आइसक्रिम: यसरी स्वाद फेरिँदैछ

आइसक्रिम

तस्बिर स्रोत, Getty Images

    • Author, एड्रिएन मरी
    • Role, व्यापार प्रविधि संवाददाता, आर्हुस

चर्को गर्मीमा शीतल आइसक्रिम जस्तो सन्तुष्टि दिने एकदमै थोरै कुराहरू होलान्। तर आइसक्रिमको आनन्द लिँदै गर्दा तपाईँले कहिल्यै सोच्नुभएको छ आइसक्रिम बनाउन कति मेहनत पर्छ?

यो परम्परागत जस्तै बनेको चिसो खानेकुराको इतिहास शताब्दीऔँ पुरानो छ तर आधुनिक फ्रोजन डिजर्ट, खानापछि खाइने जमाएर राखिएको गुलियो परिकार, महिनौँको अनुसन्धान र विकासको परिणाम हुने गर्छन्।

डेनमार्कको आर्हुस शहरको बाहिरी क्षेत्रलाई आइसक्रिमको 'सिलिकन भ्याली' का रूपमा लिन सकिन्छ।

'टेट्रा प्या' को आइसक्रिम कारखाना

डेरी उत्पादन, इन्जिनियरिङ र सेवा प्रदायक सहितका व्यवसायहरूमाझ त्यहाँ एउटा खानेकुरा प्याकेजिङ गर्ने विशाल कम्पनी टेट्रा प्याकको कारखाना रहेको छ।

त्यहाँ नयाँ उत्पादनहरूको परीक्षण गर्ने क्रममा भविष्यको रेसीपी र प्रविधिहरूको परीक्षण गरिन्छ।

टेट्रा प्याक की पोर्टफोलियो म्यानेजर एल्सबेथ बोनग्राड भन्छिन्, "एउटा उत्पादनलाई बजारमा पुर्‍याउनु अघिको लामो यात्राको यो पहिलो पाइला हो।"

"हामी आगामी गर्मीयाम वा अबको दुई वर्षपछि बजारमा के देख्छौँ भनेर परीक्षण गरिरहेका छौँ।"

उद्योग

तस्बिर स्रोत, Tetra Pak

तस्बिरको क्याप्शन, टेट्रा पाक को प्रयोगशालाको कन्भेयर बेल्ट

चम्किला प्रयोगशालामा स्टीलका व्यारेलहरू, फ्रिजहरू र अण्डाकारको आइसक्रिमलाई कन्भेअर बेल्टमा पठाउने एउटा मेसिन रहेको छ।

टेट्रा प्याकका ग्राहकहरू विश्वका प्रमुख आइसक्रिम ब्रान्डहरू रहेका छन्। उनीहरू अधिकांश अवस्थामा दुई वा तीन दिन उक्त उद्योगमा नमुनाहरू बनाउँदै र परीक्षण गर्दै बिताउँछन्।

"हामी मुखमा कस्तो स्वाद आउँछ, कस्तो सम्मिश्रण छ र यदि त्यसले काम गर्छ कि गर्दैन त्यो हेर्छौ," उनले भनिन्।

कैयौँ विज्ञहरूले विशिष्ट खालका सहयोगहरू उपलब्ध गराउने गरेका छन्। उक्त उद्योगले उपभोक्ताहरूलाई नयाँ स्वादहरू चाख्न दिने गर्छ।

आइसक्रिमको ठूलो बजार कुन हो

नयाँ उत्पादनहरू बसन्तयामको अन्त्यतिर सार्वजनिक गरिन्छन्। त्यसपछि गर्मीयामको लागि उत्पादनलाई तीव्रता दिइन्छ।

"जाडोयाममा अन्वेषणका लागि एकदमै ठूलो लगानी हुन्छ," टेट्रा प्याककी आइसक्रिम एकाडमीका म्यानेजर टोर्बेन भिल्सगार्ड भन्छन्।

