विश्व झन्‌झन् तातो बन्दै जाँदा मानिसको मस्तिष्कमा पनि त्यसको प्रभाव

मस्तिष्कको चित्र

तस्बिर स्रोत, Serenity Strull/Getty Images

    • Author, थेरेस लुथी
    • Role, बीबीसी फ्यूचर

पाँच महिनाका जेक एक दिन अचानक बेहोस भए। उनको सानो शरीर कडा भयो र काम्न थाल्यो। त्यतिबेला असाध्यै गर्मी थियो। उनको शरीर असाध्यै तातेको थियो। उनकी आमा स्टेफनी स्मिथले भनिन् , "हामी सबभन्दा डरलाग्दो कुरा देख्नपर्ने हो कि भनेर त्रस्त थियौँ।"

तातो मौसममा बेहोस हुने समस्या बढ्छ। जब जब वातावरण उष्ण र आर्द्र हुने गर्मी मौसम आउँथ्यो, जेकको परिवारले उनलाई ठण्डा राख्ने उपायहरू खोज्थ्यो र फेरि बेहोस हुने क्रम नदोहोरियोस् भन्ने प्रयत्न गरिन्थ्यो।

जेक १८ महिना पुग्दा एउटा आणुवंशिक परीक्षण गरियो। उनलाई 'ड्राभेट सीन्ड्रोम' भएको खुट्याइयो। यो एउटा स्नायुसम्बन्धी समस्या हो जसमा एक प्रकारको छारे रोगको जस्तो अवस्था हुन्छ र यसले १५ हजारमा एक बच्चालाई असर गर्छ। बेहोसीसँगै संज्ञानात्मक अक्षमता र अटिजम् तथा एडीएचडी जस्ता समस्या पनि आउन सक्छन्। बोल्न, हिँडडुल गर्न, खान र सुत्न कठिन हुन सक्छ। चर्को गर्मी र अचानक हुने तापक्रम परिवर्तनले मानिसलाई बेहोस बनाउन सक्छ।

जेककी आमा भन्छिन्, जेक अहिले १३ वर्षका भए र उनी मौसम परिवर्तनसँगै अनेक पटक बेहोस भएका छन्। "झन् झन् बढ्दै गइरहेको गर्मी र उष्ण लहरले विनाशकारी स्थिति तथा जीवनको बोझ बढाइरहेको छ।"

जलवायु परिवर्तनले मानिसको मस्तिष्कमा पर्ने प्रभावबारे काम गर्नेमा एक अग्रणी व्यक्ति युनिभर्सिटी कलेज लन्डनका सञ्जय सिसोदिया भन्छन्, "ड्राभेट सिन्ड्रोम कैयौँ स्नायु सम्बन्धी रोगमध्ये एक हो जुन उच्च तापक्रमका बेला झन् बढ्छ।"

छारे रोग विशेषज्ञ डा. सिसोदियाले बिरामीका परिवारका सदस्यबाट बिरामीलाई उष्ण लहरको बेला झन् बढी समस्या पर्ने गरेको सुन्ने गरेका थिए। "अनि मैले सोचेँ, जलवायु परिवर्तनले मस्तिष्कलाई पनि त पक्कै असर गर्छ होला? आखिरमा शरीरले गर्मीलाई कसरी झेल्छ भन्ने बारेमा हाम्रो मस्तिष्कमा कति धेरै प्रक्रिया हुने गरेको छ।"

उनले वैज्ञानिक लेखहरू पढ्दा थाहा पाए: तापक्रम र आर्द्रता बढ्दा कैयौँ स्नायुसम्बन्धी अवस्थाहरू जस्तो कि छारे रोग, मस्तिष्काघात, इन्सेफलाइटिस, स्क्लेरोसिस र माइग्रेनको समस्या बढ्छ।

उनले जलवायुका कारण हाम्रो मस्तिष्कमा भइरहेको परिवर्तन अहिले नै बाहिर देखिन थालिसकेको पत्ता लगाए।

उदाहरणका लागि सन् २००३ को युरोपमा भएको उष्ण लहरका बेला भएका थप ७ प्रतिशत मृत्यु प्रत्यक्ष रूपमा स्नायुसम्बन्धी समस्याका कारण भएको थियो। त्यस्तै खालको तथ्याङ्क सन् २०२२ को यूकेको उष्ण लहरका बेला पनि देखिएको थियो।

तापक्रमले हाम्रो मस्तिष्कको कार्य प्रणालीलाई पनि परिवर्तन गरिदिन सक्छ जसले हामीलाई थप हिंसक, चिढिएको वा उदास बनाइदिन सक्छ।

जलवायु परिवर्तनका कारण विश्व झन् झन् तातो बन्दै जाँदा हाम्रो मस्तिष्कलाई कस्तो असर पर्ला भन्ने हामी अपेक्षा गर्न सक्छौँ?

