वैदेशिक रोजगारी: नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा कन्टेनरबाट उद्धार

आप्रवासी

तस्बिर स्रोत, PNC DE GUATEMALA

सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ।

कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ।

उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास छ।

१२६ मध्य १०० भन्दा बढी राजनीतिक सङ्कटमा फसेको हेइटीका नागरिक छन्। नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेको बताइएको छ।

तर नेपालको परराष्ट्र मन्त्रालयले भने हालसम्म उक्त विषय बारे आफूहरूले आधिकारिक रूपमा थाहा पाइनसकेको जनाएको छ।

मन्त्रालयकी सहायक प्रवक्ता रिता धितालले उक्त विषयबारे आफूले युरोप र अमेरिका हेर्ने महाशाखाबाट जानकारी लिन खोजिरहेको जानकारी दिइन्।

''मैलै वाशिङ्टन डीसीसँग (राजदूतावास) पनि बुझ्ने प्रयास गरिरहेकी छु। अहिले त्यहाँ राति छ। मैले त्यहाँ पनि सन्देश पठाएकी छु,'' धितालले भनिन्।

''महाशाखाबाट सोध्दा आधिकारिक इमेलमा कुनै संवाद भएको देखिएन। वहाँलाई (महाशाखा प्रमुख) व्यक्तिगत रूपमा केही कम्युनिकेसन आएको छ की भनेर बुझ्ने प्रयास गरिरहेकी छु।''

उद्धारपश्चात् प्रतिक्रिया जनाउँदै ग्वाटेमालाका एक जना प्रहरी प्रवक्ताले भने, ''हामीले कन्टेनरभित्र कराएको र भित्ता बजारेको आवाज सुन्यौँ। हामीले ढोका खोल्यौँ र आधिकारिक कागजात नभएका १२६ मानिस फेला पार्‍यौँ।''

अधिकारीहरूले ती आप्रवासीहरूलाई ग्वाटेमाला माइग्रेशन इन्स्टिच्यूटद्वारा सञ्चालित आश्रय स्थलमा लैजानु भन्दा पहिले प्राथमिक उपचार दिएका थिए।

ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिका तर्फ अघि बढेको बताएकी छन्।

उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ।

मेक्सिकोका सरकारी निकायहरूले ६५२ जना आप्रवासीहरूलाई नियन्त्रणमा लिएको भोलिपल्ट पछिल्लो घटना भएको हो।

उक्त घटनामा ३५० जना बालबालिका सहितका मानिसहरू चिसो कायम राख्नका लागि रेफ्रिजेरेटर जडान गरिएको ट्रकमा अमेरिकाको दक्षिणी सीमा नजिकै फेला परेका थिए।

सेनाको सुरक्षा जाँच स्थलमा आवाजहरू सुनिएपछि उनीहरूले ट्रक खोलेर हेरेका थिए।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, एउटा सानो कुकुरको उद्धार