौँ, स्वदेशी चीज थाहा पाएनौँ। हाम्रो मान्यता, मूल्य र शैलीहरूलाई स्थानीयकरण गर्नै सकेनौँ।”
उनले थपे, “विश्वभरी बुद्धिजीवी उत्पादन गर्ने लक्ष्य छँदैछ। सांस्कृतिक कूटनीतिलाई अझ बलियो बनाउने माध्यम पनि यो हो।”
संयोजक डाक्टर गुरुङले साधना गर्न उत्तम थलो नेपाल भएको भन्दै नयाँ विश्वविद्यालयले नेपालका मौलिक विशेषता भएका पाठ्यक्रम समावेश गरेर अघि बढ्ने बताए।
उनले भने, “यो विश्वविद्यालयमा विश्वबाट पूर्वीय दर्शन र नेपालको अध्ययन गर्न मानिसहरू आउनेछन्। हामीले नेपालमुखी विषयको अध्ययन र अनुसन्धान भनेका छौँ।”
उनले थपे, “विश्वमा लोप भइसकेको प्रारम्भिक बज्रयानी बौद्धतन्त्र नेपालका नेवारहरूले सुरक्षित बनाएर राखेका छन्। विश्वमा कतै नभएको मुन्धुम किराँतहरूले सुरक्षित राखेका छन्। नेपालमै पनि हराइसकेको बोन परम्परा गुरुङहरूले सुरक्षित राखेका छन्। नेपालका अन्य सांस्कृतिक सम्पदा, चेपाङ र राउटे जस्ता समुदायका जीवन दर्शनबारे अध्यापन गराउनेछौँ।”
उनले उच्च कोटीको पूर्वीय दर्शनको अध्ययन र साधनाको उपयुक्त थलो नेपाल भएको उल्लेख गर्दै पशुपतिनाथ हिन्दु विश्वविद्यालय सञ्चालनका लागि आर्थिक दायित्व चुनौती नहुने पनि टिप्पणी गरे।
उनले चैत मसान्तसम्म आफूहरूले सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिए।
स्रोत जुटाउन कठिन

तस्बिर स्रोत, RSS
नेपालमा हाल एक दर्जन भन्दा बढी विश्वविद्यालय सञ्चालनमा छन् भने प्रदेश सरकारहरूले केही नयाँ विश्वविद्यालयको स्थापनाको गृहकार्य अघि बढाइरहेका छन्।
धर्म र संस्कृतिमा केन्द्रित नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय अहिले सञ्चालनमा छन्।
काठमाण्डू विश्वविद्यालयका पूर्व उपकुलपति डाक्टर सुरेशराज शर्मा नयाँ विश्वविद्यालय स्थापना गर्न सहज नहुने बताउँछन्।
उनले बीबीसीसँग भने, “नेपालमा संस्कृत विश्वविद्यालय छ। तर त्यो पनि सरकारले आर्थिक रूपमा सहयोग गरिदिएन भने चल्न सक्दैन। त्रिभुवन विश्वविद्यालयको पनि सरकारले आर्थिक भार बोकिदिएको छ।”


धर्म सम्बन्धी शैक्षिक उद्देश्य राखेर विश्वविद्यालय खडा गर्न गुठी वा अन्य स्रोतमार्फत् सम्पत्ति भएको अवस्थामा सहज हुनसक्ने उनको भनाइ छ।
पूर्व उपकुलपति शर्मा थप्छन्, “सुरुमा बलियो कलेज सञ्चालन गरेर त्यसलाई विश्वविद्यालय बनाउनु ठीक हुन्छ। तर एकैचोटी विश्वविद्यालय खोल्दा उनीहरूको जिम्मेवारी बढ्छ। त्यसमाथि बाहिर त्यो सर्टिफिकेट स्वीकार्य हुनुपर्यो। बजारमा जाने उत्पादनहरू पनि निकाल्नसक्नुपर्यो। मेरो विचारमा त्यति सजिलो हुँदैन।”
कैयौँ देशमा विश्वविद्यालय स्थापना गर्न हुनुपर्ने न्यूनतम कोष, जमिन एवं पूर्वाधार तय गरिने गरेका दृष्टान्त दिँदै उनले सबै सम्भाव्यता हेरेर मात्रै विश्वविद्यालय स्थापना गरिनुपर्ने बताए।
हिन्दु दर्शन अध्ययन गराउने थलो कहाँ
नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइराला पशुपति हिन्दु विश्वविद्यालय खुल्ने सम्भावना आफूले नदेखेको बताउँछन्।
उनले भने, “अहिले गलत किसिमले विश्वविद्यालय खोल्ने होडबाजी चलेको छ। नेपाल संस्कृत विश्वविद्यालय भित्र संस्कृतका मूल १२ वटा विषयहरू छन्। त्यसमा अरू १२ वटा आधुनिक थपेर २४ वटा बनाउन सकिन्छ। विधा विकास गर्ने भनेको एउटा मिल्दो जुल्दो विधालाई अर्को मिल्दोजुल्दो विधासँग गाभेर हो।”

