के थाईल्याण्डको दशकौँ पुरानो चामल खानका लागि सुरक्षित छ?

थाईल्यान्ड सरकारले वर्षौँ गोदाममा थन्किएका चामल लिलाम गरेको छ

तस्बिर स्रोत, THAILAND MINISTRY OF COMMERCE

तस्बिरको क्याप्शन, थाईल्यान्ड सरकारले वर्षौँ गोदाममा थन्किएका चामल लिलाम गरेको छ
    • Author, ओनुर इरम
    • Role, बीबीसी विश्व सेवा

थाईल्याण्ड सरकारले हालै दशकौँ पुरानो १५ हजार टन चामल लिलाम गरेको छ।

यो नियमित रूपमा हुने खालको घटना होइन।

उक्त चामल १० वर्ष देखि भण्डारण गरिएको थियो र सरकारले एउटा विवादास्पद कार्यक्रमअन्तर्गत बजार मूल्य भन्दा धेरै रकम तिरेर त्यसलाई खरिद गरेको थियो।

पूर्वप्रधानमन्त्री यिङलक चिनावातले सन् २०११ मा त्यसलाई कार्यान्वयनमा ल्याएकी थिइन्।

त्यसबेला थाईल्याण्डले ५४ टन चामल कृषकहरूबाट खरिद गरेको थियो। कृषकलाई संस्थापनको मुख्य राजनीतिक समर्थनको आधार ठान्ने गरिएको थियो।

सरकारले झन्डै २४ अर्ब डलर (३२ खर्ब १८ अर्ब रुपैयाँ) खर्च गरेर उक्त चामलको भुक्तानी दिएको थियो। अधिकांश रकम ऋण लिएर जुटाइएको थियो।

तर उक्त योजना आर्थिक रूपमा असफल भयो।

सरकारले बढी मूल्यमा त्यो चामल विक्री गर्न सकेन अनि चामलको ठूलो परिमाण सरकारसँगै रह्यो।

वाणिज्यमन्त्री फुमथाम वीचयाचाइका अनुसार अघिल्लो महिना चामलको विक्रीका लागि एउटा समिति गठन गरिएको थियो।

जुन १७ मा एउटा थाई कम्पनी भी एट इन्टरट्रेडिङ कम्पनी लिमिटेडले १ अर्ब ४ करोड डलरमा ठेक्का पाएको थियो।

दशकौँसम्म चामल भण्डारण गरियो भने के हुन्छ र थाईल्याण्डको यो चामलको भविष्य के हुन्छ?

चामल खरिद गरिएपछि के भयो?

संसारकै सबैभन्दा ठूलो चामल निर्यातकर्तामध्ये एक भए तापनि थाई सरकारले आफूले तिरेको भन्दा राम्रो मूल्यमा त्यसलाई बेच्न सकेन र उक्त योजनाका कारण १५ अर्ब डलर (२० खर्ब रुपैयाँ भन्दा बढी) नोक्सान खेप्नुपरेको थाईल्याण्डको अर्थ मन्त्रालयले जनाएको छ।

महिनौँको विरोधपछि सन् २०१४ मा प्रधानमन्त्री यीङलक चिनावातलाई सैन्य कूमार्फत सत्ताबाट निकालिएको थियो।

त्यसपछि सन् २०१७ मा उनलाई उक्त योजनाका कारण भएको नोक्सानी देखाउँदै मुद्दा चलाइएको थियो।

आफू अनुपस्थित रहँदा रहँदै चलेको सुनुवाइमा उनी लापरबाही गरेको भन्दै दोषी ठहर भइन्।

चामलको गुणस्तर कस्तो छ?

गोदाम थाईल्यान्ड

तस्बिर स्रोत, THAILAND MINISTRY OF COMMERCE

अघिल्लो महिना फुमथामले उक्त चामल सुरक्षित र गुणस्तरीय रहेको प्रमाणित गर्ने उद्देश्यले सो चामलबाट पकाएको भातलाई सञ्चारमाध्यमको अगाडि खाएका थिए।

“चामलको दाना अझै पनि सुन्दर नै छ। यसको रङ पहेँलो हुनसक्छ। १० वर्ष पुरानो चामल यस्तै देखिन्छ,” उनले सञ्चारमाध्यमहरूलाई चामलको कुनै पनि बोरामा प्वाल पारेर त्यसको गुणस्तर जाँच्न चुनौती दिँदै भने।

थाईल्याण्डको वाणिज्य मन्त्रालयले जनस्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको प्रयोगशालामा उक्त चामलको परीक्षण गराएको थियो र त्यसको परिणाम प्रेसलाई जानकारी गराएको थियो।

उनीहरूले आफ्नो परीक्षणले एफल्याक्टक्सिन, डिओक्सीनीइभालिनोल, ब्रोमाइडइन, इथाइलिन ओक्साइड वा अन्य कुनै घातक रसायन फेला नपरेको जनाएका थिए।

प्रयोगशालामा चामलको पोषण क्षमताको पनि जाँच गरिएको थियो। त्यो हाल बजारमा विक्री गरिएको चामल भन्दा कम नरहेको अधिकारीहरूले बताएका थिए।

एउटा थाई टिभी च्यानल च्यानल थ्रीले अर्को स्वतन्त्र प्रयोगशालामा अर्को परीक्षण गराएको थियो र त्यसबाट पनि सो चामल खानका लागि सुरक्षित रहेको निष्कर्ष निस्कियो।

बीबीसीले यी परीक्षणका निष्कर्षहरू प्रमाणित गर्न सकेको छैन वा यी चामलबारे स्वतन्त्र परीक्षण गराएको छैन।

के चामलको म्याद कहिल्यै गुज्रिन्छ?

