समस्या हुने गरी सामाजिक सञ्जाल चलाउँछन् किशोरकिशोरी, समाधानको उपाय के

मोबाइल चलाइरहेकी तनावग्रस्त किशोरी

तस्बिर स्रोत, Getty Images

    • Author, टम सिङ्गलटन
    • Role, प्रविधि संवाददाता

कोभिड महामारीपछि किशोरकिशोरीमा समस्या सिर्जना हुने गरी इन्टरनेटमा आधारित सोशल मिडिया अर्थात् सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम ह्वात्तै बढेको एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।

युरोप, मध्यएशिया र क्यानडाका ४४ देशका ११, १३ र १५ वर्षका झन्डै दुई लाख ८०,००० बालबालिकामा गरिएको सर्वेक्षणपछि अनुसन्धानकर्ताहरू यो निष्कर्षमा पुगेका हुन्।

'द हेल्थ बिहेविअर इन स्कूल-एज्ड चिल्ड्रन' (एचबीएससी) को अध्ययनले औसतमा सन् २०१८ मा सात प्रतिशत बालबालिका सामाजिक सञ्जालको 'समस्याग्रस्त' प्रयोगमा संलग्न रहेकोमा सन् २०२२ मा यो दर बढेर ११ प्रतिशत पुगेको देखाएको हो।

इङ्ल्यान्ड, स्कटल्यान्ड र वेल्समा औसतभन्दा माथिको सङ्ख्या देखियो। अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनको निष्कर्षले "युरोपका युवाहरूको मानसिक स्वास्थ्य र भलाइमा डिजिटल प्रविधिको प्रभावबारे ठूलो चिन्ता बढाएको" बताएका छन्।

उनीहरूले "स्वस्थ अनलाइन व्यवहारलाई प्रोत्साहित गर्न" थप सक्रियता आवश्यक भएको पनि बताए।

"किशोरावस्थामा प्रवेश गर्दै गरेका १३ वर्ष उमेर समूहका किशोरकिशोरीमा यो समस्या व्यापक देखियो भने किशोरको तुलनामा किशोरीहरूमा यो समस्या अधिक देखिने सम्भावना छ," उक्त अध्ययनका अन्तर्राष्ट्रिय संयोजक तथा ग्लास्गो विश्वविद्यालयमा कार्यरत डा जो इन्च्लीले भनिन्।

उनका अनुसार यो अध्ययनले कम उमेरका मानिसहरू कति समय अनलाइन माध्यममा बिताउँछन् भन्ने पनि पत्ता लागेको छ।

"समग्र अध्ययनका क्रममा हामीले एकतिहाइभन्दा बढी किशोरकिशोरी आफ्ना साथी तथा अन्यसँग निरन्तर अनलाइन सम्पर्कमा रहने गरेको थाहा पायौँ," उनले थपिन्।

"यसको अर्थ उनीहरू साथी तथा अन्य मानिसहरूसँग अनलाइनमा लगभग पूरा दिन सम्पर्कमा हुन्छन्।"

राम्रा पक्ष पनि छन्

मोबाइल फोन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अध्ययनले १३ वर्ष उमेर समूहका किशोरकिशोरीमा सामाजिक सञ्जालको समस्याग्रस्त प्रयोगको समस्या व्यापक देखिएको जनाएको छ

उक्त प्रतिवेदनले अनलाइनमा बिताइएको सारा समय हानिकारिक भएको निष्कर्ष भने निकालेको छैन। बरु उल्टो 'समस्याग्रस्त' प्रयोगमा संलग्न नभएका गम्भीर स्वभावका किशोरकिशोरीले सामाजिक सञ्जालमार्फत् साथीहरूको दह्रिलो साथ पाएको र उत्तम सामजिक सम्पर्क विकसित गरेको बताएका छन्।

तर "समस्याग्रस्त" अल्पसङ्ख्यकहरूमा निम्नानुसारका लक्षण देखिने किसिमले लत लागेको देखियो -

