स्थानीय भाषा बोल्दै र पोसाक लगाउँदैमा के चुनाव जित्न सहयोग पुग्छ

बालेन, गगन थापा, ऋषि धमला र जगदीश खरेल। पृष्ठभूमिमा निर्वाचन आयोगको भवन

तस्बिर स्रोत, Social Media/RSS/EC

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ६ मिनेट

काठमाण्डू महानगरपालिकाको मेअरमा लोकप्रिय मत पाएर निर्वाचित भएका मधेशी मूलका बालेन्द्र शाह 'बालेन'ले आफ्नो शपथग्रहण कार्यक्रममा धेरैलाई आश्चर्यमा पारे।

नेवार समुदायको उल्लेख्य जनसङ्ख्या रहेको सहरमा निर्वाचित नगरप्रमुखले नेपाली भाषामा शपथ लिएर त्यसको बेहोरा नेवारीमा पनि पढे। त्यसअघि चुनावी अभियानमा टीशर्ट र कोटपाइन्टमा नेपालको झण्डा ओढेर काठमाण्डू डुलेका शाह अधिकांश समय टीशर्ट, जीन्स र कोटमा देखिन्थे।

गत वर्ष सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ गर्न पुग्दा मात्रै बालेन नेवारी पोसाक 'टपाल:'सँगै सदाझैँ कालो कोट र भादगाउँले टोपीमा देखिए।

भदौको जेन जी आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएसँगै सामाजिक सञ्जाल र सडकबाट बालेनलाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठ्यो। तर उनले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई प्रस्ताव गरे र चुनावी सरकारमा कार्की प्रधानमन्त्री बनिन्।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि सरकार बनाउने अवसर आए शाहलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी सहमत भएपछि बालेन रास्वपा प्रवेश गरेर वरिष्ठ नेता बने। भावी प्रधानमन्त्री बन्ने दौडमा रहेका बालेनले त्यसयता ठाउँअनुसार पोसाक र भाषा पनि फेरिरहेका छन्।

माघ ५ गते मधेशको जनकपुरमा रास्वपाको सभालाई सम्बोधन गर्न कुर्तासुरुवालमा कालो ज्वारीकोटसँगै काँधमा गम्छा राखेर मञ्चमा पुगे बालेन। काठमाण्डूमा नेवारीमा शपथ लिएका बालेनले मधेशमा मैथिलीमा भाषण गरे र भने 'आइ एगो मधेशीया छौँडा प्रधानमन्त्री बनेला हई' अर्थात् 'अब मधेशको केटो प्रधानमन्त्री बन्नेवाला छ।'

मधेशमा सुहाउँदो पहिरन लगाएका बालेनको मैथिली भाषणले समर्थकहरूबाट तालीको गडहडाहट पायो। झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगै चुनावी प्रतिस्पर्धामा रहेका बालेन पछिल्ला सातामा पूर्वको पाथीभरादेखि सुदूरपश्चिमको बडीमालिकासम्म घुमिसकेका छन्।

सुदूरपश्चिमबाट सामाजिक सञ्जालमा त्यहीको बोलीचालीको भाषामा बालेनले पोस्ट गरे, "सुदूर अब दूर नाई, झिक्कैझिक्कै माया तम्लाई!"

भावी प्रधानमन्त्रीमा दाबी गरेका बालेनले मधेश पुगेर मैथिलीमा भाषण गरेपछि प्रधानमन्त्रीमा दाबी गरेका नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापा दबावमा नपर्ने कुरै भएन।

मैथिली र भोजपुरी भाषा बोल्नेहरूको मिश्रित समुदाय रहेको क्षेत्रबाट उम्मेदवारी दिएका थापाले पनि मतदाताहरूसँग एक वर्षभित्र स्थानीय भाषा सिक्ने वाचा गरेका छन्।

"म यहाँको भइसकेपछि यहाँको भाषा सिक्छु। यहाँको रहनसहन सिक्छु," उनले भने। बालेनजस्तै पूर्वमन्त्री थापा पनि मधेशमा कुर्तासुरुवाल र ज्वारीकोटमा घुमे।

'गङ्गा गए गङ्गादास, जमुना गए जमुनादास'

