कोभिड नेपालः थप ८८ सय जनामा कोरोना भाइरस सङ्क्रमण र ८८ जनाको मृत्यु पुष्टि

अक्सिजन सिलिन्डर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बिरामीको ठूलो चाप भएको काठमाण्डू उपत्यकाका अस्पतालमा अहिले अक्सिजनको अभाव हुन थालेको छ

नेपालमा गत २४ घण्टामा थप ८,८५० जनामा कोरोनाभाइरस सङ्क्रमण र ५२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या ४,००० भन्दा बढी छ।

मन्त्रालयका अनुसार उसले त्यसबाहेक कोभिड-१९ सम्बन्धी कारणले अरू मानिसको मृत्यु भएको विवरण पनि प्राप्त गरेको छ। यससँगै मृतकको कुल सङ्ख्या ८८ ले वृद्धि भएको छ।

कुल १९,३८७ जनाको पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

नेपाल कोभिड

मन्त्रालयले प्रकाशित गरेको विवरणमा "सीसीएमसी नेपाली सेनाद्वारा कोभिड-१९ को शव व्यवस्थापन तथ्याङ्कको आधारमा" मृतकको सङ्ख्या थप भएको उल्लेख छ।

अपराह्ण मन्त्रालयले गरेको ब्रीफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा मृत्यु पुष्टि भएका ५२ जनाबाहेक मृतकको सङ्ख्या २६ ले बढेको बताएका थिए। तर उनले मृतकको कुल सङ्ख्या ८८ ले बढेको जनाएका थिए।

मन्त्रालयले पछि प्रकाशित गरेको विवरणमा पनि ८८ नै उल्लेख भएकाले यसअघि प्रकाशित सङ्ख्यामा संशोधन गरिएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

चौबीस घण्टाको अवधिमा ४,०२२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

कहाँ छन् सङ्क्रमित?

अहिले देशभरि ८८,००० भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ। तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयका अनुसार अहिले काठमाण्डू जिल्लामा २७,६६० जना, ललितपुरमा ६,०१० जना र भक्तपुरमा ३,९१२ जनामा सक्रिय सङ्क्रमण छ।

सक्रिय सङ्क्रमितमध्ये ६,७३० जना संस्थागत आइसोलेशनमा र बाँकी ८१,००० जनाभन्दा बढी घरमै आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मन्त्रालयले गरेको प्रेस ब्रीफिङमा बताए।

अहिले देशभरिका अस्पतालमा ८३२ जना आईसीयूमा र २६७ जना भेन्टिलेटरमा भएको उनले बताए।

कोभिड भएर मृत्यु भएका व्यक्तको शव

तस्बिर स्रोत, RSS

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

के छ भारतको अवस्था?

आइतवार बिहान ८ बजेसम्मको तथ्याङ्कका अनुसार भारतमा अहिले ३७ लाख ३६ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोड २३ लाखको हाराहारीमा रहेका बेला मृत्यु हुनेको कुल सङ्ख्या २,४२,०० नाघेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभरि ४,०३,७३८ सङ्क्रमित थपिएका छन्। सोही अवधिमा थप ४,०९२ जनाको मृत्यु भएको छ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा २४ घण्टामा २६,६३६ सङ्क्रमित थपिएका छन्। उक्त वृद्धिसँगै उक्त राज्यमा सङ्क्रमितको कुल सङ्ख्या १४ लाख ८० हजार नाघेको छ।

अहिले २,४५,७३६ सक्रिय सङ्क्रमित रहेको उत्तर प्रदेशमा कुल १५,१७० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

त्यस्तै पश्चिम बङ्गालमा १९,४३६ सङ्क्रमित थपिएका छन्। त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या ९,७३,७१८ र मृतकको कुल सङ्ख्या १२,२०३ पुगेको सरकारी तथ्याङ्क छ।

बिहारको पछिल्लो तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १२,९४८ सङ्क्रमित थपिएका छन् र त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या ५,८०,२१७ पुगेको छ। त्यहाँ अहिलेसम्म ३,२१५ जनाको मृत्यु भएको सरकारले जनाएको छ।

उत्तराखण्डमा ७१,१७४ सक्रिय सङ्क्रमित छन्। नयाँ तथ्याङ्क प्रकाशित हुँदा त्यहाँ ८,३९० सङ्क्रमित थपिएको देखिएको छ। त्यहाँ मृतकको सङ्ख्या ३,५४८ पुगेको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, सङ्क्रमण बढिरहँदा के-के कुरामा ध्यान दिने? सङ्क्रमित कुन अवस्थामा अस्पताल जाने?