आप्रवासी सङ्कट: २७ जनाको ज्यान जोगाएपछि भूमध्यसागरमा अलपत्र पानीजहाजको कथा

दुईजना आप्रवासी

तस्बिर स्रोत, Alamy

तस्बिरको क्याप्शन, आप्रवासीहरू एक महिनाभन्दा बढी समयदेखि तेल बोक्ने पानीजहाजमा अड्किएका थिए

तेल बोक्ने एउटा पानीजहाजका क्याप्टेन भोलोदिमिर एरोश्किन र उनको सहकर्मीहरूले धेरै दिन एउटा कुरामा ध्यान दिनुपर्‍यो।

उनीहरूले झन्डै छ साताअघि आप्रवासीहरूलाई समुद्रमा डुब्नबाट जोगाएका थिए। तर पछि चालकदलका २१ सदस्यहरू पानीजहाजमा भएका कसैले समुद्रमा हाम फालेर आफ्नै ज्यान नलिऊन् भन्नेमा सतर्क हुनुपर्‍यो।

केही साताअघि एक आप्रवासीले समुद्रमा हाम फाल्ने धम्की दिएका थिए। केही दिनपछि अन्य तीन जनाले साँच्चै नै हाम फाले।

चालकदल तत्काल खट्न सक्दा तिनको फेरि उद्धार गरियो। तर ती २७ आप्रवासीलाई ओर्लिने अनुमति लीर मल्टाले नदिएपछि पानीजहाजमा अलपत्र पर्‍यो। आप्रवासीलाई कहिलेसम्म त्यस्ता घटनाबाट जोगाउन सकिन्छ भन्ने चिन्तामा चालकदल पर्‍यो।

क्याप्टेन एरोश्किनलाई पीर पर्नुको कारण ती आप्रवासीलाई पानीजहाजबाट ओर्लिन दिने बन्दरगाह भेट्न नसक्नु थियो।

"हामी पानीजहाज रोकेर बसेका छौँ। अहिलेका लागि हाम्रो जाने गन्तव्य छैन। यी मानिसलाई ओराल्न स्वीकृति दिने कुनै ठाउँ छैन," मेयर्स्क एटेयन पानीजहाजका क्याप्टेनले बीबीसीलाई केही दिनअघि भनेका थिए।

उक्त जहाजलाई भूमध्यसागरमा रोकेर राखियो। अन्ततः ४० दिनपछि इटलीले तिनलाई जहाजबाट ओर्लिने अनुमति दिएको छ।

शुक्रवार आप्रवासीहरूको उक्त समूहलाई एउटा गैरसरकारी संस्थाले सञ्चालन गरेको डुङ्गामा राखेर पोजालो बन्दरगाह लगिएको बताइएको छ।

"यससँगै युरोपेली सामुद्रिक यात्राको इतिहासमा सबैभन्दा लामो र लज्जास्पद अन्योल समाप्त भएको छ," मेडीटेरानिया सेभिङ ह्यूमन्सले ट्वीटरमा लेखेको छ।

उनीहरू शनिवार राति सिसिलीमा ओर्लिए।

'कतै जान सक्दैनौँ'

क्याप्टेन भोलोदिमिर एरोश्किन

तस्बिर स्रोत, Maersk

तस्बिरको क्याप्शन, क्याप्टेन भोलोदिमिर एरोश्किनले यो अवस्थामा धेरै समय यसैगरी बस्न नसकिने बताएका थिए

एरोश्किनले तेल बोक्ने पानीजहाजमा मानिस राख्नका लागि ठाउँ नभएको र चालकदल उद्धारका लागि पनि तालिमप्राप्त नभएकाले अवस्था गम्भीर रहेको बताएका थिए।

औषधोपचारमा सहायता गर्न सक्ने कर्मचारी पनि नभएको र मानिसहरू दिनदिनै हताश हुँदै गएको उनले बताएका थिए।

व्यापारिक प्रयोजनको पानीजहाजले आप्रवासीहरूको उद्धार गर्दा भूमध्यसागरमा अड्किएको यो वर्ष मात्रै यो तेस्रो पटक हो। तर अहिले भने सबैभन्दा लामो समय अड्किएको हो।

यसअघि दुई वटा पानीजहाज एक साताभित्रै बन्दरगाह पुग्न सकेका थिए। तर अहिले भने आप्रवासीसहित समुद्रमा तेल बोक्ने पानीजहाज एक महिनाभन्दा लामो समयदेखि अलपत्र पर्‍यो।

"यी मानिसहरूलाई किनारमा उत्रिने आधारभूत अधिकार पनि दिइएको छैन। पानीजहाज पनि हल न चल बनेको छ र कतै लैजान सकिँदैन," उनले भनेका थिए।