बाराको कलैयामा केही समयअघि भएको प्रदर्शन

तस्बिर स्रोत, BBC/MadhuriMahato

विश्लेषक चन्द्रकिशोर क्षेत्रअनुसार भेषभूषा र भाषा बदल्ने राजनीतिज्ञहरूका लागि उपयुक्त हुने एउटा लोकोक्ति नै मधेशमा प्रचलित रहेको सुनाउँछन्।

"यसलाई हाम्रो मधेशमा 'गङ्गा गए गङ्गादास, जमुना गए जमुनादास' भन्ने चलन छ," वीरगञ्जमा बस्दै आएका चन्द्रकिशोर भन्छन्।

"लोकतन्त्रमा त आफूलाई जे हो, त्यही रूपमा चिनाउनु राम्रो हो। 'म जे छु, त्यसमा ढाँट्ने काम गर्दिनँ' भनेरै मतदातासँग जानुपर्छ।"

स्थानीय सवाल बुझ्न र सम्पर्कका लागि त्यो क्षेत्रमा बोलिने भाषा बुझ्नु र सिक्नु राम्रो भए पनि त्यसरी निर्वाचित भएर जाने जनप्रतिनिधिले त्यहाँको प्रतिनिधित्व गर्ने विषय सबैभन्दा मुख्य रहेको उनले बताए।

"त्यहाँबाट निर्वाचित भएर मात्रै जाने हो कि प्रतिनिधित्व पनि गर्ने हो भन्ने तरिकाले पनि हेरिन्छ। कतिपयले मधेशबाट निर्वाचित भएर पनि यहाँको प्रतिनिधित्व गर्न नसकेका उदाहरण पनि छन्," उनले भने।

बालेन मधेशी समुदायको भए वा नभएको विषयमा उनीमाथि प्रश्न उठिरहेका समयमा उनले जनकपुरमा मैथिलीको पनि भुईँमान्छेले बोल्ने भाषा बोलेर देखाए पनि उनले जनकपुरमा बोलेको भाषा र लगाएको पोसाक झापा पुग्दा छोडिसकेको चन्द्रकिशोरले बताए।

"त्यो भिड हेरेर गरेको व्यवहार भयो र त्यो व्यवहार लोकतन्त्रका लागि राम्रो होइन," उनी भन्छन्।

'आत्मीय महसुस' गर्ने उपाय?

निर्वाचन प्रहरीको तालिम

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, विभिन्न जिल्लामा निर्वाचन प्रहरीका लागि तालिम सुरु भएको छ

ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार जगदीश खरेलले नेवारी पोसाक 'टपाल:' लगाएर उम्मेदवारी दर्ता गर्न पुगेको तस्बिरले सामाजिक सञ्जालमा पनि चर्चा पायो।

ब्राह्मण समुदायका खरेल नेवारी पोसाकमा देखिँदा ललितपुर क्षेत्र नम्बर १ का नेवारी समुदायकै अर्का रास्वपा उम्मेदवार बुद्धरत्न महर्जन भने कोट पाइन्टमा थिए।

अन्तरिम सरकारको सञ्चारमन्त्रीबाट राजीनामा दिएर उम्मेदवार बनेका खरेल नेवारी पोसाक लगाउँदा आफूलाई स्थानीयवासीले स्वागत नै गरेको अनुभव सुनाउँछन्।

"हाम्रो क्षेत्रमा नेवार मतदाता पनि उल्लेख्य हुनुहुन्छ। उहाँहरूले नै खास गरी जनताकै तर्फबाट मलाई मनोनयनदेखि अहिलेसम्म पनि नेवारी शैलीको कपडाहरू लगाउँदा राम्रो देखिन्छ भन्ने कुरा गर्नुभयो," खरेल भन्छन्।

"त्यसले मलाई पनि आत्मीय महसुस गरायो। धेरैले राम्रो पनि देखियो भन्नुभएको छ।"

उनले सभ्यता र पहिचान बोकेको नेवारी शैलीको पोसाक लगाउँदा खुसी लागेको भन्दै मतदाताले पनि सकारात्मक प्रतिक्रिया दिएको बताए।

