डिप्रेसनको औषधिले अन्य शारीरिक स्वास्थ्यमा पर्ने असर

एकजना महिला हातमा औषधि र पानीको गिलास लिएर बसेकी छन्

तस्बिर स्रोत, AFP via Getty Images

    • Author, जेम्स ग्यालहर
    • Role, स्वास्थ्य तथा विज्ञान संवाददाता

अवसाद अर्थात् डिप्रेसनविरुद्धका औषधि खाँदा हुने अन्य प्रभाव (साइड इफेक्ट)का आधारमा पहिलो पटक वर्गीकृत गरिएको छ।

विभिन्न डिप्रेसन विरुद्धका औषधिहरूको साइड इफेक्टमा उल्लेखनीय भिन्नता देखिएको छ।

अनुसन्धानकर्ताहरूले त्यस्ता औषधिहरूको बिरामीहरूमा उपचारको पहिलो आठ हप्तामा देखिएको प्रभावको अध्ययन गरेका छन्।

डिप्रेसनका केही औषधिहरूले बिरामीहरूको तौल २ किलोग्रामसम्म बढाउने वा मुटुको धड्कनमा प्रतिमिनेट २१ धड्कनसम्मको भिन्नता ल्याउने पत्ता लाग्यो।

बेलायतमा लगभग ८० लाख मानिसहरूले डिप्रेसनको औषधि लिने गरेको तथ्याङ्क छ।

अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्: यी औषधिहरूको साइड इफेक्टमा पाइएको भिन्नताका आधारमा बिरामीहरूले औषधि कस्तो लिनुपर्छ भन्नेबारे सोच्नुपर्ने हुन सक्छ।

अनुसन्धानकर्ताहरू भन्छन् - यो रिपोर्ट पढ्ने मान्छेले आफै आफ्नो उपचार रोक्ने भन्ने होइन, तर हरेक व्यक्तिको आवश्यकताअनुसार डिप्रेसनको औषधि छनोट गर्नुपर्ने देखिएको छ।

अनुसन्धानकर्ता प्रोफेसर ओलिभर होज भन्छन्, "डिप्रेसनको औषधि लिने बिरामीहरूको सङ्ख्या ठूलो छ र यी औषधिहरूमा ठूलो भिन्नता छ। त्यसैले सानो परिवर्तनले पनि ठूलो जनसङ्ख्यामा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ।"

ल्यान्सेटमा प्रकाशित अध्ययनको नतिजा

३० थरि औषधिको विश्लेषण गरिएको थियो

तस्बिर स्रोत, Gettty Images

डिप्रेसनको औषधिले स्वास्थ्यमा प्रभाव पार्छ भन्ने धेरैलाई थाहा भएको तथ्य हो। किङ्ग्स कलेज लन्डन र अक्सफर्ड विश्वविद्यालयले डिप्रेसनको औषधिलाई पहिलो पटक तिनीहरूको साइड इफेक्टका आधारमा तुलना गरेका छन्।

अनुसन्धानकर्ताको टोलीले डिप्रेसनका लागि सामान्यतया प्रयोग हुने ३० औषधिहरूको १५१ अध्ययनहरूको विश्लेषण गर्‍यो, जसमा ५८,५०० भन्दा बढी बिरामीहरू सहभागी थिए।

अवसादको औषधि खाने सबैमा साइड इफेक्ट हुँदैन, तर ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित नतिजाहरूका अनुसार:

  • आठ हप्ता एगोमेलाटिन सेवन गर्दा २.४ किलोग्राम तौल घट्यो र म्याप्रोटिलिन खाँदा करिब २ किलोग्राम तौल बढायो।
  • फ्लुभोक्सामाइनले मुटुको धड्कनलाई २१ नम्बरले सुस्त बनाएको पाइयो भने नोर्ट्रिप्टाइलीनले धड्कन बढाएको पाइयो
  • नोर्ट्रिप्टाइलीन र डोक्सेपिन बीच रक्तचापमा ११ एमएमएचजीको भिन्नता देखियो।

"स्पष्ट रूपमा, कुनै पनि डिप्रेसनविरुद्धका दुई औषधिहरू एउटै हुँदैनन्," किङ्ग्स कलेज लन्डनका डा. अतिशान अरुमुहमले भन्छन्।

जम्मा हुँदै जाने साइड इफेक्टका कारण हृदयाघात वा स्ट्रोकको बढ्दो जोखिम सहितका असरलाई सम्बोधन गर्नुपर्ने अवस्था आउन सक्छ।

यसको अर्थ एउटै रोगको अवस्था भए पनि मानिसहरूको प्राथमिकता र अन्य स्वास्थ्य अवस्थाहरूका आधारमा फरकफरक औषधिहरू दिनुपर्ने हुन्छ।

डा. टोबी पिलिंगरले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भने: "हामीले हेरेका धेरैजसो अध्ययनहरू तुलनात्मक रूपमा साना थिए। हामीले केवल आठ हप्ताको अवधिमा स्वास्थ्य सूचकहरूमा उल्लेखनीय परिवर्तनहरू देखिरहेका थियौँ, र हाम्रो विश्वास छ कि ती परिवर्तनहरू महत्त्वपूर्ण छन्"।

डा. टोबी पिलिंगर भन्छन्, "यो अध्ययनले मानिसलाई त्रासमा नपारोस्। बरु यसले मानिसहरूलाई आफ्ना डाक्टरसँग औषधिसम्बन्धी निर्णयहरू संयुक्त रूपमा गर्नका लागि सहयोग मिलोस् भन्ने हो।"

मेरा लागि डिप्रेसनको सबैभन्दा राम्रो औषधि कुन हो?

