बाल्यकालमै विकसित घनिष्ठताका चार शैली जसले अन्तरव्यक्ति सम्बन्धमा सधैँ प्रभाव पार्छन्

तस्बिर स्रोत, Getty Images
- Author, क्रिस्टिना क्ल्यायिच
- Role, बीबीसी सर्बिअन
तेइस वर्षीया सोफिया याङ्कोभिचलाई उनका पुरुष साथीले छाड्लान् वा उनका अरू साथीहरू आफूसँग रिसाउलान् भनेर यति डर र सङ्कोच लाग्थ्यो कि उनी साथीहरूलाई निरन्तर सन्देश पठाइरहन्थिन्, अनि तिनको जबाफ कुरिरहन्थिन् वा तिनको बोलीवचन जान्न भए पनि फोन गरिरहन्थिन्।
"मेरा सोचाइ बिल्कुल तर्कसङ्गत थिएनन्। मलाई एक्लै परूँला भन्ने एकदम डर लाग्थ्यो," सोफियाले भनिन्।
घनिष्ठता बढाउने सन्दर्भमा उनी एकदमै भिन्न व्यवहार देखाउँथिन्, उनलाई निकट हुन त मन लाग्थ्यो तर कतै आफू (सम्बन्धबाट) अस्वीकृत भइएला कि भन्ने डर पनि उत्तिकै लाग्थ्यो।
मनोचिकित्सक येलेना सारिचले उनको घनिष्ठताका शैलीबारे वर्णन् गरिन्। यस्ता शैली वास्तवमा व्यक्तिको अभिभावकहरूसँगका सुरुवाती सम्बन्ध अनि तिनका वयस्ककालका अनुभूति आदिले निर्धारण गर्छन्। साथै तिनले ती व्यक्तिले भावनात्मक सामीप्य र निकटतालाई कसरी अनुभव गर्छन् भन्ने ठहर गर्छ।
चार शैली
मुख्य गरी घनिष्ठताका चार शैली छन् : सुरक्षित, बेमतलबी, सङ्कोचपूर्ण र अव्यवस्थित।
जोन बोल्बी र म्यारी एन्स्वर्थजस्ता मनोचिकित्सकहरूले दोस्रो विश्वयुद्धपश्चात् ब्रिटेनमा यी अवधारणहरूको व्याख्या गरे। आफ्ना आमासँग छोटो समयका निम्ति छुट्टिँदा बालबालिकाहरूले देखाउने प्रतिक्रियाबारे सन् १९७०को दशकमा गरिएका प्रयोगहरूमा यी अवधारणा आधारित छन्।
तिनका प्रतिक्रिया भिन्नाभिन्नै थिए। कोही बालबालिका रोए भने अन्यले आनन्द खोजे। केहीले चाहीँ थोरै मात्र प्रतिक्रिया जनाए।
आजको दिनमा यी अवधारण टिकटक तथा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा चलेका छन्, जहाँ मानिसहरूले घनिष्ठताबारे तिनको शैलीसँग तिनका व्यक्तिगत अनुभव जोडेर हेर्छन् अनि सुझाव बाँड्छन्।
घनिष्ठताको शैलीबारे अनलाइन टेस्ट पनि उपलब्ध छन्। यहाँ ती विविध शैलीबारे वर्णन गरिएको छ।
के तपाईँ आफ्नो शैली पहिचान गर्न सक्नुहुन्छ?
