कोभिड नेपालः सगरमाथा आधार शिविरमा कोरोना भाइरस सङ्क्रमण फैलिने डर

सगरमाथा आधार शिविर

तस्बिर स्रोत, Lukas Furtenback

    • Author, नवीनसिं खड्का
    • Role, पर्यावरण संवाददाता, बीबीसी विश्व सेवा

सगरमाथाको आधार शिविरमा भएका पर्वतारोही र नेपाल सरकारले खटाएका अधिकारीहरूले कोभिड-१९ को लक्षण भएका आरोहीको सङ्ख्या तथा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढिरहेको बीबीसीलाई बताएका छन्। उनीहरू सगरमाथा क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण प्रकोपका रूपमा फैलिने त्रासमा देखिन्छन्।

आधार शिविरमा भएका अधिकारीहरूका अनुसार सगरमाथाबाट उपचारका लागि काठमाण्डू पठाइएका आरोहीमध्ये १७ जनामा कोभिड पुष्टि भएको विवरण प्राप्त भएको छ।

काठमाण्डूस्थित एउटा निजी अस्पतालकी एक कर्मचारीले सगरमाथा आधार शिविरबाट फर्किएका बिरामीमा कोभिड-१९ देखिएको बीबीसीसँग पुष्टि गरिन्।

नेपाल सरकारले यो विवरण तयार पार्दासम्म आधार शिविरमा कोभिड देखिएकोबारे आफूलाई जानकारी नभएको दाबी गरेको छ। पर्वतारोहण अभियान बन्द गर्न धेरै दबाव पर्न सक्ने डरले अधिकारीहरूले त्यहाँको यथास्थितिबारे सूचना नदिएको हो कि भन्ने आशङ्का उत्पन्न भएको हो।

नेपाल सरकारका लागि पर्वतारोहणका आउने विदेशी पर्यटकले अनुमति लिँदा बुझाउने शुल्क राजस्व सङ्कलनको एउटा ठूलो स्रोत हो।

गत वर्ष कोभिड-१९ महामारीका कारण सगरमाथामा पर्वतारोहण भएको थिएन।

सगरमाथा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यसपालि झन्डै ४०० वटा टोलीले आरोहणको अनुमति लिएका छन्

यसपालि सगरमाथा चढ्न नेपाल आएका आरोहीहरूलाई आधार शिविरतिर जानुअघि क्वारन्टीनमा बस्न भनिएको थियो। सगरमाथामा कोभिड नराम्रो फैलिए त्यसले ठूलो क्षति पुर्‍याउने हो कि भन्ने चिन्ता पर्वतारोहीहरूको समुदायमा देखिएको छ।

केही सातायता नेपालमा कोभिडका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको हो। नेपालको सङ्क्रमण दर उच्चतम भएको तथ्याङ्कहरूले सङ्केत गर्छन्।

पर्वतारोहण अभियानसँग सम्बन्धित विषय हेर्ने नेपालको पर्यटन विभागसँग सम्पर्क हुन सकेन। तर संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका उपसचिव प्रेम सुवेदीले आधार शिविरमा कोरोनाभाइरस फैलिएको विषयमा मन्त्रालय अनभिज्ञ भएको बीबीसीलाई बताए।

"अहिलेसम्म पर्यटन मन्त्रालयमा सगरमाथा आधार शिविरका कोभिडको कुनै मामिलाबारे जानकारी दिइएको छैन," उनले भने।

'पुष्टि भएका मामिला'

सगरमाथा आधार शिविरमा मेडिकल क्लिनिक सञ्चालन गर्ने हिमालयन रेस्क्यू असोसीएशनले त्यहाँबाट हेलिकप्टरबाट काठमाण्डू लगिएका केही आरोहीहरूमा कोभिड पुष्टि भएको सूचना आफूले पाएको बीबीसीलाई बताएको छ।

"हामीले भर्खरै सत्र जनामा सङ्क्रमण पुष्टि भएको सूचना काठमाण्डूबाट पाएका छौँ," उक्त संस्थाका ल्हाक्पा नुरु शेर्पाले भने।

"अहिले हामीले पर्वतारोहण टोलीलाई बिरामी परेका आफ्ना सदस्यलाई [काठमाण्डू] पठाउनुअघि हामीलाई भन्न आग्रह गरेका छौँ," उनले भने, "त्यसो गर्दा हामीलाई के हुँदैछ भन्ने थाहा हुन्छ।"

आधार शिविरमा अवस्थित क्लिनिकमा कार्यरत डा. प्रकाश खरेलका अनुसार निरन्तर लाग्ने खोकी र ज्वरोजस्ता कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखा पर्ने लक्षण भएका मानिसको सङ्ख्या बढिरहेको छ।

"लगभग सबै पर्वतारोहीलाई यहाँ खोकी लाग्छ। तर हामीले अरू लक्षण भएका मानिस पनि फेला पारेका छौँ अनि उनीहरूलाई अलग्गै राख्न प्रयास गरेका छौँ," डा. खरेलले भने।

काठमाण्डूस्थित सिवेक क्लिनिकले पनि सगरमाथाबाट आफूकहाँ आएका बिरामीमा कोभिड भएको पुष्टि गर्‍यो।

