धेरै पसिना आउँदा के गर्नुपर्छ? विज्ञका सुझाव यस्ता

धेरै पसिना आएपछि हातेपङ्खा लिएर बसेकी महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पसिना आउनु सामान्य कुरा हो, तर पसिनाका कारण शरीरबाट दुर्गन्ध आएको खण्डमा त्यो सहज नलाग्न सक्छ
    • Author, एस्टर काहूम्बी
    • Role, वर्ल्ड सर्भिस ग्लोबल हेल्थ

दिनको मध्यतिर अथवा कसैलाई भेट्नुभन्दा अघि के तपाईँले आफ्नो शरीरबाट दुर्गन्ध आइरहेको छ कि भनी सोच्नुभएको छ?

दिनभरि कसरी 'पूर्ण रूपमा फ्रेश' रहने भनी सुझावसहितका सामाजिक सञ्जालमा आउने पोस्टहरूका कारण त्यो चिन्ता झन् बढ्ने गरेको पाइन्छ।

इन्फ्लुअन्सरहरूले जीउभरि 'डिओडरन्ट' छर्कनेदेखि लिएर भिडभाडयुक्त सार्वजनिक सवारीसाधनमा यात्रुहरूले दुर्गन्ध फैलाएका भनी गुनासो गरिएकासम्म भाइरल भिडिओहरू देखिन्छन्।

विज्ञहरूका अनुसार तपाईँलाई पसिना आउँदैन भनी अपेक्षा गर्नु अवास्तविक कुरा हुन्छ। पसिना आउनु भनेको सफासुग्घर नहुनुको सङ्केत होइन, यो जीवविज्ञानकै प्रक्रिया हो।

"पसिना आउनु पूर्ण रूपमा सामान्य र आवश्यक प्रक्रिया हो," यूकेको ब्रिस्टल विश्वविद्यालयस्थित अनाटमी विषयकी प्राध्यापक मिशेल स्पिअर भन्छिन्।

धेरै मानिसहरूलाई गर्मीका कारण, व्यायाम गर्दा अथवा तनावका कारण पसिना आउँछ।

पसिना आउने समस्या र फ्रेश कसरी रहने भन्नेबारे हामीले विज्ञहरूसँग कुराकानी गरेका छौँ।

पसिना आउँदा किन गन्हाउँछ?

भिडभाडको तस्बिर

तस्बिर स्रोत, Bloomberg via Getty Images

तस्बिरको क्याप्शन, पसिनाका कारण हुने दुर्गन्धले भिडभाडमा चिन्ता बढाउन सक्छ

जीउ तातेपछि त्यसले पसिनाको रूपमा तरल पदार्थ र केही लवणहरू निकाल्छ। त्यो तरल पदार्थ तातोपनले गर्दा बाफ बन्छ र त्यसले शरीरको तापक्रम घटाउँछ।

तर त्यो पसिना शरीरबाट निस्कने दुर्गन्धको कारण चाहिँ होइन।

प्राध्यापक स्पिअरका अनुसार मानव शरीरमा २० लाखदेखि ४० लाखसम्म पसिना निकाल्ने ग्रन्थी हुन्छन्, "तिनले दुई थरीका पसिना निकाल्छन् : एउटा पानीजस्तो जसले शरीरलाई चिसो बनाउँछ र अर्को बोसोयुक्त हुन्छ।"

बोसोयुक्त पसिना काखी र दुई खुट्टाबीचको कापजस्ता हिस्सामा आउँछ, जसलाई ब्याक्टेरियाले टुक्र्याउँछन्। दुर्गन्ध चाहिँ सोही प्रक्रियाको 'ब्राइप्रडक्ट' हो।

पसिना आउनु एउटा स्वस्थ प्रक्रिया भए पनि सफासुग्घर र आत्मविश्वास महसुस गर्न खोज्नु स्वाभाविक हो।

हुन त पसिना आउन नै बन्द गर्नेतर्फ लाग्न नहुने विज्ञहरू सुझाउँछन्, तर दिनचर्या सहज हुने गरी त्यसको व्यवस्थापन चाहिँ गर्नुपर्छ।

सरसफाइलाई आफ्नो नियमित दिनचर्याको हिस्सा बनाउनुहोस्

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, सरसफाइलाई आफ्नो नियमित दिनचर्याको हिस्सा बनाउनुहोस्

फ्रेश रहन के गर्न सकिन्छ?

