कोरोना भाइरस: मोनोक्लोनल एन्टीबडीले कोभिडको उपचारमा कसरी सघाउँछ‍?

जर्मनीको सहर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युरोपमा खोपको अभाव हुनसक्छ भन्ने आशङ्का बढिरहेका बेला जर्मनीले मोनोक्लोनल एन्टीबडीज उपचार विधि अपनाउने भएको छ

कोभिड-१९ को खोप अभाव भए नयाँ विधिको प्रयोग गर्ने घोषणा जर्मनीले गरेको छ।

त्यो नयाँ विधि भनेको मोनोक्लोनल एन्टीबडीको प्रयोग हो।

जर्मनीका स्वास्थ्यमन्त्री यान्स स्पानका अनुसार उनको सरकारले यसका लागि प्रयोग हुने नयाँ औषधि खरिद गरिसकेको छ।

यो औषधि प्रयोग गर्ने जर्मनी युरोपेली संघमा पहिलो देश हुनेछ।

मोनोक्लोनल एन्टीबडी के हो र यसले कसरी काम गर्छ त?

मोनोक्लोनल एन्टीबडीको व्याख्या

एन्टीबडीलाई शरीरको प्रतिरक्षा प्रणालीको "योद्धा"को रुपमा व्याख्या गर्न सकिन्छ।

जब कोरोनाभाइरसले तपाईँको शरीरलाई सङ्क्रमण गर्छ, भाइरसको सतहमा देखिने काँडाजस्तो भाग स्पाइक प्रोटीनमा टाँसिएका एन्टीबडीले तिनलाई कोषमा प्रवेश गर्न रोक लगाउँछ।

तर हामी धेरै भिन्न प्रकारका एन्टीबडीहरू उत्पादन गर्छौं। तीमध्ये सबैभन्दा शक्तिशालीलाई न्यूट्रलाइजिङ एन्टीबडी भनिन्छ।

कोरोनाभाइरसलाई हमला गर्ने एन्टिबडीजको चित्रण

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, कोरोनाभाइरसलाई हमला गर्ने एन्टिबडीजको चित्रण

त्यसैले वैज्ञानिकहरूले तीमध्येबाट जुन एन्टीबडी स्पाइकमा सबैभन्दा राम्ररी टाँसिन्छन् तिनैलाई "छानेका" छन्।

त्यसरी छानिएको एन्टीबडीलाई प्रयोगशालामा ठूलो सङ्ख्यामा उत्पादन गरिन्छ जसलाई मोनोक्लोनल एन्टीबडी पनि भनिन्छ किनभने ती सबैलाई एउटा एन्टीबडी कोषबाट क्लोन गरिएको हो।

जब बिरामीहरूलाई एन्टीबडी दिइन्छ, यसले उनीहरूको प्रतिरक्षा प्रणालीलाई तत्कालै बलियो बनाउँछ।

तर मोनोक्लोनलहरू बनाउँदाको समस्या भनेको यो एकदमै महङ्गो र समय धेरै लाग्ने हुन्छ। सही कोषलाई क्लोन गर्न छुट्टै राख्नुपर्ने भएकोले यसका लागि धेरै समय लाग्छ।

मोलोक्लोनल एन्टीबडीज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एउटा सेतो रक्तकोषबाट एन्टीबडी क्लोन गरेपछि त्यसलाई मोनोक्लोनल भनिन्छ

मोनोक्लोनल एन्टीबडीको उपचार विधि यसअघि प्रयोग गरिसकिएको प्लाज्मा उपचार विधिभन्दा धेरै फरक छ।

यसमा कोरोनाभाइरसको सङ्क्रमणबाट निको भइसकेका मानिसहरूको प्लाज्मा निकालेर बिरामीलाई दिइन्छ त्यसैले ती भिन्नाभिन्नै एन्टीबडीजमा आधारित हुन्छ जुन भाइरसको विभिन्न भागहरूमा टाँसिन्छ।

यो पहिला प्रयोगमा आएको छ?

सन् १९८० यता मोनोक्लोनल एन्टीबडीलाई औषधिको रुपमा प्रयोग गर्न थालिएको हो र क्यान्सरको लगायतका थुप्रै रोगहरूको उपचारमा यो प्रयोग गरिन्छ।

अमेरिकाको नर्सिङ होमहरूमा गरिएको एउटा अध्ययनका अनुसार प्रयोगशालामा ठूलो मात्रामा उत्पादन गरिने मोनोक्लोनल एन्टीबडीलाई मानिसमा कोरोनाभाइरस विकास हुनबाट जोगाउन प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ।

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोनाभाइरस सङ्क्रमण भएपछि सन् २०२० को अक्टोबरमा उनको उपचारका लागि अमेरिकाको औषधि उत्पादक कम्पनी इलाइ लिलीले बनाएको कोभिड-१९ को मोनोक्लोनल प्रयोग गरिएको थियो।