धादिङमा जन्मिएर काठमाण्डूमा बसाइँ सरेका अर्का पत्रकार ऋषि धमला पनि रौतहटमा कुर्तासुरुवाल र ज्वारीकोटमा घुमिरहेका छन्। आम जनता पार्टीका उम्मेदवार रहेका धमलाले कहिले स्थानीय किसानका उखु बोक्न सघाएको त कहिले हातेआरीले काठ काट्न अनि कहिले चटपटे र जेरी बनाउन सघाएका भिडिओ क्लिपहरू सामाजिक सञ्जालमा 'भाइरल' छन्।

यस्तो प्रवृत्ति यो निर्वाचनमा मात्रै देखिएको चाहिँ होइन। विसं २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई खेत जोत्न सघाउँदै गरेका नेकपा एमालेका उम्मेदवार नवराज रावतको तस्बिर भाइरल बन्यो। एमाले र तत्कालीन माओवादीबीच गठबन्धन भएको उक्त निर्वाचन रावतले जिते पनि।

विसं २०७९को निर्वाचनमा पनि उम्मेदवारहरूले मतदाताको काममा सघाएका कैयौँ तस्बिर र भिडिओ सामाजिक सञ्जालमा व्यापक थिए। त्यसैमध्येका एक थिए सिन्धुलीका नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल। उनले पनि त्यो निर्वाचनमा जित हात पारे।

तर सबै उम्मेदवारका यस्ता गतिविधिले मत परिणाममा साथ दिएन। किसानका खेतबारीमा पुगेर काम सघाए पनि म्याग्दीमा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले २०७९को संसदीय निर्वाचन आफ्नो पक्षमा पार्न सकेनन्।

भाषा र पोसाकले चुनाव जित्न सघाउँछ?

नेपाल निर्वाचनमा मतदानको तस्बिर

त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागकी पूर्वप्रमुख नन्दिता शर्मा यस्ता गतिविधिले मतदाताको मन जित्न सहयोग पुग्ने बताउँछिन्।

"गएर आफ्नै भाषा बोलिदिँदा मान्छेलाई नजिकको भन्ने महसुस हुने मानवीय स्वभाव हो। मानवीय संवेदनालाई छुन सक्नु पनि ठूलो क्षमता हो," शर्मा भन्छिन्।

"तर एक दिन गएर सबै गर्दा चाहिँ यो क्षणिक भन्ने बुझाइ पनि हुन्छ। तर भावनात्मक मानिस छ भने त्यो भावनाले चुनावमा राम्रो पनि गर्छ।"

तर यस्तो व्यवहार दीर्घकालीन हुनुपर्ने प्राध्यापक शर्मा बताउँछिन्। मानिसहरूलाई यस्तो व्यवहार चुनावी वा क्षणिक भन्ने बुझाइ भयो भने त्यस्तो अवस्थामा त्यसरी गरिएको चुनावी प्रचार प्रत्युत्पादक पनि हुन सक्ने शर्मा बताउँछिन्।

"भोलि पनि गर्न सक्नुहुन्छ भने ठिकै हो। तर क्षणिक हो भन्ने बुझाइ यदि भयो भने मतदाताले त्यसलाई नकारात्मक रूपमा लिन पनि सक्नुहुन्छ," शर्मा भन्छिन्।

त्रिभुवन विश्वविद्यालयकै प्राध्यापक वाईपी आचार्य तत्कालीन चुनावी नतिजाका लागि भाषा र पोसाकले सकारात्मक नतिजा दिने भए पनि प्रजातन्त्रका लागि यो शैली राम्रो नभएको बताउँछन्।

"यो प्रजातन्त्रका लागि राम्रो कुरा चाहिँ होइन। उसले भोट प्रभावित गर्न सक्छ तर त्यो चिज जनताले खोजेको होइन। उनीहरूको समग्र जीवन राम्रो बनाउन पहलकदमी गरून् भन्ने जनताले चाहेको हो नि त," आचार्य भन्छन्।

"उहाँहरूका इमानदारिताका कुरा हुन सक्छन्, विगतका कुरा हुन सक्छन् ती कुरा हेरौँ। तत्काल देखावटी काम गरेको छ भने उम्मेदवारमा केही कमजोरी छ है भनेर आशङ्का चाहिँ गर्नुपर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।