सङ्कोचपूर्ण घनिष्ठता
"मानिसहरूसँग कुरा गर्दा म तिनको मुहारका भाव हेरिरहन्छु। तिनले कस्ता प्रतिक्रिया अपेक्षा गर्लान् भन्ने लागिरहन्छ," सोफियाले छिटोछिटो भनिन्।
"मलाई सधैँ यस्तै हुन्छ – चाहे मेरा आमाबुबासँग होस् वा शिक्षकसँग वा पछिल्लो कालमा मेरा निकट मित्रहरूसँग।"
बाल्यकालमा उनी घण्टौँ पढिरन्थिन्, कुनै जिम्मेवारीबोध वा व्यक्तिगत खुसीका निम्ति नभई 'अरू नरिसाऊन्' भनेर।
अहिले पनि खासै केही परिवर्तन भएको छैन। "सप्ताहान्तहरूमा मलाई आराम गर्न मन लाग्छ। तर साथीहरूले बाहिर जाने प्रस्ताव गरे भने नाइँ भन्न सक्दिनँ। कतै उनीहरूले मलाई छाड्लान् कि?" उनले भनिन्।

तस्बिर स्रोत, ANTONIO BAT/EPA-EFE/REX/Shutterstock
सारिचका अनुसार सङ्कोचपूर्ण वा धक मानेर गरिने घनिष्ठताको शैली व्यक्तिहरूको नकारात्मक आत्मछवि अनि अरूहरूप्रतिको सकारात्मक भावनाले निर्धारण गर्छ। त्यसकारण उनीहरू सम्बन्धहरूमा झुन्डिरहन चाहन्छन् अनि हरेक अन्तर्क्रियालाई आवश्यकताभन्दा धेरै समीक्षा गर्छन्।
"कहिलेकाहीँ मलाई पनि लाग्छ म सम्बन्धहरूमा ज्यादा झुन्डिरहन्छु कि भनेर," सोफियाले स्वीकारिन्।
"जतिसुधै ध्यान वा प्रेम मिले पनि मलाई त्यो अपर्याप्त लाग्छ।"
बाल्यकालमा आफ्ना आमाबुबाको ज्यादा ध्यान खोज्ने तर कहिले पनि त्यो पूर्ण प्राप्त नभएको ठान्नेहरूमा यसप्रकारको व्यवहार विकसित हुने सारिच ठान्छिन्।
बेमतलबी घनिष्ठता
जब कोही मानिस अलि निकट हुन खोज्छन्, एना टोमिच त्यस्तो अवस्थाबाट 'भाग्न चाहन्छिन्।'
"निरन्तरका दबावले म थकान महसुस गर्छु र मलाई टाढिन मन लाग्छ," उनले भनिन्। थोरै दूरी राख्नका लागि उनी कहिलेकाहीँ प्रेमीको सन्देशको पनि जबाफ दिन्नन्।
"मेरो सामु यदि कोही रोयो भने मलाई कसो गर्ने भन्ने अन्योल हुन्छ – बरु म त्यहाँबाट भागिदिन्छु," उनले स्पष्ट भनिन्।
साथीहरूले तिनको समस्या सुनाउँदा होस् वा 'निरन्तर ध्यान तान्न' खोज्दा होस्, उनी असहज महसुस गर्छिन्।
आफ्नो स्वतन्त्रताको आवश्यकताको रक्षा गर्न उनी आफ्ना मनका कुरा मनभित्रै राख्छिन्।
बेमतलबी पाराको घनिष्ठताको यस्तो शैली अपनाउनेहरूलाई कुनै सम्बन्धमा प्रतिबद्ध भइहाल्न डर लाग्छ र अस्वस्थ तथा अतिशय किसिमले स्वतन्त्रताको आकाङ्क्षा हुन्छ।
यस्तो शैली अपनाउने मानिसहरूले आफ्ना साथी तथा प्रेमीहरूका कमीकमजोरी खोतल्ने र तिनलाई अलि टाढै राख्ने सारिच बताउँछिन् ।

तस्बिर स्रोत, Getty Images
कुनै सम्बन्धमा फसिएको अनुभव नगर्नाका निम्ति त्यस्ता मानिसहरूले अरू मानिसहरूसँग पनि जिस्कने, साथीहरूसँग सम्पर्क नगर्ने र भौतिक रूपमै टाढिने व्यवहार देखाउने सारिचले बताइन्।