पानीजहाजबाट समुद्रमा हेरिरहेका एक आप्रवासी

तस्बिर स्रोत, Maersk

तस्बिरको क्याप्शन, केही आप्रवासीले समुद्रमा हाम फालेका थिए

चार वर्षअघि आप्रवासी सङ्कट उच्च रहँदा प्रत्येक महिना सयौँ मानिसले समुद्रमै ज्यान गुमाउँथे, त्यो बेला परिस्थिति अहिलेको भन्दा फरक थियो।

त्यतिबेला पनि मेयर्स्कका क्याप्टेन एरोश्किन भूमध्यसागरमा यात्रामै थिए र उनले सयौँ आप्रवासीको उद्धार गरेका थिए।

"मेरो यो तेल ट्याङ्करले समुद्रबाट ३५३ जना मानिसलाई ओसार्नुपर्थ्यो। हामी उनीहरूलाई २४ घण्टाभित्र इटलीमा उतारिदिन्थ्यौँ," उनी सम्झिन्छन्।

शताब्दिऔंदेखि जलसेनाले समुद्रमा एकअर्काको जीवन बचाउन सहयोग गर्दै आएका छन्। अन्तर्राष्ट्रिय सामुद्रिक नियमानुसार उद्धार गरिएका मानिसलाई नजिकैको बन्दरगाहमा ओरालिदिनुपर्छ।

अहिले पनि क्याप्टेन एरोश्किनले पनि त्यसैगरी मानिसलाई ओराल्ने प्रयास गरेका थिए।

उद्धारका लागि आपत्कालीन आह्वान

आकार निकै ठूलो भए पनि तेल ट्याङ्करमा मानिसहरू बस्नका लागि पर्याप्त ठाउँ हुँदैन

तस्बिर स्रोत, Maersk

तस्बिरको क्याप्शन, आकार निकै ठूलो भए पनि तेल ट्याङ्करमा मानिसहरू बस्नका लागि पर्याप्त ठाउँ हुँदैन

झन्डै एक महिनाअघि यो तेल ट्याङ्कर बिनातेल इटलीको जेनोआबाट ट्यूनिशियाको ल शखिरास्थित बन्दरगाह जाँदै थियो।

अगस्ट ४ को दिउँसो खाना खाँदै गर्दा क्याप्टेनलाई 'मल्टास्थित उद्धार संयोजन केन्द्रमा सम्पर्क गर्नू' भन्दै एउटा सन्देश आयो।

त्यो सन्देश लिबियाबाट अगस्ट २ मा डुङ्गामा यात्रा गरिरहेका २७ जना आप्रवासीलाई उद्धार गर्नका लागि थियो।

सुरुमा उक्त डुङ्गाको सम्पर्क उद्धार गर्ने नै पानीजहाजसँग गराइदिन आफूलाई भनिए पनि त्यो सम्भव नभएको एरोश्किनले बताए।

"त्यसपछि आफ्नो जलमार्ग मोडेर उक्त डुङ्गामा सवार २७ जना आप्रवासीको उद्धार गर्नु भनेर स्पष्ट सन्देश आयो," उनले भने।

काठको भरिभराउ डुङ्गामा आप्रवासी

तस्बिर स्रोत, Maersk tankers via Reuters

तस्बिरको क्याप्शन, २७ जनाको उद्धार गरेलगत्तै उक्त सानो डुङ्गा समुद्रमा डुब्यो

दश नटिकल माइल टाढा रहेको डुङ्गानजिक पुग्दा त्यसमा खचाखच भरिएका मानिसहरूले हात हल्लाइरहेको देखेपछि आफूलाई सान्त्वना भएको क्याप्टेनले बताए।

चुनौतीपूर्ण उद्धार

डुङ्गा र पानीजहाज

तस्बिर स्रोत, Sea-watch.org

तस्बिरको क्याप्शन, डुङ्गा र पानीजहाजको आकारको भिन्नताले उद्धारकार्य चुनौतीपूर्ण बनेको थियो

डुङ्गा भेटेलगत्तै ती आप्रवासीलाई पानी र खानेकुरा दिइयो।

एरोश्किन उनीहरूलाई लिन उद्धार गर्ने छुट्टै पानीजहाज आउँछ भन्ने अपेक्षामा थिए।

बाह्र घण्टासम्म अर्को कुनै पानीजहाज आएन।

साँझ पर्दै गएपछि हावाको वेग तीव्र हुन थाल्यो र समुद्रमा छाल पनि देखा पर्न थाल्यो। त्यसपछि चालकदलले अर्को पानीजहाजको भर नपरी आप्रवासीलाई आफैँले उद्धार गर्ने निर्णय गरे।

पाइपलाइनमुनि सुतिरहेका एक आप्रवासी

तस्बिर स्रोत, Maersk

तस्बिरको क्याप्शन, आप्रवासी सुरक्षित त भए तर सामान ओसार्ने पानीजहाजमा बस्ने सुविधा भने छैन

सानो डुङ्गाबाट ठूलो पानीजहाजमा चढ्न निकै कठिन भए पनि डोरी र भर्‍याङको सहायताले एक-एक जना गरी सबै आप्रवासीलाई उद्धार गरियो।

