के तनाव हुँदा तपाईँ पनि धेरै खानुहुन्छ? कारण यस्तो छ

एउटा आँखा चिम्लिएकी युवती क्रोसाँ खाँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तनावले रुचिमा प्रभाव पार्ने गरेको पाइन्छ
    • Author, केट बावी
    • Role, ग्लोबल हेल्थ, बीबीसी विश्व सेवा

तनावले तपाईँको स्वास्थ्य बिगार्न सक्छ। यसले टाउको र पेट दुख्ने र अनिद्रा जस्ता समस्या निम्त्याउनुका साथै खाने बानीमा पनि परिवर्तन ल्याइदिन सक्छ।

तनाव हुँदा कोही मानिस चकलेट वा पिज्जा खान खोज्छन्। तर कसैकसैलाई चाहिँ एकदमै अरुचि हुन्छ।

तर तनावले हाम्रो रुचिमा किन प्रभाव पार्छ अनि के यसको कुनै उपचार छ?

तनाव के हो?

"चुनौतीपूर्ण वा विचलित पार्ने अवस्थामा पर्दा तपाईँलाई त्यसबाट पार पाउन केही गर्न सकिन्नँ जस्तो लाग्छ भने तपाईँको शरीर र मस्तिष्कले दिने प्रतिक्रिया नै तनाव हो," अमेरिकाको येल यूनिभर्सिटीको इन्टर्डिसिप्लिनरी स्ट्रेस सेन्टरकी संस्थापक निर्देशक तथा क्लिनिकल मनोविज्ञानकी प्राध्यापक रजिता सिन्हाले भनिन्।

तपाईँको वरपर भइरहेका गतिविधि, मस्तिष्कमा उब्जिएका आशङ्का अनि शरीरमा अति भोक वा तिर्खाजस्ता परिवर्तनले मस्तिष्कभित्र केराउको गेडोजत्रो आकारको 'हाइपोथ्यालमस' सक्रिय हुन्छ र त्यसले शरीरमा तनावयुक्त प्रतिक्रिया जन्माउँछ।

सिन्हाका अनुसार शरीरको यो 'चेतावनी प्रणाली'ले प्रत्येक कोषमा काम गर्छ र एड्रिनलिन र कोर्टिसलजस्ता होर्मोन सक्रिय हुन्छन्।

थोरै समयका निम्ति हुने तनाव उपयोगी हुन सक्छ। त्यसले तपाईँलाई खतराबाट टाढा जान वा समयसीमा भेट्न उत्प्रेरित गर्छ। तर लामो समय हुने दीर्घ तनावले खराब असर गर्छ।

दीर्घ तनाव भएका मानिसहरू - सम्बन्धहरू, कार्य वा वित्तीय मामिलाका कारण भएका - लाई डिप्रेशन, अनिद्रा वा तौलको समस्या हुन सक्छ।

तनावले किन हाम्रो रुचिमा परिवर्तन ल्याउँछ

तनावले या त रुचि एकदम बढाइदिन्छ वा स्वाट्टै घटाइदिन्छ।

"म परीक्षाका निम्ति पढ्दै गर्दा बिरामी भएको सम्झन्छु," न्यूरो-अपथाल्मोलजिस्ट तथा 'स्ट्रेस-प्रूफ' र 'हाइपरइफिसन्ट' नामक किताबका लेखक डा मिठु स्तोरोनीले भनिन्।

"अहिले आएर हामीले के थाहा पाइसकेका छौँ भने यसको एउटा कारण चाहिँ के हुन सक्छ भने तपाईँको आन्द्रा, पेट र मस्तिष्कबीच सोझो सम्पर्क छ," उनले भनिन्।

तनावका कारण ब्रेनस्टेमदेखि पेटसम्म जोडिएको भेगस नर्भ (स्नायु) गतिविधि रोकिन्छ।

उक्त नर्भले मस्तिष्क र पेट/आन्द्राबीच सिग्नल प्रसारण गर्छ अनि मस्तिष्कलाई पेट टन्न भए नभएको र शरीरको ऊर्जा आवश्यकताबारे सूचना दिन्छ।

त्यसैले कतिपय मानिसमा यो प्रणाली प्रभावित हुँदा अरुचि उत्पन्न हुने डा स्तोरोनीले बताइन्।

"तर के पनि साँचो हो भने तपाईँलाई तीव्र तनाव हुँदा तपाईँको मस्तिष्कलाई सुगर आवश्यक पर्छ," उनले भनिन्।

उनका अनुसार यसले कतिपय मानिसहरूलाई अनपेक्षित अवस्था आइपर्दा अनायास 'ऊर्जाका निम्ति केही खाइहाल्न' उत्प्रेरित गर्छ।

दीर्घ तनावले तपाईँको रुचिमा कसरी प्रभाव पार्छ

प्राध्यापक सिन्हाका अनुसार तनाव हुँदा तपाईँको रक्तनलीमा सुगर धेरै प्रवाह हुन्छ र ग्लुकोजको स्तर नियमन गर्ने होर्मोन इन्सुलिनको प्रभाव कम हुन पुग्छ।

