अमेरिका आप्रवासन: टेक्ससमा बेवारिसे लरीभित्र कम्तीमा ५० जनाको शव, ह्वाइट हाउस र मेक्सिको के भन्छन्

लरी

तस्बिर स्रोत, Getty Images

अमेरिकाको टेक्सस राज्यमा बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको घटनालाई मेक्सिकोका राष्ट्रपतिले "गरिबीको दुष्चक्रबाट निस्कने तीव्र चाहना"को परिणाम भनेका छन्।

ह्वाइट हाउसले उक्त घटनालाई "भयानक र हृदयविदारक" भनेको छ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त घटना "तस्करी र त्यसको नियन्त्रणको कमीका कारण" भएको बताएका छन्।

टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा ती शवहरू भेटिएका थिए।

अमेरिका हुने मानव तस्करीसँग जोडिएको अनुमान गरिएको यो पछिल्लो सबैभन्दा खराब घटना भएको ठानिएको छ।

मृतक कुन देशका?

शव भेटिएकामध्ये २२ जना मेक्सिकोका नागरिक भएको पुष्टि गरिएसँगै राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो।

मृत्यु हुनेमा सातजना ग्वाटेमाला र दुईजना होन्डुरसका नागरिक भएको पुष्टि भएको छ।

थप पीडितहरू कुन देशका थिए भनेर पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।

आफ्नो दैनिक पत्रकार सम्मेलनमा बोल्दै अब्राडोरले उक्त घटनालाई "अत्यन्त दु:खद" भनेका छन्।

उनले आफ्ना नागरिकहरूको शव स्वदेश ल्याउन काम गर्ने बताए।

अमेरिका आप्रवासन

अब्राडोरले भने, "हाम्रा मध्य अमेरिकी देशका दाजुभाइ र मेक्सिकनहरूको गरिबी र त्यसबाट निस्कने तीव्र चाहनाका कारणले भएको यो अर्को आप्रवासी मृत्युको घटना हो।"

उनले त्यसमा थप जोड दिँदै भने, "यो किन हुन्छ भने मानिसहरूको तस्करी भइरहेको छ र नियन्त्रणको कमी छ। यो मामिलामा मेक्सिको-अमेरिकी सीमाको कुरा हो तर त्यो अमेरिकाको भित्री भागमा पनि छ।"

मृत्युको सम्भावित कारण

उद्धारकार्यमा संलग्न एक अधिकारीका अनुसार चार बालबालिकासहित १६ जनालाई अस्पताल लगिएको छ।

लरीमा जीवित फेला परेका व्यक्तिहरूको शरीर छुँदा तातो थियो। गर्मीका कारण उनीहरूलाई थकान र 'हीट स्ट्रोक' भएको थियो।

सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाभन्दा २५० किलोमिटर टाढा छ। मानवतस्करहरूले उक्त सहरलाई बाटोका रूपमा प्रयोग गर्दै आएका छन्।

वैधानिक कागजपत्रबिनै अमेरिका प्रवेश गरिसकेका आप्रवासीहरूलाई तस्करहरूले दुर्गम भेगमा भेटेर उनीहरूलाई अन्यत्र लैजान लरी प्रयोग गर्छन्।

"उनीहरूका परिवार थिए... अनि सम्भवतः अझ राम्रो जीवनको खोजीमा थिए," सान एन्टोनियोका नगरप्रमुख रोन निरेन्बर्गले भने।

"यो एउटा भयानक, मानवीय वियोगभन्दा कम अरू केही हैन।"

एउटा शव फेला परेको सूचना पाएपछि आपत्कालीन सेवाका कर्मचारीहरू साँझ ६ बजेतिर घटनास्थलमा पुगेका थिए।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा एउटा ठूलो ट्रकको वरिपरि आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्थ्यो।

टेक्ससमा एउटा लरीमा कम्तीमा ४६ जनाको शव फेला पर्‍यो

केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरीनजिकै फेला परेको थियो। द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारीचालकको खोजी गर्न थालेका थिए।

सहरको दमकल सेवाका प्रमुख चार्ल्स हुडका अनुसार उक्त लरीमा काम गर्ने वातानुकूलक र खानेपानी थिए।

ट्रक खोलेर हेर्दा शवहरूको थुप्रो देखिएको प्रसङ्ग बताउँदै उनले भने, "त्यस्तो कल्पना नै नगरी हामी यहाँ आएका थियौँ।"

गर्मी याममा सान एन्टोनियोमा खपिनसक्नु गर्मी हुन्छ।

सोमवार त्यहाँको तापक्रम ३९.४ डिग्री सेल्सीअस पुगेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका-मेक्सिको सीमाको पर्खालबाट यसरी झारियो दुई बालिकालाई

अरू के थाहा भयो?