"तिनले आफूमाथि मात्र विश्वास गर्छन्, बाँकी संसार र अरू मान्छे होइन।"
"अभिभावकहरूले बालबालिकाको आवश्यकता पूर्ति नगरिदिँदा तिनमा यस्तो व्यवहार विकसित हुन्छ किनकि त्यस्ता बालबालिकाले अरूबाट खासै अपेक्षा राख्न छोड्छन्," सारिचले भनिन्।
अव्यवस्थित घनिष्ठता
मार्को पेट्रोभिचका निम्ति सम्बन्धहरू भनेका चाकाचुली/ढिकीच्याउँ खेलजस्तै हुन्।
"म या त कोहीबाट टाढिन खोज्छु या त एक्लिने डरका कारण असम्भव सामीप्यको पछि लागिरहन्छु," उनले भने।
आफ्नो वास्तविक आवश्यकताबारे मार्को अनिर्णीत रहने गर्छन्।
"के म निकटता चाहन्छु वा मलाई एकान्त आवश्यक छ? मलाई अझै थाहा छैन," उनले भने।
जहाँ अभिभावकहरूले त्रसित वा आक्रामक व्यवहार देखाएका हुन्छन्, त्यहाँ यस्तो ढुलमुले शैलीको घनिष्ठता देखा पर्ने सारिचले बताइन्।
"बालबालिकाहरूका लागि जसले उनीहरूको रेखदेख गर्छन्, तिनै मानिस उनीहरूको संसार हुन्छ। त्यो संसार प्रेम र स्वीकार्यताले भरिपूर्ण वा त्रास र आक्रामकताले घेरिएको हुन सक्छ।"
आफू विरलै पूर्ण सन्तुष्ट रहने मार्को बताउँछन्। "केही हासिल गर्न कठिन परिश्रम गरेपछि पनि म त्यसमा गल्ती खोजिरहन्छु, चाहे त्यो साथीहरूमा होस् वा काममा होस् वा आम जीवनमा।"
सुरक्षित घनिष्ठता
सारिचका अनुसार सुरक्षित घनिष्ठताको शैली अपनाउनेहरूको बाल्यकालमा भावनात्मक आवश्यकताहरू सम्भवतः पूरा भएका थिए।
उनीहरू सहजै र खुलेर कुराकानी गर्छन् अनि आलोचना पनि सहन सक्छन्।
सोफियाले आफ्ना केही साथीहरूले यस्तै व्यवहार देखाउने बताइन्।
"आफ्ना भावना आवश्यकताभन्दा धेरै बाँड्नबाट जोगिनु महत्त्वपूर्ण हुन्छ र विषयहरूलाई युक्तिसङ्गत रूपमा बयान गर्नुपर्छ," उनले भनिन्। कुन कुराले आफूलाई दुःखी बनाउँछ भन्ने विषय समयसँगै बुझ्न थालेको उनले बताइन्।

तस्बिर स्रोत, Getty Images
"अभिभावकहरूसँग त्यस्तो सहज महसुस भएको थिएन भन्दैमा सधैँ सबैसँग त्यस्तै हुन्छ भन्ने होइन," सारिचले भनिन्।
'साइकोथेरपी' वा सुरक्षित घनिष्ठता अपनाउने साथीसँगको सम्बन्धले मानिसहरूले स्वस्थ्य निकटता महसुस गराउने सारिचले बताइन्।
"कतिपय मानिसहरूले तिनको पहिलो स्वस्थ्य सम्बन्ध नै थेरपिस्टसँग महसुस गर्छन्," उनले भनिन्।
घनिष्ठताको शैलीले व्यक्तिगत सम्बन्धका साथै कार्यस्थल वा अन्य वातावरणमा विकसित हुने सामीप्यमा प्रभाव पार्ने गरेको मनोचिकित्सकहरूले पत्ता लगाएका छन्।
घनिष्ठताको शैली स्थायी नहुने र चेतना वा थेरपीको सहाराबाट त्यो परिवर्तन गर्न सकिने उनीहरूको विश्वास छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








