कोरोना भाइरस नेपाल: कोभिड खोपबारे तपाईँको मनमा उब्जिरहेका प्रश्नका जबाफ

खोप

तस्बिर स्रोत, SOPA

फागुन २३ गतेदेखि नेपालमा दोस्रो चरणको कोभिड खोप अभियान शुरू हुँदै छ।

यो चरणमा ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिइने तयारी छ।

कुनै रोग वा दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले निर्धक्कसँग त्यस्तो खोप लगाउन मिल्छ?

खोप लगाउन के-के कागतपत्र चाहिन्छ? खोप लगाउनुअघि र लगाइसकेपछि के-के गर्नु हुँदैन?

बीबीसी न्यूज नेपालीले फेसबुक र ट्विटरमार्फत खोपका विभिन्न पक्षबारे जिज्ञासा भए पठाउन अनुरोध गरेको थियो।

तपाईँहरूले नै पठाउनुभएका छानिएका जिज्ञासामा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले दिएका उत्तर यस्ता छन्:

Presentational grey line

रवि पौडेल: नेपालले अनुदानमा पाएको भ्याक्सिन त्यति भरपर्दो छैन भन्ने सुनिन्छ नि?

डा. गौतम: यो कुरा गलत हो। आस्ट्राजेनेका र अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोप हो यो।

संसार भरमा यसको प्रभावकारिता फाइजर र मोर्डेर्ना खोपपछि सबैभन्दा बढी देखिएको छ। सबैभन्दा राम्रो खोपमध्ये एक हो यो।

Presentational grey line

पवन खनाल र आशिष् हाङ् लिम्बु: खोप कहाँ कसरी दिइन्छ र कागजपत्र के चाहिन्छ?

डा. गौतम: ५५ वर्ष कटेकाहरूले उमेर खुल्ने नागरिकताको प्रमाणपत्र लिएर आए खोप लगाउन पाउने छन्।

पेसाका आधारमा खोप पाउनेहरूले त्यसको प्रमाणपत्रका आधारमा खोप प्राप्त गरिरहेका छन्।

खोप

तस्बिर स्रोत, Getty Images

सुदिप घिमिरे: कामको सिलसिलामा हामी पोखरा छौँ। घर लमजुङ हो। के मैले मेरी आमालाई खोप पोखराबाटै लगाउन पाउँछु ?

डा. गौतम: उहाँको उमेर ६५ पुगेको छ भने २३ गते नागरिकता लिएर जाने जहाँ बस्नुहुन्छ त्यही ठाउँमा।

उहाँ ५५ माथिको हुनुहुन्छ भने चैत ३ पछि उहाँले खोप लगाउन पाउनुहुन्छ।

तर ५५ वर्षभन्दा कम उमेर छ भने उहाँले अर्को चरणमा खोप लगाउन पाउनुहुनेछ।

Presentational grey line

प्रदीप निशा लाकन्ड्री: मधुमेह, उच्च रक्तचाप र थाइरोइड भएको बिरामीले यो खोप लगाउन मिल्छ कि मिल्दैन?

डा. सुवेदी:एकदम मिल्छ। झन् मधुमेह, उच्च रक्तचाप भएका मानिसहरू सिकिस्त हुने जोखिम बढी हुने हुँदा उहाँहरूले खोप लगाउनै पर्छ।

Presentational grey line

नाम खुलाउन चाहने प्रश्नकर्ता: गर्भवती महिलाले खोप लगाउनु हुन्छ कि हुँदैन?

डा. सुवेदी:खोपको क्लिनिकल परीक्षणमा गर्भवती महिलाहरूलाई सामेल गरिएको थिएन। त्यसो हुँदा सुरुमा गर्भवतीलाई खोप दिने नदिनेमा दोधार थियो।

तर खोपको धेरैमा प्रयोग भइसक्दा यो खोपले गर्भवती महिलालाई वा गर्भमा रहेको शिशुलाई यस प्रकारले हानि गर्न सक्ला भन्ने कुनै पनि किसिमको कारण भेटिएको छैन।

विभिन्न देशमा लाखौँले यसको प्रयोग गरिसकेका छन्। सङ्क्रमणको जोखिम भएका महिलाले खोप लगाउनु पर्छ वा लगाउनु हुन्छ भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठन लगायत पश्चिमा देशका 'गाइडलाइनस्' बनाउने निकायहरूले भनेका छन्।

खोप

तस्बिर स्रोत, RSS

Presentational grey line

तिलक धमला: मलाई दुई वर्ष अघिसम्म एलर्जी थियो। एलर्जी भएको मान्छेले खोप लगाउनु हुँदैन भन्ने सुनेर म दोधार मा छु र डर पनि लागि रहेको छ।

डा. सुवेदी:हामी एलर्जी भन्नाले धेरै कुरालाई बुझ्छौ। खोपका विषयमा एलर्जी भन्नाले कुनै खोप वा औषधि खाँदा एक्कासि जिब्रो सुन्निने, सास फेर्न गाह्रो हुने, दम बढे जस्तो हुने र रक्तचाप घटेको मानिसले खोप लगाउन हुँदैन।

