दीर्घ जीवनका लागि फरक फरक व्यायामहरू गर्नु महत्त्वपूर्ण

तस्बिर स्रोत, Getty Images
- Author, फिलिपा रक्स्बी र जोइ मक्फडेन
- Role, स्वास्थ्य संवाददाता
- पढ्ने समय: ४ मिनेट
व्यायाम गर्ने सवालमा सबै प्रयासहरू एउटै खालको अभ्यासमा लगाउनु हुँदैन - प्रत्येक साता फरक फरक शारीरिक अभ्यास गर्नु नै दीर्घ जीवन र स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको अध्ययनहरूले सुझाएका छन्।
अमेरिकामा अनुसन्धानकर्ताहरूले ३० वर्षको अवधिमा १,१०,००० पुरुष र महिलामाथि उनीहरूको साप्ताहिक अभ्यास गर्ने बानीको अध्ययन गरे।
उक्त अध्ययनबाट फरक खालका अभ्यास गर्ने मानिसहरू एकथरी मात्रै अभ्यास गर्ने मानिसको तुलनामा स्वस्थ्य देखिए।
त्यस्तो व्यायामको प्रभाव हिँड्ने, टेनिस खेल्ने, वा जगिङ गर्ने जस्ता खेलहरूको तुलनामा बढी थियो।
विज्ञहरूले कति व्यायाम गर्ने भन्ने कुरा महत्त्वपूर्ण रहेको भन्दै आफूलाई रमाइलो लाग्ने विभिन्न अभ्यासहरू गर्दा त्यसले धेरै फाइदा पुग्न सक्ने बताउँछन्।
'प्रत्येकले केही न केही फाइदा पुर्याउँछ'

तस्बिर स्रोत, Maddie Albon
२९ बर्षे म्याडी एल्बोन लन्डनमा बस्छिन् र उनी बजार व्यवस्थापकका रूपमा काम गर्छिन्। उनी आफ्नो फुर्सदको समयमा ट्राएथलन गर्छिन्। ट्राएथलनमा दौडिने, साइकल चलाउने र पौडिने खेल पर्छन्।
उनी त्योबाहेक टेनिस, स्पीन क्लास(बाइक समूहमा चलाउने खेल), योग, पिलाटिज र भारत्तोलनमा पनि संलग्न छिन्।
"यी सबै व्यायामहरूले केही फरक फाइदा पुर्याउँछन्," उनले भनिन्।
"एउटा खेलमा राम्रो हुन तपाईँ विविध खेलमा हुन आवश्यक छ - दौडमा राम्रो हुन तपाईँले भारी उठाउने वेट लिफ्टिङ गर्न जरुरी छ।"
शारीरिक स्वास्थ्यको फाइदासँगै म्याडीलाई आफ्नो मूड ठिक गर्न पनि व्यायामहरूले मद्दत गर्छ। उनी न्यू-जील्यान्डकी हुन्।
"कहिलेकाहीँ एकदमै धेरै व्यायाम गर्न मसँग ऊर्जा हुँदैन त्यसैले योग गर्दा त्यसले आराम दिन्छ र वास्तवमै मेरो मानसिक स्वास्थ्यलाई पनि मद्दत पुर्याउँछ।"
"शरीरलाई चलायमान गराउन र दिनमा त्यो समय आफ्नो लागि छुटाउन अन्य विकल्पहरू हुनु राम्रो हो," उनले बीबीसीसँग भनिन्।
म्याडीले गत वर्ष ट्राएथलन गर्न थालिन् र अब उनी केही साथीसँग मिलेर खेल्नुपर्ने खेलहरू प्रयास गर्न चाहन्छिन्। अहिले उनले गरिरहेका अभ्यासहरूभन्दा "अलि बढी सामाजिक" भएकाले आफूले ती खेल खेल्न चाहेको बताइन्।
सक्रिय रहनुले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने कुरा थाहा भएकै हो। त्यसले मुटु, रक्तनली र फोक्सोलाई असर गर्ने धेरै रोगहरूको जोखिम कम गर्न पनि मद्दत पुग्छ। व्यायामले केही क्यान्सरहरूबाट चाँडै मृत्यु हुने सम्भावनालाई पनि कम गर्न सक्छ।
"समग्र शारीरिक गतिविधिको स्तर उच्च राख्नु महत्त्वपूर्ण छ र त्यसमाथि ती गतिविधिहरूको प्रकारलाई विविधीकरण गर्नु बढी फाइदाजनक हुन सक्छ," हार्भर्ड स्कुल अफ पब्लिक हेल्थका डाक्टर याङ हूले भने। उनी बीएमजे मेडिसिन जर्नलका लेखक पनि हुन्।