प्रयोगशालामा काम गर्दै एक महिला वैज्ञानिक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्लोनका लागि सही कोषको पहिचान गरेर मोनोक्लोनल एन्टीबडी बनाउने भएकोले यो महङ्गो र धेरै समय लाग्ने हुन्छ

योसँगै अमेरिकाकै बायोटेक कम्पनी रिजेनेरनले बनाएको अरू दुईवटा एन्टीबडी पनि प्रयोग गरिएको थियो।

यी मोनोक्लोनलहरू भाइरसको स्पाइकका अलि फरक ठाउँमा टाँसिएका थिए। त्यसैले यदि भाइरस परिवर्तित भए त्यसको संरचना परिवर्तन हुन्छ र कम्तीमा एउटाले अझै पनि काम गर्छ।

विगतमा रिजेनेरनले इबोलाको उपचार गर्नका लागि पनि मोनोक्लोनल एन्टीबडी उत्पादन गरेको थियो।

तर मोनोक्लोनल उत्पादन गर्न निकै धेरै खर्च लाग्छ। कोभिड-१९ का खोपहरूको परीक्षण सफल भएपछि यो उपचार विधि दोस्रो विकल्पका रुपमा देखिएको छ।

फाइल तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एस्ट्राजेनेकाले खोपको मात्रामा ६० प्रतिशतसम्म कटौती गर्नसक्ने भन्ने विवरणहरू आएका छन्

जर्मनीको विकल्प किन?

खोप उत्पादकहरूले सहमति जनाएअनुसार युरोपेली सङ्घलाई खोपको आपूर्ति नगर्ने सम्भावना रहेको भन्दै चिन्ताहरू व्यक्त भएका छन्। जसका कारण हाल भइरहेका खोप अभियानहरूलाई असर गर्न सक्छ।

औषधि उत्पादक कम्पनीहरू एस्ट्राजेनेका र फाइजर-बायोएनटेक दुवैले उत्पादनमा समस्या आएको बताएका छन् जसको अर्थ अपेक्षित सङ्ख्यामा उनीहरूले खोपको आपूर्ति गर्ने छैनन्।

युरोपेली सङ्घकी स्वास्थ्य आयुक्त स्टेल्ला किरियाकिदिसले सङ्घभित्र खोप बनाइरहेका कम्पनीहरूले 'तेस्रो देशमा खोप निर्यात गर्दा जुनसुकै बेला उनीहरूले पूर्वजानकारी दिनुपर्ने बताएकी छन्।'

जर्मनीले मोनोक्लोनल एन्टीबडी प्रयोग गर्नेबारे अग्रता लिएको छ। उसले ४८ करोड डलरमा दुई लाख मात्रा किन्ने निर्णय गरिसकेको छ।

जर्मनीका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै त्यहाँको एउटा पत्रिकाले अर्को साताबाट मोनोक्लोनल एन्टीबडी प्रयोग गरिने जनाएको छ।

"यसले सुस्त रूपमा खोपको काम गर्छ। सुरुकै चरणहरूमा दिइए यी एन्टीबडीहरूले उच्च जोखिमका बिरामीहरूलाई थप गम्भीर हुनबाट जोगाउन सक्छ।"

पहिलो परीक्षणहरू विश्वविद्यालयका क्लिनिकहरूमा हुने ठानिएको छ।

के खोप भए पनि मोनोक्लोनल चाहिन्छ?

अहिले खोपका थुप्रै विकल्पहरू उपलब्ध छन्, तर उत्पादनले अझै पनि माग धान्न सकिरहेको छैन र निकट भविष्यमै अभावको सम्भाव्यता रहेको भन्दै चिन्ताहरू व्यक्त भएका छन्।

यसैबीच विश्वभर कोभिडका बिरामीहरू बढ्दो क्रममा छन्। मानिसहरू अझै पनि अस्पतालमा भर्ना भइरहेका छन् र केहीले ज्यान गुमाएका छन्।

डेक्सामिथासेन र अर्को सस्तो स्टेरोइड हाइड्रोकोर्टिसेनबाहेक कोभिड-१९ का लागि प्रमाणित कुनै उपचार छैन। त्यसैले बिरामीको उपचारका लागि नयाँ उपायहरू खोज्नु महत्त्वपूर्ण भएको छ।

रिजेनेरनकी लीया लिपसिच भन्छिन्: “प्रतिरोधी क्षमता वृद्धहरूमा कम हुन्छ। प्रतिरक्षा क्षमता कम भएकाले उनीहरूको शरीरले खोपलाई पर्याप्त प्रतिक्रिया नजनाउन सक्छ र उनीहरूलाई उपचार आवश्यक पर्ने छ।"

“र, मलाई दृढतापूर्वक के विश्वास लाग्छ भने शक्तिशाली न्यूट्रलाइजिङ यी एन्टीबडीजले प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गर्छ। त्यसैले खोप उपलब्ध भएकै अवस्थामा पनि यो विधि सधैँ काम लाग्नेछ।”