तस्बिर स्रोत, EPA
पर्याप्त योजना र अध्ययन बिना स्थापना गरिएका विश्वविद्यालय नेपालजस्तो देशका लागि सेतो हात्ती बन्ने चेतावनी समेत उनले दिए।
उनको भनाइ छ, “बौद्ध विश्वविद्यालय अलग्गै स्थापना गर्नु मेरो विचारमा जरुरी नै थिएन किनभने बौद्ध दर्शनलाई नेपाल संस्कृत विश्वविद्यालयको एउटा विभाग खोलेर पढाउन सकिन्थ्यो। अहिले योगमाया आयुर्वेद विश्वविद्यालय खोल्ने कुरा चलिरहेको छ, अहिले नै संस्कृत विभागमा आठै प्रकारका योगको आचार्यसम्म अध्ययन हुन्छ। विद्धानहरूलाई अध्ययन गराएर संस्कृत विश्वविद्यालयकै शाखाको रूपमा हिन्दु धर्मको अध्ययन अनुसन्धानमा जोड दिनु उपयुक्त हुन्छ।”
कतिको गम्भीर प्रयास हो?

तस्बिर स्रोत, Getty Images
काठमान्डूस्थित वाल्मीकि विद्यापीठकी प्राध्यापक प्रियम्बदा आचार्य काफ्लेले पशुपतिनाथ हिन्दु विश्व विद्यालय स्थापनाको उद्देश्य र कारण आफूले बुझ्न नसकेको टिप्पणी गरिन्।
उनी भन्छिन्, “त्रिभुवन विश्वविद्यालय अन्तर्गत संस्कृति विषय अध्ययन गर्ने हो भने पशुपतिनाथ लगायतका विषय अध्यापन गराइन्छ। हिन्दुहरूको अत्यधिक बसोबास भएकाले हाम्रो देशमा सबै कुरा हिन्दुमय नै छ। त्यही भएर देखावटी खालका कुरा गर्नुभन्दा पनि धर्म, संस्कृति मान्ने मानिसहरूलाई सहयोग हुने खालका पूर्वाधार निर्माण गरिदिनुपर्छ।”
उनले तीर्थयात्रीहरूका लागि धर्मशाला, भान्सा घर जस्ता पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिइन्।
सरकारी अधिकारीहरूले विश्वविद्यालय स्थापनाका लागि गरिएको पछिल्लो अध्ययनलाई गम्भीर गृहकार्यका रूपमा प्रस्तुत गरिरहेका छन्।
नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जस्ता दलहरूले मुलुकलाई पुनः हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरिरहेका छन्।
नेपाल भारत धार्मिक कूटनीति

तस्बिर स्रोत, Narendra Modi/Twitter
छिमेकी भारतमा हिन्दुवादी राजनीतिको जरो गहिरो बन्दै गइरहेको पछिल्लो समयमा दुवै देशका अधिकारीहरूले रामायण सर्किटसहितका धार्मिक पर्यटनमा जोड दिइरहेका छन्।
भारतका हिन्दुहरूले पशुपतिनाथप्रति उच्च सम्मान प्रकट गर्ने गरेको पाइन्छ।
पशुपतिनाथ बाहेक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र जनकपुरधामको पनि भ्रमण गरेका छन्।
कैयौँ नेपालीहरू धार्मिक शिक्षाका लागि भारतका बनारससहित विभिन्न धामहरूमा पुग्ने गर्छन्।
त्यस्तै भारतीयहरूले नेपाललाई धार्मिक पर्यटन र अध्ययन अनुसन्धानको गन्तव्य बनाउने गरेको पाइन्छ।
हिन्दु विश्वविद्यालय स्थापना गर्न सकिए त्यस्तो खालको आदानप्रदान थप विस्तार गर्न सकिने कतिपयको विश्लेषण पाइन्छ।








