अमेरिकाले आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा थप दश हजारसम्म फौज 'पठाउन सक्ने'

अमेरिकी सीमानाकामा सुरक्षाकर्मी

तस्बिर स्रोत, Getty Images

ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमानाका भएर अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूमाथि कडाइ गर्नेतर्फ द्रुत कदम चालिरहेको देखिन्छ।

अहिले पठाउन लागिएका १,५०० फौजहरूले अमेरिका प्रवेश गर्नबाट रोक्न तत्काल थप भौतिक अवरोधहरू खडा गर्न थाल्ने छन्।

सैनिक स्रोतले बीबीसीलाई बताएअनुसार ती फौजहरू कानुन कार्यान्वयनको काममा चाहिँ संलग्न हुने छैनन्।

मेक्सिकोसँगको सीमानाकामा थप दश हजारसम्म फौज पठाउन सकिने अमेरिकास्थित बीबीसीको समाचार साझेदार सीबीएसले हेरेको ट्रम्प प्रशासनको आन्तरिक पत्राचारमा उल्लेख छ।

भारतीय प्रतिक्रिया

अमेरिकी रक्षा मन्त्रालयले क्यालिफोर्निया र टेक्ससस्थित थुनुवा केन्द्रहरूमा रहेका हजारौँ अवैध आप्रवासीलाई स्वदेश फिर्ता गर्ने कार्यमा उडानहरूमार्फत् सघाउने छ।

नवनियुक्त राष्ट्रपति डोनल्ड ट्रम्पले शृङ्खलाबद्ध कार्यकारी आदेशमार्फत् अवैध आप्रवासनमा कडाइ गर्ने र लाखौँ मानिसलाई देश निकाला गर्ने कदम चालिरहेका बेला भारतले प्रतिक्रिया जनाएको छ।

आफ्ना अमेरिकी समकक्षी मार्को रुबिओसँग बुधवार भेटवार्ता गरेका भारतीय विदेशमन्त्री एस जयशङ्करले कागजपत्र नभएका भारतीय आप्रवासीहरूको वैध फिर्तीका लागि आफ्नो देश तयार रहेको पत्रकारहरूलाई बताएका छन्।

ट्रम्पले एकपछि अर्को कार्यकारी आदेश जारी गरेका छन्

तस्बिर स्रोत, EPA

पिऊ रिसर्च सेन्टरको हालैको तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिकामा कागजपत्र नभएका आप्रवासीहरूमध्ये भारतीय आप्रवासीहरू तेस्रो स्थानमा छन्।

भारत फर्काइने अवैध आप्रवासीहरूको प्रमाणीकरण प्रक्रिया जारी रहेको विवरणमा जनाइएको छ।

कागजपत्र नभएका करिब १८,००० भारतीय आप्रवासीहरूको स्वदेश फिर्ती प्रक्रियामा भारतले ट्रम्प प्रशासनसँग सहकार्य गरिरहेका भन्ने रिपोर्टहरूलाई इङ्गित गर्दै जयशङ्करले उक्त सङ्ख्यालाई आवश्यक अध्ययनबिनै स्वीकार्न नसकिने आशय व्यक्त गरेका छन्।

"मैले केही सङ्ख्याहरू देखेको छु… म त्यसप्रति सजग गराउन चाहन्छु किनकि हाम्रो लागि त्यो सङ्ख्या तब मात्र स्वीकार्य हुने छ जब हामी उनीहरूको भारतीय मूललाई प्रमाणित गर्न सक्छौँ," उनले भने।

सुनुवाइबिना निकाला

नाकामा भौतिक अवरोध खडा गरिने अधिकारीहरूले बताएका छन्

तस्बिर स्रोत, Reuters

सरकारी कागजपत्र र अधिकारीहरूका अनुसार ट्रम्प प्रशासनले जनस्वास्थ्य र राष्ट्रिय सुरक्षासम्बन्धी कानुन सक्रिय तुल्याएपछि अब देश निकाला हुनुअघि अवैध आप्रवासीहरूले शरणका लागि आवेदन दिन पाउने छैनन्।

पदभार ग्रहणपश्चात्‌ ट्रम्पले जारी गरेको कार्यकारी आदेशबमोजिम आप्रवासीहरूले सो मामिलासम्बन्धी न्यायाधीश तथा अधिकारीहरूसम्म पहुँच नपाउने दुईजना अधिकारीले सीबीएसलाई बताए।

स्वदेश फर्केमा खतरा हुन सक्ने मानिसहरूको रक्षासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनप्रतिको अमेरिकी उत्तरदायित्वलाई ट्रम्पको कार्यकारी आदेशले निलम्बन गरिदिएको छ।

कागजपत्र नभएका आप्रवासीहरूलाई देश निकाला गर्ने कदमबाहेक ट्रम्पले शरणार्थीहरूले अमेरिकामा पुनर्वास गर्न पाउने कार्यक्रमलाई पनि निलम्बन गरिदिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।