पसिना र शरीरबाट आउने दुर्गन्धले निम्त्याउने समस्यासँग जुझ्न बेलाबेला साबुनपानीले सरसफाइ गर्नु सबैभन्दा प्रभावकारी हुन्छ।

कति पटक नुहाउनुपर्छ भन्ने कुरा अझै बहसको विषय रहेको छ। दिनहुँ नुहाउनुपर्नेदेखि हप्तामा तीन पटक नुहाउनुपर्नेसम्मका सुझाव रहेको पाइन्छ।

"उदाहरणका लागि काखी, खुट्टाबीचको काप र पैतालामा पर्याप्त ध्यान दिनुहोस्," प्राध्यापक स्पिअर सुझाउँछिन्।

"नुहाउँदा मान्छेको शरीरबाट पानी तर्र चुहिन्छ, अनि त्यति बेला उनीहरू पैतालाबारे बिर्सन्छन्। पैताला पनि माड्नुपर्छ।"

हामीले लगाउने लुगाले पनि फरक पार्छ। सुती र लिनिनजस्ता प्राकृतिक कपडाले पानी सोस्छन् र तिनलाई शरीरबाट हटाउँछन्। अर्कोतर्फ सिन्थेटिक फाइबरले पसिनालाई छालामा रोक्छन्, जसका कारण मानिसहरू धेरै गर्मी तथा असहज महसुस गर्छन्।

'डिओडरन्ट' र 'एन्टिपर्स्परन्ट'जस्ता 'पर्सनल केअर' उत्पादनहरूले अतिरिक्त सहयोग पुर्‍याउन सक्छन्।

सामान्यतया अल्कोहलमा आधारित 'डिओडरन्ट'हरूले छालालाई अम्लीय बनाउँछन् जसका कारण त्यो ब्याक्टेरियाका निम्ति कम आकर्षित हुन पुग्छ। बास्नाले दुर्गन्धलाई भगाइदिन्छ।

अर्कोतर्फ 'एन्टिपर्स्परन्ट'मा एल्यमिनिअम लवण हुन्छ, जसले पसिनाका केही ग्रन्थीहरूलाई अवरुद्ध गरेर पसिनाको मात्रालाई कम गराइदिन्छ।

'एन्टिपर्स्परन्ट'हरूको प्रयोग रातको समयमा गर्न र बिहान पखाल्न सल्लाह दिइन्छ।

रातिको समयमा पसिना निकाल्ने ग्रन्थीहरू कम सक्रिय हुने भएकाले एल्यमिनिअमलाई सोस्न सजिलो हुने चर्मरोग विशेषज्ञहरू बताउँछन्।

ग्रन्थीहरूमा लवण बिस्तारै जम्मा हुने हुन्छ, जसको अर्थ नतिजा पनि बिस्तारै देखिन्छ।

'एन्टिपर्स्परन्ट'ले हानि पुर्‍याउन सक्छ?

'एन्टिपर्स्परन्ट'हरूको प्रयोग कति सुरक्षित छ भन्नेबारे वर्षौँदेखि प्रश्नहरू रहिआएका छन्। यसको स्तन क्यान्सर र अल्जाइमर रोगसँग सम्भावित सम्बन्ध रहेको बताइन्छ।

तथापि चर्मरोग विशेषज्ञ डा. नोरा जाफर भन्छिन्, "अहिलेसम्मका प्रमाण आश्वस्त तुल्याउने खालकै छन्। कुनै पनि विश्वसनीय अध्ययनले क्यान्सरजन्य सम्बन्ध देखाएको छैन।"

यद्यपि ती उत्पादनहरूको अनुपयुक्त प्रयोगले छालासम्बन्धी कतिपय समस्या निम्त्याउन सक्ने उनी बताउँछिन्।

"अनुमान गर्नुहोस् कि केही उत्पादनहरू छन्, जसले तपाईँलाई ७२ घण्टासम्म अथवा ४८ घण्टासम्म फ्रेश राख्न सक्ने भन्छन्," प्राध्यापक स्पिअर भन्छिन्।

"एन्टिपर्स्परन्ट आफ्नै स्थानमा रहिरहोस् र नपखालियोस् भनी यदि कसैले अपेक्षा राख्छ भने त्यसबाट समस्या निम्तिन सक्छ। अवरोधहरू हुन सक्छन्।"

चर्मरोग विशेषज्ञहरूका अनुसार एल्यमिनिअममा आधारित उत्पादनहरूको प्रयोग गर्ने सबैभन्दा उपयुक्त तरिका भनेको काखी सुक्खा रहेको सुनिश्चित गर्नुपर्छ।

यदि भिजेको छ भने एल्यमिनिअम क्लोराइडले पानीसँग प्रतिक्रिया जनाई हाइड्रोक्लोरिक एसिड बनाउँछ, जसले तपाईँको छाला चिलाउने समस्या निम्त्याउन सक्छ।

प्राकृतिक 'डिओडरन्ट'ले काम गर्छ?

डिओडरन्ट स्प्रे गर्दै एक व्यक्ति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रसायन प्रयोग गरिएका उत्पादन मन नपराउनेहरूमाझ प्राकृतिक 'डिओडरन्ट'हरू लोकप्रिय छन्

प्राकृतिक 'डिओडरन्ट'हरू थप लोकप्रिय भएका छन् र एल्यमिनिअम लवण अथवा सिन्थेटिक सुगन्धहरू मन नपराउनेहरूका निम्ति त्यसलाई विकल्पका रूपमा पनि हेर्ने गरिन्छ।

दुर्गन्ध हटाउन तिनीहरूले मुख्यतः प्राकृतिक 'एन्टिब्याक्टेरिअल' अथवा बोटबिरुवामा आधारित तेलको प्रयोग गर्छन् भने ओसिलोपन सोस्न पनि प्राकृतिक वस्तुकै प्रयोग गर्छन्।

