भारतद्वारा दुई हजारको नोट चलनचल्तीबाट हटाउने घोषणा

तस्बिर स्रोत, Getty Images
भारतको रिजर्भ ब्याङ्कले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ ।
शुक्रवार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने जनाएको छ।
सर्वसाधारणले आफ्नो ब्याङ्क खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै ब्याङ्क शाखामा गएर नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
यद्यपि ब्याङ्क खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानूनहरू मात्र लागु हुनेछन्।
के छन् आरबीआईका नयाँ नियम?
- मे २३, २०२३ देखि नोटहरू तपाईँको ब्याङ्क खाता वा कुनै पनि ब्याङ्कमा साट्न सकिन्छ
- कुनै पनि ब्याङ्क शाखामा एक पटकमा २०,००० सम्म जम्मा गर्न सकिन्छ
- यी सबै प्रक्रिया तोकिएको समयभित्र सम्पन्न गर्न र जनतालाई पर्याप्त समय दिनका लागि सबै ब्याङ्कहरूमा सेप्टेम्बर ३०, २०२३ सम्म रकम जम्मा गर्ने सुविधा उपलब्ध हुनेछ
- आरबीआईले ब्याङ्कहरूलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न निर्देशन दिएको छ
- आरबीआईले यसअघि पाँच सय र एक हजार दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरिएको बताएको छ
- आरबीआईका अनुसार साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८-१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो
- आरबीआईका अनुसार दुई हजारको ८९ प्रतिशत नोट मार्च २०१७ अघि जारी गरिएको थियो

तस्बिर स्रोत, Getty Images
सन् २०१६ पछि २ हजारको नोट
सन् २०१६ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १,००० रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेका थिए।
त्यसपछि भारत सरकारले दुई हजारको नयाँ नोट ल्याएको थियो। यद्यपि विगतका वर्षहरूमा ५०० को नोट निकै चलेको थियो।
तर एटीएम र ब्याङ्कहरूमा दुई हजारको नोटको अभावलाई लिएर प्रश्नहरू उठिरहे।
सन् २०२१ मा तत्कालीन वित्त राज्यमन्त्री अनुराग ठाकुरले बताए अनुसार आरबीआईले सन् २०१९ र २०२० को अवधिमा दुई हजारको नयाँ नोट छापेको थिएन।








