'कतै ज्याकेट, कतै ऊनीको जर्सी र बाटो खर्च': निर्वाचन प्रहरीले पाउने सेवासुविधा कस्ता

तालिम लिँदै निर्वाचन प्रहरी

तस्बिर स्रोत, Getty Images

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका निम्ति भनेर नेपाल प्रहरीअन्तर्गत खटिने झन्डै एक लाख ३४,००० र सशस्त्र प्रहरी बलअन्तर्गत खटिने १५,००० जनाभन्दा बढी निर्वाचन प्रहरीलाई अहिले विभिन्न ठाउँमा तालिम दिइँदै छ।

निर्वाचनलाई शान्त र सुरक्षित वातावरणमा सञ्चालन गर्न अस्थायी प्रकृतिको सुरक्षाकर्मी खटाउने नेपालमा प्रचलन रहँदै आएको छ।

विगतमा 'म्यादी प्रहरी' भनिने गरेको उक्त समूहलाई यसपालि 'निर्वाचन प्रहरी' नाम दिइएको छ। ठाउँअनुसार तिनले पाउने भत्ता तथा अन्य सुविधा फरक रहने अधिकारीहरूले बताएका छन्।

कस्ताकस्ता सुविधा

मुस्ताङमा निर्वाचन प्रहरीलाई अनुशिक्षण कार्यक्रम

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, जिल्ला र क्षेत्रअनुसार खटिने निर्वाचन प्रहरीको सेवा सुविधा फरक हुने बताइएको छ

निर्वाचन प्रहरीहरूका निम्ति प्रहरी जवानको प्रारम्भिक तलबमानसरह प्रतिदिन ८६९.४० रुपैयाँका दरले ४० दिनसम्मका लागि ३४,७७६ रुपैयाँ तोकिएको छ।

मतदानको दिनको अघिपछि गरेर चार दिनका निम्ति प्रतिव्यक्ति प्रतिदिन ३०० का दरले एकमुष्ट १,२०० रुपैयाँ खाजा खर्च उपलब्ध हुन्छ।

"उनीहरूले खाद्यान्न बापतको पनि रकम पाउँछन्। नेपाल प्रहरीका सदस्यले पाउने दररेटमै त्यो दिइन्छ। त्यो दररेट चाहिँ हिमाली क्षेत्र, पहाडी क्षेत्र तथा तराई क्षेत्रमा फरकफरक हुन्छ," नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले बीबीसीलाई बताए।

खटिएको ठाउँमा आउने जाने तयारीका लागि निर्वाचन प्रहरी प्रत्येकलाई एकमुष्ट ८४६ रुपैयाँ पनि दिइन्छ।

त्यसबाहेक पोसाक खर्च अनि कर्तव्यपालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयंले उपचारखर्च पाउने र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले सरकारबाट तोकिएबमोजिम क्षतिपूर्ति पाउँछन्।

तनहुँमा निर्वाचन प्रहरी तालिम

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अहिले विभिन्न जिल्लाहरूमा निर्वाचन प्रहरीको तालिम भइरहेको बताइएको छ

"पोसाकअन्तर्गत निर्वाचन प्रहरीलाई दुई जोर डाङ्ग्री, जुत्ता, पेटी, दुई जोर मोजा, बेतको लट्ठी प्रदान गरिन्छ। पहाडको हकमा ऊनीको जर्सी र ऊनीको टोपी, हिमालको हकमा ज्याकेट दिइन्छ।"

"(फरक सुविधाका कारण) हिमाली क्षेत्रको हकमा प्रति निर्वाचन प्रहरी खर्च ११,५७० रुपैयाँ हुन आउँछ भने पहाडी क्षेत्रमा ७,९४५ रुपैयाँ र तराई क्षेत्रमा ६,१७० रुपैयाँ हुन आउँछ," प्रवक्ता काफ्लेले बताए।

निर्वाचन प्रहरीले के गर्छ

यो निर्वाचनका निम्ति पुस २५ गतेदेखि निर्वाचन प्रहरी भर्नाको दरखास्त खुलेको थियो। सोलुखुम्बु, रामेछाप, दोलखा, बागलुङ र स्याङ्जा जिल्लामा आवश्यकभन्दा कम आवेदन परेपछि छिमेकी जिल्लाबाट वैकल्पिक व्यवस्था गरिएको बताइएको छ।

माघ १८ गतेदेखि भर्ना भएका निर्वाचन प्रहरीहरूलाई तालिम दिइँदै छ।

सामान्यतया उनीहरूको कार्यावधि नियुक्ति पाएको मितिले जम्मा ४० दिन हुने जनाइएको छ।

उनीहरूको काम कर्तव्यमा मतदानस्थल, मतदानकेन्द्र, मतगणनास्थल, रिजर्भ, मोबाइल, पैदल गस्ती तथा जिल्ला प्रहरी प्रमुख/अपेरशन कमान्डरले जिल्लाभित्र गर्ने अनुगमनमा खटिनु रहेको छ।

