किन भारतीयहरू अमेरिकी सपना पूरा गर्न जस्तोसुकै खतरा मोल्न तयार छन्

जुन महिनामा मेक्सिकोबाट हिँड्दै अमेरिका जान लागेका भारतीयहरू प्रचण्ड गर्मी भएका बेला पानी बाँडेर खाँदै

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, अवैध बाटोबाट अमेरिका छिर्न खोज्ने आप्रवासीहरूको यात्रा कठिन हुने गरेको बताइन्छ
    • Author, सौतिक विस्वास
    • Role, भारत संवाददाता

यसै वर्षको अक्टोबर महिनामा संयुक्त राज्य अमेरिकाको अध्यागमनसम्बन्धी निकाय (आईसीई) ले एउटा चार्टर्ड फ्लाइटमा राखेर कैयौँ भारतीय नागरिकलाई फिर्ता पठाइदियो।

त्यो कुनै सामान्य उडान थिएन - यो वर्ष कैयौँ ठूलो सङ्ख्यामा गरिएको “रिमूभल फ्लाइट्स”मध्येको एक थियो। यस्तो हरेक उडानमा “अमेरिकामा रहने कानुनी आधार प्रस्तुत गर्न नसकेका” १०० जनाभन्दा बढी भारतीयहरूलाई अमेरिकाबाट फिर्ता पठाइएको थियो।

अमेरिकी अधिकारीहरूका अनुसार वयस्क महिला र पुरुष बोकेको उक्त जहाज पन्जाब राज्यमा अवतरण गरेको थियो किनभने 'डिपोर्ट' गरिएका धेरैजसो मानिसको बसोबास यसै राज्यवरपर परेको थियो।

ती मानिसहरू भारतका कुनकुन ठाउँका थिए भन्ने खुलाइएको छैन।

अमेरिकाको डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटीका सहायकमन्त्री रोयस बर्नस्टिन मुरेका अनुसार सेप्टेम्बरमा अन्त्य भएको अमेरिकी आर्थिक वर्ष २०२४ मा १,००० भन्दा बढी भारतीय नागरिकलाई चार्टर्ड र व्यावसायिक उडानबाट फिर्ता पठाइएको थियो।

मुरेले एक पत्रकार सम्मेलनमा भनिन्, “गएका वर्षहरूमा भारतीय नागरिकलाई अमेरिकाबाट निष्कासन गर्नुपर्ने अवस्था बढ्दै गएको छ र अवैध रूपमा अमेरिका पसेका भारतीयहरू फेला पर्ने गरेको “इन्काउन्टर”ले पनि त्यही दर्साउँछ।”

(यहाँ 'इन्काउन्टर'ले अमेरिकाको मेक्सिको र क्यानडाका सीमा हुँदै अमेरिका पस्न चाहने गैर नागरिकहरूलाई अमेरिकाले रोक्न खोजेको सन्दर्भ जनाउँछ।)

अमेरिकीहरूले भारतीय नागरिक फिर्ता पठाउने कार्यको तीव्रताबीच राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिले भारतीयहरूलाई पर्ने प्रभावबारे गम्भीर चासो बढ्दो छ। ट्रम्पले इतिहासको सबैभन्दा ठूलो सङ्ख्यामा आप्रवासीलाई देशनिकाला गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

ठूलो सङ्ख्या

अमेरिकामा शरण खोज्न जाने क्रममा भारतबाट आएक परिवार मेक्सिको-अमेरिका सीमामा आराम गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा शरण खोज्न जाने क्रममा भारतबाट आएक परिवार मेक्सिको-अमेरिका सीमामा आराम गर्दै

अक्टोबर २०२० यता मात्रै अमेरिकी सीमा सुरक्षा निकायले एक लाख ७० हजार भारतीय आप्रवासीलाई अमेरिकाको उत्तरी र दक्षिणी सीमाबाट गिरफ्तार गरिसकेको छ।

वाशिङ्ग्टनस्थित एक थिङ्क ट्याङ्कका आप्रवासन विश्लेषकहरू गील गुएरा र स्नेहा पुरी भन्छन् , “सीपीबीले विगत चार वर्षमा 'इन्काउन्टर' गरेकामध्ये ल्याटिन अमेरिका र क्यारिबीअन मुलुकहरूको तुलनामा सानो सङ्ख्यामा भए पनि भारतीयहरूको सङ्ख्या पश्चिमी गोलार्धभन्दा बाहिरका देशहरूमध्ये सबैभन्दा ठूलोमध्येमा पर्छ।”

पिउ रिसर्च सेन्टरको सन् २०२२ सम्मको तथ्याङ्कअनुसार अमेरिकामा बसोबाससम्बन्धी आधिकारिक कागजात नभएका सात लाख २५ हजार भारतीयहरू थिए। यो मेक्सिको र एल साल्भडोरपछिको तेस्रो ठूलो सङ्ख्या हो।