  • सामाजिक सञ्जालमा समय बिताउनका निम्ति अन्य क्रियाकलापलाई बेवास्ता गर्ने
  • यसको प्रयोगबारे बहस गरिराख्ने
  • अनलाइनमा बिताउने कुल समयबारे ढाँट्ने
  • सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण गर्न असमर्थ हुने र चलाउन छोड्दा दुर्व्यसन छोडेको बेलाका जस्ता लक्षण देखिने

अध्ययनले "प्रब्लम्याटिक गेमिङ" अर्थात् समस्याग्रस्त अनलाइन खेलमा पर्न सक्ने किशोरकिशोरीहरूको सङ्ख्याबारेको चिन्तामा पनि जोड दिएको छ। त्यसमा किशोरीका तुलनामा किशोरहरू पर्न सक्ने सम्भावना प्रबल भएको बताइएको छ।

इङ्ल्यान्डका १५ प्रतिशत किशोरकिशोरीमा उक्त स्थिति देखिन्छ। यो अध्ययनमा समेटिएका सबै देशहरूमध्ये त्यो दोस्रो ठूलो सङ्ख्या हो।

अनलाइनमा दैनिक गेम खेल्ने किशोरहरूको औसत अनुपात ४६ प्रतिशत छ। त्यो अनुपात इङ्ल्यान्डमा ५२ र स्कटल्यान्डमा ५७ प्रतिशत छ।

अध्ययनका क्रममा इङ्ल्यान्डका १३ वर्ष उमेर समूहका किशोरहरू सर्वाधिक लामो 'गेमिङ' सत्रमा सहभागी हुने गरेको देखियो। त्यहाँ सो उमेर समूहका ४५ प्रतिशत किशोरहरू दैनिक गेम खेल्न कम्तीमा चार घण्टा अनलाइन माध्यममा बिताउने गरेको पाइयो।

सकारात्मक र नकारात्मक परिणाम

मोबाइल चलाइरहेकी एक किशोरी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विज्ञहरू युवाहरूको स्वस्थ अनलाइन उपस्थितिलाई प्रोत्साहित गर्न थप "डिजिटल साक्षरता" आवश्यक रहेकोमा जोड दिन्छन्

यो अध्ययनलाई विश्‍व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले केही साताअघि प्रकाशित गरेको हो।

युरोपका निम्ति डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा हान्स हेन्‍री पी क्लजले अध्ययनको निष्कर्षले युवाहरूमा सामाजिक सञ्जालले सकारात्मक र नकारात्मक दुवै किसिमको परिणाम निम्त्याउन सक्ने प्रष्टसँग देखाएको बताए।

उनले युवाहरूको स्वस्थ अनलाइन उपस्थितिलाई प्रोत्साहित गर्न थप "डिजिटल साक्षरता" आवश्यक रहेको र सरकार, स्वास्थ्य निकाय, शिक्षक तथा अभिभावकहरूले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने औँल्याए।

"किशोरावस्थाका व्यक्तिहरूलाई सामाजिक सञ्जालको सम्भावित हानिकारक प्रयोगसँग जुध्न सघाउन तत्काल दिगो सक्रियताको आवश्यकता छ। त्यस्तो हानिकारक प्रयोगले अवसाद, दादागिरी, चिन्ता तथा पढाइलेखाइमा राम्रो गर्न नसक्ने जस्ता परिणामहरू देखिएका छन्," उनले भने।

बेन कार्टर इन्स्टिट्यूट अफ साइकिआट्री, साइकलोजी एन्ड न्यूरोसाइन्समा मेडिकल तथ्याङ्कशास्त्र विषयका प्राध्यापक हुन्। उनले यो अध्ययन प्रतिवेदनलाई "प्रमाणहरूको उपयोगी प्रतिबिम्ब" भनेका छन्।

तर उनले "समस्याग्रस्त सामाजिक सञ्जाल"को परिभाषामा सहमत हुन गाह्रो हुने र त्यसले गर्दा डेटा सङ्कलन गर्न चुनौतीपूर्ण हुने बताए।

यति हुँदाहुँदै पनि अध्ययनले "प्रमाणका आधारका निम्ति स्वीकार्य योगदान दिएको" उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।