'माइन्डफुल्नेस' के हो र यसले हाम्रो मानसिक स्वास्थ्यलाई कसरी सुधार गर्न सक्छ

तस्बिर स्रोत, Getty Images
- Author, मेज्डी गोसुस
- Role, बीबीसी न्यूज अरेबिक
एक दिन इन्स्टाग्राममा 'स्क्रोल' गरिरहँदा एउटा भिडिओ देखेर म टक्क रोकिएँ।
"अबको १० वर्षमा त्योबेलाको तपाईँले अहिलेको क्षणमा अलि बढी रमाउनका लागि बिन्ती गरिरहको हुनुहुने छ," स्क्रीनमा लेखिएको थियो।
यसले मलाई वर्तमानमा बाँच्नुपर्छ भन्ने कुरा सम्झायो जसका लागि हामी धेरैजसोले सङ्घर्ष गरिरहेका हुन्छौँ।
'माइन्डफुल्नेस' पनि भनिने यो अभ्यासले मानिसहरूलाई तत्क्षणमा आफ्ना विचार, भावना र वरपरका कुरामा ध्यान दिन प्रेरित गर्छ।
हाम्रो जीवन झन् व्यस्त हुँदै गएको महसुस भए पनि विज्ञहरू 'माइन्डफुल्नेस' कुनै विलासिता नभई मानसिक स्वास्थ्यको हेरचाह गर्नका लागि आवश्यक कुरा रहेको बताउँछन्।
'मलाई थाहा थिएन म मेरा उत्कृत्ट वर्षहरू बिताइरहेको थिएँ'
"मैले आफैँलाई अझ राम्रो बनाउन खोज्दै वर्षौँ बिताएँ र म वास्तवमा ठिकै थिएँ भन्ने कुरा बिर्सिएँ," जोर्डनकी ३७ वर्षीया तन्दरुस्ती प्रशिक्षक जेइना भन्छिन्।
आफूले २० वर्षको उमेरमा आफ्नो रूप र तौलमा धेरै ध्यान दिने गरेको तथा आफूलाई सधैँ अपूर्ण महसुस गर्ने गरेको उनले बताइन्।
तर अहिले भने आफ्ना पुराना तस्बिरहरू हेर्दा उनी आफू आफैँप्रति त्यतिबेला एकदमै कठोर भएको महसुस गर्छिन्।
कम्प्युटर इन्जिनियरका रूपमा काम गर्ने रइद जागिर गुमाएपछि आफूले जीवन बुझ्ने मौका पाएको बताउँछन्।
"म सधैँ काममा चाप भएको गुनासो गरिरहन्थेँ र आफ्नो जागिर फेर्न पाइयोस् भन्ने चाहन्थेँ। तर अहिले जब मैले जागिर गुमाएँ, बिहानको ट्राफिक जामदेखि ती दिनका एकएक कुरा म सम्झिन्छु," उनले बीबीसीसँग भने।
मासिक तलबले उनलाई मानसिक र आर्थिक स्थिरता दिन्थ्यो भने उनको परिवारलाई अझै राम्रो जीवन दिन पनि सहयोग गरेको थियो।
"मैले महसुस गर्न सकिनँ कि म जीवनका सबैभन्दा राम्रा वर्षहरू बाँचिरहेको थिएँ।"

तस्बिर स्रोत, Getty Images
अहमद दुई सन्तानका पिता हुन्। उनी आफ्ना छोराछोरी छिट्टै हुर्किऊन् र आफ्ना लागि समय होस् भन्ने चाहने गर्थे।
तर सन्तान जब किशोरावस्थामा पुगे, उनको बुझाइ पूर्ण रूपमा फेरियो।
"उनीहरू चिच्याउँदा र प्रश्नहरू सोधिरहँदा तिनीहरूको होहल्लाले मलाई झर्को लाग्थ्यो," उनले भने।
"अहिले भने म ती दिनहरू, उनीहरूका स्वरहरू र उनीहरूका स्वतःस्फूर्त कुराहरू सम्झिन्छु। धेरै ढिला मैले महसुस गरेँ कि उनीहरूको होहल्ला मेरो जीवनको सबैभन्दा सुन्दर कुराहरू थिए।"
हामी किन अहिलेको पललाई बेवास्ता गर्छौँ?

