यी आठ खानेकुरा जसले पेटमा वायु निम्त्याउँछन् – केहीको नाममा तपाईँलाई आश्चर्य पनि लाग्न सक्छ

वायु निष्काशनको प्रतीकात्मक तस्वीर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फ्रूक्टोजयुक्त स्याउजस्ता केही फलफूलले ग्यासको समस्या निम्त्याउन सक्छन्
    • Author, बीबीसी फूड

अपानवायु छोड्नु सामान्य प्रक्रिया हो- औसतमा प्रत्येक व्यक्तिले एक दिनमा पाँचदेखि १५ पटक वायु छोड्छन्। अपानवायुले निम्त्याउने असहजता र लज्जाबोधलाई यदि बिर्सिने हो भने खासमा कुनै दिनविशेष पेटमा धेरै ग्यास हुनु राम्रो स्वास्थ्यको एउटा सङ्केत पनि हुन सक्छ।

त्यो किन भन्दा पेटमा वायु निम्त्याउने खानेकुराहरू मुटुका लागि स्वस्थकर हुन्छन्। फाइबरयुक्त जटिल प्रकारका कार्बोहाइड्रेटहरू, फाइबर-प्याक्ड कम्प्लेक्स कार्ब्स भएका खानेकुरालाई हाम्रो शरीरले पचाउन गाह्रो हुन्छ। तर आन्द्रामा भएका ब्याक्टेरीआहरूले त्यो गर्न सक्छन्।

उसो भए कुनकुन खानेकुराले वायु छोड्न लगाउँछन्, कुनकुनले अपानवायुलाई दुर्गन्धयुक्त बनाउँछन् अनि कस्तो अवस्थामा भने तपाईँले चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ?

१. चिल्लोयुक्त खानेकुरा

चिल्लोयुक्त खानेकुराले पाचन प्रक्रियालाई मन्द बनाउँछन्, जसका कारण ती खानेकुरा आन्द्रामा कुहिन पुग्छन् र तिनले नराम्रो दुर्गन्ध निम्त्याउँछन्।

बोसो भएका मासु पचाउन जटिल हुन्छ। किनकि तिनमा प्रचुर मात्रामा अमिनो एसिड मिथियोनाइन हुन्छ, जसमा सल्फर यौगिक पाइन्छ।

आन्द्रामा रहेका ब्याक्टेरीआले सल्फरलाई पचाएर हाइड्रोजन सल्फाइडमा परिणत गर्छ, जसको गन्ध कुहिएको अन्डाको जस्तो हुन्छ र त्यसले मासुलगायत तपाईँले खाने अन्य खानेकुराबाट निस्कने ग्यासलाई दुर्गन्धित बनाउनमा सघाउ पुर्‍याउँछ।

२. गेडागुडी

गेडागुडी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गेडागुडीले पनि मानिसहरूमा वायुको समस्या निम्त्याउँछ

गेडागुडी तथा दालहरूमा पर्याप्त फाइबर हुन्छ, तर र्‍याफिनोज भनिने एक प्रकारको जटिल गुलियो पदार्थ पनि हुन्छ, जसलाई हामीले राम्ररी प्रशोधन गर्न सक्दैनौँ।

ती गुलिया पदार्थहरू आन्द्रासम्म पुग्छन्, जहाँ तपाईँको आन्द्राले तिनलाई ऊर्जाका रूपमा प्रयोग गर्छ। परिणाम स्वरूप हाइड्रोजन, मिथेन र दुर्गन्धित सल्फरसम्म बन्छ।

३. अण्डा

जनविश्वासविपरीत अण्डाले चाहिँ अपानवायु निम्त्याउँदैन।

तर तिनमा सल्फर यौगिकयुक्त मिथियोनाइन हुन्छ। अतः यदि तपाईँ गन्धयुक्त अपानवायु चाहनुहुन्न भने अन्डासँगै वायु निम्त्याउने गेडागुडी र चिल्लोयुक्त खानेकुराहरू नखानुहोस्।

अण्डाले पेट ढुस्स बनाउँछ र वायु निम्त्याउँछ भने तपाईँलाई ती असुहाउँदो हुन सक्छ अथवा त्यसले एलर्जी निम्त्याएको हुन सक्छ।

४. प्याज

पेट थिचिरहेकी एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गहुँ र अरू अन्न स्वास्थ्यका लागि फाइदाजनक भए पनि तिनले ग्यासको समस्या निम्त्याउँछन्

प्याज, चुकन्दर, लसुन र लीक भनिने एक प्रकारको हरियो प्याज सबैमा फ्र्यूक्ट्यान्ट अर्थात्‌ ग्यास र पेट ढुस्स बनाउने कार्बहरू हुन्छन्।

५. दूधजन्य उत्पादन

गाई र बाख्राका दूधमा ल्याक्टोज भनिने एक प्रकारको गुलियो पदार्थ हुन्छ, जसले ग्यास निम्त्याउँछ।

सबैभन्दा मुख्य कुरा विश्वको वयस्क जनसङ्ख्याको करिब ६५ प्रतिशतले ल्याक्टोलाई पचाउन सक्दैनन्।

दूधबाट बनेका खानेकुरा खाँदा उनीहरूमा पेट ढुस्स हुने र ग्यासले भरिने अवस्था सिर्जना हुन्छ।