तर रुघालाई पनि हामी एलर्जी भन्छौँ। छाला चिलाउनेलाई पनि एलर्जी भन्छौँ। त्यस्तो मान्छेले खोप लगाउनु हुन्छ।

Presentational grey line

केदार ओडारी: मैले ओपन हर्ट सर्जरी गरेको छु मलाई मधुमेह छ र मिर्गौलामा पनि समस्या छ। म ६३ वर्षको भएँ।

डा. सुवेदी:खोप लगाउने। तपाईँले लगाउन झन् महत्त्वपूर्ण छ किनभने मधुमेह मुटु रोग मिर्गौलाको रोग हुने मानिसको रोग प्रतिरोधी क्षमता हुने हुँदा सिकिस्त हुने जोखिम बढी हुन्छ।

Presentational grey line

गणेश लामा: पहिलो चरणको खोप नै नलगाएकाहरुले कहिले सम्ममा खोप लगाउन पाउने हो ?

डा. गौतम: तपाईँको उमेर लगायत अन्य योग्यताले यो विषय तय हुन्छ।

हाम्रो प्राथमिकता पहिला स्वास्थ्यकर्मी, सफाइकर्मी, जेलका बन्दीहरू, सीमामा कार्यरत सशस्त्र प्रहरी थिए।

अब अहिले ५५ वर्ष माथिका व्यक्तिलाई २३ गते बाट खोप लगाउँछौँ।

त्यसमा पहिलो १० दिन ६५ वर्ष माथिका व्यक्तिलाई खोप लगाउँछौँ।

त्यसको १० दिन पछि ५५ माथिका व्यक्तिलाई लगाउँछौँ।

एस्ट्राजेनेकाको कोभिशील्ड खोप राख्ने सिसी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सेरम इन्स्टिच्यूट अफ इन्डियाको प्रयोगशालामा एस्ट्राजेनेकाको कोभिशील्ड खोप राख्ने सिसी
Presentational grey line

लक्ष्मण बहादुर सुनार: भारतमा नोकरी गर्ने नेपालीहरूलाई कसले खोप लगाउने? हाम्रो बारेमा सरकारको के कस्तो रणनीति छ।

डा. गौतम: भारतीय नागरिक नेपालमा जो छन्, हाम्रो मापदण्ड अनुसार हामी लगाइदिन्छौँ।

र नेपाली नागरिक भारतमा जो छन्, उनीहरूलाई पनि भारतले लगाइदिनुपर्छ।

Presentational grey line

नाम खुलाउन चाहने प्रश्नकर्ता: महिनावारी भइरहेको अवस्थामा खोप लगाउन हुन्छ कि हुँदैन?

डा. सुवेदी:हुन्छ। ज्वरो आइरहेको छ भने खोप लगाउन हुन्न।

पछिल्लो तीन महिनामा कोरोनाभाइरस सङ्क्रमण भएको थियो र प्लाज्माले उपचार गरिएको थियो भने खोप लगाउन हुँदैन।

पहिले कोरोनाभाइरस भएका तर प्लाज्माले उपचार नगरिएकाहरुले पनि खोप लगाउन हुन्छ। रुघाखोकी मात्रै लागेको छ भने पनि खोप लगाउन हुन्छ।

Presentational grey line

बोधनाथ पौडेल: म दशैँ लगत्तै कोरोनाभाइरसबाट सङ्क्रमित भएको थिए र लामो समयदेखि मधुमेह र उच्च रक्तचाप पनि छ। मलाई कोरोना नेगेटिभ हुन लगभग ४० दिन लाग्यो। यो खोप लगाएपछि मलाई कोरोना अब फेरि लाग्दैन भनेर म ढुक्क कसरी हुने?

डा. गौतम: मधुमेह र उच्च रक्तचाप भएकाले सकभर चाँडो यो खोप लगाउनुपर्छ।

मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूलाई कोरोनाभाइरस लागे ज्यानै जान सक्ने हुँदा सक्दो चाँडो खोप लगाउनुपर्छ।

खोप लगाएर मृत्यु हुन्छ भन्ने कुरा गलत हो। अहिलेसम्म हामीले नेपालमा ४ लाख ३० हजार मानिसलाई खोप लगाउँदा एक जनाको पनि मृत्यु भएको छैन।

कोभ्याक्सीन

तस्बिर स्रोत, Reuters

Presentational grey line

केशव भण्डारी मुस्कान: यो खोप औषधी सेवन गरिरहेका व्यक्तिले लगाउन मिल्छ कि मिल्दैन। र यो खोप लगाएपछि आराम गर्न पर्छ कि पर्दैन?