तस्बिर स्रोत, Getty Images
जेइना, रइद र अहमदका कुराले कसरी धेरै मानिसहरू समय बितिसकेपछि मात्रै त्यो क्षणको महत्त्व बुझ्छन् भन्ने देखाउँछन्।
"मनोवैज्ञानिक र स्नायुविज्ञानको दृष्टिकोणबाट हेर्दा मानिसहरू स्वभावतः 'दिमागको यात्रा' तर्फ झुकाव राख्छन्, जहाँ उनीहरूले आफ्ना धेरैजसो जागृत समय विगतका घटनाहरू र भविष्यका अपेक्षाहरूबीच यात्रा गर्दै बिताउँछन्," डा. नवाफ अल-रिफाईले भने। उनी जोर्डनमा रहेको इर्बिड मेडिकल कन्सल्टिङ सेन्टरका मनोवैज्ञानिक हुन्।
"यो प्रक्रिया मस्तिष्कका केही भागहरूसँग सम्बन्धित हुन्छ, जसलाई 'डिफल्ट नेटवर्क' भनिन्छ, जुन सोचविचार र योजना बनाउने काममा जिम्मेवार हुन्छ," उनले भने।
तर केहीका लागि यो प्रक्रिया निरन्तर ध्यान भङ्ग हुने स्रोत बन्न सक्छ।
अल-रिफाईका अनुसार वर्तमान क्षणमा बस्न सङ्घर्ष गर्ने मानिसहरू असावधान होइनन् तर उनीहरू 'मानसिक रूपमा अत्यन्तै व्यस्त' हुन्छन्।
उनीहरू धेरै सोच्नाले समाधानहरू भेटिने विश्वास गर्छन्।
"तर वास्तविकतामा यस्तो सोचाइले उनीहरूलाई सन्तुष्टि वा उत्पादनशीलताको अनुभूतिभन्दा टाढा लैजान्छ," उनले भने।
'माइन्डफुल्नेस'को कुरा कहाँबाट आयो?
'माइन्डफुल्नेस'को अभ्यास बौद्ध परम्परामा प्रयोग गरिने ध्यानविधिसँग सम्बन्धित छ र यो ज्ञान प्राप्तिको मार्गमा एउटा आधारभूत हिस्सा मानिन्छ।
सन् १९६० को दशकमा वैज्ञानिकहरूले यस विधिलाई पीडा र मानसिक समस्यासम्बन्धी बिरामीहरूको उपचारमा प्रयोग गर्दा हुने फाइदाहरूबारे अध्ययन गर्न थाले।
अमेरिकी प्राध्यापक जोन कबात-जिन यो क्षेत्रका सुरुवाती अगुवामध्ये एक हुन्।
उनले सन् १९७९ मा म्यासचूसेट्स मेडिकल सेन्टरमा 'माइन्डफुल्नेस-बेस्ड स्ट्रेस रिडक्सन' (एमबीएसआर) कार्यक्रम स्थापना गरे।
आठहप्ते कार्यक्रमअन्तर्गत उनले चरम पीडामा रहेका बिरामीहरूलाई 'माइन्डफुल्नेस'का आधारभूत अभ्यासहरू गर्न आग्रह गरे।
उनले धेरै नसोची वर्तमान क्षणप्रति सजग हुँदा मानिसहरूलाई दैनिक तनावको सामना गर्न सहयोग पुग्ने र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने पत्ता लगाए।
उनले आफ्ना अनुसन्धानका निष्कर्षहरू चिकित्सकीय जर्नलहरू र पुस्तकहरूमा प्रकाशित गरे, जसले चिकित्सा क्षेत्रमा 'माइन्डफुल्नेस'लाई लोकप्रिय बनायो।
अहिले यूकेको न्याश्नल हेल्थ सर्भिस (एनएचएस)लगायत विभिन्न चिकित्सकीय उपचार केन्द्रहरूमा 'माइन्डफुल्नेस'लाई एउटा प्रभावकारी थेरपीका रूपमा प्रयोग गरिन्छ।
अदृश्य तुलनाको दौड