त्यसमा एक १५ वर्षीय किशोर र १२ हप्ताकी गर्भवती महिला पनि थिए।

जीवन बचाएकोमा गौरव

विभिन्न अफ्रिकी मुलुकका यी आप्रवासी केहीलाई मात्रै थोरै अङ्ग्रेजी भाषा आउने भएकोले उद्धारमा कठिनाइ भयो। तर जोखिमपूर्ण उद्धार भए पनि घाइते भने कोही भएनन्।

"त्यसरी समुद्रमा डुङ्गामा अड्किएको कति भयो भनेर सोध्दा केहीले दुई दिन भनी जबाफ दिन्थे त केहीले तीन तीन भन्थे।"

उनीहरूलाई उद्धार गरिएको केही बेरमै अवस्था बिग्रियो र एउटा ठूलो समुद्री छालले डुङ्गा डुबायो।

त्यतिबेला चालकदलले आफूहरूले २७ जनाको ज्यान जोगाएको महसुस गरे।

पाइपलाइनको भद्रगोल

उद्धार गरिएका मानिस

तस्बिर स्रोत, Maersk

तेल भर्न र ओसार्न आवश्यक पाइपको सञ्जाल जहाजमा हुन्छ। त्यसैले उद्धार गरिएका आप्रवासीलाई सुरक्षित राख्नु अर्को चुनौती मानिएको थियो।

आप्रवासीहरूलाई पानीजहाजमा शौचालय भएको अघिल्लो भागमा जान प्रतिबन्ध लगाइएको थियो।

कोरोनाभाइरसको महामारीका कारण पनि एरोश्किनले चालकदलका सीमित सदस्यलाई मात्रै उद्धार गरिएका व्यक्तिसँग कुराकानी गर्न अनुमति दिएका थिए।

पीडादायक प्रतीक्षा

केही आप्रवासीहरूले युरोपेली सङ्घलाई हस्तक्षेप गर्न भन्दै भिडिओ सन्देश रेकर्ड गरे।

सँगै उनीहरूले आफ्नो ज्यान बचाइदिने क्याप्टेनसहित चालकदलको प्रशंसा गर्दै पत्र पनि लेखे।

आप्रवासीको उद्धार गरेकोमा एरोश्किनलाई उनकी १५ वर्षीया छोरीको पनि भावुक सन्देश प्राप्त भयो।

जहाँ ठाउँ मिल्छ त्यही सुत्छन् आप्रवासीहरू

तस्बिर स्रोत, Maersk

तस्बिरको क्याप्शन, आप्रवासीहरू जहाँ ठाउँ मिल्छ त्यहीँ सुत्न बाध्य थिए

अन्तर्राष्ट्रिय प्रावधान

अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईओएम) का अनुसार सदस्य राष्ट्रहरूले समुद्रमा उद्धार गरिएका व्यक्तिलाई जतिसक्दो चाँडो सुरक्षित स्थलमा ओर्लिने व्यवस्था मिलाउन संयोजन गरिदिनुपर्छ।

आईओएमका अनुसार यो वर्षको आठ महिनामा मात्रै ५५४ जना आप्रवासीले समुद्रमा ज्यान गुमाइसकेका छन्।

सन् २०१५ को आप्रवासी सङ्कटयता भूमध्यसागरमा अझै पनि सयौँ मानिसहरूले ज्यान गुमाइरहेका छन्।

भूमध्यसागरमा उद्धार कार्य गर्दै आएको सङ्गठनले यदि युरोपेली सङ्घअन्तर्गतका राष्ट्रहरूले कानुन मान्न अस्वीकार गरे थप मानिसको ज्यान जाने चेतावनी दिएको छ।

सी-वाचका फेलिक्स वेइसका अनुसार सामान बोक्ने कार्गो जहाजले मात्रै यो वर्ष भूमध्यसागरमा ३०० जनाभन्दा बढी मानिसको उद्धार गरिसकेको छ।

तेल बोकेको पानीजहाज मेयर्स्कले अहिलेको गतिरोध अन्त्य गरिदिन आह्वान गरेको थियो। संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले पनि उद्धार गरिएका मानिसलाई ओर्लिन दिन आफ्ना सदस्य राष्ट्रलाई भन्न युरोपेली सङ्घलाई घच्घच्याएको थियो।

यसबारेको जिज्ञासामा मल्टाका अधिकारीहरूले बीबीसीलाई कुनै प्रतिक्रिया दिएनन्। तर अधिकारीहरूलाई उद्धृत गरिएअनुसार उनीहरूले उक्त जहाज डेनमार्कमा दर्ता भएकोले त्यहीँ पुग्नुपर्छ भन्ने उनीहरूको तर्क थियो।

यसैबीच एरोश्किनले सामुद्रिक उद्धारमा लामो समयदेखि यो परम्परा रहँदै आएको भन्दै यदि फेरि यस्तै अवस्था रहे आफूले सहायता गर्न छोड्ने बताएका थिए।