संयुक्त राष्ट्रसङ्घका अनुसार निश्चित व्यवस्था गरेको खण्डमा सुख्खा र चिसो ठाउँमा हावा नछिर्ने कन्टेनरमा राखेर चामललाई लामो समय भण्डारण गर्न सकिन्छ।

अमेरिकी राइस फेडेरेशनका अनुसार चामलको पिठो उचित ढङ्गले भण्डारण गरिएको खण्डमा ‘लगभग अनन्तकालसम्म’ सुरक्षित रहन सक्छ।

चामलको जाँच

तस्बिर स्रोत, Getty Images

के चामलले आफ्नो पोषण क्षमता गुमाउँछ? र किटनाशकबारे के हुन्छ?

बीबीसीले एफएओलाई एक दशकसम्म किटनाशकको प्रयोग गर्दा त्यसले कुनै विषाक्तताको जोखिम निम्त्याउनेबारे प्रश्न गरेको थियो।

उसले सबै मापदण्ड पछ्याइएको खण्डमा त्यस्तो कुनै जोखिम नरहने हामीलाई बताएको छ।

हामीले एक दशकपछि पोषणमा ह्रास आउने सम्भावनाबारे पनि प्रश्न राखेका थियौँ।

एफएओले चामलमा थोरै मात्रामा पाइने भिटामिन जस्ता कतिपय सूक्ष्म पोषक तत्त्वको परिणाम कम हुनसक्ने बताएका छन्। तर उनीहरूका भनाइमा चामल त्यस्ता सूक्ष्म पोषक तत्त्वको मूल स्रोत होइन।

एफएओले भनेको छ: “चामल खानुको एउटा प्रमुख फाइदा भनेको त्यसमा उच्च मात्रामा स्टार्च पाइन्छ जसलाई ग्रहण गरेर शरीरले शक्ति पाउने गर्छ।”

“भण्डारणको समयमा स्टार्चको परिणाम उल्लेख्य रूपमा फेरबदल हुँदैन र त्यसले अझै पनि शक्तिको मुख्य स्रोतका रूपमा नै काम गर्छ।”

के चामलको स्वाद कुनै हिसाबले फरक हुन्छ?

चामल

तस्बिर स्रोत, Getty Images

एफएओले साधरणतया समय क्रम अनुसार चामलको स्वाद कम हुँदै जाने भए तापनि भण्डारण व्यवस्थामा त्यो निर्भर हुने बताएका छन्।

एक जना थाई टेलिभिजन प्रस्तोताले १० वर्ष पुरानो भण्डारबाट जस्मीन चामलको नमुनाको स्वाद लिएका थिए।

उनले त्यसको स्वाद ‘ह्वाइट राइस’ जस्तै भएको बताए। त्यो जस्मीन चामल जस्तै नरम, टाँसिने र बास्नादार नभएको उनको भनाइ थियो।

एकजना पूर्वनिर्वाचन कमिटी सदस्य सोमचाइ स्रीसुथियाकोर्नले पनि पुरानो चामलको नमुनाको स्वाद लिएका थिए। उनले त्यसबाट बास्ना राम्रो नआएको, त्यो टुक्रै टुक्रा अनि धुलो भएको र पर्याप्त बाक्लो नभएको बताएका थिए।

यो चामल अन्तत: कहाँ पुग्न सक्छ?

अघिल्लो वर्ष थाईल्याण्डको चामलका प्रमुख खरिदकर्ताहरू इन्डोनेशिया र दक्षिण अफ्रिका रहेका थाई राइस एक्सपोर्टर्स एशोसिएशनले जनाएको छ।

थाईल्याण्डको एउटा प्रमुख राइस मिलका पाइरोट वाङ्दीले भने: “पुरानो चामल खाने अधिकांश गरिब देशका मानिसहरू हुन्।”

दक्षिण अफ्रिकाबाहेक थाईल्याण्डले कैयौँ अन्य अफ्रिकी देशहरूलाई चामल विक्री गरेको छ।

फुमथामले थाई चामलको माग आम रूपमा अफ्रिकी देशहरूमा रहेको बताए।

थाई सरकारले विक्री गर्ने घोषणा गरे यता अफ्रिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्ना सरोकारहरू राख्दै आएका छन्।

उनीहरूले राखेका प्रतिक्रियामा भनिएको छ: “सधैँजस्तै अफ्रिका फोहोर फ्याल्ने भूमि बनेर बसेको छ।”

“अफ्रिका, विश्वले अस्वीकार गरेका वस्तुहरूको घर।”

केन्याको सरकारले आफ्नो मापदण्ड पूरा गर्ने चामललाई प्रयोगशालामा जाँचेर मात्रै भित्र्याउने बताएको छ।

लिलामीमा विजयी भी एट इन्टरट्रेडिङलाई खरिद् पूरा गर्न ३० दिनको समय सीमा दिइएको छ।

आफूले कुन देशमा विक्री गर्न लागेको हो भनेर उसले खुलाइसकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।