तस्बिर स्रोत, Getty Images
सामाजिक सञ्जालले हाम्रो दैनिक जीवनमा गहिरो प्रभाव पारिरहेको अहिलेको समयमा तुलना गर्न धेरै प्रयास गरिरहनै पर्दैन - औँलाले गर्ने एउटै 'स्वाइप' मात्रै पनि त्यसका लागि काफी हुन्छ।
खोज पत्रकार र सञ्चार सीपसम्बन्धी प्रशिक्षक सफा अल-रमाही प्रयोगकर्ताहरू अवास्तविक शरीरदेखि लिएर भड्किलो बिदासम्मका यथार्थको विकृत संस्करण देखाउने 'एल्गरिदम'मा फस्न सक्ने बताउँछिन्।
"यी सबै कुराले क्रमशः हाम्रो चेतनालाई सबै मानिसहरू सबै कुरा राम्रो भएको जीवन बाँचिरहेको र हामीमात्रै सामान्य, पछाडि परेका र अपूर्ण हौँ भन्ने कुरा पुन: दिमागमा पारिदिन्छ," उनी भन्छिन्।
मनोवैज्ञानिक डा. अल-रिफाईका अनुसार यसले 'उच्च सामाजिक तुलना' भन्ने मनोवैज्ञानिक अवस्थालाई झनै बढावा दिन्छ, जसमा मानिसले आफ्नो जीवनलाई अरूको जीवनका 'छानिएका र फिल्टर गरिएका' क्षणहरूसँग तुलना गर्छन्।
यसले मस्तिष्कका त्यस्ता भागहरू सक्रिय पार्छ, जुन सामाजिक पीडा र अपूर्णताको भावनासँग सम्बन्धित हुन्छ।
"थेरपी सत्रहरूमा हामी मानिसहरूलाई फोनका 'नोटिफिकेशन'हरू निरन्तर हेर्न रोक्न र तुलना गर्ने इच्छालाई नमारी निगरानी गर्ने अभ्यास गर्न सिकाउँछौँ," उनले भने।
"यो दिमागसँग लड्ने कुरा होइन, बरु त्यसलाई सही दिशामा लैजाने अभ्यास हो। आफ्नो 'डिजिटल ईकोसिस्टम'को समीक्षा गर्नुहोस् : तपाईँले कसलाई 'फलो' गर्नुहुन्छ? कसले तपाईँलाई चाहिने कुरा दिइरहेको छ?" उनी भन्छन्।
हामी के गर्न सक्छौँ?

तस्बिर स्रोत, Getty Images
अल-रिफाईले केही सामान्य अभ्यासहरूले मानिसहरूलाई तत्क्षणमा रहन मद्दत गर्न सक्ने बताए।
"अति सानो कामबाट सुरु गर्नुहोस्," उनी भन्छन्।
उनी बिरामीहरूलाई पाँच मिनेटका लागि एक कप कफी पिउनेजस्तो एउटा मात्रै कुरामा ध्यान केन्द्रित गर्न प्रयास गर्न भन्छन्।
"कफी समाउँदा तपाईँको हात कति तातो छ, स्वाद र वासना कस्तो छ भन्ने ख्याल गर्नूस्। हिड्नूस् र खुट्टाको चाल हेर्नूस् तर अरू केही नसोच्नूस्। यसैलाई एक पटकमा एउटा मात्रै काम गर्ने अभ्यास भनिन्छ।"
पाँच इन्द्रियहरूको 'खेल' भनिने अर्को अभ्यास यस्तो हुन्छ :
- अहिले देखिरहेको पाँचवटा कुराहरूको व्याख्या गर्नुहोस्
- तपाईँले सुनेका चारथरी ध्वनिमा ध्यान दिनुहोस्
- तपाईँले छोएका तीन कुरा ख्याल गर्नुहोस्
- दुई थरीको गन्ध सुन्नुहोस्
- तपाईँको मुखमा के छ, त्यो स्वाद लिनुहोस्
"यसमा वैज्ञानिक चलाखी भनेको तपाईँको ध्यानलाई चिन्ताबाट हटाएर तत्क्षण इन्द्रियहरूमा लैजानु हो," अल-रिफाईले भने।
"तपाईँको स्नायुप्रणाली निरन्तर कामको लागि बनाइएको होइन भनेर सम्झिनुहोस्,
बरु काम र आरामका लागि हो। तपाईँ मानिस हो भन्ने सधैँ सम्झिनुहोस्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