"पसिना निकाल्ने ग्रन्थीहरूलाई बन्द नगर्ने अर्थमा तिनीहरू कोमल हुन सक्छन्, तिनीहरूले पसिनाको साटो दुर्गन्धलाई लक्ष्यित गर्छन्। तर प्राकृतिक हुँदैमा नचिलाउने भन्ने हुँदैन : इसन्शल ओइल अथवा बेकिङ सोडाले संवेदनशील छालामा डाबरहरू निम्त्याउन सक्छन्," डा. जाफर भन्छिन्।

जहाँसम्म तिनको प्रभावकारिताको प्रश्न छ, विशेषज्ञहरूका अनुसार त्यो व्यक्तिमा निर्भर गर्छ।

यदि तपाईँलाई धेरै नै पसिना आउँछ भने ती कडा नहुन सक्छन्। तर यदि एल्यमिनिअमलाई पन्छाउन चाहनुहुन्छ भने तिनीहरू राम्रा विकल्प हुन सक्छन्।

के जीउभरि 'डिओडरन्ट' प्रयोग गर्न सकिन्छ?

बेच्न राखिएको 'डिओडरन्ट' हेर्दै एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रयोग गरेको घण्टौँपछिसम्म असर राख्नलाई जीउभरि 'डिओडरन्ट' प्रयोग गर्न भनेर विज्ञापन हुने गरेको छ

कुन 'डिओडरन्ट' अथवा 'एन्टिपर्स्परन्ट'ले राम्रो काम गर्छ भन्नेबारे कतिपय मानिसहरू चिन्ता गर्दैनन्। बरु शरीरको कुन हिस्सामा त्यसको प्रयोग गर्ने भन्नेबारे उनीहरूको चिन्ता हुन्छ।

यूके र संयुक्त राज्य अमेरिकी बजारमा नयाँ 'डिओडरन्ट'हरू स्तनमुनि, नितम्ब र यौनअङ्गहरूमा समेत गरी जीउभरि प्रयोगका लागि बजारमा उपलब्ध छन्।

नुहाइसकेको कैयौँ घण्टापछि ताजगी प्रदान गर्ने ती उत्पादनहरूले दाबी गर्छन्, कतिपयले त ७२ घण्टासम्म पसिनाको दुर्गन्ध नियन्त्रण गर्ने दाबी गर्छन्।

तर विज्ञहरू शरीरलाई 'डिओडरन्ट'ले ढाक्न आवश्यक नभएको बताउँछन्, खास गरी गोप्य अङ्गहरूमा त लगाउँदै नलगाउन उनीहरू सुझाउँछन्।

"योनि र खुट्टाका बीचको काप निकै संवेदनशील हिस्सा हुन्। त्यहाँ 'डिओडरन्ट' प्रयोग गर्दा चिलाउने, एलर्जी हुने, प्राकृतिक माइक्रोबायोम र पीएचमा अवरोध सिर्जना हुने जोखिम रहन्छ," डा. जाफर भन्छिन्।

"पानी अथवा हल्का साबुनले तिनलाई सफा गर्नु नै पर्याप्त हुन्छ।"

कति बेला चिन्ता गर्नुपर्छ?

कतिपय मानिसहरू 'हाइपरहाइड्रोसिस'को समस्याबाट ग्रस्त हुन्छन्- त्यो एउटा यस्तो अवस्था हो, जब शरीरको तापक्रमलाई नियन्त्रित गर्नका लागि आवश्यक पर्नेभन्दा बढी पसिना निस्कन्छ।

इन्टर्न्याश्नल हाइपरहाइड्रोसिस सोसाइटीका अनुसार बोसोयुक्त पसिना निकाल्ने ग्रन्थीहरूले कुनै क्रियाकलापको प्रतिक्रियामा आवश्यकताभन्दा बढी पसिना निकाल्छन्।

चिकित्सकहरूका अनुसार कतिपय अवस्थामा त्यो कुनै स्वास्थ्य समस्याको सङ्केत हुन सक्छ र कहिलेकाहीँ होर्मोनसम्बन्धी परिवर्तन, थाइराइडसम्बन्धी समस्या, सङ्क्रमण अथवा मेटाबोलिक 'डिस्अर्डर'सँग सम्बन्धित हुन सक्छ।

यस्तो अवस्थामा एल्यमिनिम लवण धेरै भएको 'एन्टिअस्परन्ट' प्रयोग गर्न सकिन्छ।

बोटक्स सुईहरू पनि पसिना कम गर्नका लागि लक्ष्यित क्षेत्रमा प्रयोग गर्न सकिन्छ। पसिना निकाल्ने ग्रन्थीहरूको शल्यक्रिया अर्को विकल्प हुन सक्छ।

"यदि कसैलाई आफूलाई धेरै पसिना आउँछ भन्ने लाग्छ भने पहिलो कुरा म त्यस्ता मानिसहरूलाई हिनताबोध नगर्न म सुझाउँछु," प्राध्यापक स्पिअर भन्छिन्।

"बरु सहायता खोज्न न प्रोत्साहित गर्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।