मूल्यवृद्धिः नेपालको अर्थतन्त्र पेट्रोलियम पदार्थ, गाडी र सुन-चाँदीसँग कसरी जोडिएको छ?

सुनको भाउ

तस्बिर स्रोत, EPA

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

सुन-चाँदी, गाडी र पेट्रोलियम पदार्थको आयातलाई "उल्लेख्य रूपमा व्यवस्थित गर्न आवश्यक रहेको" कुरा सरकारलाई सुझाव दिइएको नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

"त्यसबाहेकका कुराहरू अत्यावश्यक नै छन्। जसमा नियन्त्रण गर्दा आन्तरिक आपूर्तिचक्रममा कस्तो असर पर्छ भन्ने सोच्नुपर्ने हुन्छ," प्रवक्ता गुणाकर भट्टले भने।

केन्द्रीय ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले "बाह्य क्षेत्रमा बढ्तै दबाब रहेको" बताउँदै आयातमा भएको उच्च मूल्यवृद्धिले विदेशबाट ल्याइने वस्तुमा हुने खर्चको आकार बढेको बीबीसीलाई बताएका छन्।

खासगरी विश्वव्यापी रूपमा कोभिड महामारीले बिथोलेको आपूर्ति चक्र केही सुधार हुन थालेका बेला युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा महङ्गी बढेको राष्ट्र ब्याङ्कका अधिकारीहरू बताउँछन्।

ब्यापारघाटा उच्च बढेका बेला बिलासी वस्तुहरूको आयात केही समयलाई नियन्त्रण गरिनुपर्ने सुझाव सरकारी संयन्त्रभित्रै र अर्थशास्त्रीहरूले समेत दिएका छन्।

के हुन् बिलासी सामान?

बिलासी सामान भनेर केकस्ता बस्तुलाई भन्ने बिषयमा "तुलनात्मक अध्ययन र देश काल परिस्थिति हेरेर निर्धारण गर्न भनिएको" अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला बताउँछन्।

"अमेरिकामा अत्यावश्यक हुने कुनै कुरा नेपालमा बिलासी बन्न सक्छ। हामीलाई उपभोग गर्न अत्यावश्यक पर्ने बस्तु र हामीले उत्पादन गर्ने वस्तु कुन-कुन हुन सक्छन् भनेर सम्बन्धित निकायले विश्लेषण गर्नुपर्छ भन्ने कुरा भएका छन्," अर्थ प्रवक्ता निरौलाले बीबीसीसँग भने।

"हाम्रो आसपासमा हेरेर कुन कुरालाई बिलासी मान्ने कुनलाई नमान्ने भन्ने तुलनात्मक विष्लेषण हुन जरुरी छ।"

आयल निगम

तस्बिर स्रोत, NOCL

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई त्यस्तो विश्लेषण गर्ने जिम्मा दिइएको छ।

यीबाहेक केही खाद्य सामग्रीहरू समेत अत्यावश्यक नमानिकन आयातमा कडाइ गर्नुपर्ने हुनसक्ने बताइएको छ।

यसै साता नेपाल राष्ट्र ब्याङ्कले सुन तथा विलासिताका वस्तुहरू खरिद गर्नका लागि प्रतीतपत्र अर्थात् एलसी जारी नगर्न ब्याङ्कहरूलाई मौखिक आग्रह गरेको भन्ने विवरणहरू आएका थिए।

पेट्रोलियम पदार्थ, गाडी र सुनचाँदी

यस आर्थिक वर्षको सुरुका सात महिनाको समीक्षामा झण्डै १,१४८ अर्बको आयात भएकोमा पेट्रोलियम पद्धार्थको हिस्सा सबैभन्दा धेरै १३.६ प्रतिशत थियो।

त्यसपछि गाडी तथा तिनका पाटपुर्जा ७.५ प्रतिशत रहेको राष्ट्र ब्याङ्कको विवरणले देखाउँछ।

पेट्रोलियम आयात बापतको रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा झण्डै ९४ प्रतिशतले बढेको छ।

गाडी तथा तिनका उपकरणमा समेत त्यो झण्डै २७ प्रतिशतले बढेको देखिन्छ।

आयातमा सुनको कुल हिस्सा २.४ प्रतिशत भए तापनि सोही अवधिमा ८४ प्रतिशतले बढेको छ।

गत महिना नेपाल राष्ट्र ब्याङ्कले दैनिक आयात गर्न सकिने सुनको परिमाण २० किलोबाट झारेर १० किलोमा पुर्‍याएको थियो।

आयातमा १.३ प्रतिशत हिस्सा रहेको चाँदी आयात गर्न अघिल्लो वर्षको सात महिनाको तुलनामा झण्डै ४०० प्रतिशत धेरै खर्चिएको छ।

चिन्ता

राष्ट्रब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले त्यस्तो आयात धान्नका लागि पर्यटनजस्ता वैदेशिक मुद्राका नियमित स्रोतमा समेत धक्का पुगेकोले थप समस्या भएको बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विद्युतीय गाड़ीबाट कसरी हुन्छ फाइदा

सामान्यतः देशमा भित्रने र बाहिरिने रकमको अवस्था दर्शाउने शोधनान्तर गत असार मसान्तमा सवा अर्ब रुपैयाँ बचतमा थियो भने अहिले २४७ अर्ब रूपैयाँले घाटामा रहेको सरकारी विवरण छ।

जसलाई नियमन गर्न कम्तिमा यो असार मसान्तसम्म त्यस्ता बिलासी सामानमा कडाई गर्नुपर्ने राष्ट्र ब्याङ्कले सोचेको बताइएको छ। तर त्यो कुन स्वरुपको हुने भन्ने अझै स्पष्ट छैन।

पेट्रोलियम पदार्थ अझै अत्यावश्यक वस्तुका रूपमा रहेको र त्यसको तत्काल ठूलो विकल्प नदेखिएका बेला खपत घटाउन सातामा दुई दिन बिदा दिने, जोरबिजोरमा गाडी चलाउन पाइनेजस्ता उपायहरू सुझाइएको राष्ट्रब्याङ्कका अधिकारीहरू बताउँछन्।