नयाँ 'स्मार्टफोन' किन किन्ने? किन कोहीकोही पुराना साधारण फोनमा फर्कन खोज्दै छन्?

पिक्सल नाइन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गुगलले गत महिना आफ्नो नयाँ स्मार्टफोन 'पिक्सल नाइन' सार्वजनकि गर्‍यो
    • Author, जोई क्लेइन्म्यान
    • Role, प्रविधि सम्पादक

जजसले यो उत्सव मनाउँदै हुनुहुन्छ, तपाईँहरू सबै जनालाई नयाँ स्मार्टफोनको 'सिजन'को शुभकामना। ठूल्ठूला प्राविधिक कम्पनीहरूले तपाईँलाई आफ्ना स्मार्टफोनलाई 'अप्ग्रेड' गर्न मनाउनका लागि कडा मेहनत गर्ने समय फेरि आइपुगेको छ।

भर्खरै हामीले गुगलले 'पिक्सल नाइन' स्मार्टफोन सार्वजनिक गरेको देख्यौँ। लगत्तै एपलले 'आइफोन १६' सार्वजनिक गर्‍यो।

गत जुलाईमा सामसङले 'फोल्ड' गर्न मिल्ने स्मार्टफोनको पछिल्लो संस्करण 'जेड फ्लिप–सिक्स' र 'जेड फोल्ड–सिक्स' बजारमा ल्यायो। त्यस्तै चीनमा ह्वावेईले 'मेट एक्सटी' नामको फोन ल्याएर 'फोल्ड' गर्न मिल्ने फोनको मानकलाई नै बढाइदियो किनकि उक्त फोन दुई ठाउँमा 'फोल्ड' हुन्छ।

विश्वबजारमा स्मार्टफोनको बिक्री सुस्त भइरहँदा बजारमा तिनले प्रवाह गरेका सन्देश भने प्रभावशाली हुँदै गएका छन्।

एपलका प्रमुख टिम कुकले आइफोन १६ ले "स्मार्टफोनको क्षमतालाई पुनर्परिभाषित गर्ने" प्रतिबद्धता जनाएका छन्, चाहे त्यसको अर्थ जे लागोस्। त्यस्तै गुगलको उत्पादन व्यवस्थापनसम्बन्धी उपप्रमुख ब्रायन राकोव्स्कीले "अति सुन्दर" पिक्सल नाइनको "आश्चर्यजनक" डिजाइनको प्रशंसा गरेका छन्।

ह्वावेईले आफ्नो उत्पादनको प्रचारका उपभोक्ता-लक्षित गीत नै बनाएको छ। आफ्नो प्रेस सामग्रीमा यस कम्पनीले भनेको छ, "यसले सपनाको खोजीलाई सशक्त रूपमा व्यक्त गर्छ। कम्पनीले प्राप्त गरेको सफलता पनि सपनामाथिको विश्वासकै कारणले प्राप्त भएको हो।"

हो, हामी अझै पनि फोनकै बारेमा कुरा गरिरहेका छौँ।

नयाँ फोनमा केके छन्?

एपलको आइफोन १६ मा एआईका विभिन्न सुविधा रहेको बताइएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एपलको आइफोन १६ मा एआईका विभिन्न सुविधा रहेको बताइएको छ

एपल र गुगल दुवैले अन्तर्निहित 'आर्टिफिशल इन्टेलिजन्स' अर्थात् 'एआई' सुविधाबारे ठूलो स्तरमा काम गरेका छन्। गुगलको नयाँ 'म्याजिक एडिटर'ले तपाईँले खिच्नुभएको तस्बिरमा एआईद्वारा बनाइएका सामग्री थप्न तथा नचाहेका कुरा हटाउन सक्छ (मेरो अनुभवमा त्यसको प्रभावकारीताको स्तर भने एकनासको थिएन)।

एपलले पनि आइफोन १६ को 'सिरी' सुविधामा च्याटजीपीटीको निर्माता ओपन–एआईद्वारा निर्मित प्रविधिको प्रयोग गरेको छ। धेरैले 'डिजिटल सहायक'को रूपमा रहेको 'सिरी'मा सुधारको आवश्यकता रहेको बताएका छन्।

तर के कसैलाई वास्तवमै यी सबै कुरा चाहिएको छ?

फोनमा केके चाहिन्छ?