उनीहरूलाई सामाजिक सञ्जालमा कार्य वा ड्यूटीको मर्यादाबाहिर गई निर्वाचनसम्बन्धी आफ्ना धारणा राख्ने, अनावश्यक सामग्री पोस्ट, शेअर, लाइक वा अनलाइक गर्न वर्जित गरिएको छ।

सङ्खुवासभामा निर्वाचन प्रहरी तालिम

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, निर्वाचन प्रहरीको निम्ति विशेष काम कर्तव्य तोकिएको हुन्छ

पक्ष वा विपक्ष हुने गरी कुनै पनि माध्यमद्वारा राय, विचार वा सङ्केत गर्न उनीहरूले नपाउने भनिएको छ।

मतदानस्थल वा मतदान केन्द्रमा खटिएको अवस्थामा मतपेटिका, मतदान सामग्री एवं आफ्नो साथमा रहेको वा आफूले संरक्षण गर्नुपर्ने सरकारी जिन्सी सामानहरूको हिफाजत तथा सुरक्षा गर्नु पनि उनीहरूको कर्तव्य हुने बताइएको छ।

सुरक्षाको प्रबन्ध

निर्वाचन प्रहरीका अतिरिक्त देशका तीनवटै सुरक्षा निकायको ठूलो अंश निर्वाचन केन्द्रित भूमिकामा खटिने अधिकारीहरूले बताएका छन्।

नेपाल प्रहरीको ७५,४७३ जना निर्वाचनमा खटिँदै छन् भने सशस्त्र प्रहरी बलको ३४,५७६ जना खटिँदै छन्।

"जिल्ला तथा प्रदेशमा रहेका हाम्रा फौज खट्न थालिसकेका छन्। केन्द्रमा रहेकाहरू पनि माघको अन्तिमदेखि फील्डमा खटिन थाल्ने छन्," नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले भने।

त्यस्तै सशस्त्र प्रहरी बलको परिचालन निर्वाचन बेस, स्ट्राइकिङ् फौज, मोबाइल गस्ती, कार्यालयहरूको सुरक्षा तैनाथी तथा सीमा सुरक्षामा विभाजन गरेर गरिने प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले बताए।

"बुधवारबाटै हाम्रो फौज हरेक निर्वाचन क्षेत्रमा रहने निर्वाचन सुरक्षा बेसमा खटिसकेको छ। सामान्यतया एक महिना खटिने भन्ने हो तर मतदानपछि कति दिन खटिने भन्ने चाहिँ पछि थाहा लाग्छ," भट्टले बताए।

सडकमा गस्ती गर्दै नेपाली सेनाको टोली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, निर्वाचन सुरक्षाको बाहिरी घेरामा नेपाली सेना खटिने बताइएको छ

तीबाहेक नेपाली सेनाबाट पनि झन्डै ७८,००० सैनिक निर्वाचन सुरक्षाका निम्ति परिचालित हुने बताइएको छ।

सेनालाई निर्वाचन सुरक्षाको बाहिरी घेरामा रहने भूमिका दिइएको छ। त्यसअन्तर्गत प्रशासन र प्रहरी एकाइहरूसँग तालिम र अभ्यास सम्पन्न भइसकेको जनाइएको छ। हाल नेपाली सेनाले मतपत्रको छपाइ भइरहेको स्थानमा सुरक्षा दिइरहेको जनाएको छ।

सेनाका प्रवक्ताका अनुसार सबै मतदानकेन्द्रहरूको स्थलगत अवलोकन गरिसकिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सुरक्षा दिने गरेका विमानस्थल र कारागारहरूमा चुनावको एक महिनाअघिबाट सेना खटिने र त्यहाँ खटिएका अन्य सुरक्षानिकायका जनशक्ति चुनावमा परिचालित हुने अभ्यास छ।

मतदानको दिन प्रत्येक मतदान केन्द्रमा तेस्रो घेरामा नेपाली सेना तैनाथ हुने तथा मतपेटिका सङ्कलन, ढुवानी र मतगणनास्थलको सुरक्षामा पनि नेपाली सेना संलग्न हुने बताइएको छ।

यसपालि निर्वाचन कार्यका निम्ति अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको जनाएको छ। त्योमध्ये सबभन्दा धेरै खर्च निर्वाचन सुरक्षा प्रयोजनकै निम्ति हुने जनाइएको छ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेको गृह मन्त्रालयलाई १० अर्ब ४९ करोड रुपैयाँ, सेनाको नेतृत्व सम्हालेको रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड रुपैयाँ र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।