चर्को घाम लागेको सडक छेउमा एक वृद्ध व्यक्ति रुखको छायाँमुनि बसेको र एक जवान पुरुष अनुहारमा पसिना पुछिरहेको दृश्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चर्को उष्ण लहरले हाम्रो मस्तिष्कको कम गर्ने तरिकामा प्रभाव पार्न सक्छ, जसले हाम्रो व्यवहार, मूड र स्नायुसम्बन्धी समस्या ल्याइदिन सक्छ

मानव मस्तिष्कको तापक्रम बाँकी शरीरको तापक्रमभन्दा औसतमा १ डिग्रीभन्दा विरलै बढी हुन्छ। हाम्रो शरीरको सबभन्दा धेरै ऊर्जा चाहिनेमध्ये एक अङ्ग मस्तिष्कले हामीले सोचेका बेला, सम्झन खोजेका बेला र आफ्नो वरिपरि भएका कुराहरूप्रति प्रतिक्रिया जनाउन खोज्दा उसले आफै पनि ताप उत्पन्न गरिरहेको हुन्छ। यसको अर्थ हाम्रो शरीरले मस्तिष्कको तापक्रम चिसो राखिराख्न कडा मेहनत गर्नुपरिरहेको हुन्छ। धमनीहरूको सञ्जालले मस्तिष्कमा उत्पन्न हुने सामान्यभन्दा बढ्ता तापक्रमलाई फ्याँक्न सहयोग गरिरहेका हुन्छन्।

हाम्रो मस्तिष्कका कोषहरू तापप्रति अत्यधिक संवेदनशील हुने भएकाले त्यो आवश्यक छ।

र उनीहरूबीच सन्देश यता उता गर्ने केही अणुको काम पनि तापमानमा निर्भर रहने मानिन्छ।

यदि हाम्रो मस्तिष्क असाध्यै तातो वा चिसो भयो भने त्यसले प्रभावकारी रूपमा काम गर्न सक्दैन।

सिसोदिया भन्छन्, "यो जटिल कुरामा कुन कुन तत्त्व कसरी प्रभावित हुन्छन् भन्ने हामीले बुझिसकेका छैनौँ। तर हामीले यसलाई एउटा घडीका रूपमा कल्पना गर्ने हो भने त्यसका विभिन्न पार्टपुर्जाले एकसाथ राम्ररी काम नगरेको भन्ने कल्पना गर्न सक्छौँ।"

अत्यधिक गर्मीले जो सुकैको मस्तिष्कको सोच्ने तरिकामा परिवर्तन गरिदिन्छ। त्यसले मानिसहरूको निर्णय गर्ने क्षमतामा नकारात्मक प्रभाव पार्न सक्छ जसले गर्दा त्यस्तो बेला मानिसहरू ज्यादा जोखिमयुक्त निर्णय गर्न सक्छन्। स्नायुसम्बन्धी समस्या भएकाहरू धेरैजसो प्रभावित हुन सक्छन्। उदाहरणका लागि कुनै कुनै रोगमा पसिना आउन रोकिन सक्छ।

"तापमान नियमन मस्तिष्कको एक क्रियाकलाप हो र यदि मस्तिष्कको कुनै भागले राम्ररी काम गरेको छैन भने त्यसले तापमान नियन्त्रणको काम प्रभावित पार्न सक्छ," सिसोदिया भन्छन्।

उदाहरणका लागि, मल्टिपल स्क्लेरोसिसका कुनै प्रकारमा, शरीरको मुख्य तापमान परिवर्तन भएको पाइन्छ। त्यसबाहेक स्क्टिजोफ्रेनिया जस्तो स्नायुसम्बन्धी र मानसिक स्थितिको उपचारमा प्रयोग हुने केही औषधीले तापमान नियन्त्रणमा प्रभाव पार्छन् जसका कारण यिनको उपचारमा रहेका मानिसलाई 'हीटस्ट्रोक' हुने जोखिम बढ्न सक्छ वा अत्यधिक तापक्रमप्रति उनीहरू संवेदनशील हुन पुग्छन् र गर्मीसँग सम्बन्धित मृत्युको जोखिम बढ्न पुग्छ।

फ्रान्समा उष्णलहरका बेला पानी पिउँदै गरेकी एक महिलाको तस्बिर

तस्बिर स्रोत, Magali Cohen/Hans Lucas/AFP via Getty Images

तस्बिरको क्याप्शन, जलवायु परिवर्तनका कारण विश्वका कैयौँ ठाउँमा उष्ण लहर लामो समयका लागि आउने र अझ चर्को बन्दै गइरहेका छन्

