वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू : कसरी बढ्यो तनाव, अहिलेको अवस्था के छ

वीरगन्जमा गस्ती गर्दै नेपाली सेनाको एउटा टोली

तस्बिर स्रोत, BBC/Madhuri Mahato

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

नेपाल-भारत सीमानजिकै अवस्थित वीरगन्जमा सम्भावित साम्प्रदायिक तनावलाई ध्यान दिँदै सोमवार बिहानदेखि अनिश्चतकालीन कर्फ्यू आदेश जारी गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारीले अहिलेसम्म एक जनालाई पक्राउ गरिएको भए पनि उनी कुन पक्षका हुन् खुल्न नसकेको बताए। उनका अनुसार कर्फ्यू जारी भएपछि त्यहाँ सेना परिचालन गरिएको छ।

यसअघि रौतहटमा पनि एउटा विवाह समारोहको विषयमा विवाद उत्पन्न भएपछि यो सप्ताहान्तमा दुई समुदायबीच तनाव बढेकाले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। तर अधिकारीहरूले सो घटना र वीरगन्जको तनावबीच सम्बन्ध नरहेको बताएका छन्।

वीरगन्जमा कस्तो छ अवस्था

वीरगन्जमा सुरक्षाकर्मीहरूले सर्वसाधारण मानिसलाई सडकमा निस्किन दिएका छैनन्। उनीहरू सडक खाली गराउँदै हिँडेका छन्।

कर्फ्यू आदेश जारी भएपछि सेनाका सवारीसाधनहरू सडकमा निस्किएको अधिकारीहरूले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाका अनुसार सोमबार बिहान ९:४५ बजेबाट अर्को सूचना नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको हो।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटलाई चार किल्ला तोकी निषेधाज्ञा जारी गरिएको हो। प्रशासन कार्यालयले सो सिमानाभित्र आवतजावत गर्न रोक लगाएको छ।

उनका अनुसार कर्फ्यूसँगै वीरगन्जका सडकमा सेना परिचालित भएको छ। यसअघि निर्वाचन सुरक्षालाई लक्षित गरेर केही दिन साताअघि बाटै सेनाका टोलीहरूले गस्तीहरू थालेका थिए।

प्रहरीले 'नितान्त व्यक्तिगत' विषयमा विवाद चर्किएको जनाएको छ।

"एउटै टोलका मानिसहरू धर्म र संस्कृति फरक हुने भयो। बाटोमा जान लागेको, अर्को टोलीका केटाहरूले बाटोमा अलिक अवस्थित पार्किङ गरिरहेको। त्यही पार्किङको विषयमा विवाद भयो। त्यो नै ठूलो विवादमा परिणत भएको हो," प्रवक्ता बस्नेतले भने।

त्यसबाहेक कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने पनि सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार तनाव बढ्न नदिन कर्फ्यू जारी गरिएको हो।

"अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। अहिले अवस्था सामान्य नै छ। भर्खरै एक जनालाई नियन्त्रणमा लिइएको छ तर म पनि फील्डमा नै अहिले भएकाले को भन्न सक्दिनँ।"

"बीचमा स्थिति अलिकति बिग्रन खोज्यो। विभिन्न स्वार्थ भएका व्यक्तिहरूले अवस्थालाई साम्प्रदायिकतातर्फ मोड्न सक्ने सङ्केत पाएपछि हामीले तत्कालै कर्फ्यू जारी गरेका हौँ। एउटा ठाउँबाट सुरु भएपछि यो वीरगन्जभरि जतासुकै फैलन सक्छ नि। त्यो हिसाबले कर्फ्यू लगाएको हो।"

केन्द्रबाट उच्च प्रहरी अधिकारी मधेश प्रदेशमा

वीरगन्जको सडकमा सुरक्षा गस्ती गर्दै नेपाली सेनाका जवानहरू, बाटोमा सञ्चारकर्मी र अन्य व्यक्तिहरू पनि देखिन्छन्

तस्बिर स्रोत, BBC/Madhuri Mahato

अधिकारीहरूले पछिल्लो तनावको असर अन्यत्र पनि पर्न सक्ने भन्दै सावधानी अपनाइएको बताएका छन्। गृह मन्त्रालयका अधिकारीहरूले आफूहरू पर्सा प्रशासनसँग नियमित सम्पर्कमा रहेको र प्रहरीले केन्द्रबाट प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीलाई प्रभावित स्थलमा खटाइएको जानकारी दिएका छन्।

वीरगन्ज महानगरपालिका–११ श्रीपुर क्षेत्रमा दुई समुदायबीच झगडा हुने सम्भावनालाई दृष्टिगत गर्दै सोमवार बिहानदेखि व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ। उक्त क्षेत्रमा आइतवारसाँझ केही युवाहरूबीच विवादका क्रममा हात हालाहाल भएको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको छ। एक समूहले प्रहरीको घेरा तोडेर अर्को समुदायतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्दै भिडलाई तितरबितर पारेको जनाएको थियो।

हिन्दू र मुस्लिम समुदायबीच तनाव बढ्न सक्ने सङ्केतपछि सुरक्षा सतर्कता कडा पारिएको थियो भने जिल्ला प्रशासनले बिहान ९:४५ बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जारी गरेको जनाएको छ।

सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको दाबी गर्दै सर्वसाधारणलाई अफवाहमा नलाग्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

अत्यावश्यक सेवाका सवारीसाधन र स्वास्थ्यसम्बन्धी सेवामा भने सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ।

स्थानीयवासीलाई शान्ति र सद्भाव कायम राख्न तथा कुनै पनि उक्साहटपूर्ण गतिविधिबाट टाढा रहन प्रशासनले आह्वान गरेको छ।

रौतहटको अवस्था के छ

यसअघि बिहीवार रौतहटको सदरमुकाम गौर नगरपालिका-६ मा अवस्थित सबगढा गाउँमा हिन्दू जन्तीले बाजा बजाएको विषयलाई लिएर विवाद उत्पन्न भएपछि कर्फ्यू लगाउनुपर्ने परिस्थिति बनेको थियो।

सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर दुई समुदायबीच भनाभनबाट सुरु भएको र पछि झडप भएको थियो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले छबुँदे सहमति गरेको बताए पनि शनिवार बिहानदेखि विवाद सुरु भई झडप र आगजनी सुरु भएको थियो। झडप हुँदा केही प्रहरी र आधा दर्जन प्रदर्शनकारी घाइते भएका थिए।

प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कर्पिओ गाडीमा आगजनी र १२ वटा मोटरसाइकलमा तोडफोड गरेको रौतहट प्रहरीले जनाएको थियो।

शनिवारदेखी रौतहटको गौर नगरपालिकाका विभिन्न स्थानहरूमा लगाइएको अनिश्चितकालीन कर्फ्यू प्रशासनले सोमबार विहान १० बजेबाट हटाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी विष्णुप्रदीप बस्यालका अनुसार स्थानीय वर्डा र जिल्ला तहमा गरिएका दुइटा सहमतिपछि सोमबार बिहान झन्डै २,००० जनाको सहभागितामा सद्भावर्‍याली निकालिएको छ।

उनले अवस्था सामान्य बनेपछि कर्फ्यू हटाइएको र एक पूर्ववडाध्यक्षसहित २३ जना पक्राउ परेको बताए।

"पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ। छानबिनपछि कोकोमाथि मुद्दा चलाउने निर्णय हुन्छ।"

वीरगन्जबाट माधुरी महतोको थप रिपोर्टिङ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।