डा. सुवेदी:आराम गर्न आवश्यक छैन। कसैलाई ज्वरो आयो, जिउ दुख्यो वा बिसन्चो भएजस्तो भयो भने २४ देखि ४८ घण्टासम्म आराम गर्ने।

कुनै पनि औषधिसँग खोपको सिधा रियाक्सन हुन्छ भन्ने देखिएको छैन।

औषधि सेवन गरेको मान्छेले खोप मजाले लगाउँदा हुन्छ।

Presentational grey line

कृष्णप्रसाद भुसाल: अति विपन्न कमजोर आय स्तर भएका नेपालीहरूलाई पनि खोपको सुनिश्चितता गर्न के-कस्तो प्रक्रिया अपनाइँदै छ?

डा. गौतम: नेपाल सरकारले निःशुल्क खोप लगाउने योजना बनाएको छ।

त्यस कारण आयस्रोतले खोप लगाउने कुरामा फरक पार्दैन।

भूपेन्द्र शाह ठकुरी: सरकारले विभिन्न कम्पनीका खोपहरू प्रयोगका लागि समेत अनुमति दिने भन्ने समाचार पनि सुनिन्छन्। के नेपाललाई प्रयोगशाला बनाउन खोजिएको हो?

डा. गौतम: नेपालमा हालसम्म एउटा मात्रै खोप लगाइएको छ। त्यो लगाउँदा हुन्छ।

संसारमा धेरै खोप निस्केका छन्। अरू खोप पनि लगाउनै नमिल्ने कुरा होइन।

पहिले नै परीक्षण गरिएका खोप भएकाले प्रयोगशाला बनाउने कुरा हुँदैन।

Presentational grey line

योगेन्द्र सिंह ठकुरी:१८ वर्ष मुनिकालाई पनि खोप दिएको भए अझ राम्रो हुन्थ्यो कि?

डा. गौतम: बन्यो भने दिने हो। १८ वर्ष भन्दा मुनिका लागि अहिलेसम्म संसारमा खोप बनेको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन कुनै देशले सन् २०२१ मा कोभिड खोप पाउँदैनन्

प्रयास सापकोटा : कोभिड-१९ को खोपले कसरी भाइरसविरुद्ध लड्ने क्षमता विकास गर्ला अनि यो खोप के कस्तो पदार्थ बाट बनेका होलान्? के यस प्रकारको खोप ले हाम्रो प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता मा कुनै नोक्सानी नपुर्‍याउला ?

डा. सुवेदी:प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतामा नोक्सान नपुराउने अहिलेसम्म कुनै पनि प्रमाण भेटिएको छैन। खालि के भने खोपले चाहिँ रोग प्रतिरोधी क्षमतालाई भरथेग गर्ने हो। झन् बलियो बनाइ दिने हो।

नेपालमा अहिले वितरण भइरहेको कोभीसील्ड खोपमा एउटा अर्को भाइरसको आनुवंशिक तत्त्वहरूको प्रयोग भएको हुन्छ। त्यो तत्त्व आफैले सङ्क्रमण बनाउन सक्दैन। त्यसमा त्यो क्षमता हुँदैन।

तर त्यसमा एक हिसाबले कोरोनाभाइरसको संरचनामा हुने स्पाइक प्रोटिन भनिने तत्त्व विरुद्ध शरीरलाई पहिचान गर्न सक्ने शक्ति हुन्छ र यसले अरू किसिमको असर गरेको देखिएको छैन। दशौँ लाख मानिसमा यो खोपको प्रयोग भइसकेको छ।

Presentational grey line

टेक नारायण पौडेल'दयालु': मैले यो खोप तीन हप्ता पहिला लगाए। लगाइसकेको ठाउँमा अझैसम्म दुखिरहेको छ।कारण के होला?

डा. सुवेदी:कसैकसैलाई चाहिँ खोप लगाएको ठाउँमा 'लोकल रियाक्सन' हुन सक्छ।

सुन्निएको वा रातो भएको क्षेत्रफल बढ्दै गयो अनि ज्वरो पनि आउन थाल्यो भने छालाको सतहमा भएका ब्याक्टेरिया भित्र पसेर इन्फेक्सन भएको भन्ने सोच्नुपर्छ।

त्यसको लागि चिकित्सकलाई देखाउनुपर्छ। एन्टिबायोटिक खानुपर्ने हुनसक्छ। तर धेरै रातो भएको छैन र सुन्निएको छैन भने ज्वरो आएको छैन त्यो आफै निको हुन्छ।

Presentational grey line

कृपानन्द राज सीआर: यो खोपको दीर्घकालीन असरहरू छन् कि छैनन्?

डा. सुवेदी:अहिलेसम्म यो खोपबाट दीर्घकालीन असर भएको वा हुन्छ भनेर कुनै त्यस्तो सम्भावना देखिएको छैन।

Presentational grey line

प्रेम शाहि: के कोभिड खोप गर्मी हुने ठाउँमा लगाउन मिल्छ त ?

डा. सुवेदी:गर्मी जाडो सबै स्थानमा यो खोप लगाउन मिल्छ।