गर्धनको आकारले तपाईँको स्वास्थ्यबारे के बताउँछ

एउटा फाइल फोटो जसमा एक व्यक्तिको तल्लो ओठदेखि घाँटीको तल्लो भागसम्म देखिन्छ। उक्त व्यक्तिले घाँटीसम्म आउने घ्यू रङ्गको स्वीटर लगाएकी छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यदि तपाईँको गर्धन निश्चित मापदण्डभन्दा ठूलो वा सानो छ भने त्यसले कुनै स्वास्थ्य अवस्थाबारे सङ्केत गरिरहेको हुन सक्छ
    • Author, चन्दन कुमार जजवाडे
    • Role, बीबीसी हिन्दी
    • Author, स्यारा बेल
    • Role, ग्लोबल हेल्थ टिम, बीबीसी विश्व सेवा
  • पढ्ने समय: ५ मिनेट

पेट बढ्न वा लुगा कस्सिएको महसुस हुन थालेपछि हामी आफू मोटाउन थालेको भेउ पाउँछौँ।

तर शरीरको अर्को एउटा भाग पनि छ जसले स्वास्थ्यस्थितिबारे सङ्केत दिन्छ। त्यो हाम्रो गर्धन हो।

गर्धन साविकभन्दा ठूलो वा सानो हुन थालेको छ भने त्यसले कुनै कुराको जनाउ दिँदै हामी सावधान हुनुपर्ने सङ्केत गरेको पनि हुन सक्छ।

गर्धन कत्रो हुनुपर्छ?

शरीरमा रहेको बोसो तत्त्वलाई मानिसको तौललाई उसको उचाइले भाग गरेर निकालिन्छ। त्यसलाई 'बडी मास इन्डेक्स' वा बीएमआई भनिन्छ।

यो अङ्कले निश्चय नै तपाईँको शारीरिक अवस्थाबारे प्रारम्भिक जानकारी दिन्छ नै। तर सबै खालका मानिसहरू खास गरी शारीरिक सुगठनमा लागेकाहरूलाई यसले सही जानकारी नदिन सक्छ किनभने तिनको मांसपेशीका कारण तिनको तौल धेरै भएको हुन सक्छ।

त्यसैले तपाईँको गर्धनको परिधि नापेर स्वास्थ अवस्थाबारे नयाँ जानकारी मिल्न सक्छ। गर्धनको परिधि वा गोलाइ कति हुनुपर्छ त?

"महिलाहरूको हकमा गर्धनको गोलाइ ३३ देखि ३५ सेन्टिमिटर हुनुपर्छ भने पुरुषहरूको हकमा त्यो ३७ देखि ४० सेन्टिमिटर हुनुपर्छ," दिल्लीस्थित आईएलबीएसका निर्देशक तथा न्याश्नल अक्याडमी अफ मेडिकल साइन्सेसका अध्यक्ष डा शिव कुमार सरीनले भने।

गर्धनको आकार किन महत्त्वपूर्ण

कतिपय मानिसहरू आफ्नो गर्धनलाई सुगठित पार्न भारोत्तोलन गर्छन्। बक्सिङ् खेलाडी तथा रग्बी खेलाडीमा पनि गर्धन अलि ठूलो हुन्छ। तर व्यायामशालाभन्दा बाहिर त्यस्तो हुनु सधैँ राम्रै चाहिँ होइन।

"यदि कसैको गर्धन स्वाभाविकभन्दा ठूलो छ भने उक्त व्यक्तिलाई शारीरिक समस्या रहेको सङ्केत मिल्छ। सो व्यक्ति मोटोपनातर्फ अग्रसर भइरहेको बुझ्न सकिन्छ," डीवाई मेडिकल कलेज पुणेका प्राध्यापक अमिताभ बनर्जीले भने। "मोटोपनासँग अन्य कैयन् रोगहरू जोडिएका हुन्छन्।"

गर्धनवरपर रहेको बोसो अन्यत्र छालामुनि सब-क्युटेनिअस बोसो - कम्मरजस्ता अन्य भागको छालामुनि हुने नरम बोसो - भन्दा फरक हुन्छ।

यदि तपाईँमा मोटोपना छ भने तपाईँको पेट तथा अन्य अङ्ग वरपर लुकेको बोसो हुन्छ जसलाई 'भिसेरल फ्याट' भनिन्छ। यो शारीरिक प्रक्रियाहरूमा निकै सक्रिय बोसो हो र त्यसले मधुमेह, कलेस्टरोल तथा रक्तचापलाई प्रभाव पार्छ।

"यसलाई देखिने एक ठाउँ चाहिँ गर्धन हो। यसले तपाईँको शरीरमा कति अधिक बोसो छ भनेर सङ्केत गर्छ," लन्डनस्थित किङ्स्टन यूनिभर्सिटीमा स्नातक तहमा बायोकेमिस्ट्रीका प्रमुख डा अहमद एल्बेदिवीले भने।

"तपाईँ जति मोटो हुनु हुन्छ गर्धन त्यति नै ठूलो हुन्छ।"

ठूलो गर्धन हुँदा कस्ता समस्या निम्तिन सक्छन्

यदि कुनै व्यक्तिको गर्धन स्वाभाविकभन्दा ठूलो देखिन्छ भने त्यसले मेटाबोलिक लक्षणको सङ्केत गर्छ - जसले तपाईँलाई 'टाइप टू डाइअबिटिज'को जोखिममा पार्छ वा मुटु तथा रक्तनली प्रभावित पार्ने अन्य अवस्थाको सङ्केत गर्छ।