स्मार्टफोन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मानिसहरूले स्मार्टफोन किन्दा ध्यान दिने कुरामध्ये क्यामराको गुणस्तर पनि एउटा भएको बताइन्छ

अनुसन्धान संस्था सीसीएस इन्साइटका मोबाइल फोन विशेषज्ञ बेन वुडको विचारमा एआई सुविधाहरूले डिजिटल जीवनलाई सहज बनाउने लक्ष्य राखे पनि ती सुविधाहरू सबैको चाहनाको सूचीको अग्रस्थानमा छन् भन्ने छैन।

"मेरो विचारमा आजकल सबैजसो मानिसहरूलाई फोनमा के चाहिन्छ भन्ने थाहा छ, सबैभन्दा महत्त्वपूर्ण चीजमध्ये एउटा क्यामरा हो," उनी भन्छन्।

स्मार्टफोन डिजाइनरहरूलाई पनि यो कुरा थाहा छ। त्यसैले प्रत्येक फोनका नयाँ संस्करणका प्राय: क्यामरामा अघिल्लोको तुलनामा सुधार गरिएको हुन्छ। तर अब यसले पनि फोनको बिक्री बढ्छ भन्ने सुनिश्चित गर्दैन।

"निश्चित रूपमा भइरहेको कुराचाहिँ मानिसहरूले आफ्नो फोनलाई लामो समयका निम्ति प्रयोग गरिरहेका छन्। सन् २०१३ मा वार्षिक तीन करोड थान फोन बिक्री हुन्थ्यो," वुड थप्छन्, "यो वर्ष लगभग एक करोड पैँतीस लाख थान फोन बिक्री हुनेछ।"

किन घट्दो बिक्री?

फोन चलाइरहेका केटाकेटी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केही अभियान तथा समूहहरू केटाकेटीले फोनमा निकै लामो समय बिताउने गरेकोमा चिन्तित छन्

महँगीको असरले मानिसहरूको खर्चसम्बन्धी निर्णयहरूलाई प्रभावित पारिराखेको छ। प्रत्येक स्मार्टफोनमा त्यसको वातावरणीय मूल्य पनि अङ्कित गरिएको मानिन्छ किनकि त्यसमा दुर्लभ सामग्री र मूल्यवान् धातुहरू प्रयोग गरिएका हुन्छन्।

साथसाथै विशेष गरी आमाबुवा र युवाहरूमाझ स्मार्टफोनबाट पूर्ण रुपमा अलग्गिने प्रवृत्ति पनि बढ्दो छ।

यूकेका थुप्रै विद्यालयहरूले आफ्नो स्मार्टफोनसम्बन्धी नीतिबारे पुनर्विचार गरिराखेका छन् भने केही अगावै यसमाथि रोक लगाइसकेका छन्। इटनका सार्वजनिक विद्यालयहरूमा विद्यार्थीहरूलाई यसपालादेखि (कहिलेकाहीँ 'डम्ब अर्थात् मूर्ख फोन'का नामले समेत चिनिने) 'फिचर' फोन दिइयो भने मैले अन्य निजी तथा सार्वजनिक विद्यालयले पनि त्यसै गर्न लागेको सुनेको छु।

ईई नामको मोबाइल नेटवर्क कम्पनीले एघार वर्षमुनिका केटाकेटीसँग स्मार्टफोन हुन नहुने सुझाएको छ।

'स्मार्ट' फोनको विरोध

नोभा ईस्टले 'स्मार्टफोनरहित बाल्यकाल' अभियानको उत्तर र पश्चिम लन्डन शाखाको नेतृत्व गर्छिन्। उक्त अभियानले अभिभावक र विद्यालयहरूलाई बालबालिकालाई स्मार्टफोन दिने उमेरमा ढिलाइ गर्न अनुरोध गर्ने गर्छ।

"हामी प्रविधिविरोधी होइनौँ, हामी केवल बाल्यावस्थाका पक्षमा छौँ," उनी भन्छिन्, "हामी प्रविधि कम्पनीहरूले बालबालिकामैत्री फोनको विकास गरून् भन्ने चाहन्छौँ, जसमा फोन गर्न र सन्देश पठाउन मिल्ने, गीत सुन्न मिल्ने, नक्सा प्रयोग गर्न मिल्नेजस्ता आधारभूतबाहेकका अरू सुविधा नहोऊन्।"