समग्रमा गैरकानुनी रूपमा रहेका आप्रवासीहरू अमेरिकी जनसङ्ख्याको तीन प्रतिशतजति छन्।

'गरिब होइनन्'

 अमेरिकी सीमा क्षेत्रमा पैदल यात्रा गरिरहेका भारतीयहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतिपय भारतीयले अवैध रूपमा अमेरिका छिर्न एक लाख डलरसम्म खर्च गरेको बताइन्छ

यो तथ्याङ्कलाई केलाएर गुएरा र पुरीले अमेरिका सीमामा प्रवेश प्रयत्न गर्ने भारतीयबारे खास प्रवृत्ति फेला पारेका छन्।

पहिलो, यस्ता आप्रवासीहरू तल्लो आर्थिक अवस्था भएको वर्गका होइनन्। तिनमा खास गरी शिक्षाको तहका कारण वा अङ्ग्रेजी भाषामा दक्षता नपुगेका कारण पर्यटक वा विद्यार्थी भिसा पाउन नसक्नेहरू छन्।

त्यसैले उनीहरू अमेरिका पुग्न विभिन्न एजेन्सीहरूमा भर पर्छन्, जसले एक लाख अमेरिकी डलरसम्म शुल्क लिएका हुन्छन्।

सीमा नियन्त्रणलाई छल्न उनीहरूले लामो र कष्टकर यात्रा गर्नुपर्ने किसिमको अवस्था हुन्छ। अनि त्यो पैसा जम्मा गर्न कतिले आफ्नो खेतबारी बेचेका हुन्छन् त कतिले ऋण लिएका हुन्छन्।

अमेरिकी आप्रवासी अदालतको सन् २०२४ को तथ्याङ्कअनुसार यीमध्ये धेरैजसो १८ देखि ३४ वर्ष उमेरका पुरुष हुने गरेका छन्।

बाटो कुन

अमेरिका-मेक्सिको सीमा पार गरेपछि अमेरिकी भूमिमा हिँड्दै गरेका भारतीयहरू, सन् २०२३

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, पहिले धेरै भारतीय आप्रवासीहरू प्रक्रियालाई सहयोग पु्‍र्‍याउने ठानिने एल साल्भडोर या निकारागुआ हुँदै मेक्सिकोसँगका व्यस्त सीमा हुँदै भित्रने गर्थे

दोस्रो, उत्तरमा रहेको क्यानडाको सीमा भारतीयहरूका लागि तुलनात्मक रूपमा सजिलो भएको पाइएको छ। क्यानडामा पर्यटक भिसाका लागि आवेदन दिएको ७६ दिनमा भिसा पाइन्छ जबकि अमेरिकी भिसाका लागि १ वर्षसम्म कुर्नुपर्ने अवस्था छ।

'द स्वान्टन सेक्टर' भनिने भर्मन्ट राज्य तथा न्यूयोर्क र न्यूह्याम्प्शरका केही काउन्टीहरूमा यो वर्ष सुरु भएयता भारतीय नागरिकसँग ‘इन्काउन्टर’ भइरहेको छ। अनुसन्धानकर्ताहरूका अनुसार जुन महिनामा त्यो सङ्ख्या सबैभन्दा धेरै २,७१५ थियो।

पहिले सबैभन्दा धेरै भारतीय आप्रवासीहरू प्रक्रियालाई सहयोग पु्‍र्‍याउने ठानिने एल साल्भडोर या निकारागुआ हुँदै मेक्सिकोसँगका व्यस्त सीमा हुँदै भित्रने गर्थे। गत वर्षको नोभेम्बर महिनासम्म भारतीयहरूका लागि एल साल्भडोर जान भिसा पनि चाहिँदैनथ्यो।

“अमेरिका र क्यानडाको सीमा अमेरिका-मेक्सिको सीमाभन्दा कम निगरानीकर्ता रहेको र लामो पनि छ। यो सुरक्षित नभए पनि दक्षिणी र मध्यअमेरिकातर्फको सीमामा जस्तो आपराधिक समूहको उपस्थिति छैन,” गुएरा र पुरी भन्छन्।

कुन भारतीय राज्यका मानिस धेरै

गुजरातको पटेल परिवार सन् २०२२ मा अमेरिका छिर्ने प्रयास गर्ने क्रममा क्यानडामा सीमाबाट करिब १२ मिटरमा कठ्याङ्ग्रिएर मृत्यु भयो
तस्बिरको क्याप्शन, गुजरातको पटेल परिवार, जसको सन् २०२२ मा अमेरिका छिर्ने प्रयास गर्ने क्रममा क्यानडाको सीमाबाट करिब १२ मिटरमा कठ्याङ्ग्रिएर मृत्यु भयो