अमेरिका र चीन सबैभन्दा ठूला उपभोक्ता हुन्। टेट्रा प्याकका अनुसार २५ अर्ब लिटर भन्दा बढी आइसक्रिम सन् २०२१ मा संसारभर खपत भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चाँदीभन्दा महँगो भनिला

यसैबीच यूकेमा अत्यधिक गर्मीका कारण यो वर्ष आइसक्रिमको विक्री उच्च रह्यो। निल्सनआइक्यूको तथ्याङ्कहरूका अनुसार एक वर्षअघिको तुलना गर्दा यस वर्षको मध्य अगस्टमा २८ प्रतिशत बढी आइसक्रिम विक्री भएको थियो।

आइसक्रिम कसरी बन्छ?

सबैभन्दा पहिला दूधको जोहो गरिन्छ। दूध र पानीमा सुख्खा सामग्रीहरू जस्तै पाउडर दूध, चीनी, दुग्धजन्य पदार्थ वा वनस्पति तेलहरू मिसाइन्छ। यो तरल सामग्रीलाई तताइन्छ, एकनासको बनाइन्छ, चिसो पारिन्छ र जमाएर राखिन्छ।

सेतो कोट लगाएका भिल्सगार्डले मलाई यो प्रक्रियाबारे जानकारी दिन्छन्। उनले स्वाद र रङ्गका लागि अरू सामग्री र त्यसलाई लामो समय प्रयोग गर्न मिल्ने बनाउन आवश्यक तत्त्व मिसाइने बताए।

"त्यसले एउटा खालको स्वरूप दिन्छ। त्यहाँबाट स्वाद पाइन्छ र खाएपछि त्यो पग्लन थाल्छ।"

त्यति गरिसकेपछि त्यसलाई निरन्तर फ्रिजरमा पठाइन्छ। "यो कुनै पनि आइसक्रिम उत्पादन केन्द्रको मुटु हो।"

एलिसवेथ बउनग्राडले आइसक्रिमबारे दुई दशकभन्दा बढी समय काम गरेकी छन्

तस्बिर स्रोत, TETRA PAK

तस्बिरको क्याप्शन, एलिसवेथ बउनग्राडले आइसक्रिमबारे दुई दशकभन्दा बढी समय काम गरेकी छन्

सानो युनिटले प्रति घण्टा ७०० लिटर उत्पादन गर्छ तर व्यावसायिक स्तरका फ्रिजरबाट ४ हजार लिटरसम्म उत्पादन हुन्छ।

एउटा घुम्ने सिलिन्डरमा उक्त मिश्रणलाई द्रुत गतिमा चिसो पार्ने र थिच्ने गरिन्छ र त्यसमा हावालाई पनि प्रवेश गराइन्छ। आइसक्रिम अलिकति नरम बन्छ त्यसपछि यसलाई एउटा टबमा राखिन्छ र कम तापक्रममा भण्डारण गरिन्छ।

आइसक्रिम बनाउने तरिका सुन्दा साधारण भएपनि त्यसमा एउटा जटिल रासायनिक प्रक्रिया अवलम्बन गरिन्छ। उक्त प्रक्रियामा पानी र चिनीको मिश्रणमा बरफको टुक्राहरू, हावाको फोका र फ्याटको ग्लोब्युलहरूको प्रयोग गरिन्छ।

युनिभर्सिटी कलेज लण्डनमा आइसक्रिम उत्पादन अध्यापन गराउने चिका इन्विक भन्छिन्, "यो त्यस्तो केही थोरै उत्पादन मध्ये हो जुन एकैचोटी ठोस, तरल र ग्यास तीनवटै अवस्थामा हुन्छ।"

बायोकेमिकल इन्जिनियरिङ फेलो इन्विकका अनुसार साधरणतया तरल पदार्थ र तेलबीच राम्रोसँग मिश्रण हुँदैन। तर इमल्सिफायरको प्रयोगले आइसक्रिममा रहेको फ्याटलाई तरल पदार्थमा टास्ने उनको भनाइ छ।