उष्णलहर र खासगरी रातिमा बढेको तापक्रमले मानिसहरूको सुताइलाई प्रभावित पार्न सक्छ जसले गर्दा हाम्रो मूड र केही अवस्थाका लक्षणलाई थप नराम्रो अवस्थामा पुर्‍यादिनसक्छ। "छारे रोग भएका मानिसमा कमजोर निन्द्राले मान्छे बेहोस हुने खतरा बढाइदिन्छ," सिसोदिया भन्छन्।

उष्ण लहरका बेला स्मरण शक्ति ह्रास हुने समस्या भएका मानिसमा पनि अस्पताल भर्ना र मृत्युदर बढ्ने प्रमाणहरूले देखाउँछन्।

यसको एक कारण उमेर पनि हुन सक्छ - वृद्ध मानिसहरू आफ्नो शरीरको तापक्रम नियन्त्रित गर्न कम सक्षम हुने गर्छन् र उनीहरूको संज्ञानात्मक परिवर्तनले पनि उच्च तापक्रममा अनुकूलित हुन मुस्किल हुन्छ। उनीहरू पानी कम पिउन सक्छन् र उदाहरणका लागि झ्यालहरू बन्द गर्न र उच्च तापक्रम भएका जान नहुने ठाउँमा जान सक्छन्।

मस्तिष्कघातका घटना र मृत्युदरमा बढोत्तरीलाई पनि बढ्दो तापक्रमसँग जोडेर हेर्ने गरिएको छ। एक अध्ययनमा २५ मुलुकको मृत्युदर विश्लेषण गरिएको छ त्यसमध्ये इस्केमिक मस्तिष्काघातले हुने १,००० मृत्युमध्ये असाध्यै गर्मी दिनमा थप २ मृत्यु हुने गर्छ भनिएको छ।

यूकेको ससेक्स युनिभर्सिटी हस्पिटलमा बुढ्यौली विज्ञ बेथन डेभिस भन्छिन्, "यो त्यति ठूलो सङ्ख्या होइन जस्तो लाग्छ तर संसारभरमा मस्तिष्काघातका कारण हुने ७० लाख मृत्युमध्ये बढेको तापले गर्दा हरेक वर्ष थप १० हजार मानिसको मृत्यु हुने गर्छ।" उनी र रिपोर्टका सह लेखकले आगामी दिनमा जलवायु परिवर्तनका कारण थप मानिसको त्यसरी मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।

गर्मीसँग सम्बन्धित मस्तिष्काघातको एक ठूलो हिस्सा मध्य तथा न्यून आय भएका मुलुकहरूमा हुने छ जसले अहिले नै जलवायु परिवर्तनको मारमा परेका छन् र मस्तिष्काघातको समस्या हुने गरेका मुलुकमा पर्दछन्।

डेभिस भन्छिन्, "बढ्दो तापक्रमले देशहरूबीच र सामाजिक समूहबीच विद्यमान स्वास्थ्य असमानता अझ बढाइदिनेछ।"

विभिन्न प्रमाणहरूले देखाएका छन् कि वृद्ध तथा सामाजिक आर्थिक अवस्था न्यून भएका मानिसहरू तापमान सम्बन्धित मृत्युको बढी खतरामा पर्छन्।

तातो विश्वले सबभन्दा साना व्यक्तिहरूको स्नायु विकासमा पनि क्षति पुर्‍याइरहेको छ। "समय अगावै जन्मिने जस्ता गर्भवती बेलामा हुने समस्या र अत्यधिक तापक्रमबीच सम्बन्ध छ," इम्पिरिअल कलेज लन्डनमा ग्लोबल विमिन्स हेल्थकी प्रोफेसर जेन हर्स्ट भन्छिन्।

एउटा त्यस्तै वैज्ञानिक अनुसन्धान विश्लेषणले देखाए अनुसार उष्ण लहरका कारण समय नपुगी जन्मनेको सङ्ख्या २६ प्रतिशत छ जसले स्नायु विकासमा ढिला हुने तथा संज्ञानात्मक हानी हुन सक्छ।

हर्स्ट भन्छिन्, "तर अहिले हामीलाई धेरै कुरा थाहा छैन। को सबभन्दा धेरै असुरक्षित छन् र किन? किनभने हरेक वर्ष १३ करोड महिलाले बच्चा जन्माउँछन् र तीमध्ये धेरै तातो मुलुकमा छन् र यस्तो समस्या तिनमा देखिने गरेको छैन।"