एआईसम्बन्धी संस्था 'हगिङ फेस'की अनुसन्धान वैज्ञानिक डा साशा लुचोअनीका अनुसार यस्तो कुराको सुनुवाइ भएको देखिँदैन। "हामीले बनाइरहेका वा प्रयोग गरिराखेका प्रविधिलाई लिएर 'डिजिटल संयम'को चर्चा बढेको छ। तर स्मार्टफोनका डिजाइनरहरू भने ठिक विपरित दिशातिर गइराखेका छन्," उनी भन्छन्।

मैले यही कुरा एपल, गुगल र सामसङसमक्ष राखेँ। त्यसमध्ये सामसङले भन्यो, "हाम्रा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकताअनुसार ग्यालेक्सी फोनहरूलाई उत्तम तरिकाले कसरी प्रयोग गर्ने भनेर छनौट गर्न सक्छन्। उदाहरणका लागि, 'डिजिटल वेल्बिइङ'का सुविधाहरूले प्रयोगकर्ताहरूलाई कुन 'फिचर' कतिखेर र कति समयका निम्ति प्रयोग गर्ने भनेर चयन गर्न अनुमति दिन्छ। त्यस्तै धेरै चलाउन नचाहेका एपहरूमा समयसीमा तोक्न पनि सकिन्छ।"

फोनका सुविधा घटाउन उठिरहेको बढ्दो मागलाई सम्बोधन गरिरहेको फिन्ल्यान्डको एचडीएम कम्पनीले अझै पनि नोकियाका आधारभूत फोनहरू उत्पादन गरिराखेको छ। गत महिना यसले खेलौना निर्माता म्याटलसँग मिलेर 'बार्बी–थिम्ड' अर्थात् बालबालिकाले खेल्ने 'बार्बी' नामक पुतलीको झल्को दिने फोन सार्वजनिक गर्‍यो। मैले पनि प्रयोग गरिहेरेँ। त्यसलाई म दुई शब्दमा व्याख्या गर्न चाहन्छु : कामचल्दो र गुलाबी।

धेरै फिचर फोनमा जस्तै यसमा पनि एपहरू, एपस्टोर र सेल्फी क्यामेरा छैनन् भने एउटा मात्रै 'गेम' छ। गीत सुन्नका निम्ति एफएम रेडियो दिइएको छ।

सीसीएस इन्साइटले यो वर्ष यूकेमा चार लाख फिचर फोन बिक्री हुने सम्भावना रहेको जनाएको छ। विश्वबजारमा धेरै बिक्री हुने फोनको शीर्ष स्थानमा रहेको आइफोनलाई चुनौती दिन यो सङ्ख्या पर्याप्त नभए पनि यो खराब स्थिति पनि होइन।

स्मार्टफोन चलाउनै हुन्न त?

मैले पछिल्लो सात दिनमा मोबाइलमा कति समय बिताएछु भनेर जाँचेँ, औसतमा प्रतिदिन पाँच घण्टा थियो। यो सोचनीय आँकडा हो, तर (इमान्दारीका साथ भन्दा) भन्दा त्यो सबै खराब पनि थिएन।

मेरा निम्ति फोन कामकाजी उपकरण हो। यसबाट म ब्याङ्किङ कारोबार र किनमेल गर्नुका साथै नक्साको प्रयोग तथा स्वास्थ्यसम्बन्धी तथ्याङ्कहरू पनि हेर्छु। पारिवारिक योजनाहरू पछ्याउनका निम्ति समेत यसको प्रयोग हुनुका साथै खेल्न र सामाजिक सञ्जाल हेर्न पनि स्मार्टफोन चलाइन्छ।

"मेरो विचारमा हामी यसका प्रशस्त फाइदाहरू पनि छन् भन्ने कुराचाहिँ बिर्सन्छौँ," 'स्क्रीनटाइम'को विषयमा विस्तृतमा लेखेका बाथ स्पा विश्वविद्यालयका मनोविज्ञान तथा विज्ञान सञ्चार विषयका प्राध्यापक पेट एचेल्सले भने।

"हामी नकारात्मक कुराहरूमा अधिक ध्यान केन्द्रित गर्छौँ। यी प्रविधिहरू हाम्रा सुविधाका लागि बनाइएका हुन् भन्ने कुरा दिमागमा राख्नु महत्त्वपूर्ण छ। यिनले हामी सघाउँछन्। यसका केही राम्रा पक्ष पनि छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।