इङ्ग्लिश च्यानलः फ्रान्सबाट यूकेतिर तस्करी गरी लगिएका आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु

क्याले बन्दरगाहमा उद्धार

तस्बिर स्रोत, AFP

यूके प्रवेश गर्न चाहने आप्रवासीहरू बोकेको एउटा डुङ्गा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्घ आईओएमका अनुसार उक्त दुर्घटना सन् २०१४ मा उसले अभिलेख राख्न थालेयता इङ्ग्लिश च्यानलमा भएको सबैभन्दा घातक हो।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू "उद्विग्न" भएको भन्दै यूकेले मानवतस्करहरूलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।

फ्रान्सका गृहमन्त्रीले मृत्यु हुने मानिसमध्ये पाँच महिला र एक बालिका रहेका बताएका छन्।

जेराल्ड डार्मानँले दुई जनाको उद्धार गरिएको र एक जना अझै हराइरहेको बताएका छन्। बुधवार बेलुकी ३१ जनाको मृत्यु भएको भनिए पनि पछि त्यो सच्याइएको थियो। डुबेको डुङ्गामा ३४ यात्रु सवार थिए।

बेल्जियमको सीमानजिकै चार व्यक्तिलाई गिरफ्तार गरिएको बताउँदै गृहमन्त्री डार्मानँले भने, "उनीहरूको तस्करी गर्ने यो समूहसँग सीधा सम्बन्ध भएको हाम्रो शङ्का छ।"

पाँचौँ सन्दिग्ध व्यक्ति पनि पक्राउ परेका छन्।

क्याले बन्दरगाहमा उद्धार

तस्बिर स्रोत, AFP

बुधवार बेलुकी जोनसन र फ्रान्सका राष्ट्रपति एमानुएल मार्कोँले दुई देशबीचको जलमार्गबाट हुने तस्करी रोक्न र मानवतस्कर समूहहरूलाई मानव जीवन जोखिममा पार्नबाट रोक्न संयुक्त रूपमा कार्य गर्न सहमति गरेको यूकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बुधवार दिउँसो एउटा माछा मार्ने डुङ्गाले केही मानिसहरू फ्रान्सनजिकै समुद्रमा देखेको सूचना दिएको थियो।

फ्रान्स र ब्रिटेनका अधिकारीहरूले त्यसपछि उद्धार कार्य सुरु गरेका थिए।

जोनसनले मृत्युलाई विपत्ति भएको बताउँदै "हत्याबाट उन्मुक्ति पाउँदै आएका" मानवतस्करहरूको समूहलाई छिन्नभिन्न पार्नु महत्त्वपूर्ण रहेको बताएका छन्।

यूकेले फ्रान्सलाई समुद्र किनारमा प्रहरीको गस्ती सुदृढ पार्न, हवाई गस्ती गर्न र सुरक्षा पूर्वाधार बढाउन सन् २०२१-२२ मा ५४ लाख अमेरिकी डलर दिने वाचा गरेको छ।

यूकेकी गृहमन्त्री प्रीति पटेलले एउटा ट्वीट गर्दै यी मृत्युहरू च्यानल पार गर्न खोज्दा आप्रवासीलाई हुने खतराको स्पष्ट सन्देश भएको बताएकी छन्।

मार्कोँले "च्यानललाई फ्रान्सले चिहान बन्न नदिने" बताएका छन्। उनले यो घटनाका लागि जिम्मेवार मानिसलाई खोज्ने र सजाय दिने वाचा गरे।

उनले आप्रवासन चुनौती भोगिरहेका युरोपेली देशका मन्त्रीहरूको आपत्कालीन बैठक बोलाउनुपर्ने बताएका छन्।

फ्रान्सका गृहमन्त्री

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, फ्रान्सका गृहमन्त्रीका अनुसार मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन्

उनले यो वर्षको सुरुदेखि उत्तरी फ्रान्समा १,५५२ जना मानवतस्करलाई गिरफ्तार गरिएको र तस्करहरूका ४४ वटा सञ्जाल भत्काइएको बताए।

तथापि यो वर्ष ४७ हजार मानिसले च्यानल पार गरेर यूके पुग्ने प्रयास गरेको र ७,८०० आप्रवासीलाई उद्धार गरिएको मार्कोँले बताए।

साना डुङ्गामा केही आप्रवासीहरू बुधवार यूके पुगेको आकलन गरिएको छ। यूकेको डोभरमा अधिकारीहरूले मानिसहरूलाई तटमा ल्याएको देखिएको थियो।

बीबीसी न्यूजनाइटका नीति सम्पादक लूइस गूडलले आफूले बुधवार २५ वटा डुङ्गाले इङ्ग्लिश च्यानल हुँदै यूके आउने प्रयास गरेको बुझेको बताएका छन्।

हालैका दिनमा च्यानलबाट जोखिमपूर्ण यात्रा गरेर फ्रान्सबाट यूके आउने आप्रवासीको सङ्ख्या ह्वात्तै बढेको छ।

यो वर्ष २५,७०० जना भन्दा धेरै व्यक्ति त्यसरी यूके आइपुगेका छन् जुन सन् २०२० को भन्दा तीनगुना बढी हो।

बुधवार बिहान उत्तरी फ्रान्सको तटीय क्षेत्रबाट हिँड्नुअघि ४० जनाभन्दा बढी आप्रवासीहरूको एउटा समूह

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बुधवार बिहान उत्तरी फ्रान्सको तटीय क्षेत्रबाट हिँड्नुअघि ४० जनाभन्दा बढी आप्रवासीहरूको एउटा समूह

डुङ्गा कसरी दुर्घटनामा पर्‍यो?

डुङ्गा कसरी डुब्यो भन्ने कारण थाहा छैन। तर फ्रान्सका गृहमन्त्रीले डुङ्गाको हावा खुस्किएको जस्तो देखिएको बताएका छन्।

उनका अनुसार आप्रवासीहरूले हावा भर्नुपर्ने लामो डुङ्गा प्रयोग गरेका थिए र त्यो "एकदमै कमजोर" थियो।

उक्त डुङ्गा मानिसले बगैँचामा हावा भरेर पानी भर्न प्रयोग गर्ने खालको भएको उनको भनाइ छ।

फ्रान्सेली प्रहरीका अनुसार उक्त डुङ्गा क्यालेभन्दा पूर्वमा अवस्थित डन्कर्क क्षेत्रबाट हिँडेको थियो।

स्थानीय माझीका अनुसार मौसम राम्रो भएकाले बुधवार अघिपछिको भन्दा बढी आप्रवासीहरू इङ्ग्लिश च्यानल पार गर्न निस्किएका थिए।

बुधवार मात्रै झन्डै २५ वटा डुङ्गाहरू त्यसरी निस्किएको विवरण आएको छ।

पक्राउ परेका पाँच सन्दिग्ध मानवतस्करमध्ये दुई जनालाई अदालतमा प्रस्तुत गरिएको छ।

मन्त्री डार्मानँका अनुसार सरकारी वकिलहरूले गम्भीर प्रकृतिको मानवहत्याबारे एउटा अनुसन्धान थालेका छन्।