थाईल्यान्डको सडकमा जब कारमा चढाएर सिंह डुलाएको देखियो
थाईल्यान्डमा पतायाको सडकमा घरपालुवा सिंह चढेको एउटा कार गुडिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि एक महिला पक्राउ परेकी छन्।
उक्त भिडिओमा पछाडिपट्टिको भाग खुल्ला हुने बेन्ट्ली कारमा सिंहको बच्चा बसेको देखिन्छ।
घाँटीमा पेटी बाँधिएको उक्त सिंहलाई कारमा राखेर डुलाउने व्यक्ति श्रीलङ्काका एक पुरुष थिए। उनले थाईल्यान्ड छाडिसकेका छन्।
ती व्यक्ति अहिले पक्राउ परेकी महिला सवाङ्जित कोसुङ्ननका साथी भएको ठानिएको छ।
थाईल्यान्डमा सिंह पाल्नु गैरकानुनी नभए पनि त्यसका लागि दर्ता गराउनुपर्ने नियम छ।
थाई अधिकारीहरूका अनुसार सवाङ्जितले उक्त सिंह थाईल्यान्डकै अर्को एक प्रान्तबाट किनेको र बेच्ने व्यक्तिले पतायासम्म सिंह आफू भएको ठाउँमा ल्याउन सहयोग गरेको दाबी गरेकी छन्।

तस्बिर स्रोत, Ann Isaanrussia
कस्तो अभियोग
तर सिंह ढुवानी गर्नुअघि ती व्यक्तिले आधिकारिक निकायबाट सिंह पालेको ठाउँको जाँच नगराएको र सिंह पाल्ने स्वीकृति पनि नलिएको हुनाले उक्त जनावर पाल्ने र ओसारप्रसार गर्ने काम दुवै गैरकानुनी मानिएको छ।
सवाङ्जितलाई नियन्त्रित वन्यजन्तु बिनाअनुमति पालेको अभियोग लागेको छ।
यस्तो अभियोगमा एक वर्षसम्मको जेल सजायका साथै एक लाख थाई भाट जरिवाना तिर्नुपर्ने हुन सक्छ।
प्रहरीले उक्त सिंह घुमाउने श्रीलङ्काली नागरिकको पनि खोजी गरिरहेको बताइएको छ। उनले आफू भाडामा बसेको एउटा घरमा त्यो सिंह राखेका थिए।
तर उनी थाईल्यान्डमा नभएका कारण पक्राउ परेका छैनन्।
उनलाई नियन्त्रित वन्यजीवलाई सार्वजनिक स्थलमा लगेको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ। त्यस्तो कसुरमा छ महिना कारावास र ५०,००० थाई भाट जरिवाना हुन सक्छ।
स्वाङ्जितलाई सिंह बिक्री गर्ने व्यक्तिलाई पनि अनुमति नलिई वन्यजन्तु ओसारप्रसार गरेको अभियोग लाग्ने भएको छ।
अधिकारीहरूका अनुसार थाईल्यान्डमा अनुमति लिएर पालिएका सिंहको सङ्ख्या २२४ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