"स्वास्थ्यलाई फाइदा पुर्याउने [प्रतिरोध तालिम र एरोबिक] जस्ता अभ्यास धेरै सहयोगी हुन सक्छन्," उनले भने।
ब्रिटेनको न्याश्नल हेल्थ सर्भिस एनएचएसले १९ देखि ६४ वर्षका मानिसहरूलाई यी अभ्यास गर्नुपर्ने बताउँछ:
- सातामा कम्तीमा दुई दिन सबै मुख्य मांसपेशीहरू समावेश हुने गतिविधिहरू बलियो बनाउनुहोस्
- १५० मिनेटको मध्यम खालको गतिविधि वा प्रति साता ७५ मिनेट कडा खाले ब्यायाम गर्नुहोस्
- यसलाई सातामा ४ देखि ५ दिन समान रूपमा गर्न खोज्नु पर्छ
- र बस्न, सुत्न वा पल्टिनमा धेरै समय नखर्चनुहोस्
एरोबिक अभ्यास गर्दा त्यसले तपाईँको मुटुको चाल बढाउँछ र तपाईँ छिटो छिटो सास फेर्नु हुन्छ।
त्यसमा छिटोछिटो हिँड्ने, बाइक चलाउने, टेनिस खेल्ने, नृत्य गर्ने, लामो बाटो हिँड्न जाने कुराहरू पर्छन्।
कडा व्यायामले भने तपाईँलाई छिटो सास फेर्न मद्दत गर्छ। दौडिनु, पौडिनु, फुटबल खेल्नु, हक्की खेल्नु, जिम गर्नु वा भर्याङ चढ्नुजस्ता व्यायाम गर्दा यस्तो हुन्छ।
योग, भारोत्तोलन, टाइ ची, बगैँचामा काम गर्नु र गह्रुँगो किनमेलका सामान बोक्नुजस्ता अभ्यासले मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ।
अनुसन्धानका लागि ३० देखि ५५ वर्ष उमेर समूहका ७० हजारभन्दा बढी नर्स र ४० हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई हिँड्ने, जगिङ गर्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने, टेनिस खेल्नेजस्ता हरेक हप्ता गर्ने गतिविधिबारे जानकारी गराउन भनिएको थियो।
उनीहरूले प्रत्येक दुई वर्षमा प्रश्नावली भरे र उनीहरूले कति त्यस्तो भारी उचाल्ने खालका अभ्यासहरू गरे, वा कम बल पर्ने योग वा बगैँचामा काम गर्ने वा भर्याङ चढ्ने गरे भनेर सोधियो।
सङ्ख्याहरू हेरेपछि अनुसन्धानकर्ताहरूले के पत्ता लगाए भने अधिकांश मानिसहरूले फरक किसिमका व्यायाम गर्दा त्यसले कुनै पनि कारणबाट मृत्यु हुने जोखिम कम गरेको देखियो। तर फरक किसिमका व्यायामहरू गर्ने व्यक्तिहरूले अझै राम्रो गरेको देखियो।
क्यान्सर, मुटु रोग, फोक्सोको रोग र अन्य कारणबाट हुने मृत्युको जोखिम अन्य व्यक्तिको तुलनामा १३ देखि ४१ प्रतिशत कम भएको पाइएको छ।
अनुसन्धानले सातामा छ घण्टा मध्यम खालको गतिविधि गर्ने वा तीन घन्टाको कडा व्यायाम अधिकतम रहेको र त्यसपछि फाइदाहरू कम भएको देखायो।
अध्ययन बृहत् रहेको र शारीरिक गतिविधि बारम्बार मापन गरिएको भए पनि अनुसन्धानका सीमाहरू रहेका छन्। यसले मानिसहरूको स्वास्थ्यले उनीहरूले गर्ने व्यायामलाई प्रभावित पारेको हुन सक्छ भन्ने पत्ता लगाउन सक्दैन, बरु यसले जीवनशैलीका कारणहरूको दायरा हेर्ने प्रयास गर्यो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