तेस्रो, धेरैजसो आप्रवासन शिख समुदायको बाहुल्य रहेको पन्जाब र छिमेकी हरियाणाबाट हुने गरेको पाइयो। त्यहाँबाट मानिसहरू आप्रवसानमा जाने लामो परम्परा नै रहेको छ। अर्को स्थान चाहिँ भारतीय प्रधानमन्त्रीको गृहराज्य गुजरात हो।

पन्जाबमा आर्थिक समस्या उच्च छ, बेरोजगारी दर पनि उच्च छ। त्यहाँ लागुऔषध र कृषिसम्बन्धी केही समस्याहरू पनि छन्।

पन्जाबीहरूमा आप्रवासन लामो समयदेखि साझा कुरा रहँदै आएको छ र खास गरी ग्रामीण युवाहरू विदेशमा जान अझै उत्सुक देखिन्छन्।

पन्जाबमा हालै नभजोत कौर, गगनप्रीत कौर र लवजित कौरले १२० जनासँग कुराकानी गरेर गरेको अध्ययनमा ५६% मानिस १८-२८ वर्षको उमेरमा उच्च प्राथमिक शिक्षा प्राप्त गरेपछि आप्रवासनमा गएको पाइएको थियो।

कैयौँले आफ्नो आप्रवासलाई संस्थागत नभई अन्यत्रबाट ऋण लिएर सफल बनाएको र पछि आफ्ना परिवारका सदस्यलाई रिमिटन्स पठाएका थिए।

त्यसपछि पृथक्तावादी खालिस्तान आन्दोलनका कारण पनि यो क्षेत्रमा तनाव बढिरहेको छ। खालिस्तान आन्दोलन शिखका लागि स्वतन्त्र गृहराज्य स्थापना गर्न चाहन्छ। “यसले गर्दा भारतमा रहेका शिखहरूमा अधिकारी वा राजनीतिकर्मीको गलत निसानामा परिने हो कि भन्ने त्रास छ। त्यस्तो त्रास सही भए पनि नभए पनि शरण लिनका लागि गरिने प्रक्रियामा विश्वसनीय आधार बन्न सक्छ,” पुरी भन्छिन्।

तर आप्रवासको खास कारण पत्ता लगाउन चुनौतीपूर्ण छ।

“आप्रवासनमा जान प्रेरित गर्ने कारणहरू फरकफरक हुने भए पनि आर्थिक अवसर प्रमुख कारण हो। परिवारका सदस्य अमेरिकामा बस्न थालेपछि उत्पन्न हुने सामाजिक गर्वले पनि त्यसमा भरथेग गरेको छ.” पुरी भन्छिन्।

कस्ता मानिस

अमेरिका-मेक्सिको सीमामा हिँडिरहेका आप्रवासीलाई सवारीसाधनमा लोड गर्दै सीमा निगरानी गर्ने अधिकारीहरू

तस्बिर स्रोत, Getty Images

र चौथो, अनुसन्धानकर्ताहरूले सीमामा भारतीयहरूको पारिवारिक दृश्यमा पनि परिवर्तन पाएका छन्।

अहिले धेरै परिवारहरू सीमापार गर्न चाहन्छन्।

सन् २०२१ मा पक्राउ गरेर हिरासतकेन्द्रमा ल्याइनेमध्ये अधिकांश एकल युवाहरू हुने गर्थे। अहिले दुवै सीमानामा यस्ता केन्द्रहरूमा गिरफ्तार गरिएकामध्ये १६ देखि १८ प्रतिशत परिवारहरू हुने गरेको पाइएको छ।

यस्तो अवस्थाले कहिलेकाहीँ दुखद परिस्थिति पनि आइलागेको देखिन्छ।

ज्यानुअरी २०२२ मा चार जनाको भारतीय परिवार जो गुजरातबाट गएका ११ जनामध्येकै थिए क्यानडाबाट अमेरिका छिर्ने क्रममा सीमादेखि १२ मिटरमा कठ्याङ्ग्रिएर ज्यान गएको थियो।

यूनिभर्सिटी अफ भर्मन्टमा आप्रवासन तथा सहरी अध्ययनका जानकार पाब्लो बोस भन्छन् “भारतीयहरू अमेरिकामा उपलब्ध आर्थिक अवसर र त्यसमा पनि खास गरी "न्यूयोर्क र बोस्टनजस्ता ठूला अर्थतन्त्र भएका सहरका ठाउँका अनौपचारिक अर्थतन्त्रमा छिर्न सक्ने क्षमता"का कारण ठूलो सङख्यामा अमेरिका छिर्न चाहन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।