किनभने यदि तपाईँको शरीरमा अधिक बोसो छ भने ती अतिरिक्त चिल्लोपना सजिले तपाईँको रगतमा मिसिन सक्छ।

"ठूलो गर्धन भएका व्यक्तिमा उच्च कलेस्टरोल, फ्याटी लिभर, मधुमेह तथा उच्च रक्तचाप हुन सक्छ। यसका निम्ति विशेष अनुसन्धान आवश्यक हुन्छ," दिल्लीको सर गङ्गाराम अस्पतालका वरिष्ठ चिकित्सक डा मोहसिन वालीले भने।

यसले 'स्लीप आप्निआ' पनि गराउन सक्छ जसले निद्राको गुणस्तर प्रभावित हुन्छ।

गर्धन ठूलो भयो भने के हुन्छ

"आत्तिनुपर्दैन," किङ्स्टन यूनिभर्सिटीका डा अहमद एल्बेदिवीले भने। "सन्तुलित आहार तथा नियमित व्यायामले समग्र स्वास्थ्यलाई सहयोग पुर्‍याउँछ। साथै त्यसले तौल घटाउन पनि सघाउँछ।"

शरीरको माथिल्लो भागको बोसो घटाउन कार्डिओभास्क्युलर कसरत तथा तौल प्रशिक्षणले मद्दत गर्छ। त्यस्तै गुणस्तरीय निद्राले शरीरभित्र हुने क्रियाहरूलाई नियमित बनाउन र सुधार्न सघाउ गर्छ। दलहन, फलफूल तथा तरकारी धेरै भएको सन्तुलित आहारले अधिक क्यालरी नदिईकनै आवश्यक तत्त्व उपलब्ध गराउँछ।

फोनमा भिडिओ कल गरिरहेकी एक युवतीको एउटा हात घाँटीमा देखिन्छ। उनको डेस्कमा पछाडि कम्प्युटर देखिन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्वाभाविकभन्दा सानो गर्धनले रक्ताल्पता भएको सङ्केत गर्न सक्छ

गर्धन सानो छ भने चाहिँ के हुन्छ

सानो गर्धनलाई शारीरिक सौन्दर्यसँग जोडेर हेरिन्छ। मानिसहरूले आभूषण लगाएर घाँटीतर्फ ध्यान तान्न खोज्छन् र आफूलाई सुन्दर देखाउन खोज्छन्।

केही अफ्रिकी देशहरूमा महिलाहरूले आफ्ना घाँटो सानो र लामो देखाउन घाँटी वरपर विशेष बाटुलो गहना लगाउँछन्।

हुन त यसलाई सौन्दर्यको विषय मानिन्छ तर स्वाभाविकभन्दा सानो घाँटी हुनु भनेको रक्ताल्पता अर्थात् रगतको कमी भएको सङ्केत हुन सक्ने चिकित्सकहरू बताउँछन्।

"त्यस्ता मानिसहरूलाई फलम तत्त्व, भिटमिन तथा अन्य पोषक तत्त्व दिइन्छ। कतिपय मामिलामा रगत चढाउन पनि पर्न सक्छ," बेङ्गलुरूमा कार्यरत डा आत्रेय निहाराचन्द्रले भने।

घाँटीभरि सुनका रिङ पहिरेकी एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, घाँटीमा लगाइएका रिङ्गले अफ्रिकामा व्यक्तिगत हैसियतको पनि सङ्केत गर्छ

मसिनो घाँटी भएका मानिसहरूको मेरुदण्डमा अतिरिक्त हड्डी हुन पनि हुन सक्छ। सामान्यतया गर्धन भएको भागको मेरुदण्डमा सातवटा हड्डी हुन्छन्। तर कोहीकोही मानिसमा आठ वटा हुन्छन्, कसैका हात वा खुट्टामा छ औँला भए जस्तै।

भर्टिब्रा भनिने ती हड्डीबाटै मेरुदण्ड बन्छ। मेरुदण्ड सुषम्ना र स्नायुहरूको सुरक्षाकवच पनि हो।

अतिरिक्त भर्टिब्रा जन्मजात हुने गर्छ र अधिकांश मामिलामा अरू नै कारण घाँटीको एक्स-रे गर्दा बल्ला थाहा हुन्छ। यसले सामान्यतया कुनै समस्या पनि ल्याउँदैन।

"केही मामिलामा सर्भिकल रिब (भर्टिब्रा)को सङ्ख्या एउटा भन्दापनि धेरै सङ्ख्याले बढी भयो भने चाहिँ हातमा स्पर्शको अनुभव नहुने जस्ता समस्या हुन सक्छन्," डा वालीले भने।

घाँटीमा देखिन सक्ने अर्को अवस्था भनेको गलगाँड हो जुन थाइरोइड - होर्मन उत्पादन गर्ने सानो ग्रन्थि - को सुजनले निम्त्याउँछ।

त्यस्तो गलगाँड सामान्यतया घाँटीको तल्लो र अघिल्तिरको भागमा देखिन्छ। त्यो छुँदा नरम लाग्छ र कहिलेकाहीँ एकापट्टिमात्र सुन्निएको हुन्छ।

प्रायजसो गलगाँड पीडादायक वा हानिकारक हुँदैन। तर यूकेको एनएचएसले त्यस्तो गलगाँड आए चिकित्सकको परामर्श लिन सुझाएको छ।

त्यसैले अब अर्को पटक ऐना हेर्दा आफ्नो घाँटीलाई अलि नियालेर हेर्नुहोस् - त्यसले तपाईँले सोचेकोभन्दा धेरै थोक बताउन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।