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मीले मस्तिष्कमाथि अतिरिक्त दबाव पार्न सक्छ जसले गर्दा हुने क्षतिले न्यूरोडिजेनेरेटिभ (स्नायु कमजोर हुँदै जाने) रोग हुन सक्छ। तापले मस्तिष्क रक्षा गर्ने प्रक्रियालाई पनि प्रभावित गर्छ जसले गर्दा विषाक्त पदार्थ, ब्याक्टेरिया र भाइरस मस्तिष्कमा प्रवेश गर्ने जोखिम बढ्छ।

तापक्रम बढ्दै जाँदा यो अझ महत्त्वपूर्ण हुने छ किनभने बढेको तापक्रममा लामखुट्टेको सङ्ख्या विस्तार हुनेछ जसको टोकाइबाट जिका, चिकुनगुन्या र डेङ्गीजस्ता स्नायु सम्बन्धित रोग पनि बढ्न जान्छ।

स्वीस ट्रपिकल एन्ड पब्लिक हेल्थ इन्स्टिट्यूटका मेडिकल एन्टोमोलिस्ट टोबियस सटर भन्छन्, " जिका भाइरसले भ्रूणलाई असर पार्न सक्छ। बढ्दो तापक्रम र कम जाडो हुने हिउँद याम भनेको लामखुट्टेको प्रजनन समय छिटो सुरु हुने र ढिलो अन्त्य हुने पनि हो।"

ढाका बाङ्ग्लादेशको पछिल्लो उष्ण लहरका बेला एक पुरुष टाउकोमा पानी छ्याप्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बढ्दो विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनले हाम्रो शरीर र मस्तिष्कमा थप तनाव सिर्जना गर्छ

उष्ण लहरले कैयौँ कारकहरूलाई प्रभावित गर्न सक्छन् जस्तो कि स्नायु कोशिकामा विद्युतीय उत्तेजनादेखि लिएर आत्महत्याको जोखिम वा जलवायुसम्बन्धी चिन्ता र स्नायुसम्बन्धी स्थितिमा औषधी खाइरहनु पर्नेसम्म।

बढ्दो तापक्रमले हाम्रो मस्तिष्कलाई कसरी प्रभाव पारिरहेको छ भन्ने वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्। तापले मानिसलाई धेरै तरिकाले प्रभाव पर्छ। केही तातो मौसममा रमाउँछन् भने केहीलाई त्यो असहनीय हुन्छ। "यस्तो फरक खालको अनुभवका लागि विभिन्न प्रकारका तत्त्वहरू कारक हुन सक्छन् तीमध्ये एक आणुवंशिक चरित्र हुन सक्छ," सिसोदिया भन्छन्।

आणुवांशिक परिवर्तनले प्रोटीनको संरचना प्रभावित गर्न सक्छ जसले गर्दा केही व्यक्ति जलवायु परिवर्तनबाट तुलनात्मक रूपमा धेरै प्रभावित हुन सक्छन्।

"त्यहाँ लुकेर बसेका समस्या पनि हुन सक्छ्न र ती वातावरणीय दबाव बढ्दै जाँदा प्रष्ट हुँदै जाने छन्," उनी भन्छन्, "स्नायुसम्बन्धी समस्या भएका मानिसमा अहिले देखिएका समस्या जलवायु परिवर्तन अगाडि बढ्दै जाँदा अहिले स्नायुसमस्या नदेखिएका मानिसमा पनि सान्दर्भिक हुन जान सक्छ।"

जबाफ खोज्न बाँकी अन्य प्रश्नहरू पनि छन्। उदाहरणका लागि अधिक तापमानले कि लुको समय वा रातिको तापक्रममा सबभन्दा ज्यादा असर पार्छ ? यो हरेक व्यक्ति तथा स्नायुसम्बन्धी स्थिति हरेक व्यक्तिका लागि फरक फरक हुन सक्छ।

को खतरामा परेका छन् भन्ने पत्ता लगाउनु र सबभन्दा कमजोर वर्गमा पर्नेलाई बचाउन रणनीति बनाउनु महत्त्वपूर्ण भएको छ। यसमा पूर्व सूचना प्रणाली वा अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरूका लागि क्षतिपूर्ति या बिमा उपलब्ध गराउनु हुन सक्छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जुलाई २०२३ लाई अहिलेसम्मको सबभन्दा गर्मी महिना घोषणा गर्दै भने , "ग्लोबल वार्मिंङको युग समाप्त भएको छ अहिले ग्लोबल बोइलिङ अर्थात् उम्लिने युग आएको छ ।"

जलवायु परिवर्तन आइसकेको छ र यो बढ्दै गइरहेको छ। तातेको मस्तिष्कको युग बल्ल सुरु हुँदै छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।