औषधिको बोत्तल

तस्बिर स्रोत, Getty Images

मानौँ ३२ वर्षीया सारा, ४४ बर्सिय जोन र ५६ बर्सिया जेन सबै डिप्रेसनबाट पीडित छन् र उनीहरूलाई औषधि दिइन्छ।

तर तीनैजना बिरामीहरू फरकफरक साइड इफेक्टबाट बच्न चाहन्छन्।

सारा आफ्नो डिप्रेसनको औषधिका कारण तौल बढ्नबाट जोगिन चाहन्छिन्, जोनलाई पहिले नै उच्च रक्तचाप छ र जेनलाई उच्च कोलेस्ट्रोल छ।

डा. टोबी पिलिंगर भन्छन् कि तीनै जनालाई डिप्रेसनका लागि फरकफरक औषधि दिनुपर्ने छ।

"साराले एमिट्रिप्टाइलीन वा मिर्टाजापाइनको सट्टा तौल बढ्नबाट रोक्ने डिप्रेसनको औषधि, जस्तै एगोमेलाटिन, सेर्ट्रालीन वा भेन्लाफ्याक्सिन खानुपर्छ, किनकि यसले तौल बढाउने सम्भावना बढी हुन्छ," उनी भन्छन्।

डा. टोबी पिलिंगरका अनुसार, जोनले रक्तचाप बढाउने भेन्लाफ्याक्सिन, एमिट्रिप्टाइलीन वा नोर्ट्रिप्टाइलीन जस्ता औषधिहरू खानु हुँदैन। जोनको अवस्थाको लागि सिटालोप्राम, एसिटालोप्राम र प्यारोक्सेटिन राम्रो हुनेछ।

जेनको बारेमा उनी भन्छन्, "भेन्लाफ्याक्सिन, डुलोक्सेटिन र प्यारोक्सेटिन जस्ता केही एन्टिडिप्रेसेन्टहरू उच्च कोलेस्ट्रोलसँग जोडिएका छन्। उनले सिटालोप्राम वा एसिटालोप्राम लिनु राम्रो हुन सक्छ, जसले कोलेस्ट्रोललाई असर गर्दैन।

हालैको अध्ययनको नतिजाले के भन्छ?

अनुसन्धानकर्ताहरूका अनुसार कुनै विशेष डिप्रेसनको औषधि राम्रो हो कि नराम्रो भनेर भन्न असम्भव छ। उदाहरणका लागि एमिट्रिप्टाइलीनले तौल, मुटुको धड्कन र रक्तचाप बढाउन सक्छ, तर यसले दुखाइ र अनिद्रामा मद्दत गर्न सक्छ।

सबैभन्दा सामान्य रूपमा निर्धारित डिप्रेसनका औषधिहरू, जस्तै प्यारोक्सेटिन, सिटालोप्राम, एस्किटालोप्राम, र सेर्ट्रालीनका कम साइड इफेक्टहरू हुन्छन् भनिन्छ।

अध्ययनले फ्लुओक्सेटिन, जसलाई प्रोजाक पनि भनिन्छ, लाई तौल घटाउने र उच्च रक्तचापसँग जोडेको छ।

अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रिया सिप्रियानीका अनुसार डिप्रेसनको औषधि लिने लाखौँ मानिसहरूमध्ये कति जनाले फरकफरक औषधि खानुपर्छ भन्ने बारेमा अहिले केही भन्न सकिँदैन।

यद्यपि उनले भने "जेनेरिक, किफायती औषधिहरू" मा जोड दिइएको छ। बेलायतमा मुख्यत: सिटालोप्राम, सेर्ट्रालीन र फ्लुओक्सेटिनले डिप्रेसन औषधिहरूको ८५ प्रतिशत हिस्सा ओगटेका छन्।

उनले अध्ययनको नतिजा लागू गरियो भने, "धेरै मानिसहरूले राम्रो उपचार पाउने" बताए।

डाक्टर र बिरामीहरूलाई सही औषधि छनौट गर्न मद्दत गर्न अनुसन्धानकर्ताहरूले नि:शुल्क अनलाइनका माध्यम विकास गरिरहेका छन् ।

यद्यपि यूकेमा यसका लागि एनएचएस(राष्ट्रिय स्वास्थ्य सेवा) मा उल्लेखनीय परिवर्तनहरू आवश्यक पर्ने छ।

अध्ययनले उपचार सुरु भएको आठ हप्ता पछि के भयो भनेर मात्र विश्लेषण गरेको थियो। डा. पिलिंगरका अनुसार, यसको अर्थ यो अवधिमा देखिएका परिवर्तनहरू पछिसम्म "रहिरहन" सक्छन्, तर यसका लागि पनि उचित अनुसन्धान आवश्यक छ।

अध्ययनमा संलग्न नभएका बाथ विश्वविद्यालयका डा. प्रसाद निश्तलाले नतिजाहरू "नयाँ र महत्त्वपूर्ण" भएको बताए।

"बिरामीहरूलाई प्रायः महिनौँ वा वर्षौँसम्म डिप्रेसनको औषधि दिइन्छ, त्यसैले साइड इफेक्ट जम्मा हुँदै जाँदा खास गरी डिप्रेसनका दीर्घ रोगीहरूमा जोखिम बढी हुन्छ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।