विदेशबाट नेपाल आउने रकम बढ्यो, के यसबाट राष्ट्रिय ढुकुटी बलियो बन्छ

वैदेशिक रोजगार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

विगत चार महिनामा नेपालमा झन्डै २० प्रतिशत बढी रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्रब्याङ्कले जनाएको छ। अमेरिकी डलरको मूल्य बढेकाले अहिले धेरै रकम नेपाल आएको विज्ञहरूले औँल्याएका छन्।

नेपाली मुद्रा कमजोर भएका बेलामा विदेशबाट पैसा पठाउने क्रम समेत बढ्ने भएकाले अहिले रेमिट्यान्स अर्थात् विप्रेषणमा वृद्धि भएको राष्ट्र ब्याङ्कका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।

"यस्तो समयमा विदेशमा नेपालीहरूले बचत कोषमा जम्मा भएका पैसा, सरसापट र अग्रीम भुक्तानीसम्म लिएर स्वदेशमा पैसा पठाउने गरेका हुन्छन्," उनले भने।

रेमिट्यान्स नेपालको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा छ।

विदेशमा कार्यरत नेपालीहरूले गत चौमासिकमा ३७८ अर्ब ४ करोड रुपैयाँ नेपाल पठाएको राष्ट्र ब्याङ्कको तथ्याङ्क छ।

अमेरिकी डलरमा भने विप्रेषण आप्रवास १०.८ प्रतिशतले बढेको देखिन्छ।

अमेरिकी डलर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

अन्य कारण

पछिल्लो समय राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति कम भएपछि सर्वसाधारणका लागि जारी हुने प्राथमिक शेअरमा १० प्रतिशत वैदेशिक रोजगारीमा गएकालाई आरक्षित गर्ने व्यवस्था गरिएको थियो।

शेअरमा आरक्षण आधिकारिक माध्यमबाट रेमिट्यान्सलाई भित्र्याउने अवसर हुने आशा अधिकारीहरूको थियो।

पछिल्लो चौमासिक अवधिमै विदेश जानका लागि श्रमस्वीकृति लिनेहरूको सङ्ख्या समेत १०२ प्रतिशतले वृद्धि भएर झन्डै दुई लाख पुगेको छ।

"त्यो देशको एकखाले लगानी हो। वहाँहरूले क्रमिक रूपमा आउँदा दिनमा रेमिट्यान्स बढाउनमा योगदान दिनुहुन्छ," पोखरेलले भने।

तर विप्रेषण बढ्ने दर कायम रहन्छ भनेर ढुक्क हुन नसकिने त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागकी सहप्राध्यापक रश्मी राजकर्णिकार बताउँछिन्।

"हाम्रोमा अहिले डलरको भाउका कारण तलमाथि परे झैँ अनेकौँ अन्तर्राष्ट्रिय कारण जिम्मेवार हुने गरेको देखिन्छ," उनी भन्छिन्।

"कोभिडपछि विदेशमा रोजगारीका क्षेत्र बिस्तारै चलायमान हुन थाले, रोजगारीमा जानेहरू पनि बढे र त्यति नै बेला डलर समेत बलियो बनेर देखा पर्‍यो।"

राष्ट्रब्याङ्कका सहप्रवक्ता पोखरेलले श्रम स्वीकृति लिँदै गरेका वा फर्कँदै गरेका जनशक्तिको तुलना गरेर मात्र आगामी दिनमा विप्रेषणको थपघट थाहा हुनसक्ने ठान्छन्।

बलियो बन्दै राष्ट्रिय ढुकुटी

यस अवधिमा राष्ट्रिय ढुकुटीमा जम्मा भएको वैदेशिक मुद्राले झन्डै साढे आठ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्रब्याङ्कले जनाएको छ।

"यतिखेर बाह्य क्षेत्रमा चाप कम परेका कारण सरकारले आयात प्रतिबन्ध लगाएका चारवटा वस्तुको खुला गरेको छ," राष्ट्र ब्याङ्कका सह प्रवक्ता नारायणप्रसाद पोखरेल भन्छन्।

"रेमिट्यान्सको बढ्दो आप्रवाह र खुला गरिएका प्रतिबन्धको प्रभावलाई हामीले सूक्ष्म ढङ्गले हेरिरहेका छौँ। पुनः त्यसको समीक्षाका लागि केही महिना लाग्छ।"

अन्तर्राष्ट्रिय मान्यताअनुसार कम्तीमा छ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा राज्यको ढुकुटीमा हुनुलाई शोधनान्तर स्थिति सहज भएको अवस्था मानिन्छ।

नेपालसँग अहिले ९.७ महिनाको आयात धान्न सक्ने वैदेशिक मुद्रा रहेको राष्ट्र ब्याङ्कले जनाएको छ।

नेपालमा वस्तु तथा सेवाको आयात बढिरहेको तर निर्यातको हिस्सा कम रहेको अवस्थामा रेमिट्यान्स नै विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हुँदै आएको छ।

तर यसरी सधैँ रेमिट्यान्समा भर पर्नुपर्ने अर्थतन्त्र दिगो नहुने भन्दै अर्थशास्त्रीहरूले विगतदेखि नै चेतावनी दिँदै आएका छन्।