लिबिया सङ्कट: आप्रवासी माथिको हमला 'युद्धअपराध हुनसक्ने'

तस्बिर स्रोत, Reuters
लिबियाको राजधानी त्रिपोलीनजिकै एउटा थुनुवा केन्द्रमा ४० जनाभन्दा बढी आप्रवासीको ज्यान जाने गरी गरिएको हमला युद्ध अपराध हुन सक्ने राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन्।
घटनामा एक सय ३० जनाभन्दा बढी घाइते भएका छन्। अन्तर्राष्ट्रिय समुदायको मान्यता पाएको लिबियाली सरकारले हवाई हमलाका लागि जनरल खलिफा हफ्तारप्रति बफादार फौजहरू जिम्मेवार रहेको आरोप लगाएको छ।
तीन महिनाअघि जनरल हफ्तारका फौजले त्रिपोलीमा आक्रमण सुरु गरेका थिए।
थुनुवा केन्द्रलाई सरकारी पक्षबाट घेरा हालिएको जनरल हफ्तारका फौजले आरोप लगाएका छन्।
हमलामा मारिनेमध्ये अधिकांश अफ्रिकी आप्रवासी छन्। उनीहरू लिबियाबाट समुद्री मार्ग हुँदै युरोप जान चाहन्थे।
हिंसा
लिबियाली सरकारद्वारा सञ्चालित थुनुवा केन्द्रमा हजारौँ आप्रवासी छन्। सन् २०११ मा कर्णेल गद्दाफी सत्ताच्युत भई मारिएपछि लिबियाले हिंसा र मतभिन्नता झेल्दै आएको छ।

छ सयजना आप्रवासी बस्दै आएको तजौरा थुनुवा केन्द्र आक्रमणमा परेको हो।
संयुक्त राष्ट्रसङ्घद्वारा समर्थित वार्ता समूहका एक सदस्य गुमा एल गमातीका अनुसार मारिनेमा महिला तथा बालबालिका पनि छन्।
लिबियाली स्वास्थ्य मन्त्रालयका एक अधिकारी डा. खालिद बिन आतियाले हमलापछि शवहरू छरिएको देखिएको बताए।
उनले भने, "हमलापछि बिजुली गयो। हामीले राम्ररी हेर्न सकिरहेका थिएनौँ तर एम्बुलेन्स आएपछि स्थिति भवायह देखियो, यत्रतत्र रगत देखिन्थ्यो। केही शवहरू टुक्रा टुक्रा भएका थिए।"
आरोप
राष्ट्रसङ्घको समर्थन रहेको फाएज अल सराज नेतृत्वको सरकारले स्वघोषित लिबियन न्याश्नल आर्मीले थुनुवा केन्द्रमाथि आक्रमण गरेको आरोप लगाएको छ।
उसले भनेको छ, त्यो घृणित अपराध पूर्वनियोजित खालको थियो।
घटना भएको क्षेत्रमा जनरल हफ्तार नेतृत्वको लिबियन न्याश्नल आर्मी सरकारी फौजसँग सङ्घर्षरत छ।
परम्परागत शैलीको युद्धबाट थाकिसकेको भन्दै लिबियन न्याश्नल आर्मीले त्रिपोलीमा भीषण हवाई हमला गर्ने सोमवार घोषणा गरेको थियो।
शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय निकायका एक प्रवक्ताले आक्रमणमा कसको हात छ भन्ने कुरा आफूहरूले पुष्टि गर्न नसक्ने बताएका छन्।