आइसक्रिमलाई स्थायित्व दिनका लागि सही सन्तुलन मिलाउनु आवश्यक रहेको उनले बताइन्।

कस्ता अनुसन्धान भइरहेका छन्

इन्विकका अनुसार आइसक्रिम बनाउन प्रयोग गरिने सामग्रीहरूमा बदलाव देखा परिरहेको छ विशेष गरी चिनीको विकल्पमा के राख्न सकिन्छ भन्नेबारे कैयौँ अनुसन्धानहरू भइरहेका छन्।

त्यसमा कतिपय अप्रत्याशित तत्वहरू पनि छन्।

"त्यसको ५० प्रतिशत वायु पनि हुनसक्छ," आइसक्रिमलाई स्कूपमा अडिन योग्य बनाउन हावाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै इन्विकले भनिन्।

आइसक्रिम उत्पादन गर्ने उद्योगभित्र जडान प्रविधि

तस्बिर स्रोत, Tetra Pak

व्यावसायिक उत्पादन बढ्दो रूपमा स्वचालित प्रविधिमा निर्भर छ र टेट्रा प्याकका इन्जिनियरहरूले दैनिक दश लाख आइसक्रिम बनाउने उद्योगमा काम गर्दै आएका छन्।

उक्त फर्मले उसका उपकरणका मद्दतले विश्वका आधा आइसक्रिम उत्पादन गरिरहेको आकलन गरेको छ।

हालै उसले कोबोट नामक रोबट पनि उद्योगमा खटाएको थियो जसले त्यसका कर्मचारीहरूसँग मिलेर आइसक्रिम भाँडाहरूमा भर्ने काम गरेको थियो।

डिजाइनरहरूले विभिन्न स्वाद र जनावर जस्ता विभिन्न आकृति बनाउनका लागि विशेष नोजल, थ्रिडी प्रिन्ट विकास गरिरहेका छन्।

तर आइसक्रिमलाई चिसो बनाइराख्न अत्यन्त धेरै ऊर्जा आवश्यक पर्छ। एल्सबेथ बोनग्राड उनी र उनका सहकर्मीहरूले विशेष चिस्यान पद्धतिमा काम गरिरहेको बताउँछिन्।

अघिल्लो वर्ष २५ अर्ब लिटर भन्दा बढी आइसक्रिम विक्री भएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अघिल्लो वर्ष २५ अर्ब लिटर भन्दा बढी आइसक्रिम विक्री भएको थियो

कतिपय फर्महरूले नवीन पद्धतिको विकास गरिसकेका छन्।

उदाहरणका लागि अमेरिकी कम्पनी कोल्ड स्न्यापले 'आइसक्रिम पड' को विकास गरेको छ जसले तपाईँले खाने बेलामा आइसक्रिमलाई चिस्याइदिन्छ। उक्त उपकरणले फ्रिजमा आइसक्रिमलाई भण्डारण गर्न लाग्ने ऊर्जालाई जोगाउँछ।

तर टेट्रा प्याकको प्रयोगशाला भित्र सानो कोन र आकारको आइसक्रिमको चर्चा छ। बोनग्राड गुणस्तरमा जोड दिइएको बताउँछिन्।

त्यो विश्वव्यापी प्रवृति भएको बताउँदै मिन्टेलकी खानेकुरा र पेय पदार्थ सम्बन्धी विश्लेषक केट भ्लीएटस्ट्राले मानिसहरू स्वस्थ्य र कम क्यालोरी भएकामा भन्दा स्वादको विविधतामा धेरै आकर्षित भइरहेको बताइन्।

नयाँ र पुराना दुवै पुस्ताका मानिसहरू आइसक्रिमका ग्राहकहरू हुन्।

तर केटका अनुसार मिलेनिअल भनिने नयाँ पुस्ताहरूको रूचिका कारण अलैँची वा खुर्सानी जस्ता मौलिक स्वादका आइसक्रिमहरूप्रति चासो बढिरहेको छ।