"हामीकहाँ सगरमाथा क्षेत्रबाट आएका बिरामी थिए जो परीक्षण गर्दा दुई साताअघि हाम्रै अस्पतालमा सङ्क्रित देखिए," सिवेककी कर्मचारी आस्था पन्तले भनिन्।

"तर अहिले हामी कति जना भन्ने वा अन्य सूचना दिन सक्दैनौँ।"

सगरमाथा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोरोनाभाइरस महामारीका कारण पोहोर सगरमाथामा पर्वतारोहण रोकिएको थियो

एउटा ठूलो आरोहण टोलीले आफ्ना केही सदस्यमा कोरोनाभाइरस देखिएको तर अहिले उनीहरू निको भइसकेको बतायो। तर उसले आफ्नो टोलीको नाम उल्लेख नगरिदिन आग्रह गरेको छ।

नर्वेका आरोही एर्लेन्ड नेसले बीबीसीलाई गत महिना आफूलाई काठमाण्डूका दुई अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण भएको देखिएको बताए।

कस्ता लक्षण

पहिला उनलाई लेक लागेको भन्ठानिएको थियो।

तर हवाई उद्धार गरेर काठमाण्डू लगेपछि कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भयो। कोरोनाभाइरस सङ्क्रमण हुँदा लेक लागेको समस्या भनेर झुक्किने डर पर्वातारोहीहरूको छ।

"तपाईँ मानिसहरू खोकिरहेको जहाँ पनि सुन्नुहुन्छ," फुर्टेन्बाक एन्ड्भेन्चर्सका टोली नेता लुकास फुर्टेन्बाकले बीबीसीलाई सगरमाथा आधार शिविरबाट भने। "तर यो पर्वतारोहीहरूलाई यहाँ सामान्यतया लाग्ने खोकी हैन। मानिसहरू पीडित भएको र उनीहरूलाई ज्वरो तथा जीउ दुख्ने लक्षण भएको तपाईँ बुझ्न सक्नुहुन्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

पर्यटन विभागको वेबसाइटका अनुसार यसपालि एप्रिल २६ सम्म नेपाल सरकारले पर्वतारोहणका लागि ३९४ वटा अनुमति दिएको छ। ती सबै अभियानका लागि सगरमाथा क्षेत्रमा पुग्ने मानिसको सङ्ख्या १,५०० पुग्छ। तीमध्ये अधिकांश सहयोगीहरू हुन्छन्।

आधार शिविरमा भएका अधिकारीहरूले काठमाण्डूबाट कोभिडको उपचार गरेर वा अनुकूलनका लागि गएर फर्किने आरोहीहरूबारे चिन्ता भएको बताएका छन्।

"उनीहरू आफू निको भएका हुन सक्छन् तर काठमाण्डूमा अवस्था गम्भीर भएकाले आफूसँग भाइरस ल्याएका हुन सक्छन्," नेपाली सेनाका एक अधिकारीले भने। "तसर्थ हामीले आरोहीहरूलाई पर्यनुकूलनको चक्रका लागि काठमाण्डू नभएर आधार शिविरभन्दा तल जान सुझाव दिएका छौँ।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोभिड परीक्षणको सुविधा छैन

सगरमाथा आधार शिविरमा भएका पर्वतारोही र अधिकारीहरूले त्यहाँ कोरोनाभाइरस परीक्षण गर्ने सुविधा नहुँदा अप्ठेरो भएको बताएका छन्।

"हामीले परीक्षणको सुविधा व्यवस्था गरियोस् भनेर सरकारसँग अनुरोध गरेका थियौँ। तर उनीहरूले अनुमति दिएनन्," डा. खरेलले भने।

केही ठूला टोलीहरूले आफूसँगै परीक्षणका लागि आवश्यक किट ल्याएको बताएका छन्। त्यसबाट सङ्क्रमणको सङ्केत देखिए सदस्यहरूलाई समयमै अलग्गै राख्न तथा उद्धार गरेर काठमाण्डू पठाउन सजिलो भएको छ।

सगरमाथा आधार शिविर

तस्बिर स्रोत, Lukas Furtenback

तस्बिरको क्याप्शन, सगरमाथा आधार शिविरमा कोभिड परीक्षणको सुविधा छैन

हिमालयन रेस्क्यू असोसीएशनका अधिकारीहरूले आफूले सगरमाथा आधार शिविरमा भएका १७ पर्वतारोहीहरूमा सङ्क्रमण पुष्टि भएको प्रतिवेदन भर्खरै पाएको बतायो।

"पुष्टि भएका सङ्क्रमित र आरोहीको परिचयसम्बन्धी विवरण यसअघि नपाउनु दुःखको कुरा हो," आधार शिविरमा खटिएका एक सैन्य अधिकृतले बीबीसीलाई भने।

"त्यसले हामीलाई संसर्गमा आएका मानिसको पहिचान गर्न तथा कोरोनाभाइरस थप फैलिन नदिन काम गर्न सघाउँथ्यो," उनले भने,

"सङ्क्रमण पुष्टि भएकाहरूसँग सम्पर्कमा आएका आरोहीहरूलाई हामी धेरै अघि नै अलग्ग राख्न सक्थ्यौँ।