दूध र डेरी उत्पादनहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दुई तिहाइ जनसङ्ख्यालाई ल्याक्टोज पचाउन गाह्रो हुन्छ

६. गहुँ तथा अन्य अन्न

ग्यास बनाउने फ्र्यूक्ट्यान्ट अपानवायु निम्त्याउने फाइबरयुक्त जौ र गहुँजस्ता अन्नका उत्पादनमा पाइन्छ। अतः रोटी, पास्टा र अरू अन्नले अपानवायु निम्त्याउन सक्छन्।

मुख्य कुरा गहुँ, जौ र राईजस्ता केही अन्नमा ग्लुटेन पाइन्छ।

यदि तपाईँलाई ग्लुटेन सह्य हुँदैन भने त्यस्ता खानेकुरा खाएपछि तपाईँलाई ग्यास बन्ने र पेट ढुस्स हुने समस्या हुन सक्छ।

७. बन्दा, ब्रोकोली र काउली

बन्दा, ब्रोकोली, फूलभोगी, टुसा उमारिएका गेडागुडी, केल र अरू हरिया पातयुक्त तरकारीहरूमा उच्च मात्रामा फाइबर पाइन्छ र तिनलाई पचाउन तपाईँको शरीरलाई बढी समय लाग्न सक्छ।

तर तपाईँको आन्द्रामा हुने ब्याक्टेरीआलाई ऊर्जाका निम्ति ती खानेकुरा चाहिन्छ र त्यसले वायु निम्त्याउँछ।

काउली प्रजातिका यी विभिन्न तरकारीहरूमा सल्फर पाइन्छ र त्यसले अपानवायुको दुर्गन्ध निम्त्याउँछन्।

सेतो र बैजनी काउली

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सल्फर यौगिक पाइने तरकारीहरूले ग्यासलाई झन् दुर्गन्धित बनाउँछन्

८. फलफूल

स्याउ, आँप र आरुजस्ता धेरै फलफूलमा प्राकृतिक गुलियो पदार्थ फ्रूक्टोज उच्च मात्रामा पाइन्छ। त्यसका साथै कतिपय स्याउ र आरुमा फाइबर हुन्छ।

धेरै मानिसलाई फ्रूक्टोज पचाउन मुश्किल हुन्छ र शरीरभित्र ती पच्न गाह्रो हुँदा त्यसले ग्यास निम्त्याउँछ।

यद्यपि फ्रूक्टोज इन्टलरेन्स चाहिँ ल्याक्टोज इन्टलरेन्सजस्तो धेरैमा समस्याकारी हुँदैन।

अपानवायुलाई रोक्न सकिन्छ?

फलफूल, तरकारी र दालहरूले वायु निम्त्याउँछन्। तर अपानवायु हटाउनुभन्दा दैनिक धेरै मात्रामा ती खानेकुरा खानु धेरै महत्त्वपूर्ण हुन्छ।

यदि तपाईँले फाइबरयुक्त खाना खानु हुँदैन भने एक्कासि धेरै मात्रामा खाँदा त्यसले असहजता निम्त्याउन सक्छ।

गम्भीर समस्या पन्छाउनका लागि आफ्नो आहारामा बिस्तारै फाइबरयुक्त खानेकुरा थप्नुहोस्।

पानी पिउँदै गरेकी महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कब्जियतको समस्याबाट जोगिन पर्याप्त पानी खान विज्ञहरू सुझाउँछन्

पर्याप्त पानी खाँदा धेरै अपानवायु निम्त्याउने कब्जियतको जोखिम घट्छ। यदि तपाईँको आन्द्रामा दिशा रहिरहन्छ भने त्यो फर्मेन्ट भइरहन्छ र दुर्गन्धित वायु निकालिरहन्छ। हरेक खानासँगै पर्याप्त पानी पिउनुहोस् र दिनभरि शरीरमा पर्याप्त तरल पदार्थ पुर्‍याइरहनूस्।

यूकेको न्याश्नल हेल्थ सर्भिस एनएचएस पनि वायु बन्ने र पेट ढुस्स हुने समस्याबाट राहत पाउनका लागि पेपरमिन्ट चिया खान सुझाउँछ।

फिँज आउने पेयपदार्थले ग्यास निम्त्याउँछ र यदि तपाईँले त्यस्ता पेय धेरै पिउनुभयो भने सम्भवतः तिनले डकार निम्त्याउँछन् अनि तपाईँले धेरै नै वायु निष्काशन गर्नुहुन्छ।

त्यही समस्या च्यूइङ्गम चपाउँदा, सूप पिउँदा अथवा अन्नहरू लिँदा निम्तिन्छ। यदि तपाईँले हावा निल्नुहुन्छ भने कतै न कतै त्यो जान्छ नै।

के तपाईँले चिन्ता गर्नुपर्छ?

धेरै अवस्थामा ग्यास चिन्ताको कारण हुँदैन। ग्यासका धेरै अहानिकर कारकहरूको मूल्याङ्कन अथवा उपचार जरुरी हुँदैन।

कतिपय अवस्थामा धेरै ग्यास निष्काशन हुनु गम्भीर समस्याको सङ्केत हुन सक्छ। यदि तपाईँलाई चिन्ता लाग्छ भने चिकित्सकसँग परामर्श गर्नुहोस्।

दुर्गन्धित अपानवायु कतिपय औषधि सेवनको परिणाम पनि हुन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।