कोभिड नेपाल: थप ९४ सयमा कोरोना भाइरस सङ्क्रमण, २२५ जनाको मृत्यु पुष्टि

कोभिड

तस्बिर स्रोत, EPA

नेपालमा गत २४ घण्टामा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले थप २२५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मङ्गलवार पुष्टि गरेको छ।

तीमध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले विभिन्न मितिका शव व्यवस्थापन गरेको आधारमा थप गरिएका हुन्।

एकै दिन पुष्टि गरिएको र विगत २४ घण्टाको अवधिमा मृत्यु भएका यी दुवै सङ्ख्या हालसम्मकै उच्च हो।

पीसीआर विधि र एन्टिजन विधिबाट २१,३१६ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

चौबीस घण्टाको अवधिमा ५,२२५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ९७ हजारभन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ। कुल सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको छ।

तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या सर्वाधिक भएको सरकारको तथ्याङ्कले देखाउँछ। काठमाण्डूमा २,७८८ जना, ललितपुरमा ६०२ जना र भक्तपुरमा ५३७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

दुई सय भन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापामा २६४, मोरङमा ३५०, कास्कीमा ३७०, दाङमा २६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९, सुर्खेतमा २६४ र कैलालीमा २९५ छ।

नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार ८४ पुगेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा केही सातादेखि परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

अहिले कोरोनाभाइरसबाट प्रभावित विभिन्न जिल्लामा निषेधाज्ञा वा अन्य प्रतिबन्धात्मक आदेशहरू जारी गरिएको छ।

निषेधाज्ञा १५ दिन थपियो

काठमाण्डू उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जनाएको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा आगामी दुई सातासम्म निषेधाज्ञा थप गरिएको काठमाण्डू जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

"विवाह, व्रतबन्धजस्ता कार्यक्रमहरू होटल वा पार्टी प्यालेसमा समेत गर्न नपाइने गरी निर्णय गरेका छौँ," पराजुलीले बीबीसीसँग भने।

भक्तपुर

तस्बिर स्रोत, RSS

अत्यावश्यक सामाग्री खरिद गर्नका लागि बिहान दिइएको समय भने एक घण्टा बढाइएर १० बजेसम्म कायम गरिएको छ।

त्यस्तै अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालयहरू बन्द गराउने निर्णय गरिएको उनले बताए।

कार्यालयले जारी गरेको सूचनामा विवाह र व्रतबन्ध १० जनासम्म भेला भएर स्वास्थ्य सावधानीका साथ घर वा तोकिएको स्थानमा गर्न पाउने भनिएको छ।

पछिल्ला निर्णयहरू बिहीवारदेखि कार्यान्वयनमा आउने बताइएको छ।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च