ऊर्जाका निम्ति खपत हुनुको साटो ग्लुकोज रगतमा बसिरहन्छ र त्यसले सुगर बढाइदिन्छ।

त्यसैले दीर्घ तनाव भएका मानिसहरूलाई दीर्घकालीन उच्च सुगर वा इन्सुलिन प्रतिरोधी अवस्था आइपर्न सक्छ जसले तौल बढाइदिन वा मधुमेह निम्तिन सक्छ।

तौल बढेको खण्डमा तपाईँको रुचिमा परिवर्तन हुन सक्छ। सामान्यतया शरीरमा अतिरिक्त बोसो भएका मानिसहरू इन्सुलिन प्रतिरोधी हुने सम्भावना अधिक हुन्छ। अर्थात् जब उनीहरू तनावमा हुन्छन् तिनको मस्तिष्कले थप सुगर खोज्छ।

"यो एउटा दुष्चक्र हो जसमा हामी फस्न पुग्छौँ," प्राध्यापक सिन्हाले भनिन्।

तनावमा धेरै खानबाट कसरी जोगिने

कार्यस्थलमा तनाव भएको देखिने एक युवतीको तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दीर्घ तनावले तौल बढ्ने वा मधुमेहको अवस्था निम्तिन सक्छ

डा स्तोरोनीका अनुसार बेलैमा तनाव कम पार्ने उपाय गर्नु सबभन्दा उत्तम हुन्छ।

अर्को आधारभूत कुरा निद्रा हो।

"मेरो सुझावमा… निद्रालाई मुख्य ध्यान दिऔँ किनभने यसले तनावसँग सम्बन्धित तीनवटै अङ्गलाई 'रिसेट' गरिदिन्छ।"

निद्राले मस्तिष्कमा हुने सानो अङ्ग हाइपोथ्यालम अनि पिटुइटरी तथा एड्रिनल ग्रन्थीहरूलाई फेरि सन्तुलित बनाइदिन्छ र तनाव सिर्जना गर्ने होर्मोनको उत्पादन रोकिदिन्छ।

"यदि तपाईँलाई अनिदो भएको छ भने गुलिया खानेकुराको रुचि झन् बढ्छ किनभने निद्राको कमीले मस्तिष्कलाई झन् धेरै ऊर्जा चाहिन्छ," डा स्तोरोनीले भनिन्।

व्यायामले पनि तपाईँलाई तनावको अवस्थाबाट शान्तिपूर्ण अवस्थामा फर्कन र मस्तिष्कको कार्य सुधार्न मद्दत गर्ने उनले भनिन्।

यदि चापाचापमा काम गर्नुपर्ने वा तनावयुक्त अवस्था आउँदै गरेको तपाईँलाई थाहा भयो भने यी आधारभूत कुरामा ध्यान दिएमा धेरै खानबाट जोगिन सकिन्छ।

तनाव हुँदा कुन खानेकुरा खानु हुँदैन

सँगै बसेर खाइरहेको परिवार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तनाव भएको बेला अरू मानिससँग बसेर भोजन गर्दा फाइदा पुग्छ

तनाव भएको बेला धेरै गुलियो पदार्थ खानबाट बच्ने सबभन्दा सजिलो उपाय भनेको 'जङ्क' वा पत्रु खानेकुरा किन्दै नकिन्नु हो भन्छिन् प्राध्यापक सिन्हा।

"ती नजिक छैनन् भने तपाईँले तत्काल खान मन पनि लाग्दैन।"

"अर्को कुरा भनेको दिनभरि अलिअलि गरी स्वास्थ्यवर्धक खानेकुरा खाइरहे पनि राम्रो हुन्छ," उनले भनिन्।

ग्लुकोज ह्वात्तै बढ्ने खानेकुरा परहेज गर्नु अर्को उपाय हो। त्यसको साटो मासु, गेडागुडी तथा माछाजस्ता प्रोटीनयुक्त वा दाललगायत हितकर कार्बोहाइड्रेट सेवन गर्नु उत्तम हुन्छ।

अनि मदिरा सेवन सीमित पार्नुपर्छ। किनभने कतिपय मानिस तनाव घटाउन भनेर मद्यपानको सहारा लिन खोज्छन्।

"तनाव हुँदा मद्यपान गर्ने बानी छ भने त्यसलाई घटाउनु एकदम राम्रो हुन्छ," डा स्तोरोनीले भनिन्।

तपाईँको सामाजिक सम्पर्कले पनि तपाईँलाई तनावका बेला धेरै खानबाट जोगाउन सक्छ।

"साथसाथै पकाउँदा होस् वा साथसाथै खाँदा होस् समाजमा यस्ता सम्पर्कले पनि तपाईँलाई तनावका समयमा धेरै खानबाट जोगाउन सक्छ," प्राध्यापक सिन्हाले भनिन्।

प्राध्यापक रजिता सिन्हा र डा मिठु स्तोरोनीले बीबीसीको 'फूड चेन प्रोग्र्याम'की रुथ अलेक्जान्डरसँग कुराकानी गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।