कोरोना भाइरस नेपाल: एकै व्यक्तिले कोभिशील्ड र भेरो सेल खोप लगाउनु हुन्छ कि हुँदैन

खोप

तस्बिर स्रोत, RSS

नेपालमा हाल भारतमा उत्पादित आस्ट्राजेनेकाको कोभिशील्ड र चिनियाँ भेरो सेल खोप कोरोनाभाइरसविरुद्ध दिइँदै आइएको छ।

कतिपयले यी दुवै खोप लगाउँदा झन् प्रभावकारी हुनसक्ने विचार सामाजिक सञ्जालमा व्यक्त गरेको देखिएको छ।

तर सरकारले भने खोपको पहिलो मात्रा प्राप्त गरेका व्यक्तिले त्यही खोपको दोस्रो मात्रा लगाउनुपर्ने बताइरहेको छ।

पहिलो मात्रा कोभिशील्ड लगाएकाले दोस्रो मात्रा पनि कोभिशील्ड नै र भेरो सेल लगाएकाले भेरो सेल नै लगाउनु पर्ने सरकारको भनाइ छ।

नेपालमा प्रयोग भइरहेका यी दुई खोपको फरक के हो? दुवै खोप लगाउनु हुन्छ कि हुँदैन?

दुवै खोप लगाउनु हुन्छ?

स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले दुई वटा खोप मिसाउँदा के हुन्छ भन्ने विषयमा अन्ताराष्ट्रिय स्तरमै अध्ययन भइरहेको बताए।

उनले भने, "यो अहिले अध्ययनकै विषय छ।"

हालसम्म कुनै पनि मुलुकले दुई खोप मिसाएर लगाउन नभनेको र खोप मिसिँदा के हुन्छ भन्ने विषयमा केही भनिहाल्न अप्ठ्यारो रहेको उनले बताए।

परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीले पनि दुई खोप मिसाएर दिने सरकारी योजनामा नरहेको जानकारी दिए।

सरकारले गठन गरेको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीले पनि दुइटै खोप लगाएको विषयमा आफूहरूलाई जानकारी नभएको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन कुनै देशले सन् २०२१ मा कोभिड खोप पाउँदैनन्

"मैले धरै ठाउँमा हेरेको छु। सुरुमा आस्ट्राजेनेका लगाएकाले दोस्रो मात्रामा भेरो सेल लगाएको त थाहा छैन," उनले भने।

"सुरुमा जुन लगाएको हो त्यही लगाउनुपर्छ भनेर हामीले व्यापक प्रचारप्रसार गरेका छौँ।"

केही भिन्नता, केही समानता

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिशील्ड र भेरो सेल फरक किसिमका खोप हुन। कोभिशील्ड 'पुन: संयोजित' खोप हो भने भेरो सेल निष्क्रिय पारिएको भाइरसनिर्मित खोप हो।

माइक्रोबायोलोजी प्राध्यापक तथा खोपसम्बन्धी अध्येता डा. प्रकाश घिमिरेका अनुसार भेरो सेल निष्क्रिय पारिएको खोप भएकाले यसको प्रभावकारिता भेक्टर्ड खोप (कोभिशील्ड) भन्दा केही कम हुन्छ।

भेक्टर्ड खोप दुई मात्रा लगाएपछि प्रभावकारिता लगभग ८० प्रतिशत हुने विभिन्न अध्ययनले देखाएको उनी बताउँछन्।

तर बीबीसीले प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले दस्तावेजमा कोभिशील्डको प्रभावकारिता ७० प्रतिशत रहेको लेखिएको छ।

दुवै खोपका दुई मात्रा लगाउनुपर्ने हुन्छ। कोभिशील्डका मात्रा आठदेखि १२ हप्ता भित्रमा लिइसक्नुपर्छ भने भेरो सेलका दुई मात्रा चार हप्ताको अन्तरालमा लगाउनुपर्ने हुन्छ।

एउटै बनावट भएका खोपहरूलाई चाहिँ 'इन्टरचेन्ज' गर्न सकिन्छ कि भन्ने कुराहरूको अन्तर्राष्ट्रिय स्तरमा अध्ययन भइरहेको बताइन्छ।

उप्रेतीका अनुसार भारतले विकास गरेको कोभ्याक्सीन र चिनियाँ भेरो सेल एउटै किसिमको बनावट भएका खोप हुन्। तर उक्त भारतीय खोप भने नेपालमा हालसम्म प्रयोगमा ल्याइएको छैन।

खोप

तस्बिर स्रोत, REUTERS

दुवै लिनु जोखिमपूर्ण हो?

सरकारी नीति अनुसार फरकफरक खोपका दुई मात्रा नलगाउन भनिए पनि यो हानिकारक भने नहुने उप्रेतीले बताए।

उप्रेतीले भने, "हामीले अहिलेसम्म कोभिडको एउटा खोप लगाएपछि अर्को दिन मिल्छ कि मिल्दैन भन्ने अनुसन्धानकै विषय छ।"

"विश्व स्वास्थ्य सङ्गठनले अहिलेसम्म परीक्षण नभएकाले दुवै प्रयोग नगर्नु भनेको छ। तर कुनै खराबी हुने कुरा त भएन," उनले भने।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, "खराब गर्छ जस्तो त मलाई लाग्दैन। त्यो मेरो व्यक्तिगत धारणा हो।"

"कुनै पनि खोपको उद्देश्य एन्टीबडी वा रोग प्रतिरोधात्मक क्षमता बढाउने नै हो। तर पनि हामीले पूर्ण रूपमा त्यसबारेमा जानकारी नभई ठ्याक्कै भन्न चाहिँ गाह्रै हुन्छ," उनले भने।

स्वास्थ्यका हिसाबले हानि हुने वा नहुने कुराको पुष्टि नभएको भए पनि धेरैभन्दा धेरै सर्वसाधारणहरूलाई खोप दिनुपर्ने अवस्थामा दुवै खोप लिनु गलत हुने अधिकारीहरू बताउँछन्।

खोप

तस्बिर स्रोत, REUTERS

तथ्याङ्क नहुँदा समस्या

सरकारले कोरोनाभाइरसविरुद्ध खोप लगाएकाहरूलाई खोप कार्ड उपलब्ध गराउने गरेको छ।

आस्ट्राजेनेका खोप लगाएकाहरूले निलो रङ्गको खोप कार्ड पाएका छन् भने भेरो सेल लगाउने व्यक्तिले पहेँलो रङ्गको कार्ड प्राप्त गरेका छन्।

खोपको दोस्रो मात्रा लगाउने बेलामा उक्त कार्ड देखाउनुपर्ने हुन्छ।

तर खोप प्राप्त गरेकाहरूको तथ्याङ्क खोप केन्द्रमा नहुँदा अघिल्लो खोप कार्ड नै नदेखाएर अर्को खोप लगाउन सक्ने सम्भावना रहेको छ।

"सुरुमा छोटो समयमा खोप दिएकाले तथ्याङ्क नभएको हो। तर अहिले आईएमई भन्ने सिस्टममा पहिलो डोज लगाएकाहरूको तथ्याङ्क राखिएको छ," उप्रेतीले भने।