सत्ता ढाल्न षडयन्त्र गरेको आरोपमा भेनेजुएलाद्वारा अमेरिकी र स्पेनी नागरिक पक्राउ

राष्ट्रपति निकोलास मडुरो पुन: निर्वाचित भएको हालैको चुनावको विश्वसनीयताबारे प्रश्न उठेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपति निकोलस मदुरो पुन: निर्वाचित भएको हालैको चुनावको विश्वसनीयताबारे प्रश्न उठेका छन्
    • Author, मालु कुर्सिनो
    • Role, बीबीसी न्यूज

भेनेजुएलाले राष्ट्रपति निकोलस मदुरोको सरकारविरुद्ध षडयन्त्र गरेको आरोपमा एक जना सैनिकसहित तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।

दुई स्पेनी र एक चेक नागरिकहरू पनि नियन्त्रणमा लिइएका छन्। आन्तरिक मामिलामन्त्री डियोसडाडो कबेयोले उनकै शब्दमा ‘फाँसीवादी आक्रमण’ मा प्रयोग गर्न लागिएका ४०० बन्दुक कब्जा गरिएको बताए।

उनले अमेरिकी अधिकारीहरू संलग्न रहेको आरोप लगाएको भएपनि अमेरिकी विदेशमन्त्रालयले त्यसको खण्डन गरेको छ।

जुलाईमा सम्पन्न भएको विवादास्पद राष्ट्रपतीय निर्वाचन यता भेनेजुएलाको अमेरिका र स्पेनसँग सम्बन्ध थप खराब भएको छ।

हालै वासिङ्टनले चुनावमा धाँधली गरेको आरोपमा १६ जना भेनेजुएलाका अधिकारीमाथि प्रतिबन्ध लगाइएको थियो।

म्याड्रिडले विपक्षी उम्मेदवार एडमुन्डो गन्जालिजलाई शरण दिएको छ। दुवै देशले मडुरोले नभई उनले निर्वाचनमा जित हासिल गरेको पर्याप्त प्रमाण रहेको बताउने गरेका छन्।

आरोप प्रत्यारोप

भनेजुएलाका आन्तरिक मामिला मन्त्रीले पक्राउ परेका व्यक्तिहरूले राष्ट्रपति मदुरो र अन्य उच्च अधिकारीहरूको हत्याको षडयन्त्र गरिरहेको बताए।

भेनेजुएलाको सरकारले गिरफ्तार गरिएका स्पेनीहरू म्याड्रिडस्थित राष्ट्रिय गुप्तचर केन्द्रका अधिकारीहरू रहेको बताएको छ। तर स्पेनी सरकार सम्बद्ध स्रोतले स्थानीय सञ्चारमाध्यमलाई ती दुई जना गुप्तचर संस्थाहरू सम्बद्ध नरहेको बताए।

शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा कबेयोले भने, “सीआईएले यो अप्रेशनको नेतृत्व गरिरहेको छ र त्यसले हामीलाई छक्क पारेको छैन। तर यो क्षेत्रमा सीआईएले काम गर्छ भनेर थाहा पाएर पनि स्पेनको राष्ट्रिय गुप्तचर केन्द्रले बाहिर कम देखिने हिसाबको उपस्थिति सधैँ जनाएको छ।”

उनले गिरफ्तार गरिएका दुई जनाले भाडाका सैनिकहरू ल्याएर राष्ट्रपति मदुरो, उपराष्ट्रपति डेल्सी रोड्रिगेज र आफूसहित दलको नेतृत्व गर्नेहरूको हत्या गर्ने योजना बनाइएको बताएको उल्लेख गरे।

संयुक्त राज्य अमेरिकाले ती आरोपहरू अस्वीकार गरेको छ।

“मदुरोलाई सत्ताबाट बाहिर पुर्‍याउन गरिएको षडयन्त्रमा अमेरिकाको हात रहेको कुनै पनि दाबी झुट्टो हो,” विदेश मन्त्रालयले भनेको छ। वासिङ्टनले भेनेजुएला सङ्कटमामा आफू लोकतान्त्रिक समाधानको पक्षमा उभिएको पनि जनाएको छ।

भेनेजुएलाका विपक्षी नेता एडमुन्डो गन्जालिजले स्पेनमा शरण लिएका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भेनेजुएलाका विपक्षी नेता एडमुन्डो गन्जालिजले स्पेनमा शरण लिएका छन्

स्पेनले के भनिरहेको छ?

मदुरो सरकारको अमेरिका र स्पेनसँग चिसोपन बढेको समयमा यी गिरफ्तारीहरू गरिएका हुन्।

गिरफ्तार गरिएका दुई स्पेनीलाई राजधानी काराकासबाट दक्षिणमा पर्ने पोर्तो आयाकुचोमा राखिएको छ।

स्पेनी अधिकारीहरूले भेनेजुएलाबाट थप सूचना माग गरेका छन् र स्पेनी राजदूतावासले बन्दीहरूसँग पहुँच उपलब्ध गराउन अनुरोध गरेको छ।

कबेयोले भने, “उनीहरूले फ्रान्सेली भाडाका सैनिक, पूर्वी युरोपका भाडाका सैनिहरूसँग सम्पर्क गरेका छन् र हाम्रो देशमाथि हमला गर्ने प्रयासमा एउटा कारबाहीमा छन्।”

भेनेजुएलाका विदेशमन्त्रीले काराकासस्थित स्पेनी राजदूतलाई बोलाएर स्पेनका एक जना मन्त्रीले भेनेजुएलाको सरकारलाई ‘तानाशाह’ भनेकामा विरोध जनाएका थिए।

बिहीवार अमेरिकी अर्थ मन्त्रालयले ‘धोकाधड्डी र अवैधानिक ढङ्गले मदुरोले हासिल गरेको जितमा संलग्न रहेका र चुनावपछि अभिव्यक्ति स्वतन्त्रताको बर्बर दमनमा संलग्न रहेका प्रमुख अधिकारीहरू’लाई आफूले निशाना बनाएको बताएको थियो।

सरकारसँग निकट रहेको भेनेजुएलाको न्याश्नल इलेक्टोरल काउन्सिल (सीएनई)ले जुलाईको राष्ट्रपतीय चुनावमा मदुरोलाई विजेता घोषणा गरेका थियो।

तर उक्त निकायले उक्त परिणाम पुष्टि गर्ने विस्तृत मत विभाजन सार्वजनिक गरेको थिएन। विपक्षीले सार्वजनिक गरेको तथ्याङ्कले उनीहरूका उम्मेदवार एडमुन्डो गन्जालिजले चुनाव जितेको देखाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।