अरू व्यक्ति कुन देशका हुन् भन्ने स्पष्ट भइसकेको छैन। तीन जना मानिसहरूलाई हिरासतमा राखिएको छ।

घटनाबारेको अनुसन्धान सङ्घीय निकायका अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ।

मेक्सिकोका महावाणिज्यदूत घटनास्थलतिर गएका छन्।

सान एन्टोनियोस्थित वाणिज्य दूतावासले मृतकमध्ये मेक्सिकोका नागरिक भए "सबै सहयोग" गर्ने बताएको छ।

अमेरिका

तस्बिर स्रोत, Reuters

उक्त सहरमा यसअघि पनि आप्रवासीहरू मृतावस्थामा फेला परेका थिए।

सन् २०१७ मा उस्तै खालको गाडीमा सहरको दक्षिणी भागमा अवस्थित वालमार्टबाहिर १० जनाको शव भेटिएको थियो।

लाइन

एउटा भयानक दृश्य

एन्जेलिका कासास, सान एन्टोनियो

अहिले अँध्यारो भइसकेको छ र सुरक्षा निकायका केही सवारीसाधन र टेप प्रयोग गरेर मानवीय क्षति भएको उक्त क्षेत्रमा पर्ने अँध्यारो सडकलाई बन्द गरिएको छ।

मृतकहरू आप्रवासी भएको ठानिएको छ। गर्मी सहन नसकेर वा पानीको अभाव भएर उनीहरूको मृत्यु भएको हुनसक्ने ठानिएको छ।

घटनास्थलभन्दा केही पर सुरक्षाकर्मीका रूपमा काम गर्न एड्वर्ड रेनाले राति काम गर्न पुग्दा त्यस्तो खबर सुन्नुपर्दा आफूलाई आश्चर्य नलागेको बताए।

उनले उक्त लरी भेटिएको ठाउँनजिकै आप्रवासीहरूले रेलबाट हाम फालिरहेको आफूले कैयौँ पटक देखेको टिप्पणी गरे।

सुरक्षागार्ड एडवार्ड रेनाले उक्त घटनाले आफूलाई आश्चर्यमा नपारेको बताए
तस्बिरको क्याप्शन, सुरक्षागार्ड एडवार्ड रेनाले उक्त घटनाले आफूलाई आश्चर्यमा नपारेको बताए

उनी भन्छन्, "मलाई लाग्थ्यो कि ढिलो वा चाँडो कसैलाई नराम्रो चोट लाग्छ। उनीहरूलाई यहाँ ल्याउने तस्करहरूले ती मानिसका बारेमा मतलब गर्दैनन्।"

सान एन्टोनियोको अतिदक्षिण क्षेत्रमा दुईवटा प्रमुख राजमार्गको करिडोर छ जसले टेक्ससका सीमावर्ती नगरहरूलाई सहरसँग जोड्ने गर्छ।

अधिकांश ग्रामीण बस्ती रहेको र केही पुराना सामान राखिएका ठाउँहरू र अलिअलि विकास भइरहेका बस्तीहरू भएको सान एन्टोनियोको उक्त क्षेत्रमा यस्ता लरीहरूलाई खासै निगरानीबिना अघि बढ्न सहज हुने गरेको पाइन्छ।

लाइन
सान एन्टोनियोका नगरप्रमुख

तस्बिर स्रोत, Reuters

कस्तो प्रतिक्रिया

अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय होमल्यान्ड सेक्यूरिटीकी मन्त्री आलिहान्ड्रो माइयोर्कासले मानवतस्करहरूले नाफा कमाउने लक्ष्यले कमजोर व्यक्तिहरूलाई शोषण गरिरहेको र उनीहरूलाई जोखिममा पारिरहेको बताएका छन्।

उनको मन्त्रालयले यो विषयमा अनुसन्धानको जिम्मेवारी लिएको छ।

टेक्ससका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्।

एबोटले मृत्युलाई "उनको (बाइडन) घातक खुला सीमानीतिको परिणाम" का रूपमा चित्रण गरे।

आप्रवासन अमेरिकामा एउटा विवादित राजनीतिक विषय हो।

त्यहाँ मे महिनामा एकदमै जोखिमपूर्ण मार्ग हुँदै मेक्सिको पार गरेर आउने कागजपत्र विहीन कामदारलाई ठूलो सङ्ख्यामा पक्राउ गरिएको थियो।

शव भेटिएको ट्रेलर ट्रकनजिकै काम गर्दै सुरक्षाकर्मीहरू

तस्बिर स्रोत, Reuters

किन यस्तो जोखिम

मध्य अमेरिकाको गरिबी र हिंसाको चपेटाबाट उन्मुक्ति खोज्दै ठूलो सङ्ख्यामा आप्रवासी कामदारहरू तस्करलाई प्रशस्त रकम तिरेर अमेरिका आउने प्रयास गर्ने गर्छन्।

पछिल्ला वर्षहरूमा यात्राका क्रममा आप्रवासीहरूले यस्तो विपद् भोग्नुपरेका कैयौँ विवरण आए पनि सोमवारको जस्तो क्षति हुने खालको घातक घटना विगतमा भएको थिएन।

केऐएनएसफाइभका स्थानीय संवाददाता म्याट ह्यूस्टनले अहिले देखिएको जस्तै यदि यो मानवतस्करीसँग सम्बन्धित घटना रहेको पुष्टि भए त्यो अमेरिकी इतिहासकै सबैभन्दा खराब घटना प्रमाणित हुने बताए।

उनले अमेरिका प्रवेश गर्न चाहने परिवारहरूले उच्च जोखिमको सामना गर्नुपरिरहेको भन्दै हालैका दिनमा उक्त क्षेत्रमा उष्णलहर चलिरहेको बताए।